+
+

शेयर धितो कर्जामा लगाइएको सीमा हटाउन लगानीकर्ताहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २१:४२

२० मंसिर, काठमाडौं । शेयर लगानीकर्ताहरुले शेयर धितोमा दिइने ऋणमा लगाइएको सीमा हटाउन माग गरेका छन् । सोमबार विभिन्न लगानीकर्ताहरुका संघ संगठनको भेलाले नेपाल राष्ट्र बैंकलाई शेयर धितोमा ऋण दिँदा तोकिएको सीमा हटाउन आग्रह गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले शेयर धितो राखेर कुनै व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ मात्रै  ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर धितो राखेर पाइने ऋणमा तोकिएको सीमाका कारण शेयर बजारलाई नकारात्मक असर परेको भन्दै लगानीकर्ता सोमबार बुद्धनगरमा छलफलमा जुटेका थिए ।

पछिल्लो समय सरकार र राष्ट्र बैंकले लगानीकर्ताहरुका लागि अन्याय हुने खालका नीतिगत निर्णय गरेका कारण बजारमा नकारात्मक असर परेकले त्यसलाई सच्याउन राष्ट्र बैंङ्कलाई आग्रह गर्ने निर्णय गरेको लगानीकर्ता नयन बास्तोलाले बताए । उनका अनुसार पहिलो चरणमा नीतिगत व्यवस्था सुधार गर्न आग्रह गर्ने र नभए थप आन्दोलन गर्ने भेलाले निर्णय गरेको छ ।

शेयर बजारमा पुराना र सक्रिया लगानीकर्ताहरु निर्मल प्रधान, अम्बिकाप्रसाद पौडेल, दुर्गा तिवारीलगायत पनि भेलामा सहभागी थिए । लगानीकर्ताहरुले शेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सीमा हटाउनुपर्ने, रिक्त धितोपत्र बोर्ड अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न पनि माग गरेको  छ ।

बैठकले अम्बिका पौडेलको नेतृत्वमा लगानीकर्ताको संघ बनाउने समेत निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेल शेयर लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्षसमेत हुन् ।

अहिले लगानीकर्ताहरुका छुट्टाछुट्टै ५ वटा संघ–संगठन छन् । सबै एक ठाउँमा हुँदा लगानीकर्ताहरुको आवाज बलियो हुने र नीति निर्माण तहमा पुग्ने भन्दै साझा संगठन बनाउन लगानीकर्ताहरु सहमत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?