+
+

पीआरवाला अंकल होइन, मन मिल्ने दौंतरी रोजौं

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७८ मंसिर २१ गते १४:१७

छिमेकमा धुमधाम विवाहको तयारी चल्दैछ । उत्सव जस्तै छ तयारी । मंसीर २६ गतेका लागि बिहे फिक्स रहेछ । भर्खरै प्लस टु पास गरेकी छोरीको बिहे गरिदिंदै रैछन् छिमेकी दाजैले त्यो पनि पीआरवाला केटोसँग । केटोको उमेर केटीको उमेर भन्दा १५ वर्ष ज्यादा छ रे अर्थात् केटीको बाउको उमेर सरह ।

तर पनि परिवारभरि खुशी छाएकै छ । छिमेकी दाजै त बहुत रमाउँदै हाम्रै घर आएर समेत गफ दिन थाल्या छन् । मैले धेरै कुराहरूमा शंका गरे पनि प्रति प्रश्न गर्ने गर्‍या छैन । तर मंसीरमा यस्तै हुने गर्छ आजकल ।

हिजो जस्तो आजकल विवाह कर्मकाण्ड मात्र रहेन भन्दा हुन्छ । हैसियत समेत मापन हुने हुनाले दुलाहाको पीआर र बिहेको चमक दुवै छाउने गर्छ मण्डप वरिपरि । कुरा छिन्नेदेखि लिएर मेहेन्दी, हल्दी, ब्राइड टु बि, स्वयम्बर, गोडा धुने, सिन्दुर पोते, कन्यादान, बिदाइ, सम्धी ढोगभेट तथा भोजभतेर यी सबैले एउटा लामै रुप लिन्छ । लोकेसन र फोटोसेसन त आजकल छुट्ने कुरै भएन । विवाह जस्तोसुकै होस् तर फेसबुकमा फोटो हालिएन भने त हैसियत नै डामाडोल हुने चिन्ता रहन्छ ।

पढेलेखेको सरकारी नोकरी खाएको भन्दा नि अझ कुन देशको पीआर वाला हो दुलाहा ? भन्ने खोजीनिती हुन्छ बिहेमा । बिहेको कति दिनपछि उडाउँछ आफ्नी छोरीलाई भनेर दिन गनेर बस्छन् माइती पक्ष ।

नातागोता छिमेक पनि पीआरवाला ज्वाइँ पाएपछि त के के नै पाइस् भन्दै स्याबासी दिने गर्छन् । अनि उमेरको आकाश पातल भिन्नता नहेरी हतार हतार छोरीलाई बिदाइ गर्न तयार हुन्छ परिवार । बिहे गर्न लागेकी छोरी आफैंले पनि सोच्नुपर्ने हो तर विदेशी संस्कार र झकिझकाउमा रमाउन पाउने र सुख सुविधा भोग गर्ने अवसर भएपछि के चाहियो भन्ने पनि लाग्दो हो ।

अनि पीआरवाला ज्वाइँ पाउने भएपछि आफ्नो जिन्दगीभरि सञ्चित गरेको लाखौं रकम छोरीको बिहेमा खर्च गर्छन् । बिहे धुमधाम गर्छन् तर कालो बादल लाए जस्तै छोरीको जिन्दगी धुम्म हुनसक्ने प्रति कुनै वास्ता गर्दैनन् ।

आँट्न नसक्ने बिहे भए पनि धान्न नसक्ने खर्च भए पनि पीआरवाला केटा फुस्किने डरले ऋण नै लिएर भए नि बिहे आँट्छन् । छोरीको भविष्य र मानसिकता नबुझी आफूले हचुवाको भरमा सुयोग्य भनिएको केटालाई जीवनसाथी बनाउन बाध्य पार्छन् । र बाध्यतालाई हाँसीखुशी छोरीहरूले स्वीकार्छन् ।

एउटा नमीठो घटनाको याद आयो । यसरी नै पीआरवाला केटाको लोभमा अष्ट्रेलियाबाट आएको केटालाई पोखराका एकजना नातेदारले आफ्नो छोरीको बिहे फिक्स गर्नुभो । यहीं सरकारी स्थायी जागिर खाएकी छोरीलाई बिहे गरेर जान त मन थिएन तर पनि बुवाआमाको मन राख्न उनले नाईं भन्न सकिनन् । पछि अष्ट्रेलिया गएपछि दुई जनाको सम्बन्ध बिग्रियो ।

