+
+

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

सम्झना विक सम्झना विक
२०७९ वैशाख ९ गते १७:५९

काठमाडौं । एउटा भनाइ छ, नेपाली दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । यसले दम्पतीबीच हुने यौन असमझदारी र असन्तुष्टितर्फ संकेत गर्छ ।

‘यौन’ भन्नासाथ खुम्चिने नेपाली समाज यसबारे खुला बहस गर्न हच्किन्छ । यौनलाई ‘छाडा’ भन्ने मनोसामाजिक धारणाको दीर्घकालीन असर दम्पतीको ओछ्यानसम्म परेको छ । नतिजा, श्रीमान-श्रीमती एकआपसमा यौनका विषयमा कुरा गर्दैनन् । यौनका तौरतरिका र विधिहरुमा बहस गर्दैनन् । त्यसैले उनीहरु उन्मुक्त यौनसुखबाट वञ्चित छन् ।

नेपाली दम्पतीको यौन व्यवहार आफैंमा संकुचित र अतृप्त रहेको बताउँछन्, मनोविद्हरु । ‘अधिकांश दम्पती यौन सुखको उत्कर्षमा पुग्न पाउँदैनन्,’ मनोचिकित्सक विजय ज्ञवाली भन्छन्, ‘यसमा उनीहरु पूर्णतया सन्तुष्ट भइरहेका छैनन् ।’

विवाहेत्तर सम्बन्धदेखि सम्बन्ध-विच्छेदसम्मको स्थिति आउनुमा ‘अतृप्त यौन’ पनि एउटा मूल कारण रहेको उनीहरुको भनाइ छ । ‘नेपाली समाजले यौन व्यवहारलाई सहर्ष रुपमा स्वीकार्न सकेको छैन,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘किनभने यसलाई बद्नाम गरिएको छ ।’

यौनका विषयमा दम्पतीबीच जति बहस हुनुपर्ने हो त्यसो नभएको उनको विश्लेषण छ ।

अक्सर यौनमा पुरुष हाबी हुने गरेका छन् । जब पुरुषलाई यौन इच्छा जाग्छ, तब उनीहरु यौन क्रिया सुरु गर्छन् । पार्टनर तयार छन् वा छैनन्, पार्टनरको मानसिक स्थिति कस्तो छ ? उनीहरुले बुझ्ने धैर्यता राख्दैनन् । बस्, आफूमा इच्छा जाग्नासाथ उनीहरु महिलामाथि भोग गर्न हतारिन्छन् ।

छैन छलफल

कसरी यौन सुखभोग गर्ने ? कसरी यसमा दुवै पार्टनर सहभागी हुने ? कसरी चरम आनन्दको स्थितिमा पुग्ने ? कस्तो आसन अपनाउने ? कस्तो वातावरण व्यवस्थापन गर्ने ? यस विषयमा दम्पतीबीच सायदै कुराकानी हुन्छ ।

कतिसम्म भने एक जनामा यौन इच्छा जाग्नासाथ अर्का पार्टनर तयार हुनुपर्ने प्रवृत्ति छ । त्यसैले दुवैजना समान रुपमा यौनमा सक्रिय र सहभागी भइरहेका हुँदैनन् ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘यौन भनेको पुरुषको मात्र अधिकार हो भन्ने मनोविज्ञान छ । महिलाले यौनको विषयमा खुलेर कुरा गर्दा चरित्रलाई लिएर प्रश्न गरिन्छ ।’ त्यसैले महिलाले चाहेर पनि यौनप्रतिको आफ्नो रुचि जाहेर गर्न नसक्ने उनको बुझाइ छ ।

मनोविश्लेषक वासु आचार्य सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक कारणले यौन छलफलको विषय नहुने बताउँछन् । पौराणिक मूल्य मान्यताहरुलाई अनुशरण गर्दा  यौनको विषयमा खुलेर बोल्न हुँदैन भन्ने मान्यता रहेको छ ।

