+
+
कोभिड-१९ :

‘भारतमा ‘आउट ब्रेक’ हुने स्थितिमा पुगिसक्यो, नेपालमा संकट आउन सक्छ’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘भारतमा ओमिक्रोन ‘आउट ब्रेक’ हुने स्थितिमा पुगिसकेको छ । अबको एक महिना वा त्यसको हाराहारीमा नेपालमा पनि संकट आउन सक्छ ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ पुष १४ गते १९:१०

१४ पुस, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । तर, छिमेकी मुलुक भारतमा बढ्दो संक्रमणले नेपालमा पनि खतराको संकेत गरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘भारतमा ओमिक्रोन ‘आउट ब्रेक’ हुने स्थितिमा पुगिसकेको छ । अबको एक महिना वा त्यसको हाराहारीमा नेपालमा पनि संकट आउन सक्छ ।’ सम्भावित जोखिम न्यूनिकरण गर्न सरकार तथा जनताबाट के-कस्ता काम गर्नुपर्छ ? अब कस्ता रणनीति तथा योजना बनाउनुपर्छ ? विषयमा केन्द्रित भएर संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :

कोरोनाको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ कस्तो खालको हो ?

सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स-साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

भेरियन्ट अफ कन्सर्न हुनका लागि तीनवटा क्याटेगोरी आवश्यक हुन्छ । पहिला, नयाँ भेरियन्ट पहिला उत्पत्ति भएका भाइरसभन्दा एकदमै चाँडै वा सजिलो फैलिने हुन्छ । दोस्रो, संक्रमण वा खोपबाट हुने इम्यूनिटीले पनि रोक्न सकिँदैन । तेस्रो, पहिला देखिसकेका कोरोना भाइरसभन्दा नयाँ भेरियन्टले बढी गम्भीर केसहरू वा मृत्युदर बढाउने हुन्छ ।

तीन क्याटेगोरीमध्ये एउटा नयाँ भेरियन्टमा देखियो भने त्यसलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । अहिले ओमिक्रोनको हिसाबले हेर्दा तीनवटा क्याटेगोरीमध्ये दुईवटा देखिएको छ । ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा एकदमै चाँडो फैलिने हुन्छ । डेल्टा भेरियन्टभन्दा दुई/तीन गुणा चाँडो फैलिन्छ । डेल्टा भेरियन्ट एक हप्तामा दोब्बर भएको थियो भने ओमिक्रोन दुईदेखि तीन दिनमा दोब्बर भइरहेको छ । संक्रमण वा खोप लगाएको मानिसमा इम्यूनिटी हुँदा हुँदै पनि यो भेरियन्टलाई रोक्न सकिँदैन ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनमा के फरक पाइएको छ ?

अन्य भेरियन्टमा खोप लगाएको खण्डमा संक्रमण भइहाल्दैनथ्यो । तर, ओमिक्रोनमा खोप लगाउँदा लगाउँदै संक्रमण हुने सम्भावना हुन्छ ।

भाइरसको निरन्तर स्वरूप परिवर्तन कसरी हुन्छ ?

ब्याक्टेरिया वा भाइरसहरूले स्वरूप परिवर्तन गरिराखेका हुन्छन् । मानिसमा नयाँ–नयाँ सेल्सहरू बन्दैनन् । त्यो बनेको खण्डमा क्यान्सरको रूपमा बाहिर निस्कन्छ । मानिसमा किन त्यस्तो हुन्छ भने आरएन र डिएन वरिपरि अरू प्रोटिन संरचना र इम्यूनिटी हुन्छ । यी कुराहरूले नयाँ–नयाँ सेल्स बन्न दिँदैन र त्यसलाई रोक्ने काम गर्छ ।

