+
+

जसपा बैठकमा एमसीसीबारे छलफल नै भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते २१:०४

१४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को ललितपुरमा जारी केन्द्रीय कार्यकारिणी बैठकमा शनिबार अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको एजेन्डाले विषय प्रवेश नै पाएन ।

शुक्रबार सुरु बैठकमा १२ वटा एजेन्डा तय गरिएको थियो । शनिबारको बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने भनिए पनि स्थानीय निर्वाचनका लागि दल दर्ताको विषयमै छलफल नटुंगिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘नेतृत्वमा एक अर्काप्रति विश्वासको वातावरण देखिएन, निर्वाचन आयोगमा स्थानीय निर्वाचनका लागि दल दर्ताको क्रममा कसको हस्ताक्षर प्रयोग गर्ने भन्ने विषयमा लामो विवाद भयो,’ ती नेताले भने, ‘१ बजेदेखि ५ घण्टा लामो छलफलबाट कुनै निष्कर्ष निस्किएन ।’

स्थानीय निर्वाचनको टिकट बाँडफाँटको सन्दर्भमा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गर्न सक्ने आशंका डा. बाबुराम भट्टराई पक्षीय नेताहरूले गरेका छन् । पार्टी दर्ता अगाडि अध्यक्ष यादवमा केन्द्रित केही महत्वपूर्ण अधिकार बाँडफाँड गर्नका लागि नेताहरूले बैठकमा माग गरेका छन् ।

बैठकमा अध्यक्ष यादवले पार्टी दर्ता र अन्य प्रयोजनका लागि आफ्नै हस्ताक्षर चल्ने र यो स्वभाविक र प्रचलित अभ्यास भएको तर्क गरे । ‘यसअघि अध्यक्षले एकल निर्णय गर्दै आएकाले नेताहरूमा आशंका देखियो,’ एक नेताले भने, ‘तर अध्यक्षज्यू कार्यकारी अधिकार बाँडफाँडमा तयार देखिनुभएन । बैठक बिनानिष्कर्ष टुंगियो ।’

जसपाको बैठक आइतबार पनि जारी रहनेछ । बैठकअघि पार्टीमा देखिएको विवादबारे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईबीच छलफल हुने जसपाका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?