+
+

बुटवलकाे ५ वर्ष : क्षेत्रधिकार बाहिरका वाचा, पूरा हुने कुरै भएन

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत २९ गते २०:१३

२९ चैत, बुटवल । २०७४ सालमा बुटवल उपमहानगरपालिकाको मेयरको चुनाव लड्दा शिवराज सुवेदीको चुनावी घोषणापत्रको पहिलो एजेण्डा थियो, बुटवललाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन सशक्त र प्रभावकारी पहल गर्ने ।

राजधानीबारे निर्णय गर्ने कार्यक्षेत्र प्रदेश सभाको भए पनि बुटवलबासीको मन बुझेका सुवेदीले त्यसलाई चुनावी एजेण्डा बनाए । जनताले पनि सुवेदीलाई मेयर जिताए । तर प्रदेशको राजधानी बुटवल होइन, दाङको भालुवाङ तोकियो । २० असोज २०७७ मा सुवेदी आवद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई तिहाई बहुमतका आधारमा प्रदेश राजधानी तोकेको थियो ।

मेयर सुवेदी भन्छन्, ‘स्थायी राजधानी तोक्ने निर्णय प्रदेश सभाले गरेको हो, हामीले चाहेर मात्रै नहुँदोरहेछ ।’ विपक्षीहरु भने प्रदेश राजधानीबारे निर्णय हुने बेला मेयर सुवेदीले बुटवललाई स्थायी राजधानी बनाउन दबाबमुलक पहल नगरेको मात्र होइन, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई सघाएको आरोप लगाउँछन् ।

सुवेदीको अर्को वाचा थियो, कालीगण्डकी तिनाउ डाइभर्सन बहुद्देश्यीय आयोजना र तिनाउ दानव कोरिडर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक वर्षभित्र तयार गर्ने र पाँच वर्षमा निर्माण सम्पन्न गर्न प्रभावकारी पहल गर्ने ।

कालीगण्डकी तिनाउ डाइभर्सन वुटबल उपमहानगर होइन, प्रदेशको समेत हातमा छैन । केन्द्र सरकारले संघीय बजेटमा राख्दा पनि गण्डकी प्रदेश सरकारको विरोधका कारण कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना अघि बढ्न सकेको छैन । तर पनि सुवेदीलाई यो विषयलाई पनि आफ्नो घोषणा पत्रमा समावेश गरे ।

स्थानीय निर्वाचनका बेला एमालेले बुटवल उपमहानगरका लागि २० पृष्ठ लामो चुनावी घोषणापत्र ल्याएको थियो, जसमा स्थानीय तहले गर्नेभन्दा बाहिरका धेरै वाचा थिए । त्यसैले ती वाचा पाँच वर्षे कायकालमा पूरा हुन सम्भव थिएन र भएन पनि ।

उपमहानगरको कार्यालय बन्यो, जनताको आवास बनेन

बुटवल उमहानगरमा एमालेले मेयर, उपमेयरसहित १९ मध्ये १६ वटा वडा जितेको थियो । कार्यपालिकामा दुई तिहाईभन्दा बढी वहुमत भएकाले पनि सुवेदीका लागि सहज थियो ।

तर पाँच वर्षे कार्यकालमा मेयर सुवेदीले आफ्ना चुनावी वाचा अनुसार काम गर्न सकेनन् ।

बुटवलमा सुकुम्बासी समस्या ठूलो छ । २० हजारभन्दा बढी सुकुम्बासी परिवार रहेको नगरपालिकाकै तथ्यांक छ । २०७४ को चुनावको घोषणापत्रमा सुवेदीले चुनावी घोषणापत्रमा जनता आवास कार्यक्रम ल्याउने र पाँच वर्षभित्र सबै विपन्न परिवारलाई आवास सुविधा दिने वाचा गरेका थिए ।

४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ खर्चिएर प्रशासनिक भवन बनाएका वुटबलका जनप्रतिनिधिले जनता आवास कार्यक्रम भने बिर्सिए । सुकुम्बासीको विवरण अध्यावधिक गरी करिव २०० बिघा साार्वजनिक जग्गामा बसोबास गरेको भन्ने अस्थायी निस्सा मात्र दिएको छ ।

बुटवललाई स्मार्ट सिटी र सेमलार र मोतिपुरलाई स्याटेलाइट सिटी बनाउने सुवेदीको चुनावी वाचा थियो । नगरक्षेत्रका सबै सडकहरू दैनिक रुपमा सफाइ गरी धुँवा धूलो, हिलो र मैलोमुक्त बनाउने प्रतिवद्धता जनाएका थिए । तर बुटवलको धुलोधुँवा, फोहोर र खाल्डाखुल्डी सडकमा उल्लेख्य सुधार आएको छैन ।