तर, भाइरसमा कि आरएन वा डिएन हुन्छ । यसलाई रोक्ने मेकानिजम भाइरसभित्र हुँदैन । स्वतः भाइरसको स्वरूप परिवर्तन हुन्छ । कुनै भाइरसले बढी स्वरूप परिर्वतन गर्छ । जस्तो, एचआइभी, इन्फूलन्जा र कोरोना भाइरसमा अन्य भाइरसभन्दा स्वाभाविक रूपमा म्युटेसन हुन्छ । जुन स्वाभाविक प्रक्रिया हो । म्युटेसन हुँदैमा सबै भाइरस नयाँ भेरियन्ट बन्दैनन् । हरेक दिन नयाँ–नयाँ म्युटेसन भइरहेको हुन्छ । ८०–९० प्रतिशत म्युटेसनहरू बाहिर आउन पाउँदैनन् । धेरैजसो मरेर जान्छन् । बाँचेकामध्ये पनि माथि भनिएका तीन क्याटेगोरीमध्ये कुनै एक क्याटेगोरीमा बलियो छ भन्ने त्यो भाइरस भेरियन्ट अफ कन्सर्नको रूपमा बाहिर आउँछ ।

युरोपका केही देशमा ओमिक्रोनको संक्रमण बढिरहेको देखिन्छ । भारत र नेपालमा संक्रमण पुष्टि भइसकेको छ, तर धेरै बढेको देखिँदैन । फैलिन बाँकी हो ?

शुरु–शुरुका लहर पनि अन्य देशमा फैलिसकेपछि नेपाल आएको थियो । डेल्टा भेरियन्ट भारतमा फैलिएको एक महिनापछि नेपालमा देखिएको थियो । सुरुमा केसहरू ५/१०/२०/५० गर्दै बिस्तारै बढ्दै जान्छ । तर, ओमिक्रोन भाइरस एकदमै चाँडो फैलिन्छ । यसका केसहरू हरेक दुई दिनमा दोब्बर हुँदै जान्छ । बेलायत, अमेरिकामा फैलिएपछि भारतमा ओमिक्रोनले प्रवेश पायो ।

पछिल्लो हप्ता भारतमा ५० हाराहारी केस थिए, यो साता ५०० हाराहारी संक्रमण पुष्टि भएको छ । हरेक दुई दिनमा दोब्बर हुने हो भने एक महिनामा ठूलो हाहाकार हुन सक्छ । अबको दुई/तिन हप्तामा धेरै परिवर्तन हुन सक्छ ।

कोभिड संक्रमण हुँदा तुरुन्तै मृत्यु हुँदैन । सुरुमा रुघाखोकीको लक्षण देखिन सक्छ । रुघाखोकीको लक्षण देखिएपछि केहीलाई निमोनिया हुन्छ । निमोनिया देखिएको मानिसलाई अक्सिजन चाहिन्छ । त्यसपछि आईसीयू, भेन्टिलेटर चाहिन सक्छ । त्यसमध्ये कसैकसैको निधन हुन्छ । केस पहिचान भएपछि मृत्यु हुनसम्म दुई/तीन हप्ता लाग्छ । त्यसकारण पनि अहिले नै त्यो दृश्य देखिएको छैन । कतिपय मानिसले रुघाखोकी हो भनेर परीक्षण नगरेको पनि हुन सक्छ ।

ओमिक्रोन संक्रमण भएर अस्पताल भर्ना हुनेहरूमा मृत्युदर कस्तो छ ?

ओमिक्रोन एकदमै चाँडो फैलिनेमा कुनै दुविधा छैन । शरीरमा इम्यूनिटी हुँदाहुँदै पनि ओमिक्रोनले संक्रमण गर्न सक्छ । तर, डेल्टा जतिको घातक चाहिँ देखिएको छैन । यसो भन्दैमा घातक छैन भन्न मिल्दैन । नेपालमा डेल्टाभन्दा चाँडै ओमिक्रोन लहर आए अस्पतालको बेड भरिने वा अक्सिजन आपूर्ति नपुग्ने हुन सक्छ । डेल्टा जतिको घातक नहोला, तर त्योभन्दा बढी फैलिएपछि त्यति नै मात्रामा बेड, अक्सिजन चाहिन्छ । हाम्रो स्वास्थ्य प्रणाली मजबुत भएको छैन । तसर्थ, बचाउन सकिने जति मानिसलाई बचाउन नसक्ने अवस्था आउन सक्छ । डेल्टाको दोस्रो लहरमा जुन समस्या भयो, त्यही भोग्नुपर्ने हुन सक्छ । त्यसकारण अहिल्यैबाट सर्तक हुनु आवश्यक छ ।