‘छलफल गर्ने प्रवृत्ति नँया पुस्ताले गरेपनि सबैका हकमा यो लागु भएको छैन’ मनोविद् करुणा कुवँर भन्छिन्, ‘यौनका विषयमा  खुल्ला रुपमा छलफल गर्दा नराम्रो सोच्छन् भन्ने भय छ ।’

‘नेपाली समाजमा यौन शिक्षा र यौन सन्तृष्टि दुवैको कमी छ,’ मनोचिकित्सक विजय ज्ञवाली भन्छन् ।

पुरुष हाबी

अक्सर यौनमा पुरुष हाबी हुने गरेका छन् । जब पुरुषलाई यौन इच्छा जाग्छ, तब उनीहरु यौन क्रिया सुरु गर्छन् । पार्टनर तयार छन् वा छैनन्, पार्टनरको मानसिक स्थिति कस्तो छ ? उनीहरुले बुझ्ने धैर्यता राख्दैनन् । बस्, आफूमा इच्छा जाग्नासाथ उनीहरु महिलामाथि भोग गर्न हतारिन्छन् ।

यसैगरी वीर्य स्खलनपछि उनीहरु शिथिल हुन्छन् । महिला पार्टनरले यौनमा सुखभोग गरे वा गरेनन् ? उनीहरु बुझ्न चाहँदैनन् । आखिर किन महिलाहरु आफनो यौन इच्छा बताउँदैनन् ? किन उनीहरु आफ्नो सन्तुष्टि अनुरुप यौन क्रियामा सहभागी हुँदैनन् ?

‘महिलाले यौनबारे कुरा गर्दा यौनमा अग्रसरता देखाउँदा उनीमाथि नराम्रो धारणा राखिन्छ,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘त्यसैले उनीहरु चुपचाप बस्न बाध्य छन् ।’ पुरुषप्रधान सोचका कारण पनि दम्पतीको यौन जीवन खल्लो हुने गरेको उनको बुझाइ छ । ‘कुनै महिलाले विवाहको पहिलो रातमै सक्रियता देखाइन् भने उनीमाथि शंका गरिन्छ,’ ज्ञवाली भन्छन् ।

मनोविद करुणा कुँवरका अनुसार महिलाभन्दा पुरुष नै बढी यौनमा अग्रसर हुने गर्छन् । ‘यद्यपि पछिल्लो पुस्तामा केही परिवर्तन देखिदैछ,’ कुँवर भन्छिन्, ‘उनीहरु आपसी समझदारी र सक्रियता खोज्न थालेका छन् ।’

अपनाउँदैनन् आसन

यौन सुखका लागि अनेकन आसन प्रचलनमा छन् । विश्वकै पहिलो यौन संहिता मानिएको वात्सयानको कृति ‘कामसूत्र’ले पनि यौनका आसन र त्यसको प्रयोग विधि उल्लेख गरेको छ । हाम्रा मन्दिरका टुँडालहरुमा यौन आसनका अनेक आकृति देख्न सकिन्छ ।

यौनमा नयाँपन अनुभव गर्नका लागि यौनका भिन्नभिन्नै आसन अभ्यास गर्नुपर्ने सुझाव दिइन्छ । यद्यपि, नेपाली दम्पती यौन आसनबारे त्यति अभ्यास नगर्ने मनोविद्हरुको बुझाइ छ ।

यौन आसनले यौनलाई ताजापन दिन्छ । सधैं एउटै खाना खाँदा रुचि कम भएजस्तै एउटै आसनले सन्तृष्टि दिन नसक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । यौनको आसनले यौन जीवनलाई नवीकरण गर्न सहयोग पु¥याउने भएकाले यसबारे नयाँ पुस्ताको सक्रियता बढ्दै गएको उनको भनाइ छ ।

