+
+

पाठेघरको क्यान्सरले बर्सेनि ५ लाखको मृत्यु, बेलैमा जाँच गरे छैन डर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ९:५३

सबैका घरमा आमा, दिदी–बहिनी, भाउजू –बुहारी हुन्छन् । उनीहरु निरोगी पनि देखिएका होलान् । तर, यथार्थमा उनीहरु सधैं एउटा प्राणघातक रोगको जोखिममा छन् । त्यो हो– पाठेघरको मुखको क्यान्सर । ३० देखि ६० वर्ष उमेरका हरेक महिला यो रोगको जोखिममा हुन्छन् ।

सानै उमेरमा विवाह भएका, धेरै बच्चा जन्माएका, धेरै जनासंग यौन सम्पर्क राखेका, लामो समय परिवार नियोजनका चक्की सेवन गरेका महिला पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा रहन्छन् । जीवनमा एक पटकमात्र यौन सम्पर्क गरेका महिला यो रोगको उत्तिकै जोखिममा हुन्छन् ।

यो खतरा किन पनि भने, महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ । यो रोग लागिसकेपछि उपचार खर्चिलो त छ नै, जटिल पनि छ । ‘त्यसैले रोग लाग्न नदिनु नै बेस’, १५ वर्षयता यो रोग नियन्त्रणमा सकृय डा. सरिता घिमिरे भन्छिन्, ‘र, त्यो सजिलै सकिन्छ पनि ।’

विशेषज्ञको अनुभव

रामेछाप स्थायी घर भएकी स्त्री रोग तथा क्यान्सर विशेषज्ञ सरिता घिमिरे चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का एमबीबीएस र एमडी हुन् ।

उनले स्त्री रोग र प्रसूति बिषयमा सन् २००४ मा एमडी गर्दा नेपालमा भर्खर क्यान्सर रोगका अस्पतालहरु खुल्न थालेका थिए । संगै क्यान्सर रोगीको संख्या अचाक्ली बढिरहेको थियो ।

त्यो अवस्था हेरिरहेकी डा. घिमिरेले भरतपूर क्यान्सर अस्पताल गएर क्यान्सर सम्बन्धि विशेष तालिम लिइन् । त्यसपछि पाकिस्तान र बेलायत समेत गएर विशेषज्ञ तालिम लिइन् । त्यसयता उनले पाठेघरको मुखको क्यान्सर रोकथाममा काम गरेको १५ वर्ष भैसक्यो ।

हाल ललितपुरको ताल्चिखेलस्थित क्यान्सर केयर फाउण्डेसनमा प्रमुख कन्सल्टेण्टको रुपमा कार्यरत डा. घिमिरेको जोड बेलैमा रोग पहिचानमा छ । यसका लागि जनचेतना जगाउन उनी जिल्ला–जिल्ला पुग्छिन् । पाठेघर जाँच गराउन अस्पताल आउने सय जनामा ६ देखि ८ जना क्यान्सरको संक्रमण कालमै पुग्न थालेको उनको अनुभव छ । डा. घिमिरे भन्छिन्, ‘जनचेतना जगाउँदा हुने फाइदा यो तथ्यांकले देखाएको छ ।’

भक्तपुर क्यान्सर अस्पतालमा आवद्ध हुँदा उनी जिल्लाहरुमा शिविर चलाउनमै बढी सकृय भइन् । ति शिविरहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायत विभिन्न क्यान्सर रोगबारे जानकारी दिइन्थ्यो । महिलालाई बढी पाठेघरको मुखको क्यान्सर हुन्छ, तर यसलाई रोक्न सकिन्छ भनेपछि परिक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या बढेको डा. घिमिरेको अनुभव छ । र, यसले उनलाई पेशागत सन्तुष्टि दिएको छ ।

शिविरहरुमा उनी डरलाग्दा फोटोहरु राखिदिन्थिन्, डराएरै एक पटक परिक्षण गर्न अस्पताल पुगुन् भनेर । ‘मनमा डर पैदा नभएसम्म कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिने, आनीबानीमा परिवर्तन नगर्ने मानिसको स्वभावै हो’, डा. घिमिरे भन्छिन्, ‘जुन भोलि गएर आफैंलाई घातक बन्छ ।’

उनका अनुसार, विश्वमा प्रत्येक वर्ष करिब ५ लाख २८ हजार महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुन्छन् । नेपालमा अवस्था के छ ? ‘नेपालमा क्यान्सरको उपचार गराउन अस्पताल आउने महिलामध्ये २०–२२ प्रतिशत पाठेघरको मुखको क्यान्सरबाट पीडित हुन्छन्’, डा. घिमिरे भन्छिन्, ‘यसबारे बिस्तृत अध्ययन हुन भने बाँकी नै छ ।’

सुरुमै लक्षण देखिँदैन

पाठेघरको मुखको क्यान्सर निकै बढिसकेपछि गन्हाउने र रगत मिसिएको पानी बग्न थाल्छ । महिनावारी नभएको बेला पनि रगत देखिनु वा महिनावारी सुकेका महिलाहरुमा फेरि रगत देखा पर्नु पनि पाठेघरको मुखमा क्यान्सर भएको लक्षण हो । यो क्यान्सर निकै फैलिएपछि पेट फुल्ने, खुट्टा सुन्निने, कम्मर र ढाड दुख्ने, दिसा–पिसाब गर्न समस्या हुने हुन्छ ।

यसबाट जोगिन ३० वर्ष पुगेका र जीवनमा एकपटक मात्र किन नहोस्, यौनसम्पर्क गरेका महिलाले हरेक तीनदेखि पाँच वर्षभित्र कम्तीमा एक पटक तालिम प्राप्त स्वास्थ्यकर्मीबाट जाँच गराउन डा. घिमिरेको सुझाव छ । उनी भन्छिन्, ‘महिनावारी सुकेका र क्यान्सर हुने सम्भावना भएर शल्यक्रिया गरेका महिलाले पनि पाठेघरको नियमित परिक्षण गराउनुपर्छ ।’

परिक्षणका क्रममा स्वास्थ्यकर्मीहरुले पाठेघरको मुखमा औषधी राखेर भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआर्ईए) जाँच गर्छन् । पहिले प्याप स्मेयर टेष्ट (पीएसटी) गरेर पाठेघरको मुखमा क्यान्सर संक्रमण भएको वा नभएको पत्ता लगाइन्थ्यो । भीआर्ईए त्योभन्दा धेरै वैज्ञानिक विधि हो ।

संक्रमण थाह भए रोकथाम हुन्छ

पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा नामक भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरस संक्रमण भएको १५ देखि २० वर्षपछि क्यान्सरको रुप लिन्छ । डा. घिमिरेका अनुसार, ह्युमन पापिलोमा भाइरस १५–२० वर्षसम्म भित्रै चलेर बस्छ । रोग प्रतिरोधात्मक क्षमता बढी छ भने शरीरले त्यसलाई निस्काशन गरिदिन पनि सक्छ । प्रतिरोधी क्षमता कम हुनेहरुमा भने त्यसले सुक्ष्म परिवर्तनहरु गराएर क्यान्सर निम्त्याउँछ ।

नियमित जाँच गराउने हो भने पाठेघरको मुखमा क्यान्सर हुनु अगावै थाह पाएर रोक्न सकिने डा. घिमिरे बताउँछिन् । ‘तर, हाम्रा महिलाहरु घरपरिवारको जिम्मेवारीमा यति धेरै रुमलिएका हुन्छन् कि रोगले गम्भीर रुप नलिएसम्म उनीहरुलाई अस्पताल सम्झने फुर्सद नै हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?