+

नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

२०७९ जेठ  ५ गते १६:४९ २०७९ जेठ ५ गते १६:४९
नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ ।

यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती पनि ।

दम्पतीबीच हुने झगडाका दुई रूप हुन्छ । एक किसिमको झगडा, जसले दम्पतीबीचको असमझदारी हटाउने काम गर्छ । र, उनीहरूको सम्बन्धलाई थप परिपक्व बनाउँदै लैजान्छ ।

अर्को किसिमको झगडा, जसले उनीहरूबीच वैमनस्यको बीज रोप्छ । र, उनीहरूको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । झगडा हुनु स्वाभाविक हो, जब त्यो सही निष्कर्षमा पुग्छ ।

अब लागौं, मूल विषयतर्फ । अक्सर नेपाली दम्पतीबीच के कुरामा मतभेद हुन्छ ? कुन कुरालाई लिएर उनीहरू ठाकठुक गर्छन् ?

मनोविदहरुको बुझाईमा अक्सर दम्पतीबीच घर–व्यवहारको कुरालाई लिएर ठाकठुक पर्ने गर्छन् । आर्थिक समस्याले यस्तो झगडालाई अरु चर्को बनाइदिन्छ । अहिले त्यसैपनि महंगी बढ्दो छ । घरायसी आवश्यक्ता प्रतिदिन बढेर गएको छ । यस्तो अवस्थामा आय आर्जनको मेलोमेसो नमिल्दा घर–व्यवहार चलाउन गाह्रो हुन्छ । यसले श्रीमान र श्रीमती दुबैलाई तनावग्रस्त बनाउने गरेको पाइन्छ ।

त्यसैगरी यौनको कुराले पनि धेरैजसो दम्पतीमा मनमुटाव हुने गरेको उनीहरुको भनाई छ । अतृप्त यौन, विवाहेत्तर सम्बन्ध वा आशंका नै दम्पतीबीच झगडाको निहुँ बन्ने गरेको छ । फेसबुक जस्ता सामाजिक सञ्जालले ‘आगोमा घिउ’ थपिदिएको छ । सामाजिक सञ्जालमा जोडिने साथीहरुको कारण दम्पतीमा शंका–उपशंका हुने गरेको छ । त्यही निहुँमा उनीहरुबीच चर्काचर्की परिरहेको हुन्छ ।

क्लिनिकल मनोविद विजय ज्ञवालीको बुझाईमा यौन क्रियाकलाप भनेको आपसी समझदारी हो । व्यस्त जीवनशैलीमा  महिला पुरुषहरूबीचमा यो विषयमा राम्ररी छलफल हुन पाउँदैन ।

‘कुनै पुरुष वा महिला दिनभरि काम गरेर थकित भएको हुन सक्छ र उसको यौन चाहना नहुन सक्छ’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा छलफल हुन नपाउँदा शङ्काको दृष्टिकोणले हेर्ने गर्दा मनमुटाव भएको देखिने ज्ञवाली बताउँछन् ।’ छलफल नगर्ने तर यौन क्रियाकलापमा संलग्न हुने चाहना मात्र राख्ने दम्पतीमा पनि झगडा हुने र यो नै समस्याको रूपमा विकास हुने उनी बताउँछन् ।

‘प्रायः पुरुष यौनको सुख पाइसकेपछि महिलालाई वास्ता नगर्ने बानी हुन्छ’ मनोविद् वासु आचार्य भन्छन्, ‘महिलाहरू भने यौनपछि पनि पुरुषले अझै माया गरोस्, गफ गरोस् भन्ने चाहन्छन् । यो कुराले पनि दम्पतीबीच मनमुटाव भइरहेको हुन्छ ।’

पुरुषहरू अलि विषालु छन् यौन बाहेक केही पनि देख्दैन भने त्यो कुराले पनि झगडा हुने उनको बुझार्ई छ । उनी थप्छन्, ‘श्रीमान् यौनको कुरामा त्यति सक्रिय छैन भने त्यो कुराले पनि दम्पतीमा झगडा हुने गरेको पाइएको छ ।’

बालबच्चाको कुरालाई लिएर पनि दम्पतीबीच भनाभन भइरहेको हुने मनोविद्हरु बताउँछन् । बच्चाको हेरचाह, शिक्षादीक्षा आदिको कुरामा उनीहरुबीच मतभेद हुने गर्छ ।