अहिलेसम्मको अध्ययन–अनुसन्धानमा ओमिक्रोन पुष्टि भएका अधिकांश मानिसमा पहिला कोरोना संक्रमण भएको देखिएको छ । पहिला संक्रमण भइसकेका र खोप लगाएका मानिसमा पुनः संक्रमण हुन सक्ने अध्ययनले देखाएको छ । गम्भीर अवस्थामा भने नपुर्‍याउन सक्छ । त्यसकारण डेल्टाभन्दा ओमिक्रोन घातक नै छ भनेर एकिनसाथ भन्न सकिँदैन ।

नेपालमा हालसम्म ओमिक्रोनका तीनवटा केस पुष्टि भएका छन् । त्यसो भए परीक्षण प्रर्याप्त भएन ?

डेल्टा, ओमिक्रोन र रुघाखोकीका भाइरसका लक्षण उस्तैउस्तै हुन्छ । लक्षणका आधारमा रुघाखोकी, इन्फून्लजा वा कोरोना भाइरसको डेल्टा वा ओमिक्रोन भनेर छुट्याउन सकिँदैन । डेल्टा भेरियन्टमा कसैकसैको सुँघ्ने शक्तिमा कमी आएको थियो । सबै भाइरसको लक्षण सामान्यतः रुघाखोकीमात्र हुन्छ । रुघा लाग्छ, टाउको दुख्छ, जिउ दुख्न सक्छ । ज्वरो, खोकी आउन वा नआउन पनि सक्छ ।

इन्फ्ल्यूएन्जा, ओमिक्रोन वा डेल्टामा निमोनिया भएपछि अक्सिजन वा भेन्टिलेटर आवश्यक पर्छ । सबैको सुरुको अवस्था भने रुघाखोकी नै हो । जाडोमा अन्य भाइरसले पनि रुघाखोकी गराउन सक्छ । कसैलाई रुघाखोकी लागेको भए त्यो रुघाखोकी नहुन पनि सक्छ । त्यो ओमिक्रोन, डेल्टा वा इन्फून्जा हुन सक्छ । त्यसैले, रुघाखोकी लागेको छ भने आइसोलेसनमा बस्दा र परीक्षण गर्दा वुद्विमानी हुन्छ ।

परीक्षणमा पोजेटिभ देखिए सम्पर्कमा आएका अरूलाई पनि खबर गनुपर्यो ताकि सबैलाई परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न सहज होस् । यस्ता कुरामा सचेत भएर जनताले नै सहयोग गर्नुपर्छ । परीक्षणका लागि स्थानीय तहसँग समन्वय गनुपर्छ । सरकारले जनस्वास्थ्यको विषयमा जनतालाई बुझाउन सक्नुपर्छ । यी काम गर्दागर्दै पनि सतप्रतिशतलाई संक्रमणबाट जोगाउन नसकिने हुन्छ । त्यसैले सरकारले सकेसम्म सतप्रतिशत जनतालाई खोप दिनुपर्छ । खोप लगाइसकेकालाई ६ महिनापछि अनिवार्य रूपमा बुस्टर डोज दिनुपर्छ । नेपालमा अहिले कोरोना खोप भण्डारणमा थुप्रिएर बसेको छ । यो अवस्थामा बुस्टर डोजलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।

भारतमा ओमिक्रोन ‘आउट ब्रेक’ हुने स्थितिमा पुगिसकेको छ । अबको एक महिना वा त्यसको हाराहारीमा नेपालमा पनि संकट आउन सक्छ । त्यसकारण फ्रन्टलाइनर, जेष्ठ नागरिक, दीर्घरोगी आदीलाई बुस्टर डोज दिन थालिहाल्नुपर्छ ।

चिकित्सक र ल्याबका कर्मचारीले के बुझ्नुपर्छ भने लक्षणको आधारमा रुघाखोकी हो कि डेल्टा वा ओमिक्रोन हो भनेर छुट्याउन सकिँदैन । कोरोना छुट्टाउन पीसीआर परीक्षण गर्दा तीनवटा जीन चेक गरिन्छ । त्यसक्रममा ‘एसजीन’ नेगेटिभ र अन्य जीन पोजेटिभ देखिए ओमिक्रोन हुन सक्छ । ‘एसजीन’ नेगेटिभ आएको नुमनालाई जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्छ । त्यो प्रयोगशालाले पनि निगरानी बढाउनुपर्छ । पाँच प्रतिशत पोजेटिभ केसको अनिवार्य जीन सिक्वेन्सिङ गर्नुपर्छ । त्यो सकिन्न भने ‘एसजीन’ नेगेटिभ आएका सबै केसको जीन सिक्वेन्सिङ गर्नुपर्छ ।

नेपालमा ओमिक्रोन फैलिने जोखिम क्षेत्र कुन–कुन हुन सक्छ ?

