+
+
Shares

कविता : धरती-आकाश

विजय खतिवडा विजय खतिवडा
२०७८ फागुन २४ गते १४:१५

तिमी धरती म आकाश

हामीलाई जोड्ने प्रेमको सेतु

बीचको वायुमण्डल

म वर्सन्छु निरन्तर, बोकेर प्रेमको जल

घुलिन्छु तिमीमा सोसिन्छु तिमीमा

जति जे छ मेरो, अर्पिन्छु तिमीमा ।

जीवन उम्रन्छ तिमीमा, हुर्कन्छ तिमीमै

फल्छ, फुल्छ, लहराउँछ अनि झुल्छ तिमीमै

तिमी धरती, उर्वर समथर

म आकाश, निश्चल निर्मल

लमतन्न तिम्रो फैलावट कतै खोंच कतै डाँडा

तिम्रै गर्भ छेडी आउँछन् कैयन् फूल कैयौं काँडा ।

कहिलेकाहीं लाग्दो हो तिमीलाई

उचालिएर मजस्तै उड्न पाए

बादल, वर्षा, जुनतारा

यावत् ब्रह्म छुन पाए

तर तिमी, रित्तो छैनौ मजस्तो

तिम्रो गर्भ छ, गर्भमा यावत् आत्मा छन्

सबै उम्रन्छन्, फक्रन्छन् अनि फुल्छन् तिमीमै

 जोडिन्छन्, अडिन्छन्, अनि झुल्छन् तिमीमै ।

ती सारा आफ्ना जरा हुन् तिम्रा

तिमीलाई कतै बन्धनझैं पनि लाग्दो हो

छाडी सबै आफ्नालाई तलै, एक्लै कसरी उड़न सक्छौ ?

तिमी उडे उनीहरू लतारिन्छन्

भत्किन्छ सबै अस्तित्व सारा जीवन पछारिन्छन् ।

म त फगत तिम्रो प्रेम हुँ,  म हुर्कने बगैंचा त तिमी हौ

बगैंचाबिनाको फूलको के अर्थ छ र ?

तिमी छौ र पो म बग्ने ठाउँ छ

पानी बिनाको मूलको के अर्थ छ र ? ।

उचाइमा फैलन‌ मात्र मलाई नि कहाँ रहर छ र ?

लाग्छ कहिलेकाही तिमी जस्तै बनुँ

सारा जीवन लहलह मैमा झुलोस्

समस्त हरियाली वसन्त फूलोस्

तर ममा तिम्रोजस्तो उर्वरता छैन

उर्वरता तिम्रो अस्तित्व हो, उडान मेरो अस्तित्व हो ।

तिमीलाई लाग्दो हो, म स्वतन्त्र छु

मेरा सीमा छैनन्, बन्धन छैनन्

तर,

म उड्छु वरिपरि तिम्रै

बहन्छु तिमीमै वर्सन्छु तिमीमै

मेरा सारा उर्जा अर्पन्छु तिमीमै

सक्दिन जान तिमीदेखी टाढा

हो, तिमीमै टाँसिन पनि सक्दिन

टाढिन खोजे हराउँछु, टॉसिन खोजे बिलाउँछु ।

तिमी फक्रन म वर्सनुपर्छ

म फैलन तिमी बाफिनुपर्छ

आऊ हामी दुवैले, आफू हुनुको अस्तित्व स्वीकार गरौं

अनन्त अनन्तसम्म निरन्तर, प्रेमजीवनको सुवास छरौं ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?