+
+

शव चिरेर मृत्युको कारण पत्ता लगाउने डा. गोपाल चौधरी

कुहिएको लासको पोस्टमार्टम गर्दा जुन नराम्रो फिलिङ्स हुन्छ, त्यो कारणले पनि धेरै डाक्टर यो विषय रोज्न हिचकिचाउँछन् । यो विषय रोजेपछि आफ्नो छुट्टै क्लिनिक खोल्ने भन्ने हुँदैन ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ वैशाख २८ गते ९:१५

२८ वैशाख, काठमाडौं । मृत मानिसको शरीर चिर्नु चानचुने कुरा होइन । थ्रीडी (डर्टी, डेन्जरस र डिफिकल्ट) समेत भनिने पोस्टमार्टम गर्ने काममा धेरैको रुचि देखिंदैन । हुन त यो बाध्यकारी पेसा त होइन, तर अस्पतालका लागि अनिवार्य भने अवश्य हो ।

मृत्यु भइसकेको मानिसको शरीर चिर्नु पक्कै सहज काम होइन । त्यसैले त यो पेसामा संलग्न हुनेहरूको संख्या पनि न्यून छ । तर धेरैको आकर्षण नभएको यही कठिन भनिएको पेसालाई नै आफ्नो भविष्य बनाएर अघि बढेका छन्, फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी ।

डा. चौधरीले त्रिवि शिक्षण अस्पतालमा शव चिर्न थालेको १२ वर्षभन्दा बढी भइसक्यो । काठमाडौं मेडिकल कलेजबाट २०६१ सालमा एमबीबीएस उत्तीर्ण गरेपछि उनले चार वर्षसम्म त्यहींको इमरजेन्सी, आईसीयू, वार्ड र फोरेन्सिक मेडिकल विभागमा काम गरे । त्यसैक्रममा फोरेन्सिक विशेषज्ञ प्रा. डा. हरिहर वस्तीसँग उनको भेट भयो । फोरेन्सिक मेडिसिनमा जनशक्तिको एकदमै कमी छ । यो विभागमा राम्रो भविष्य भएकाले यो विभागमा जोडिन डा. वस्तीले सल्लाह दिए । उनकै प्रेरणाका कारण डा. चौधरी फोरेन्सिक मेडिकल विभागसँग जोडिए ।

डाक्टरहरू माझ फोरेन्सिक मेडिसिन त्यति लोकप्रिय पनि छैन । फोरेन्सिक मेडिसिन लाससँग सम्बन्धित हुन्छ । धेरै डाक्टर जिउँदो मानिसको उपचार गर्ने पद्धतिमा जोडिएका हुन्छन्, मृत्यु भइसकेको मान्छेको मृत्युको कारण पत्ता लगाउने काममा जोडिन चाहँदैनन् । त्रिविको फोरेन्सिक विभागमा अहिले डा. चौधरीसहित चार जना चिकित्सक कार्यरत् छन् ।

सुरुवातमा शव चिर्दा विरक्त लाग्यो

मानिसको मृत्युको कारण पत्ता लगाउने काम मेडिकल क्षेत्रका लागि अत्यावश्यक काम रहेको डा. चौधरी बताउँछन् । सुरुमा त यो पेशा रोज्दा उनलाई निकै गाह्रो भएको थियो । ‘डाक्टर भएर पनि कस्तो विषय रोजेछ’ भनेर परिवार र साथीभाइले नै उनलाई भने ।

त्यो बेला भने यो पेसा छाडेर अर्कै विषय पो रोजौं कि भन्ने सोच पनि आयो उनलाई । तर पोस्टमार्टम गर्ने कामको महत्व बुझेको हुनाले मनमा जतिसुकै तर्कना आए पनि पछाडि फर्किन चाहेनन् ।

एमबीबीएसपछि फोरेन्सिक मेडिसिन पढिरहँदा उनको परिवार तथा साथीहरूले विरोध गरेका थिए । डाक्टर भइसकेपछि त मान्छेलाई बचाउने डाक्टर हुनुपर्छ, मुर्दा चिर्ने डाक्टर किन बन्नु भन्थे । तर यो विषय पढ्न थालिसकें किन छोड्नु यो सकिएपछि अर्को पनि पढ्छु भनेर उनले परिवारलाई मनाए

एमबीबीएस पढ्ने बेलामा तेस्रो वर्षमा नै एक वर्ष फोरेन्सिक मेडिसिन कोर्स हुन्छ । जसमा दुई हप्ता पोस्टमार्टमको तालिम हुन्छ । त्यसैले त्यो तालिममा संलग्न भएको हुनाले यो विषयमा स्नातकोत्तर पढ्दै गर्दा यो पेसामा लागेर पहिलो शव पोस्टमार्टम गर्न उनलाई गाह्रो भएन ।

त्रिवि शिक्षण अस्पतालमा स्नातकोत्तर फोरेन्सिक मेडिसिन पढ्दै गर्दा उनले धेरै लास चिरे । प्राकृतिक रूपमा मृत्यु भएकाभन्दा पनि दुर्घटना भएको, आत्महत्या गरेको, हत्या भएको र कुहिएका लास पनि चिर्नु पर्दा भने उनलाई विरक्त लाग्थ्यो ।

सुरुवाती ६ महिनासम्म त यो पेसामा किन जोडिएछु भनेर उनलाई पछुतोसमेत लाग्यो । कुहिएको, स्याउँस्याउँ किरा परेको लास चिरेको दिन त उनलाई खाना खान पनि एकदमै गाह्रो हुन्थ्यो । खाना खान लागेको बेला त्यस्ता लास सम्झेर खानै नरुच्ने गरेको उनी सुनाउँछन् । अहिले भने उनलाई लास चिर्न कुनै समस्या हुँदैन । यस अवधिमा उनले पाँच हजारभन्दा बढी शवको पोस्टमार्टम गरिसकेका छन् ।

कोही निर्दोष व्यक्तिलाई हत्याको आरोप लाग्यो, त्यो हत्या उसले गरेको होइन भनेर मृतकको शव पोस्टमार्टमबाट पत्ता लागेर निर्दोष व्यक्ति आरोपबाट मुक्त हुँदा उनलाई साह्रै खुसी लाग्छ । आफूले अंगालेको पेसाले एउटा निर्दोष व्यक्ति सजाय पाउनबाट बचेको सुन्दा उनलाई खुसी लाग्छ ।

सडक दुर्घटनामा मृत्यु भएका, आत्महत्या गरेका र हत्या भएका लासहरूको त भूतप्रेत हुन्छ भनेर डराउने धेरै हुन्छ । समाजमा व्याप्त भूतप्रेतबारे धारणा गलत भएको उनी सुनाउँछन् । ‘लामो समय लासहरूसँग बिताउँदा र लास चिर्दा कहिलेकाहीं राति सपनामा पनि लासहरूसँग नै सुतेको सपना देख्छु । तर वास्तविक जीवनमा भने मैले कहिल्यै भूतप्रेत देखेको छैन,’ डा. चौधरी भन्छन् ।

खाली मरेको मान्छे र लास मात्र देखिरहँदा त्यसकै कारणले डिप्रेसनमा पो जान्छु कि भन्ने डर समेत उनलाई भएको थियो । तर १२ वर्ष यही विषयमा काम गरेको हुनाले अहिले भने उनलाई सामान्य लाग्न थालेको छ ।

१२ वर्षको अनुभव साट्दै गर्दा उनी भन्छन्, ‘धेरै लास चिरें, पोस्टमार्टम गर्ने क्रममा मेरो हात कहिल्यै काँपेनन् । तर सात-आठ वर्षअघि प्लस टुमा अध्ययन गरेको मिल्ने साथीको विमान दुर्घटनामा मृत्यु भएको थियो । त्यो लास पनि पोस्टमार्टमको लागि आयो । आफूसँगै पढेको त्यो साथीको पोस्टमार्टम गर्ने क्रममा भने मेरो हात काँपेको थियो । त्यो पोस्टमार्टमलाई म जिन्दगीभरि भुल्दिनँ ।’

परिवार पनि खुसी छन् अहिले

एमबीबीएसपछि फोरेन्सिक मेडिसिन पढिरहँदा उनको परिवार तथा साथीहरूले विरोध गरेका थिए । डाक्टर भइसकेपछि त मान्छेलाई बचाउने डाक्टर हुनुपर्छ, मुर्दा चिर्ने डाक्टर किन बन्नु भन्थे । तर यो विषय पढ्न थालिसकें किन छोड्नु यो सकिएपछि अर्को पनि पढ्छु भनेर उनले परिवारलाई मनाए ।

सुरुमा उनका अभिभावकलाई आफ्नो छोरा लास चिर्ने डाक्टर हो भन्न पनि अप्ठेरो लाग्थ्यो । ‘जब दिनहरू बित्दै गए दुर्घटना, भूकम्प लगायतका केसमा पनि शवको पहिचान गर्न पोस्टमार्टम टिम चाहिन्छ । हत्याका घटनामा दोषी र निर्दोष पत्ता लगाउन पनि यस्तो टिम चाहिन्छ भन्ने कुरा सबैले बुझ्न थालेपछि भने छोरो पोस्टमार्टम विशेषज्ञ हो भनेर निर्धक्कसँग भन्नु हुन्छ,’ डा. चौधरी सुनाउँछन् ।

तर पनि परिवारमा बालबालिकाहरूलाई भने उनले आफूले गर्ने कामबारे जानकारी दिएका छैनन् ।

‘डा. भगवान् कोइराला जस्तो बन्छु भन्ने इच्छा थियो’

हुन त उनको सानैदेखिको इच्छा मुटुसम्बन्धी डाक्टर बन्ने थियो । एमबीबीएस पढ्ने बेलासम्म पनि उनको इच्छा डा. भगवान् कोइराला जस्तै बन्ने थियो । डा. कोइराला जस्तै बन्न पाए धेरै मानिसले चिन्थे कि भन्ने लाग्थ्यो उनलाई । तर पछि केही कारणवश फोरेन्सिक मेडिसिनतिर जोडिए । यो विभागमा जोडिएर त्रिवि शिक्षण अस्पतालमा आएर केही समय काम गरिसकेपछि भने उनलाई म भगवान् कोइरालाको ठाउँमा भए हुन्थ्यो जस्तो भएन । किनकि यो क्षेत्रमा पनि केही गर्नु छ भन्ने सोचको विकास भयो ।

यो क्षेत्रमा जोडिएपछि मैले मरेको मान्छे मात्र भेट्छु । मेरो साथीभाइसँगको नाता टाढिंदै जान्छ होला । कोही बिरामी परे भने पनि मकहाँ जँचाउन आउँदैनन्, किनकि म त लास हेर्ने डाक्टर हो भन्ने सोच्थे उनी । तर छुटेका साथी पनि यहीं आएर भेट भए । किनकि काठमाडौं जिल्लामा पोस्टमार्टम हुने ठाउँ यही एउटा मात्र हो । त्यसैले त्यहाँ डा. गोपाल चौधरी छ भनेपछि बिर्सेका साथीहरू पनि भेट्न आउन थाले ।

यो क्षेत्रमा जोडिएपछि अरू डाक्टरलाई जस्तो चिन्दैनन् होला भन्ने लाग्थ्यो उनलाई । तर ठ्याक्कै उल्टो भयो । फोरेन्सिक मेडिसिन कानुनमा, प्रहरीमा र मानव अधिकारको क्षेत्रमा पनि जोडिएको हुनाले झन् धेरैले चिन्न थाले ।

फोरेन्सिक विभागमा कम जनशक्ति

कुहिएको लासको पोस्टमार्टम गर्दा जुन नराम्रो फिलिङ्स हुन्छ, त्यो कारणले पनि धेरै डाक्टर यो विषय रोज्न हिचकिचाउँछन् । यो विषय रोजेपछि आफ्नो छुट्टै क्लिनिक खोल्ने भन्ने हुँदैन । किनभने प्राइभेट पोस्टमार्टम गर्न पाउने स्वीकृति सरकारले दिएको छैन, जसले गर्दा सरकारी अस्पतालमा सरकारले तोकेको तलबमा मात्र काम गर्नुपर्ने हुन्छ । यी दुई कारणले गर्दा एमबीबीएसपछि यो क्षेत्रमा आउनेको संख्या एकदमै कम रहेको डा. चौधरी बताउँछन् ।

कसरी गरिन्छ पोस्टमार्टम ?

मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ । त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै लासको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक-मुखबाट केही तरल पदार्थ आएको छ कि लगायतका कुरा नोट गरिन्छ । त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र बाहिर निकालेर भित्री अंगहरूको जाँच गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।

यसरी पोस्टमार्टम गर्दा कुनै कारण पत्ता लागेन भने विष सेवनबाट पनि मृत्यु हुनसक्छ । कारण पत्ता लागेन भने त्यस्तोमा भिजरा र रगत जाँच गराइन्छ । भिजरा भन्नाले कलेजोको टुक्रा, दुईवटा मिर्गौलाको आधा-आधा भाग, पेट र पेटमा भएको वस्तु संकलन गरेर जाँच गरिन्छ । मृत्युको कारण पत्ता लगाइसकेपछि फेरि सम्पूर्ण अंगलाई जोडेर परिवारलाई शव बुझाइन्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?