+
+
सत्ता गठबन्धनमा :

भरतपुरको जस्तै पेचिलो छ वीरगञ्जमा चुनावी तालमेल

सुरेश बिडारी सुरेश बिडारी
२०७८ चैत २८ गते २२:०३
क्रमशः राजेन्द्रबहादुर अमात्य, राकेश सिंह र राजेशमान सिंह

२८ चैत, वीरगञ्ज । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न आह्वान गरेका छन् ।

तर एकाधस्थान बाहेक अन्यत्र तालमेलमा सहमति जुट्न सकेका छैनन् । स्वयम् शीर्ष तहमा छलफल भइरहेको महानगर र उपमहानगरपालिकाको भागवण्डा पनि टुंगिएको छैन । यसबारेमा सोमबार शीर्ष तहमा छलफल नै भएन ।

आइतबार तयारी तथा अनुगमन संयन्त्रको बैठकमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले ६ मध्ये ३ वटा महानगर लिन र बाँकी आफूहरुलाई छोड्न कांग्रेससमक्ष प्रस्ताव राखेका थिए ।

भरतपुर माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले लिन चाहेको छ । तर कांग्रेस नेताहरु जसरी भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्न तयार छैन, त्यसरी नै वीरगञ्जको प्रमुखमा जसपालाई समर्थन गर्न पनि राजी छैनन् । नेताहरुका अनुसार कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका लागि भरतपुर जति पेचिलो बनेको छ, कांग्रेस र जसपाको तालमेलका लागि वीरगञ्ज त्यतिकै पेचिलो बन्दै गएको छ ।

दुबै दल छाड्न तयार छैनन् मेयर

केन्द्रमा जस्तै पर्सामा पनि चुनावी तालमेलबारे छलफल गर्न चार दलको बैकठ दुई पटक (२२ र २५ चैत) मा बसेको थियो ।

बैठकमा कांग्रेस र जसपाका नेताहरुले गठबन्धन गर्ने, तर वीरगञ्जको मेयर नछाड्ने अडान राखेका छन् । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले मधेस आन्दोलनको रापतापको बलमा मेयर जितेको भए पनि अहिले मेयर विजय सराबगीले नै पार्टी छाडेको र जसपा पनि पहिलेको अवस्थामा नभएको कांग्रेसको तर्क छ ।

कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री (माला लगाउने)।

कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री उपप्रमुख र वडा अध्यक्षमा सम्झौता गरे पनि मेयर कुनै हालतमा नछाड्ने बताउँछन् । भन्छन्, ‘जसपाले मधेस आन्दोलनको रापतापमा जितेको हो, अहिले त्यो स्थिति छैन । वीरगञ्जमा मेयर कांग्रेसले नै पाउनु पर्छ ।’

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव भने २०७४ मा नगर प्रमुख जितेकाले अहिले आफूहरुले दाबी गर्नु स्वभाविक भएको बताउँछन् । ‘महानगको भागवण्डा केन्द्रले नै टुंग्याउँछ,’ उनले भने, ‘तर वीरगञ्ज जसपाकै भागमा पर्छ भन्नेमा ढुक्क छौं,’

के थियो २०७४ को जनमत ?

वीरगञ्जमा गठबन्धनभित्रका कांग्रेस र जसपा हाराहारी शक्ति हुन् । २०७४ मा जसपाले मेयरसहित १२ वडाध्यक्ष जितेको थियो भने उपमेयरसहित १० वटा वडाध्यक्ष कांग्रेसले ।

तत्कालीन संघीय समाजवादी फोरमका सरावगी १९ हजार ३९३ मतका साथ नगर प्रमुखमा निर्वाचित भएका थिए । कांगेसकातर्फबाट नगर प्रमुखका उम्मेद्‍वार बनेका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत ल्याए । यो २ हजार १९६ को अन्तर हो ।

तर उप्रमुखमा निर्वाचित कांग्रेसकै शान्ति कार्कीले भने १९ हजार ६०७ मत ल्याएकी थिइन् । कार्कीले पाएको मत मेयरमा निर्वाचित सराबगीले पाएको भन्दा २१४ मत बढी हो ।

कांग्रेस र जसपाका वडाध्यक्षका उम्मेद्‍वारहरुले पाएको मत जोड्ने हो भने अझ रोचक आँकडा भेटिन्छ । कांग्रेसका वडाअध्यक्षका उम्मेद्‍वारले पाएको कुल मत १९ हजार ९८२ छ भने जसपाको १९ हजार ९६ । अर्थात कांग्रेसको मत ८८६ मात्र बढी छ ।

बराबरीको हैसियतमा भएका दुबै दलले महानगरको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएका छन् । त्यही कारण केन्द्रमा सहमतिको प्रयास भइरहँदा कांग्रेसको महानगर समितिले महानगरमा बरु एक्लै भिड्ने, तर नछाड्ने निर्णय गरिसकेको छ । जसपाले पनि आफूले एक्लै लड्दा जितेको महानगरमा गठबन्धन हुँदा छाड्ने सम्भावना छैन ।

गठबन्धनभित्रै प्रतिस्पर्धा

नेताहरुका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच प्रमुख र उपप्रमुखमा चुनावी तालेमल हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्ने विकल्पमा पनि सकारात्मक छलफल भइरहेको छ ।

नेताहरुका अनुसार कांग्रेस र जसपा दुबै सम्झौता गर्न तयार नभए वीरगञ्जमा पनि त्यही हुनसक्छ । त्यो अवस्थामा गठबन्धनमै रहेका दलहरुबीच अर्को गठबन्धन गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्न पनि उठेको छ । यसमा पाइन्छ भन्नेहरु धेरै छन् ।

त्यो अवस्थामा वीरगञ्जमा माओवादी केन्द्र निर्णायक हुनसक्छ । २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रबाट रहबर अन्सारीले ८ हजार ३०५ मत ल्याएका थिए । महानगरका कुनै पनि वडामा नजितेको माओवादीले वडामा पाएको मत भने त्यो भन्दा कम छ । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्‍वारको कुल मत ४ हजार ३६ छ ।

सिंगो गठबन्धनमा सहमति नजुट्दा कांग्रेस र जसपा दुबैको प्राथमिकतामा माओवादी केन्द्र पार्न सक्छ । कांग्रेससँग तालमेल नभएका स्थानहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मात्र भए पनि गठबन्धन गर्ने छलफल चलिरहेको छ ।

त्यो अवस्थामा वीरगञ्जमा कांग्रेस, जसपाको नेतृत्वको गठबन्धन र एमालेबीच त्रिपक्षीय प्रतिपर्धा हुनसक्छ ।

विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकसँग एकता भएकाले आफ्नो मत बढेको कांग्रेसको दाबी छ । फोरम लोकतान्त्रिकका तत्कालीन विमल श्रीवास्तवले ८ हजार ७०१ मत पाएका थिए । वडामा पाएको मत भने ७ हजार ३०५ थियो । यसलाई पनि जोड्ने हो भने वीरगञ्जमा कांग्रेसको मत २७ हजार २८७ हुन्छ ।

माओवादी र एकीकृत समाजवादीले समर्थन गर्ने हो भने जसपाको पनि त्यही हाराहारी पुग्छ । किनकी माओवादी र जसपाको मत जोड्दा २३ हजार ६४३ पुग्छ भने अघिल्लो पटक राष्ट्रिय जनता पार्टीबाट मेयरको चुनाव लडेका राजेशमान सिंह जसपामा आएका छन्, जसको वीरगञ्जमा व्यक्तिगत भोट राम्रो रहेको दाबी छ । ७४ को चुनावले पनि त्यही भछ । मेयरमा चुनाव लडेका उनले १२ हजार १६५ मत पाएका थिए । जबकी वडामा तत्कालीन राजपाले पाएको भोट ८ हजार ५७६ मात्र छ ।

कांग्रेस र जसपाको टकरावको लाभ लिने प्रयास एमालेको छ । २०७४ मा एमालेबाट मेयर उठेका बसरुद्दिन अन्सारीले ८ हजार ६८८ मत पाएका थिए । तर वडाअध्यक्षका उम्मेद्‍वारहरुले पाएको मत जोड्दा ११ हजार २७० पुग्छ ।