धेरै भिडभाड, आवतजावत हुने, मास्क नलगाउने वा साबुन पानीले हात नधुने ठाउँहरूमा ओमिक्रोन फैलिने सम्भावना स्वतः बढी हुन्छ । अहिलेलाई बढी जोखिम शहरी क्षेत्रमा छ । ओमिक्रोन भित्रिने जोखिम क्षेत्र चाहिँ नेपाल-भारत सीमा नाकाहरू हुन् ।

पहिलो र दोस्रो लहरमा पनि कोरोना संक्रमित मानिसहरू भारतबाट नेपाल छिरेका थिए । भारतमा ओमिक्रोन फैलिए त्यहीँबाट आवतजावत हुन्छ । नेपालले पर्याप्त परीक्षण, क्वारेन्टाइन र आइसोलेसन गर्न नसके यहाँ पनि ‘आउट ब्रेक’ हुन्छ ।

भारतको सीमानजिक रहेका नेपाली शहरहरूमा ओमिक्रोन फैलिने सम्भावना अधिक छ । त्यताबाट काठमाडौं, पोखराजस्ता शहर र गाउँहरू फैलिन सक्छ ।

ओमिक्रोन कहिलेसम्म रहन्छ भनेर अनुमान गर्न सकिन्छ ?

कुनै नयाँ भेरियन्ट देखा परेपछि सामान्यतः दुई महिना उच्च गतिमा फैलिइन्छ । त्यसपछि विस्तारै एक महिनामा हराएर जान्छ । तर, हरेक भेरियन्ट छिटपुट रूपमा तीन–चार महिना रहन्छ, पूरै हराउँछ भन्ने हुँदैन । खोप नलगाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नभएको समुदायमा नयाँ भेरियन्ट देखा पर्न सक्छ । त्यसैले कोरोना सँगसँगै बाच्नुपर्छ । मानव सभ्यताबाट कोरोना हराएर जालाजस्तो देखिँदैन । यसभन्दा अगाडि इन्फून्जा, ब्लडफूलहरू देखिए । तिनीहरू केही समय हराए पनि सधैं हराएर गएनन् ।

पहिलो र दोस्रो लहरमा पनि कोरोना संक्रमित मानिसहरू भारतबाट नेपाल छिरेका थिए । भारतमा ओमिक्रोन फैलिए त्यहीँबाट आवतजावत हुन्छ । नेपालले पर्याप्त परीक्षण, क्वारेन्टाइन र आइसोलेसन गर्न नसके यहाँ पनि ‘आउट ब्रेक’ हुन्छ ।

कोभिडका नयाँ–नयाँ भेरियन्ट आउनेवाला छ । त्यहीअनुसार नै हरेक वर्ष खोप लगाउनुपर्छ । नयाँ भेरियन्ट आउन रोक्न संसारभरका मानिसलाई खोप दिनुपर्छ । अहिले संसारमा यस्ता पनि देश छन्, जहाँका मानिसले पहिलो डोजसमेत लगाएका छैनन् । त्यही ठाउँमा कोरोना आउट ब्रेक भएको पाइन्छ ।

डेल्टाको आउट ब्रेक भारतमा भएको थियो । त्यहाँ सबैलाई खोप दिइएको थिएन । जनघनत्व बढी भएकाले त्यहाँ भाइरसको नयाँ म्युटेशन भयो । डेल्टा भेरियन्ट भारतबाट विश्वभर फैलियो ।

अधिकांशले खोप नपाएको दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट जन्मियो र संसारभर फैलियो । विकसित राष्ट्रहरूले मात्र खोप लगाएर कोरोनाको नयाँ भेरियन्ट आउनबाट रोकिँदैन । त्यसैले खोपमा अविकसित मुलुकहरूको पनि पहुँच हुनुपर्छ । विश्वका अधिकांश मानिसलाई खोप दिन नसकेको अवस्थामा नयाँ–नयाँ भेरियन्ट आउँछ ।

कोरोना वा अन्य महामारी रोकथामका लागि नेपालमा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी), अध्ययन अनुसन्धान तथा औषधिसम्बन्धी नियगमन गर्ने निकाय चाहिन्छ ।

नेपालमा डेल्टासँगै ओमिक्रोन फैलिने सम्भावना पनि छ ?

हामीकहाँ डेल्टा र ओमिक्रोन पनि छ । सुरुमा हेर्दा डेल्टा भेरियन्ट नै बढी देखिन्छ । तर, डेल्टाभन्दा ओमिक्रोन चाँडो फैलिन्छ । खोप लगाए डेल्टा नलाग्न सक्छ, तर ओमिक्रोन पुनः लाग्छ । डेल्टाको साथसाथै ओमिक्रोनको संक्रमण पनि हुन सक्छ, तर कमै संख्यामा हुन्छ । नेपालमा ओमिक्रोन फैलिए डेल्टा कमजोर बन्न सक्छ ।

पहिलाका लहरमा लक्षणविहीन संक्रमितबाट समुदाय स्तरमा संक्रमण फैलिएको थियो । अहिले त्यस्तै संकेत छैन ?

पहिलाका लहरमा कतिपयमा केही लक्षण थिएन । अधिकांशमा रुघाखोकीको लक्षण थियो । थाहा नपाई त्यो भाइरस अरूमा सर्न पुग्यो । अहिले पनि यस्तै हुने देखिन्छ ।

ओमिक्रोनमा धेरैजसोमा सामान्य रुघाखोकी मात्र हुनेवाला छ । मानिसहरू यो रुघाखोकी मात्र हो भनेर परीक्षण गर्न मान्दैनन् । अनि थाहै नपाई अन्य मानिसमा संक्रमण सार्न सक्छन् । विश्व स्वास्थ्य संगठनले अहिलेको चिसो मौससमा रुघाखोकी मात्र नभई कोरोना हुनसक्ने भनेको छ । त्यसकारण परीक्षण आवश्यक छ । आफूमा संक्रमण भएको रहेछ भने त्यो अन्यमा नसार्नु सबै नागरिकको दायित्व हो । परीक्षण नगरी संक्रमण छ/छैन थाहा हुन्न ।

दोस्रो लहरमा सरकारले कोरोना नियन्त्रणमा छ भनेर दाबी गरिरहँदा संक्रमणले उच्च गति लियो । बेड, आईसीयू, अक्सिजन, जनशक्ति आदीको अभाव हुँदा धेरै नागरिकले ज्यान गुमाउनु पर्‍यो । अब ओमिक्रोन फैलिएको खण्डमा स्वास्थ्य प्रणालीले धान्ला ?

नेपालमा ओमिक्रोन कुन हदसम्म फैलिन्छ, अहिले भन्न सकिन्न । डेल्टासँग जुध्दा भोगेको समस्या ओमिक्रोनमा पनि दोहोरिनेछ भनेर चाहिँ सहजै भन्न सकिन्छ ।

ओमिक्रोनले पहिलेको भन्दा दुई/तीन गुणा ठूलो लहर ल्याउन सक्छ । सरकारले अहिलेसम्म बेड र जनशक्ति थपेको देखिएको छैन । अक्सिजन प्लान्टको व्यवस्था केही हदसम्म गरेको भए पनि अर्को प्रकोपमा त्यसले नधान्न सक्छ ।

ओमिक्रोनले पहिलेको भन्दा दुई/तीन गुणा ठूलो लहर ल्याउन सक्छ । सरकारले अहिलेसम्म बेड र जनशक्ति थपेको देखिएको छैन । अक्सिजन प्लान्टको व्यवस्था केही हदसम्म गरेको भए पनि अर्को प्रकोपमा त्यसले नधान्न सक्छ ।