कतिपयले भने देखासिकीमा यौन आसन अपनाउँदा त्यसले यौन सन्तुष्टि भन्दा बढी पीडा दिने गरेको बताउँछिन्, मनोविद् कुँवर । अहिले कतिपयले पोर्न साइट हेरेर त्यसैको सिको गर्ने गर्ने गरेको उनी बताउँछिन् । ‘पोर्न साइटमा त अभिनय गरिएको हो । धेरै टेक लिएर त्यस्तो छायांकन गरिन्छ,’ कुँवर भन्छिन्, ‘अन्धाधुन्द त्यसैलाई अनुसरण गर्दा यौन सुख प्राप्त नहुन सक्छ ।’

यौन शारीरिक क्रिया भएपनि भावनात्मक उपस्थिति महत्वपूर्ण हुने उनको भनाइ छ । त्यसैले यौनमा सहभागी भइरहँदा उनीहरु कस्तो भावनात्मक स्थितिमा छन् भन्ने कुराले यौन सुखको निर्धारण गर्छ ।

मनोविश्लेषक सिग्मड फ्रायडको अनुसन्धानले के देखाएको छ भने यौनमा ८० प्रतिशत उपस्थिति मानसिक हुन्छ । त्यसमा शारीरिक उपस्थिति २० प्रतिशत मात्र हुन्छ ।

गरिबी र अस्तव्यस्त जीवन यौन सुखको बाधक

आर्थिक कमजोरी, गरिबी, बेरोजगारी र धपेडीपूर्ण जीवनले पनि अहिले नेपाली दम्पतीको यौन सुख हरण गरिरहेको मनोविदहरुको भनाइ छ ।

व्यक्तिको मानसिक स्वास्थ्य कस्तो छ भन्ने कुराले उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।  मानसिक रुपले स्वस्थ मान्छेले मात्र पूर्ण रुपमा यौन सुखभोग लिन सक्छन् । तर आज मान्छे धपेडीमा छ । तनावमा छ । गरिबी र बेरोजगारीले सताइएका छन् । यावत् कुराले उनीहरुको मनस्थिति खलबलिएको छ । नतिजा, यौनमा उनीहरु मानसिक रुपले पूर्ण सहभागी हुन सकिरहेका छैनन् ।

‘तनावमा भएको बेला गरिने यौन सम्पर्कबाट कुनै आनन्द अनुभव गर्न सकिंदैन,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘यो सन्तान उत्पादन गर्नका लागि मात्र हुन्छ ।’

उनका अनुसार यौन सुख भनेको पुरुष र महिलाले गर्ने यौन सम्पर्क मात्र होइन । हात समातेर कुरा गर्ने, बसेर चिया खाने, करेसाबारीमा काम गर्ने, सुत्ने बेलामा कुनै विषयमा लामो समयसम्म छलफल गर्ने, सँगै किताब पढ्ने, स्पर्श गर्ने, चुम्बनले पनि यौन सुख प्राप्त गर्न सकिन्छ  । शारीरिक सम्पर्कले मात्र यौन सुख दिन्छ भन्ने गलत धारणा रहेकाले आर्थिक कमजोरी, गरिबी, बेरोजगारी तथा धपेडीपूर्ण जीवनलाई व्यवस्थापन गरेर यौन सुख लिन सकिने उनको बुझाइ छ ।

सम्बन्धलाई एकदमै नियन्त्रण गर्न खोज्ने प्रवृत्तिले पनि यौन सुख प्राप्त गर्न नसकिने बताउँछिन्, मनोविद् कुवँर । यौन सम्पर्क मानसिक रुपमा तयार भएर गरियो भने मात्र वास्तविक यौन सन्तृष्टि सकिने उनको भनाइ छ ।

यौन भनेको एकदमै खुसी र आनन्दको बेलामा गरिने क्रियाकलाप भएकाले आर्थिक कमजोरी, गरिबी, बेरोजगारी तथा धपेडीपूर्ण जीवनले प्रत्यक्ष प्रभाव पार्ने मनोविद् गोपाल ढकाल बताउँछन् ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?