मेयर सुवेदीले एक वर्षभित्र फोहोरमैला प्रशोधन केन्द्र र २ वर्षभित्र झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर एसियाली विकास बैंकसँग सम्झौता भएर अघि बढेका ७१ करोड लागतको खानेपानी, फोहोर मैला व्यवस्थापन र अटो भिलेज परियोजना नै फिर्ता भयो । परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिले जति समन्वय गर्नुपर्ने हो, त्यो नगरेको आरोप छ ।

मेयर सुवेदी भने फोहोर मैला व्यवस्थापनका लागि विवादरहित जग्गा उपलब्ध नभएपछि सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र बनाउने डीपीआर बनेको र जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको बताउँछन् । अहिले भने बुटवलमा दैनिक संकलन हुने फोहोर तिनाउ नदी किनारमा फाल्ने गरिएको छ ।

तिनाउ–दानव करिडोर सडक पाँच वर्षभित्र बनाउने सुवेदीको चुनावी वाचा थियो । सडक करिब १५ प्रतिशत मात्र निर्माण भएको छ । करिडोर प्रभावित बासिन्दाले उचित ठाउँमा स्थानान्तरण र क्षतिपुर्तिको माग गर्दै आन्दोलित भएका छन् । केही जग्गाधनीले अदालतमा मुद्दा समेत दायर गरेका छन् ।

सुवेदीको प्रतिबद्धतापत्रमा बुटवल, सिद्धार्थनगर, लुम्बिनी, तिलौराकोट, देवहद र रामग्राम जोड्ने गरी टुरिस्ट बस, ट्रलीबस र मोनोरेल सञ्चालनमा ल्याउन प्रभावकारी पहल गर्ने वाचा गरिएको थियो । सुन्दर यातायात प्रालिसँग मिलेर चैत तेस्रो साताबाट दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ, तर ट्रलीबस र मोनोरेलको अत्तोपत्तो छैन । मेयर सुवेदी आफैं अब वुटबल महानगर भएपछि मात्र यो कार्यान्वयनमा आउने बताउँछन् ।

सुवेदीले हरेक टोल, एक सार्वजनिक शौचालयको नारा दिएका थिए । ५ वर्षमा ५० वटा सार्वजनिक शौचालय बनेका छन्, जसमध्ये ३४ वटा सामुदायिक विद्यालय र १४ वटा सार्वजनिक स्थानमा छन् । सिद्धबाबा मन्दिर, बसपार्क, राजमार्ग चौराहा, गोलपार्क, नेपालगञ्ज रोड, जितगढी, नरैनापुरधाममा सार्वजनिक शौचालय बनेका छन् ।

चुनावी वाचाअनुसार तिनाउ दानव नदी दोभानमा धोबीघाट बनेको छ । हरेक बस बिसौनीमा व्यवस्थित यात्रु प्रतिक्षालय बनाउने वाचा करिब ८० प्रतिशत पूरा भएको उपमहानगरपालिकाको दावी छ ।

सुवेदीले चुनावी घोषणापत्रमा विद्यालयहरुको म्यापिङ गर्ने भनिएको छ, यसका लागि ५ वर्षे योजना बनेको छ ।

जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक क्रियाकलाप प्रदान गर्न ‘सिंगो बुटवलः एक विद्यालय अवधारणा’ अगाडि ल्याइएको उपमहानगरको दाबी छ ।

बुटवल टेक्निकल इन्स्टिच्युटमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी ४ वर्षे मेकानिकल विषय पढाउन भर्ना प्रकृया शुरु भएको छ । प्रादेशिक विश्व विद्यालय स्थापनाका लागि बुटवल १२ चारपालामा ४० बिघा जग्गा प्राप्तिका लागि सिफारिस गरी संघीय सरकारलाई पठाइएको छ ।

उपमहानगरमा रहेका ६ वटा स्वास्थ्य संस्थालाई विस्तार गरेर १३ वटा बनाइएको छ भने सबै स्वास्थ्य संस्थामा ल्याब र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको मेयर सुवेदीले बताए । उपमहानगरपालिका अन्तर्गत ७२ जना स्वास्थ्यकर्मी कार्यरत छन् । ‘४० वर्ष उमेर माथिका सबै नगरवासीको निःशुल्क मधुमेह परीक्षण, ज्येष्ठ नागरिकको घरदैलोमा औषधिसहित निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ’, सुवेदीले भने ।

कृषितर्फ फसल धितो राखेर अनुदान कार्यक्रममार्फत चालु आवमा मात्रै ७ सय २६ कृषकले २२ सय २७.७ मेट्रिक टन फसल धितो राखेर कर्जा सापटी लिएको मेयर सुवेदीले बताए । वार्षिक सरदर ५ हजार पशुको बीमा, २ वटा कृषि उपज र पशुपन्छीको बजार बिस्तार, २० वटा कृषिका पकेट क्षेत्र पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम सञ्चालन, बीऊबिजन र खाद्यान्नका अलग अलग पकेट क्षेत्र निर्धारण गरिएको मेयर सुवेदीले बताए ।

के–के पुर्वाधार बने ?

