+
+

मनै भाँचिएपछि जीवन अन्त्य गर्नेहरूको कथा

त्यस्तो अवस्थाबाट मुक्ति पाउने एक मात्र उपाय संसारबाट विदा लिनु नै देखेर आत्महत्या गर्‍यो । ती डाक्टर बुबाले सन्तानलाई आफ्नो ‘विचार र सपना’ नथोपारेको भए एक युवाको जिन्दगी जाँदैनथ्यो ।

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७९ वैशाख ३१ गते १४:५०

चुनावी घोषणा पत्र हेर्दा स्वास्थ्यबारे केही लेख्न मन लाग्यो । यी सवाल कहिले कार्यान्वयन हुन्छ ? थाहा छैन ।

चुनावी घोषणापत्रमा अधिकांशले युवा समाजलाई आक्रान्त पारेको मानसिक स्वास्थ्य र तनाव आदिको बारेमा बोलेका छैनन् । नेताहरूले मानसिक स्वास्थ्य भन्ने के हो र यसले मानव जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरा बुझे पो !

केही दिनअघि एक पत्रकार मित्रले आफ्नो एक परिचित मित्रको १८ वर्षीय छोराले गरेको आत्महत्या प्रयासबारे बताए । छोराका साथीले सिसा फोडेर ती युवकलाई बचाएको घटनासँग जोडिएका केही पृष्ठभूमि छन् ।

१८ वर्षका ती युवकलाई दश कक्षा पास गरेपछि जसरी भएपनि इन्जिनियर बन्नुपर्छ भन्ने दवाव दिन थालियो । अभिभावकले प्लस टुमा विज्ञान विषय लिन बाध्य बनाए। तर, विज्ञान पढ्नै मन नलाग्ने ती किशोरले ११ कक्षाको परीक्षामा एकदम थोरै नम्बर ल्याए । उनलाई एकप्रकारको हिनताबोध हुनथाल्यो । मेरो आमा बाको मलाई इन्जिनियर बनाउने सपना पूरा हुँदैन, मलाई मानिसले गिज्याउँछन् भन्ने भावनाले उनी ग्रसित भए । यही समस्याबाट भाग्न उनले ४ पेजको आत्महत्या नोट लेखेर झुन्डिन खोजे । संयोगवश उनलाई कसैले बचाउन सफल भयो ।

ती मित्रले  सुनाएअनुसार सुसाइट नोटमा युवकले आफ्नो जीवनबारे लेखेका थिए । अध्ययन गर्न मनपर्ने संगीतको बारेमा पनि लेखेका थिए । उनलाई जीवनप्रतिको मोह थियो । तर, उनले आशा नै हराएका थिए र आत्महत्या गर्न कोसिस गरे । आशा गरौं, ती युवकका आमाबुबालाई अब त चेत आउला, युवकले रुचाएको विषय पढ्न देलान् ।

अभिभावकहरूले विचार गरौं, सामाजिक प्रतिष्ठाको लोभमा कतै सन्तान नै गुमाउन नपरोस् । जीवन ठूलो हो । पढाई र प्रतिष्ठाको लोभमा सन्तानलाई जीवन नै अन्त्य गराउने दबाब किन दिनु ?

उसै त अहिलेको युवा पुस्तालाई अत्यधिक मानसिक दवाव छ । उच्च शिक्षा हासिल गरेर धेरै कमाई गर्नैपर्ने, आमाबुबा पाल्नैपर्ने, गाडी किन्नैपर्ने जस्ता सामाजिक दबाबले युवापुस्ता आक्रान्त छ । जब यस्तो दवावमा परेर कति इच्छा, उद्देश्य पूरा हुँदैनन्, अनि अगाडि भविष्यमा केही गर्ने समेत सम्भावना देख्दैनन् । बिस्तारै आशा हराउन थालेपछि युवायुवतीले आत्महत्याको बाटो रोज्छन् । त्यसपछि मात्र परिवारमा किन यस्तो बाटो रोजेको भनेर हल्लीखल्ली हुन्छ ।

एक डाक्टरका  प्रतिभाशाली छोरा नेपाली र अंग्रेजी भाषामा गीत गाउन र कविता लेख्न पोख्त थिए । ठूलो भएर साहित्यकार बन्छु भन्ने उनको मनमा थियो । ‘साहित्यले खान दिंदैन’ भन्ने विचार डाक्टर बुबाको थियो । त्यसैले आफ्नो छोरा जसरी भए पनि डाक्टर नै बन्नुपर्छ भनेर एक निजी मेडिकल कलेजमा जबरजस्ती भर्ना गरे । उनका छोराले एक वर्ष त जसोतसो बिताए, दोस्रो वर्षमा उनलाई पढ्न अति गाह्रो भयो ।

२–३ विषयहरूमा पास नम्बर पनि ल्याउन नसकेपछि उसले भविष्य अन्धकारमय देख्यो । बुबाले बेस्मारी झपारेको कल्पना गर्‍यो सायद । त्यस्तो अवस्थाबाट मुक्ति पाउने एक मात्र उपाय आत्महत्‍या हो भन्ने उसलाई लाग्यो र ऊ संसारबाट विदा भयो । ती डाक्टर बाबुले सन्तानलाई आफ्नो ‘विचार र सपना’ नथोपारेको भए एक युवाको जिन्दगी जाँदैनथ्यो ।

यसरी युवाले पढाइको दबाबमा आमा–बाको सपना पूरा गर्न नसक्दा आफ्नै जीवनसँग हारेर आत्महत्या गरिरहेका छन् । समाजमा इज्जत बचाउन आफ्ना सन्तानलाई डाक्टर इन्जिनियर बनाउने इच्छा लादिदिँदा युवाहरूले आत्महत्याको बाटो रोजेका धेरै घटनाहरू सुनिन्छन् ।

भारतमा पहिले पहिले नयाँ कलेजमा जाँदा नयाँ विद्यार्थीलाई पुराना विद्यार्थीले जिस्काएर कजाएर ‘र्‍यागिङ’ बाट हैरान पार्थे । त्यो दबाब सहन नसकेर केही छात्रछात्राहरूले आत्महत्या गरेपछि भारतको उच्च अदालतले र्‍यागिङ गर्ने काम गैरकानुनी घोषित गर्‍यो । अहिले यस्तो घटना कमै हुन्छन् ।

केही दिनअघि पूर्वको एक गाउँबाट मलाई खबर आयो । मैले चिनेकी १८ वर्षिया एक किशोरीको आमाबाले विवाह गरिदिन खोजेछन् । आफूले विवाह गर्न नचाहेको तर घरबाट विवश पारेको हुनाले उनले प्रहरीमा टेलिफोन गरिछिन् । प्रहरीले घरमा आएर विवाहको रमझममा आमा बुबालाई सोधपुछ गरेछन् । १८ वर्षको उमेरमा विवाह गर्दा ‘कानुन लाग्ने’ कुरा प्रहरीले भनेपछि अभिभावक विवाह नगरिदिन मञ्जुर भए ।

तर, प्रहरी गएपछि छोरीलाई झपार्ने र लछारपछार गर्न थालेछन् । घरमा राख्न सक्दैनौं, छाडेर गइहाल भनेर हप्काउँदै गालीगलौज गरेछन् । आवेगमा आएर छोरीले विष खाइछिन् । समयमा पत्ता लागेको हुनाले उनलाई बचाइयो । तर उनका अभिभावकले उनीसँग कस्तो व्यवहार गर्लान् ? त्यसले गर्दा उनलाई कति तनाव होला ? पछि पनि उनले आत्महत्या गर्न खोजिन् भने के गर्ने भन्ने कुरा त भविष्यको गर्भमा नै छ ।

कहिले विवाह त कहिले पढाइको दबाबमा परेर आत्महत्या गर्ने समस्या युवा पुस्तामा बाक्लो बन्दै गइरहेको छ । सानो उमेरमा आफैं भागेर प्रेमीसँग जाने, गर्भवती भएपछि प्रेमीले छोडिदिने र मानसिक अवसाद भएर आत्महत्याको कोसिस गर्ने घटना बढिरहेका छन् । आत्महत्या नै नगरे पनि मानसिक रूपमा विक्षिप्त भएर भौतारिंदै हिंड्ने समस्या अर्कोतिर छ ।

युवायुवतीहरू एकअर्कासँगको प्रेमलाई विवाहमा रुपान्तरण गर्न चाहन्छन् । तर, अभिभावकले स्विकृति नदिएपछि जोडीले नै एकैचोटी विषपान गरेका घटना पनि सुनिन्छ । आलोकाँचो किशोर मष्तिष्कलाई मार्ग दर्शन नपुग्दा घरमा र स्कुलमा तनाव थपिन्छ । त्यहाँ मानसिक स्वास्थ्यको बारेमा छलफल हुँदैन । उचित परामर्शको अभावमा किशोर किशोरीले आफूलाई परेको समस्याको बारेमा कतै भन्न पाउँदैनन्, सक्दैनन् ।

आफूले पढ्न चाहेको विषय पढ्न नपाउँदा, अरुको रुचि आफूमाथि थोपरिँदा, सामाजिक सञ्जालका कारण एकछिनको आर्कषणलाई प्रेम ठानेर धोका खाँदा आत्महत्याका घटना बढिरहेका छन् । जब किशोरकिशोरी, युवकयुवतीमा जीवनको मोह हराउँछ, उनीहरुले गलत निर्णय लिनसक्छन् ।

मृत्युको बाटो कसैले पनि सहजै रोज्दैन । एकबारको जीवन खेर फाल्न कसलाई मन लाग्छन् र ? तर, कुनै बाटो नै नदेखेपछि मात्र आत्महत्या नै प्रिय र सहज बाटो बन्न पुग्छ । यसबाट कसरी युवायुवतीलाई बचाउने भनेर छलफल गर्ने बेला भयो होला । यसको लागि मानसिक रोग विज्ञ, समाजशास्त्री, शिक्षक, परामर्शदाता सबैको एकीकृत प्रयास गर्नु अत्यावश्यक भइसकेको छ ।

नेपालमा अहिले झण्डै १८६ मानसिक रोग विज्ञ छन् । तर तिनको सदुपयोग सरकारले युवायुवतीमा हुने मानसिक तनाव रोक्ने परामर्श गर्न प्रयोग पर्न सकेको छैन । अहिले स्वास्थ्य मन्त्रालयको सचिव नै मानसिक रोग विज्ञ छन्, तर मानसिक समस्या उपेक्षित नै छ ।

मानसिक रोग विज्ञहरूको ज्ञानको सदुपयोग नभएकोले कति विदेशमा गएका छन् । कति विदेश जाने तरखरमा छन् । स्वास्थ मन्त्रालयलाई यसको खोजी गर्ने फुर्सद छैन ।

नेपालको शिक्षा प्रणालीमा विद्यार्थीको मानसिक तनाव व्यवस्थापनको कुनै छलफल हुँदैन । आत्महत्या गर्ने थुप्रै कारणहरू हुन्छन् । ती सबैको एकैचाटि समाधान गर्न नसकिएला । तर आमाबुबाले छोराछोरीलाई दिन रात तनाव दिएर धेरै पढ्ने, धेरै कमाउने दबाब नदिए सायद युवाहरूले आत्महत्या केही कम गर्न सकिन्थ्यो कि ?

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?