
१६ माघ, काठमाडौं । बलिउडमा साउथका चलचित्रको रिमेक गर्ने प्रचलन निक्कै बढेको छ । साउथका हिट चलचित्रको रिमेक बनाउनमा बलिउडका मेकरहरु लागिपरेका छन् । बलिउडका स्टारहरु पनि करिअरलाई बलियो बनाउनका लागि साउथ फिल्मको रिमेकको पछि लागेका छन् ।
यसैबीच अर्को एक तमिल चलचित्र ‘सोरारई पोटरु’को पनि रिमेक बन्ने भएको छ । सूर्याको मुख्य भूमिका रहेको यो चलचित्र सन् २०२० मा रिलिज भएको थियो । चलचित्रको रिमेकमा अभिनेता अक्षय कुमारले काम गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अक्षय कुमारले आफ्नो करिअरमा थुप्रै साउथका रिमेक चलचित्रमा काम गरिरहेका छन् । उनले यो चलचित्रको छायांकन ‘सेल्फी’को काम सकेपछि गर्ने बताइएको छ । अक्षयको हातमा अहिले आधा दर्जनभन्दा बढी चलचित्र छन् । अक्षयका एक वर्षमै आधा दर्जन चलचित्र रिलिज हुने गरेका छन् ।
पछिल्लो समय अक्षयका सबैजसो चलचित्रले बक्स अफिसमा सुखद् व्यापार गरेका छन् । उनले विशेषगरी साउथका रिमेक र देशप्रेमका कथामा काम गरिरहेका छन् ।
प्रतिक्रिया 4