सबै कुराहरू देखे र सुने जस्तै हुने भए धरातलमा बाँच्नुपर्ने कुनै आवश्यकता हुने थिएन । सानो सानो कुरामा चित्त दुखाउने श्रीमान् पर्‍यो भने त्यो पीआरले के गर्नु ? समुद्रका छालहरूसँग मनका बह साट्नुपर्‍यो भने त्यो बिहे गरेको मूर्ति जस्तो श्रीमानको के अर्थ ?

कारण के रहेछ भन्दा केटाको अर्कै अष्ट्रेलियाकै केटीसँग लिभिंग टुगेदरको रिलेसन रहेछ । आफ्नो श्रीमानलाई त्यो सम्बन्धबाट छुटाउन अनेकौं प्रयास गर्दा समेत त्यो सम्भव भएनछ । यस बीचमा केही वर्ष बितेछन् । केटीले यो अवस्थाको बारेमा नेपालमा घरपरिवारलाई केही पनि थाहा दिइनछिन् । पछि डिप्रेसनको शिकार भएपछि श्रीमानको घर छोडेर उनी साथीकोमा बस्न थालिछन् । साथी मार्फत घरपरिवारमा जानकारी भएपछि उनको उद्धार भयो र नेपालमा ल्याइसकेपछि उनको केही वर्ष अघि मात्र दोस्रो बिहे भयो ।

हाल उनको मानसिक अवस्था त ठीक छ तर त्यो घटनालाई सजिलै भुल्न भने उनी सक्दिनन् । भएको सरकारी जागिर छोडेर, अनेकौं हन्डर खाएर फेरि नेपालमा नै बेरोजगार हुनुपर्ने विडम्बनाको अवस्था उनको छ । यो सबै वैवाहिक सम्बन्धलाई पीआरको लोभमा हचुवा र सस्तो रुपमा लिएर भएको हो । समाजले उसका र परिवारका अघि फिंजारेका प्रश्नहरूले उनी कैयौं रात निदाउन सकिनन् । तर हिम्मत नहार्नुका कारण पहिलाकै रुपमा सहजै अवतरण हुन सम्भव रह्यो ।

विवाहमा कसैको करकापमा परेर मन मिल्ने दौंतरी रोजिएन भने समस्या त्यहींबाट सिर्जना हुन्छ । जब कसैको पीआरमा तपाईं डिपेन्डेन्ट भएर जानुहुन्छ तपाईं त उसैको नोकर जस्तो भएर बाँच्नुपर्ने अवस्था समेत हुनसक्छ । सबैको अवस्थामा यस्तो नहोला तर अपवाद बाहेकमा यस्ता घटना भित्रभित्रै गुम्सिएका हुन्छन् ।
तपाईं आफूमा नै सक्षम र पढेलेखेको हुनुहुन्छ वा देशमा नै केही गर्ने हिम्मत राख्नुहुन्छ भने डिपेन्डेन्ट भिसामा जाँदा जिरो लेभलबाट शुरु गर्नुपर्ने अवस्था आउँछ । श्रीमान विना त त्यो पराइको देशमा आफूलाई नितान्त एक्लो र निरीह पाउनुहुन्छ ।

तपाईंका स्वदेशी सम्भावनाहरूमाथि समेत पूर्णविराम लाग्छन्। आफ्नो मूल खाँबो नै श्रीमानलाई मान्न थालेपछि परनिर्भरता अति नै झांगिन्छ । तपाईं कहीं कतै जाँदा वा केही गर्दा समेत सोधेर वा स्पष्टीकरण दिएर जाने बानी बस्छ । यसले थोरै श्रीमानमा आफू सुपेरियर भएको वा आफ्नो कारणले नै श्रीमती विदेश आउन पाएको जस्ता विकार सोचहरू आउन सक्छन् ।

