+
+

कोभिडपछिको सन्नाटा चिर्दै पोखराबाट सकियो ‘सप्तरंग ३’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:५९

१२ पुस, पोखरा । ‘रमरम मरौटी, तिम्रो रुपै करौँती’ । यो गीत कानमा पर्नेबित्तिकै दर्शकले सिठ्ठी मारिहाले । हुटिङको वर्षा भयो । र, युट्युब, टिकटकमा असाध्यै रुचाइएको गीतसँगै माहोल झुमिहाल्यो । गायिका अस्मिता अधिकारीको गीतसँगै सूर्यास्तदेखि नै झुमेका दर्शक राति १० बजेसम्म उस्तै गरी झुमिरहे ।

मन परेका चर्चित कलाकारका गीतमा पर्यटकीय नगरी पोखराका दर्शकले संगीत, नृत्य र हास्य-व्यंग्यको स्वाद लिए ।

चिसो सिरेटोलाई छिचोल्दै साँझ ५ बजे नै दर्शक जम्मा हुन थालिसकेका थिए । यसै पनि क्रिसमस इभको रौनकमा थपिएको थियो, संगीत, नृत्य र हास्य–व्यंग्यको उत्सव । सप्तरंग नाम दिएर भएको यो उत्सवमा दर्शकले कोभिडको सन्नाटा बिर्सिएर धेरैपछि कन्सर्टको निःशुल्क भोक मेटे ।

नयाँ पुस्ताबाट मन पराइएकी गायिका अस्मितादेखि हजुरबाट पुस्तादेखि नाति पुस्तासम्मलाई मखमली आवाजले जोडेका गायक रामकृष्ण ढकालसम्मलाई आँखैअघि हेर्न, सुन्न र प्रस्तुतिमा झुम्न पाउँदा दर्शक दंग थिए ।

कहिले ‘म बिना कसैलाई मुस्किल छ पोखरामा’ गुन्गुनाउँदै मञ्चमा उक्लेका चर्चित गायक प्रमोद खरेलका सुपरहिट गीतमा झुमे त कहिले मिलन नेवारको ‘फूलबुट्टे सारी’ जस्ता गीतमा रमाए ।

हास्य कलाकार सन्दीप क्षेत्रीले घरि पेट मिचिमिचि हँसाए त घरि भावुक बनाए । कुनै बेला एक से एक सुपरहिट पप गीत ल्याएका अनिल सिंहलाई धेरैपछि स्टेजमा पाउँदा पोखरेली संगीत पारखी दंग थिए । अनिलले ‘आइ लभ यु’ र मादलको ‘घिन्ताङ’सँगै दर्शकलाई नचाए ।

पोखरेली दर्शकले एउटै मञ्चबाट विविध संगीत र कलाको स्वाद लिए । यो अवसर जुराइदिएको हो, गृष्मा ब्रोडकास्टिङले । बार्दली मिडियाले पोखरामा सप्तरंग–३ को चाँजोपाँजो मिलाएको थियो ।

कार्यक्रममा चर्चित गीतमा दर्शक नाचेनन् मात्र लागूऔषध र महिला हिंसाविरुद्धको प्रस्तुतिले सचेतसमेत बनायो । उषा उप्रेती लगायतको नृत्यसँगै कार्यक्रमको रौनक थपियो ।

पोखरामा निःशुल्क संगीतको उत्सव पस्कँदै सप्तरंगको तेस्रो संस्करण सकिएको छ । २४ मंसिरमा नेपालको पूर्वीद्वार काँकडभिट्टाबाट शुरु भएको सप्तरंग ६ प्रदेशमा कार्यक्रम सकेर पोखरा आएको थियो ।

मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढीमा कार्यक्रम भएको थियो ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै धेरैपछि कला, संगीतको पारखीलाई नौलो स्वाद चखाउने कार्यक्रम गरेको बताए ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले कला, साहित्य, संस्कृतिको भूमिमा भएको कार्यक्रमले कोभिडपछि धेरैको मनमा आशा जगाएको भन्दै धन्यवाद दिए ।

नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भएको संगीतमय उत्सवले रमाइलोसँगै सचेतना भर्ने काम पनि गरेको नेपाल प्रहरी गण्डकी प्रदेशका वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए ।

गृष्मा ब्रोडकास्टिङका गृहेन्द्र घिमिरेले सातै प्रदेशमा उत्साहपूर्ण उपस्थितिका साथ सप्तरंगको तेस्रो संस्करणको उत्सवलाई पोखराबाट बिट मारिएको जानकारी दिए ।

‘सातै प्रदेशमा दर्शकको माया र उत्साहपूर्ण उपस्थिति पायौं,’ घिमिरेले भने, ‘कोभिडपछि उत्साह भर्दै संगीतका माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित भएको छ ।’ कोभिडको कारण अघिल्लो साल तेस्रो संस्करण हुन पाएको थिएन ।

तस्वीर सौजन्य : गृष्मा ब्रोडकास्टिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?