+
+

व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्न माओवादी र एकीकृत समाजवादी तयार !

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ फागुन १४ गते १९:५६

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् ।

दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका छन् र भोलि आइतबार विहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । त्यो बैठकमा यही सहमति भए सत्तारुढ गठबन्धनको समर्थनमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने छ ।

यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभए गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

एमसीसी अनुमोदनका पक्षमा रहेको कांग्रेसले पछिल्लो समय एमालेसँग निरन्तर सम्वाद गरेको छ । शनिबार पनि कांग्रेस उपसपभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए । एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको निर्णय भएकाले कुनै सहमति नभएको एक नेताले बताए ।

यसरी बन्यो सहमतिको वातावरण

एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु सक्रिय भएका थिए ।

शुक्रबार विहान अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले गृहमन्त्री बालृकष्ण खाँणलाई फोन गरेर व्याख्यात्मक घोषणामा सहमति जुट्न सक्ने संकेत गरेका थिए । लगतै गृहमन्त्री खाँणले पार्टी महामन्त्री गगनकुमार थापासँग सम्वाद गरे, जसले व्याख्यात्मक घोषणाको प्रस्ताव अघि सारेका थिए ।

त्यही दिन दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर आफूहरुले विरोध गर्दै संसद बैठक बहिस्कार गर्ने र ध्वनी मतका आधारमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । तर देउवा विश्वस्त हुन सकेनन् ।

बरु एमसीसीमा प्रश्न उठेका विषयहरुको व्याख्यात्मक घोषणा गर्ने र सत्तारुढ दलहरुको सहमतिमै अनुमोदन गर्ने विकल्पमा छलफल अघि बढ्यो । शनिबार कांग्रेस महामन्त्री गगनकुमार थापा र गृहमन्त्री खाँण, माओवादी नेता एवं अर्थमन्त्री शर्मा र नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका नेता  विरोध खतिवडा र रामकुमारी झाँक्री, अन्तराष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दी लगायतले थप गृहकार्य गरे ।

नेताहरुले व्याख्यात्मक घोषणामा केके राख्ने भनेर मस्यौदा तयार पारेका छन्, जसमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता गर्दा नेपाल कुनै पनि सैन्य गठबन्धनको अंग नहुने, लेखा परिक्षण नेपालको महालेखा परीकक्षकले गर्छ जस्ता विषय प्रष्टसँग उल्लेख गरिएको छ ।

‘भियना कन्भेन्सन’का साथै नेपालको सन्धि ऐनअनुसार तयार पारिएको भनिएको व्याख्यात्मक घोषणामा गठबन्धन सहमत भए मन्त्रिपरिषद् बैठकले पास गरेर संसदमा लैजाने निर्णय गर्छ । एमसीसी सम्झौतासँगै अनुमोदन गरेर सरकारले अमेरिका (मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई जानकारी गराउँछ । त्यसपछि एमसीसी कार्यान्वयनमा लैजाँदा व्याख्यात्मक घोषणालाई स्वीकार गरेको मानिने नेताहरु बताउँछन् ।

व्याख्यात्मक घोषणाको मस्यौदाबारे दोस्रो तहका नेताहरुले शनिबार साँझ शीर्ष नेताहरुसँग छलफल गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको छलफलमा  नेताहरु व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्न सकारात्मक देखिएका छन् ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले भने प्रश्न उठाएका थिए । दुबै नेताले व्याख्यात्मक घोषणाबारे बुझ्न समय चाहिने बताएका थिए । तर प्रचण्ड र माधव नेपाल यही विकल्पमा जान सहमत देखिएको एक नेताले बताए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पनि साँझ पार्टी नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् र, भोलि ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । ‘भोलि गठबन्धनको बैठकमा एउटा समय भयो भने अघि बढ्छौं, नभए यो पनि (व्याख्यात्मक घोषणाको विकल्प) खेर जान्छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यो अवस्थामा कांग्रेस र एमालेबीच सहमति हुनसक्छ ।’

एमाले पनि तयार छ

कांग्रेस नेताहरुका अनुसार सत्तारुढ गठबन्धनकै नेताहरुले एमसीसीको पक्षमा मत दिने बताएका कारण एमालेसँग कुनै सहमति भएको छैन ।

तर माओवादीले एमसीसीको पक्षमा मत दिने निर्णय गरेन भने दुई दलबीच सहमति हुन धेरै समय चाहिँदैन । नेताहरुका अनुसार एमाले नेतृत्वलाई एमसीसीको पक्षमा उभिन कुनै अप्ठ्यारो छैन । अहिले गठबन्धन टुट्ने, आगामी चुनावमा कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि नहुने भएकाले एमाले नेतृत्व एमसीसी संसदबाट अनुमोदन गर्ने गरी कांग्रेससँग सहकार्य गर्न तयार देखिएको छ । एक नेता भन्छन्, ‘माओवादी केन्द्रले भोट नहाल्ने हो भने हाम्रो सबै कुरा टुंगिन्छ । त्यसैले उहाँहरुको निर्णय पर्खिऔं भन्ने भएको छ ।’

प्रधानमन्त्री देउवा नआएका कारण आफ्नै निवास बालकोटमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएनन् । यद्यपि अरु नेताहरुबीच भएको छलफलपछि दुबै दलका नेताहरुले आफूहरु सम्वादमै रहेको बताएका छन् । ‘हामीले आज पनि प्रतिनिधिसभलाई सुचारु गरौं, एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गरेर मुलुक महत्वपूर्ण विषय एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिउँ भनेर प्रस्ताव गर्‍यौं,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘उहाँहरुले पुरानै कुरा दोहोर्‍याउनुभएको छ ।’

२३ भदौदेखि वेलमा नाराबाजी गर्दै आएको एमालेले भने माधवकुमार नेपालसहितत १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँसेको वा सभामुखले राजीनामा दिएको अवस्थामा मात्र संसद सुचारु हुनसक्ने अडान लिएको छ । अन्यथा नियमित प्रक्रियामा भाग लिन नसक्ने भन्दै एमाले महासचिव शंकर पोखरेलले भने, ‘जुन दिन संसदमा प्रवेश गर्ने वातावरण बनाउनु हुन्छ, त्यो दिनदेखि हरेक विषयमा स्पष्ट दिष्टकोणका साथ प्रस्तुत हुन्छौं भनेका छौं ।’

उनले अघि भने, एमसीसीको अनुमोदनमा प्रतिपक्षको सहयोग खोजिराख्नु भएको छ । हामीले गठबन्धनको तर्फबाट एउटा राय बनाउनुस् भनेका छौं । जबसम्म सरकारको राय एक हुन्न, तबसम्म प्रतिपक्षलाई बोलरहने बाध्यता रहन्न ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?