वीरगञ्जका मेयर विजय सराबगी र एमाले अध्यक्ष केपी शर्मा ओली ।

मेयर विजय सरावगीको व्यक्तिगत भोट र गठबन्धनको टकरावको लाभ जोड्दा मेयर जित्न सक्ने उसको दाबी छ । त्यही कारण उसले टिकट दिने आश्वासनसहित सरावगीलाई पार्टी प्रवेश गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँग पनि तालमेल गर्ने हो भने एमालेले पनि कांग्रेस र जसपालाई टक्कर दिनसक्छ ।

त्यो बेलामा थपिएका मतदता निर्णायक हुनसक्छन् । वीरगञ्जमा पाँच वर्षको अवधिमा १६ हजार १४६ मतदाता थपिएका छन् । अघिल्लो पटक वीरगञ्जमा जम्मा एक लाख ८ हजार ५०१ मतदाता थिए । अहिले बढेर एक लाख २४ हजार ६४७ पुगेको छ । थपिएका मतदाता कता धेरै आर्कषित हुन्छन् भन्ने कुराले जितमा निर्णायक अर्थ राख्ने छ ।

केन्द्रको निर्णयको पर्खाइमा

अधिकांश दलमा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्‍वार टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले लिएकाका छन् । त्यसैले आकांक्षीहरु केन्द्रकै निर्णय पर्खिरहेका छन् ।

यद्यपी दलहरुले चुनाव लक्षित घरदैलो कार्यक्रम भने सकाएका छन् । अहिले आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने, लबिङ गर्ने र निर्वाचन लक्षित गतिविधि सञ्चालन गरिरहेका छन् ।

एमालेमा मेयर सरावगीसँगै नवराज शर्मा र महानगर कमिटी सचिव सुन्दर कुर्मी मेयरका आकांक्षी छन् । ‘नगर प्रमुख र उपप्रमुखको सम्भावित उम्मेद्‍वारको सिफारिस महानगर कमिटिले गर्ने हो,’ एमाले महनगर कमिटी उपाध्यक्ष महेश दासले भने, ‘पार्टीभित्र यसबारेमा औपचारिक छलफल भएको छैन । सर्वसम्मत हुन सके एक जनाको नाम जान्छ, नभए २/३ जनाको नाम सिफारिस गरेर जिल्लामा पठाउँछौं ।’

राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै जसपाका नेताहरू ।

जसपाले आधिकारिक रुपमा उम्मेद्‍वार नतोके पनि राजेशमान सिंहले चुनावी अभियान चलाइरहेका छन् । केन्द्रबाट निर्देशन आएपछि उम्मेद्‍वार सिफारिस गरेर पठाउने जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव बताउँछन् । ‘राजेशमान जीलाई पार्टीमा ल्याएकै त्यही कारण हो, तर औपचारिक निर्णय गर्न बाँकी छ,’ उनले भने ‘महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखका उम्मेद्‍वारको टुंगो केन्द्रले नै लगाउने हो । माथिबाट सिग्नल आएपछि उम्मेद्‍वारको नाम सिफारिस गरेर पठाउँछौं ।’

कांग्रेसबाट हालसम्म नेता राकेश सिंह, नरेन्द्र साह, विजय सर्राफ, लक्ष्मीनाथ नेपाल, प्रकाश उपाध्याय र कञ्चन झाले महानगर समितिमा दावेदारी प्रस्तुत गरिसकेका छन् । महानगर समितिले मुल्यांकन गरेर आएका उम्मेद्‍वारहरु मध्येबाट ३ वा ५ जनाको नाम सिफारिस गर्ने कांग्रेसको वीरगञ्ज महानगर कमिटीका सभापति मणिन्द्रलाल नेपाली (श्रेष्ठ)ले बताए । नगर समितिमा मेयरको दाबी पेश नगरेका प्रदेश सभा सदस्य राजेन्द्रबहादुर अमात्य पनि मेयर उठ्न सक्ने कांग्रेसका जिल्ला नेताहरु बताउँछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीमा अधिवक्ता सुरेन्द्र कुर्मी, पुरुषोत्तमलाल झा र ओमप्रकाश सर्राफको नाम चर्चामा छ भने माओवादी केन्द्रले रहबर अन्सारीलाई नै पुनः मेयर उठाउने तयारी गरेको छ । एकीकृत समाजवादी सकेसम्म गठबन्धनमा जाने, नभए महानगर कमिटी अध्यक्ष मनोज चौधरीलाई उम्मेद्‍वार बनाउने मनशायमा देखिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?