५ वर्षमा ४५ वटा डिप बोरिङ तथा स्यालो ट्यूबवेल जडान र मर्मत, कृषि उपज संकलन केन्द्र निर्माण, ८५ वटा ग्रिन हाउस निर्माण, १० वटा वडाको वडा कार्यालय निर्माण तथा स्तरोन्नती, उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण, जितगढी किल्लाको गुरुयोजना बनाएर कार्यान्वयन चरणमा, कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण, १३ जना योद्धाको अर्धकदको शालिक निर्माण, हरियाली उद्यान विस्तार गर्दै जितगढी केन्द्रित पर्यटन सर्किट निर्माण गरेको मेयर सुवेदीले बताए ।

यस्तै ३ बिघामा खुम्चिएको बैठौलिया कपरकट्टी ताललाई ३० विगाहामा विस्तार गरी नौका विहार सञ्चालन, १५ हजार मिटर विद्युत लाइन विस्तार, जनघनत्व धेरै रहेका वडा नं. ७ र ८ मा नयाँ आयोजनाबाट खानेपानीको व्यवस्थापन गरिएको सुवेदीले बताए । ‘नगरसभाबाट पारित विकास योजना र घोषणापत्रमा गरिए अनुसार सुरु भएका कामहरु शतप्रतिशत पूरा भएका छन्,’ सुवेदीले भने, ‘घोषणा गरिएका बाहेक अतिरिक्त काम पनि हामीले गरेका छौं ।’

मेयरका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे भने मेयर सुवेदी आफ्ना चुनावी प्रतिबद्धताहरु पूरा गर्न पूर्ण रुपमा चुकेको दाबी गर्छन् । ‘बुटवललाई स्थायी राजधानी, सुकुम्बासीलाई लालपुर्जा, कालिगण्डकी डाइभर्सन, तिनाउ दानव करिडोर सडकलगायतका महात्वाकांक्षी सपना देखाएर भोट मागियो, जितेपछि काम गरिएन,’ पाण्डे भन्छन् ।

चक्रपथ निर्माण, एक वर्षभित्र अटो भिलेज निर्माण, ४ स्थानमा विद्युतीय शव दाह गृह निर्माण, बन्द रहेको बुटवल धागो कारखाना सञ्चालन, दुई वर्षभित्र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालन, बृद्धबृद्धाको स्याहार सुसार गर्न हस्पिक केयर सेन्टर, जेष्ठ नागरिकलाई उपचार गर्ने जेरियाटिक हस्पिटल, निःशुल्क नगर एम्बुलेन्स, ट्रमा सेन्टरको स्थापना, हिंसा पीडित महिलाका लागि सेफ हाउस जस्ता चुनावी वाचाहरु मेयर सुवेदीले पुरा गर्न नसकेको उनले बताए ।

बुटवल गोलपार्क निवासी वहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसी पनि चुनावी वाचाअनुसार काम नभएको बताउँछन् । सुवेदीले मतदाता समक्ष १७ वटा शीर्षक र १२१ वटा बुँदामा चुनावी प्रतिबद्धता सार्वजनिक गरेको स्मरण गर्दै उनले भनेका छन्, ‘अधिकांश महत्वपूर्ण प्रतिबद्धता जस्ताको तस्तै छन् ।’

बुटवल वडा नंं. १३ का वडाध्यक्ष नारायणप्रसाद पुनले मेयर सुवेदीले वार्षिक वजेटमा वडाहरुलाई अति कम वजेट दिने गरेको तर अबण्डा शिर्षकमा धेरै वजेट राख्ने गरेको गुनासो गर्छन् । ‘न्यून वजेट सिलिङ निर्धारण गरेर वडाहरुलाई खुम्चाउने काम भयो,’ पुनले भने, ‘आफू अनुकुलका मान्छेलाई ठेक्का दिएर त्यसबाट लाभ लिन अबण्डा शीर्षकमा वजेटको ठूलो हिस्सा राख्ने गरियो ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?