अझ अर्को महत्वपूर्ण कुरा जब उमेर मिल्दैन र ग्याप धेरै रहन्छ, त्यसपछि एकअर्कासँग कस्ता कुरा गर्ने ? भन्ने बारेमा नै अन्योल सिर्जना हुन्छ । दुःख सुख, माया कसरी अभिव्यक्त गर्नेमा नै शंका उत्पन्न हुन्छन् । हरेक कमजोरीमा घुर्की त्यसपछि खटपट र घृणा शुरु हुन सक्छ । आँखा भित्र देखिने उदासपनको आकलन दुवैबाट नहुन सक्छ ।

बिरानो लाग्ने विदेशी भूमिमा नेपालमा जस्तो अरुले बोलाउने बोलचाल गराइदिने पनि सम्भव हुँदैन । एक्लो निरस लाग्ने जीवनमा काम र काम बाहेक केही हुँदैन । अपरिचित जस्तै व्यवहार देखिन थाल्छ श्रीमान श्रीमतीको ।

वैवाहिक सम्बन्ध भनेको सम्भोग मात्र होइन, अझ भनौं बच्चाबच्ची पाउनु मात्र पनि होइन, एउटा समभावना उब्जाउनु हो । विदेशमा पीआर पाइसकेको केटाले सम्भोगकै लागि बिहेसम्म कुरिबसेको छ भनेर पत्याउन पनि सकिन्न । र सेक्सले मात्र दुई जनाको सम्बन्ध नजिक बनाउँछ भनेर सम्झिनु पनि बेकार हो ।

अझ नेपालमा हालेको सिउँदोको सिन्दूरकै कारण विदेशमा भावनात्मक सम्बन्ध स्थापित रहिरहला भन्नु पनि कपोलकल्पित कुरा हो । मनको गहिराइमा के कस्ता कुराहरू खेल्छन् अनि ती कुराका पुच्छर समातेर कस्ता कस्ता शंकाहरूले मनमा डढेलो लगाउँछन्, हामीले भेउ नै पाउँदैनौं । यस्तै हुन्छन् सम्बन्धहरू । हामी सपनाबाट बिउँझिए जस्तै भरङ्ग हुन्छौं तर जे हुनु भइसकेको हुन्छ ।

चैत वैशाखमा नपलाउने गरी मन मरिसकेको हुन्छ । अनि सम्बन्धको हरियाली आँगनमा खरानी मात्र बाँकी ।मानिसलाई धेरै बिताउने भनेको असीमित रहरहरूले हो, चाहनाहरूले हो । देखासिकी हानिकारक हुन्छ जबसम्म हामीले सावधानी अपनाउँदैनौं । सबै कुराहरू देखे र सुने जस्तै हुने भए धरातलमा बाँच्नुपर्ने कुनै आवश्यकता हुने थिएन ।

सानो सानो कुरामा चित्त दुखाउने श्रीमान पर्‍यो भने त्यो पीआरले के गर्नु ? समुद्रका छालहरूसँग मनका बह साट्नुपर्‍यो भने त्यो बिहे गरेको मूर्ति जस्तो श्रीमानको के अर्थ ? परिवारजनका फोटोहरू हेर्दै आँसु चुहाउनु पर्‍यो भने नयाँ जोडिएको सम्बन्धको के अर्थ ?

बालुवामाथि सम्बन्धको घर बनाएर पैसाका लागि मरिमेट्ने कहिलेसम्म ? जहाँ स्वेदशको भाषा, संस्कृति अनुभूति गम्य छैन त्यो ठाउँमा पहिला कहिल्यै नभेटेको, संगत नगरेको, बानी व्यवहार थाहा नपाएको मान्छेलाई श्रीमान मानेर खुरुखुरु प्लेनमा उडेर जाँदा तपाईंलाई कुनै संकोच लाग्दैन र ?

कसैको अंकुसीमा अड्किएर, जसरी भए पनि विदेश गएर रुखमा फलेका पैसा टिप्न मन छ हो ? अनि टिपेका पैसाले भौतिक खल्ती भरिएपछि के गर्नुहुन्छ ? विस्तारै हृदय नै रित्तिन थाल्यो भने के गर्नुहुन्छ ?

बिहे गर्न आकाशका प्लेनहरू होइन आफूले टेकेको धर्तीमा आफूसँगै उफ्रिन र भुइँमा थेच्चिन पनि सक्ने मानव रोज्नुहोस् । सुखले पाल्छ । अनि सम्भव भए विदेश पनि घुमाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?