केन्द्रीय तहमा स्वास्थ्य मन्त्रालय र सिसिएमसीबीच समवन्यको अभाव देखिन्छ । केन्द्रमा भएका निर्णय प्रदेश र स्थानीय तहमा पुर्याउन पनि समन्वय, सहकार्यको अभाव देखिन्छ ।

दोस्रो लहरमा सहकार्य अभावका कारण पनि समस्या भयो, त्यसमा सुधार जरूरी छ । नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन निजी क्षेत्रलाई पनि समेट्नुपर्छ । नत्र, महामारीमा एकअर्कोलाई दोष लगाउने काम मात्र हुन्छ । अहिले त सरकार भित्रकै निकायबीच पनि समन्वय नभएको अवस्था छ । सरकारको एक निकायको तथ्यांक अर्को निकायको सँग मिल्दैन । तथ्यांक नै नमिलेपछि गतिलो रणनीति बन्दैन । त्यसैले, एकद्वार प्रणाली हुनुपर्छ ।

कहिलेकाहीँ निर्णयहरू तुरुन्तै कार्यान्वयन हुँदैन । यता भाइरस दुई/तीन दिनमा दोब्बर भइरहेको हुन्छ उता मन्त्रालयमा फाइल नै हराइसकेको हुन्छ । हरेक पटक टिप्पणी उठाउन एक/दुई हप्ता लाग्छ । त्यो निर्णय हुन अर्को एक महिना लाग्छ । आजको आजै गर्नुपर्ने कुरा एक महिनापछि गर्दा तथ्यपरक हुँदैन ।

तीन तहका सरकार र निजी क्षेत्रसँगको समवन्य, तुरुन्तै ‘एक्सन’मा जाने प्रणालीको विकास, सूचनाको एकद्वार प्रणाली र त्यसको अध्ययन गर्न विज्ञ टोली गठन गर्नुपर्छ । यसरी काम गरेको खण्डमा ओमिक्रोनलाई नियन्त्रण गर्न सकिन्छ ।

जबसँग आफू वा आफ्ना नजिकका कसैलाई गाह्रो बनाएन, तबसम्म धेरैले कोरोना महामारीलाई गम्भीर रूपमा लिएनन् । राजनीतिक दलहरूले पनि ठूल्ठूला जुलस/सभा गरे । परिणाम, ठूलो क्षति निम्तियो । अहिले पनि त्यस्तै देखिएको छ, होइन ?

कुनै पनि कुरालाई चाँडै बिर्सिने हामी नेपालीको बानी छ । कोरोनाको दोस्रो लहरमा धेरैले परिवारका सदस्य र आफन्तहरू गुमायौं । त्यो घाउ अझै मुटुमा छ, तर त्यो कोरोना बिर्सिसक्यौं । मास्क लगाउन, दुरी कायम गर्न बिर्सिसक्यौं ।

भारतमा ओमिक्रोन फैलिने क्रममा छ । हामी सर्तक हुनुपर्छ । रुघाखोकी भन्दै हेलचक्रयाइँ गरेर बस्दा कोरोना समुदाय स्तरमा फैलिसक्छ । एक्कासी अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन चाहिने र मृत्युदर बढ्ने सम्भावना प्रवल छ । जनताको पनि उतरदायित्व हुन्छ । आफ्नो घरका जेष्ठ सदस्यहरू बचाउने पहिलो जिम्मेवारी आफ्नै हो । हामीले आफ्नो र समाजको लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने हो । खोप लगाउने पनि त्यसैको लागि हो । सरकार, जनता र विभिन्न निकाय जिम्मेवार भए नेपालभित्र ओमिक्रोन आउन रोक्न सक्छौं ।

सरकारले परीक्षण र खोपमा खर्च गनुपर्छ । त्यो खर्च होइन, लगानी हुन्छ । सरकारले खोपमा एक डलर खर्च गरेको छ भने १६ डलर फिर्ता आउँछ । सरकारले मास्क, खोप, औषधि, क्वारेन्टाइनमा गरेको खर्च १६ गुणा भएर फिर्ता आउँछ ।

ओमिक्रोन भेरियन्टमा खोप कति प्रभावकारी हुन्छ ?

