
१२ पुस, काठमाडौं । पाटन दरबार संग्रहालय परिसरमा ढल खन्दा गत बुधबार भेटिएको शिलालेखलाई दरबार संग्रहालयभित्र सुरक्षित राखिएको छ । संग्रहालयको बाहिरिने ढोका छेउमा राखिएको शिलालेखमाथि लिपि–विशेषज्ञ श्यामसुन्दर राजवंशीको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ ।
शिलालेखमा लागेको सिमेन्टको धूलो पुछिरहेका राजवंशी शिलालेखका प्रत्येक अक्षरहरू जोडेर वास्तविकता पत्ता लगाउन व्यस्त छन् । लिपि कापीमा उतार्नेदेखि पुराना अभिलेखसँग दाँजेर विस्तृत विवरण पत्ता लगाउने काम गरिरहेका छन् ।
‘यो शिलालेखका धेरै अक्षरको अर्थ पत्ता लागिसकेको छ’ राजवंशीले भने, ‘सिमेन्ट र माटो हटाउँदै यसका सबै अक्षर खोज्ने काम लागेका छौं । सबै अक्षर प्रष्टसँग देखियो भने शिलालेखको वास्तविकता पत्ता लाग्छ ।’
उनका अनुसार यो शिलालेखमा १५ पंक्ति (हरफ) कुँदिएको छ । जसमा लिच्छविकालीन राजाहरूले प्रयोग गर्ने लिपि र प्रौढ संस्कृत भाषाको प्रयोग गरिएको छ ।
यता, पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखे पनि शिलालेख संरक्षणमा जुटेका छन् । ढल खनेको ठाउँमा नै छाड्दा असुरक्षित हुने भएकाले सुरक्षा गार्ड भएको ठाउँमा यो शिलालेख राखिएको उनले बताए ।
‘शिलालेखलाई म्युजियमको ढोकैभित्र राखेका छौं’ लाखेले भने, ‘भित्र राख्दा यसमाथि खोज अनुसन्धान गर्नेलाई तस्वीर लिन सजिलो हुन्छ । साथै घुम्न आउनेहरूले पनि यसको सहजै अवलोकन गर्न सक्छन् ।
शिलालेखको लम्बाइ ८५ सेन्टिमिटर र ५२ चौडाइ सेन्टिमिटर छ ।
प्रतिक्रिया 4