अहिले आमाबुवा दुवैले काम नगरी परिवार चलाउन सम्भव छैन । ‘परिवार राम्रो बनाउन आमाबुवाले नै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ’ क्लिनिकल मनोविद ज्ञवाली भन्छन्, ‘त्यो मिहिनेत गर्ने क्रममा बच्चाको हेरचाह गर्ने जिम्मा कसको हो भन्ने कुरामा पनि झगडा परेको देखिन्छ ।’

आमाले समय नदिएको कारण केटाकेटी बिग्रिए भन्ने धेरै पुरुष छन् नेपालमा । बच्चाको हेरचाह गर्ने दायित्व कसको हो भन्ने कुरामा स्पष्ट नभएको कारणले पनि दम्पतीमा मनमुटाव हुन्छ ।

कोहीमा बालबच्चाको कुराले, कुनै दम्पतीमा आर्थिक कुराले त कुनैमा परिवार र यौनको कुराले मनमुटाव हुने पाइएको मनोविद् नन्दिता शर्मा बताउँछिन् ।

‘पहिले धेरै महिलाको सानै उमेरमा विवाह हुन्थ्यो । महिलाहरूले श्रीमान् र परिवार अनुसार नै आफूलाई आफ्नो व्यवहारलाई परिवारतिर ढाल्दै जान्थे त्यसैले पनि मनमुटाव कम हुन्थ्यो’ शर्मा भन्छिन्, ‘अहिले धेरै महिला परिपक्व भइसकेपछि मात्र विवाह गर्छन् । अर्को परिवार नयाँ वातावरणमा गएर त्यहाँ आफूलाई समायोजन गर्न गाह्रो हुन्छ । सानोतिनो कुराले पनि श्रीमान् र परिवारसँग कुरा नमिल्ने र मनमुटाव हुने समस्या देखा पर्छ ।’

परम्परागत पारिवारिक संरचना भएको घरमा पर्ने झगडा र अहिले आधुनिक पारिवारिक संरचना भएको घरमा पर्ने झगडाको स्वरूप नै फरक भएको बताउँछन् क्लिनिकल मनोविद् ज्ञवाली । उनको तर्क यस्तो छ, ‘परम्परागत परिवारमा सदस्यसँग समायोजन हुन नसकेको कारणले श्रीमान् तथा परिवारसँग मनमुटाव हुन्छ । आधुनिक परिवारमा भने श्रीमान् र श्रीमतीले आफ्नो अस्तित्व खोज्ने बानीको विकास भएकोले त्यो अस्तित्व नपाएको कारणले मनमुटाव हुन्छ ।’

भावना नियन्त्रण गर्न नसक्ने, अरूको तर्कलाई स्वीकार गर्न नसक्ने, बुझाइको कमी, व्यवहार व्यवस्थापन गर्न नजान्ने, सोच मिलाउन नसक्ने र सहन तथा माफ दिन सक्ने क्षमताको कमी भएको दम्पतीमा बढी मनमुटाव हुने मनोविश्लेषक आचार्य बताउँछन् ।

‘भात महिलाले पकाउने हो, बच्चा हेर्ने काम पनि महिलाको नै हो भन्ने पुरुषले बुझ्दै आएका छन् । दुवैको समान सहभागिता हुनुपर्छ भन्ने कुरा बुझेको छैन’ क्लिनिकल मनोविद् ज्ञवाली भन्छन्, ‘महिला सशक्तीकरणसँगै पुरुषको सोच हामीले परिवर्तन गर्न सकेनौं यही कारणले नै दम्पतीमा मनमुटाव हुन्छ । त्यसबाहेक अब आर्थिक कुराले, परिवारको कुराले वा यौनको कुराले पनि दम्पती बीचमा झगडा हुन्छ ।’

श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा गएका छन् भने दूरीले गर्दा उनीहरूबीच राम्ररी कुराकानी नभएको कारणले पनि अहिले धेरै दम्पतीमा मनमुटाव र सम्बन्धविच्छेद हुने अवस्थासम्म पुगेको छ ।