खोप अनुसार प्रभावकारीता फरकफरक भएको पाइएको छ । तर, समग्रमा भन्दा डेल्टामा जति काम गर्छ, ओमिक्रोनमा त्योभन्दा कम प्रभावकारी देखिएको छ । त्यसैले जोखिम वर्गलाई बुस्टर डोज दिनुपर्छ । खोप लगाए पनि संक्रमण होला, तर गम्भीर वा मृत्यु हुनबाट धेरै हदसम्म जोगाउने देखिन्छ ।

ओमिक्रोन नियन्त्रणका लागि नेपालको रणनीति पर्याप्त वा प्रभावकारी देखिन्छ ?

दोस्रो लहरमा नेपालको रणनिति त्यति प्रभावकारी नभएपछि केही पाठ सिकेर त्यही अनुसार काम गरेको भए प्रभावकारी देखिन्थ्यो । सरकारले महामारी नियन्त्रणका लागि जुन रूपमा काम गर्नुपर्ने हो, त्यो हिसाबमा गरेको छैन ।

महामारी नियन्त्रण गर्न दुई कुरामा केन्द्रित हुनुपर्छ– रोग लाग्नै नदिने र लागि हाले कुसल व्यवस्थापन गर्ने । रोग हुनै नदिन सरकारले नाकामा कडाइ गर्नुपर्ने हो । त्यसैगरी, क्वारेन्टाइन क्षेत्र बढाउने र परीक्षणको दायरा बढाउनुपर्ने हो ।

खोप अभियान राम्रै छ, तर जुन स्केलमा खोप ल्याएर लगाउनुपर्ने हो, त्यसअनुरूप काम भएको छैन । बुस्टर डोज तत्काल सुरु गर्न जरुरी छ । ओमिक्रोन आइसकेपछि हामीसँग समय हुँदैन । अस्पतालहरूको बेड व्यवस्थापन, पूर्वाधार विकास, औषधिको जोहो, जनशक्ति भर्ना र तालिमजस्ता कुराहरू भएका छैनन् । पहिलाका लहरमा हामीले स्वास्थ्य सामग्रीहरू आयात गरेका थियौं । ओमिक्रोन फैलिरहेकाले अब निर्यात गर्न बन्द हुन सक्छ । त्यसकारण स्वास्थ्य सामग्रीको जोहो तत्काल गर्नुपर्छ । सके उत्पादन नै गनुपर्छ ।

यी कुरामा गृहकार्य गरेका छौं भने ओमिक्रोनविरुद्व हामी तमतयार छौं । गृहकार्य गरेका छैनौं भने आजैबाट सुरू गर्नुपर्छ । हामीसँग समय एकदमै कम छ ।

दोस्रो लहरमा पनि तयारी गरेका छौं भन्दाभन्दा ठूलो क्षति हुनुपग्यो । अब फेरि अर्को लहर आएको अवस्थामा लकडाउन मात्र विकल्प हुने त होइन ? 

लकडाउन भनेको अन्तिम अस्त्र हो । भाइरसले जित्न लाग्दा, धेरै मृत्यु भइरहेको बेला आर्थिक अवस्था धरासायी भए पनि मानिसको ज्यान बचाउनुपर्ने हुन्छ । त्यो बेलाको अस्त्र भनेको लकडाउन हो । लकडाउन गर्दैमा भाइरस नियन्त्रण हुन्छ भन्ने चाहिँ छैन ।

सरकारले सीमा नाकाहरूमा काम गर्नुपर्छ । भारतबाट आउनेलाई नाकामै परीक्षण र क्वारेन्टाइन गर्ने, पोजेटिभ भेटिए आइसोलेनमा राख्ने काम गर्नुपर्छ । यसमा चुस्त काम गर्नुपर्छ । साथै ओमिक्रोनबारे जनचेतना अभियान चलाउनपर्छ ।

राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्वले चुस्त काम गनुपर्छ, तर राजनीतिक प्रतिवद्धता देखिएको छैन । ओमिक्रोन नियन्त्रणका लागि कुनै पार्टी बोलेका छैनन् । बरु, महादिवेशन/जुलस भइरहेका छन् । जबकि, ओमिक्रोन नआइसकेको मान्दा पनि डेल्टा त हामीबीच छँदैछ । डेल्टा नै फैलिने जोखिम रहेकै अवस्थामा ओमिक्रोन आउन लागेको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध बजगाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?