सही निकासको लागि झगडा

घरव्यवहारको कुरा, बालबच्चाको कुरा, आपसी भावना र चाहनाको कुरा, कामधन्दाको कुरा आदिलाई लिएर दम्पतीबीच मतभेद हुनु, ठाकठुक पर्नु स्वभाविक हो । यस्तो झगडाले उनीहरुलाई तार्किक निष्कर्षमा पुग्न मद्दत पनि गर्छ ।

एकअर्काको भावना, इच्छा, चाहना, आकंक्षा, बानी, व्यवहार बुझ्न पनि झगडाले सहयोगी भूमिका खेल्छ । यद्यपि यस्तो झगडाको व्यवस्थापन भने सही ढंगले हुनुपर्ने मनोविद्हरुको सुझाव छ ।

दम्पतीबीच हुने झगडा उनीहरुमा मात्र सीमित रहँदैन । यसले बालबच्चा र घरलाई नै तनावग्रस्त बनाइरहेको हुन्छ । जब झगडा चर्को बन्दै जान्छ, त्यसले परिवारका अन्य सदस्य, आफन्त, छिमेकीलाई समेत पिरोल्छ । त्यसैले झगडालाई सही टुंगोमा पु¥याएर छाड्नु उचित हुने क्लिनिकल मनोविद् विजय ज्ञवाली बताउँछन् ।

‘दम्पतीबीच हुने झगडाले सधैं नराम्रो नतिजा मात्र दिन्छ भन्ने हुँदैन’ मनोविद् वाशु आचार्य भन्छन्, ‘कहिलेकाहीं झगडाले व्यक्तित्व र सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । जे कारण झगडा भएको हो त्यो कारण पत्ता लगाएर सम्बन्ध विकास पनि झगडाले नै गराउँछ ।’ मनमुटावले सम्बन्धलाई अझ परिपक्व बनाउँछ । त्यसैले सम्बन्धमा अलिअलि झगडा र मनमुटाव पनि जरूरी हुने उनको भनाइ छ ।

झगडाले कहिलेकाहीं एकले अर्कालाई बुझ्न सहयोग गर्छ । यसले एउटा दम्पती र परिवारको सम्बन्धलाई राम्रो पनि बनाउँछ । झगडालाई द्वन्द्वको रूपमा परिवर्तन गर्ने वा सम्बन्धलाई राम्रो बनाउने अवसरको रूपमा परिणत गर्ने भन्ने कुरा दम्पतीको नै हातमा हुन्छ । परिवार भित्र हुने सानातिना झगडा, विचारको भिन्नताले परिवारको सम्बन्ध झन् राम्रो र प्रगाढ हुन्छ । दुई जनाको फरक विचार भए पनि त्यसको कदर गर्ने बानी पर्ने भएकोले सानोतिनो झगडाले पनि सम्बन्धलाई बलियो बनाउन सहयोगी हुने ज्ञवाली बताउँछन् ।

जरुरी छ संवाद

उतारचढाव भएन, कुराकानी भएन, मनमुटाव भएन भने त्यसले कालान्तरमा झन् उग्र रूप लिन्छ । दम्पतीबीच उतारचढाव भएन भने एकअर्कालाई बुझ्न गाह्रो हुने भएकोले उतारचढाव आउनै पर्ने मनोविद आचार्यको भनाइ छ ।

दम्पतीबीच हुने झगडाले परिवारमा तनाव र दबाव बढ्छ । पारिवारिक झगडाले परिवार मात्र हैन कार्यालयको काममा पनि असर गरेको हुन्छ । दम्पतीबीचको मनमुटावले गर्दा नै श्रीमान् तथा श्रीमतीमा एन्जाइटी डिप्रेसनको समस्या समेत हुनसक्छ । त्यसैले झगडा गरे पनि त्यो झगडाको कारणलाई पछि दोहोरिन दिनुहुँदैन । त्यसैले झगडा हुने कारण पत्ता लगाएर त्यो कुरामा दुई जना बसेर राम्ररी छलफल गर्नुपर्ने उनी सुझाउँछन् ।

दम्पतीबीच संवादको कमी हुँदै गएको र त्यसले नै असझमदारी बढाएको मनोविदहरुको निष्कर्ष छ । त्यसैले दम्पतीबीच सौहाद्र्ध सम्बन्धको लागि आपसी संवाद जरुरी भएको उनीहरु बताउँछन् ।

 

नेपाली दम्पती
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय