+
+

पायल्सको अन्तिम विकल्प शल्यक्रिया हो : डा. योगेन्द्रप्रसाद सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १४:४१

पायल्स अहिले धेरैको समस्या हो । पायल्स कसरी हुन्छ ? किन हुन्छ ? कसलाई हुन्छ ? धेरैतिर चासो पनि छ । पायल्स कस्तो अवस्थामा जटिल हुन्छ ? यसको उपचार हुन्छ वा हुँदैन ?  यिनै विषयमा केन्द्रित रहेर डा. योगेन्द्रप्रसाद सिंहसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

पायल्स के कारणले हुन्छ ? खराब खानपान वा अरूले पनि ?

पायल्स हुने मुख्य कारण भनेको कब्जियत हो र कब्जियत हुने कारण खराब खानपान । विभिन्न रोगहरूले गर्दा पनि कब्जियत हुन्छ जस्तै कलेजोको खराबी र पोर्टल हाइपो टेन्सन आदि । खानपानको कारणले होस् या अन्य रोगको कारणले बारम्बार कब्जियत भयो भने पायल्स हुने सम्भावना बढ्छ ।

पायल्सको सुरुवाती लक्षण के हुन्छ ? कसरी थाहा पाउन सकिन्छ ?

पायल्सको सुरुवाती लक्षण दिशामा रगत जाने हो । नदुख्ने तर दिशामा वा दिशापछि रगत गयो भने त्यो पायल्सको सुरुवाती लक्षण हो ।

पायल्स भएको अवस्थामा के कस्ता जटिलता आउन सक्छ ?

पायल्स भएको अवस्थामा धेरै रगत बग्यो भने रगतको कमी हुन्छ । पायल्सलाई पहिलो, दोस्रो , तेस्रो र चौथो चार वटा डिग्रीमा छुट्याएको छ ।

तेस्रो डिग्रीमा पायल्स मलद्वारबाट बाहिर निस्कने हुन्छ । यसरी निस्कँदा भित्र पसाउन नै गाह्रो हुन्छ । कहिलेकाहीँ त्यसमा संक्रमण हुने र रगत जम्ने जस्ता जटिलताहरू हुन सक्छन् ।

पायल्सको उपचार के छ ? शल्यक्रिया वा औषधिबाट ?

कुन डिग्रीको पायल्स हो त्यस अनुसार यसको उपचार फरक पर्छ । पायल्सको पहिलो उपचार भनेको कब्जियतलाई कम गर्नु हो । त्यसको लागि औषधि सेवन गर्न सकिन्छ र खानपानमा ध्यान दिएर पनि  कब्जियत कम गर्न सकिन्छ । ग्रेड हेरेर कुन डिग्रीको हो त्यस अनुसार उपचार गरिन्छ ।

पहिलो तथा दोस्रो डिग्री हो भने औषधी खाएर नै त्यसको उपचार गर्न सकिन्छ । तर, तेस्रो वा चौथो डिग्री हो भने इन्जेक्सन लगाएर पनि उपचार गरिन्छ । सेकेर गर्ने थेरापी ‘क्रायोथेरापी’ गरेर पनि उपचार गर्न सकिन्छ । अन्य विधिले निको भएन भने अन्तिम उपचार शल्यक्रिया हो ।

पायल्सको उपचार एलोपेथिक प्रभावकारी कि आयुर्वेदिक ?

एलोपेथिक डाक्टरलाई सोध्नुभयो भने एलोपेथिक प्रभावकारी र आयुर्वेदिकलाई सोध्नुभयो भने आयुर्वेदिक प्रभावकारी । दुई वटै उपचार पद्धतिमा कब्जियत कम गर्ने औषधिको प्रयोग गरिन्छ ।

त्यसको लागि आयुर्वेदिक तथा एलोपेथीक जुन औषधी सेवन गरे पनि हुन्छ । आयुर्वेदिकमा छार सूत्र प्रयोग हुन्छ, शल्यक्रिया हुँदैन  भने एलोपेथिकमा शल्यक्रिया हुन्छ । पायल्सको ग्रेड हेरेर दुवै उपचार पद्धति बराबर प्रभावकारी छ ।

पायल्स पूर्ण रूपमा निको हुने समस्या हो ?

पायल्स पूर्ण रूपमा निको हुन्छ । तर, पायल्स हुने कारण हटाउन सकिएन भने यो फेरि दोहोरिन पनि सक्छ । त्यसैले पायल्स हुने कारणलाई हटाउन सकियो भने यो पूर्ण निको हुन्छ ।

कस्तो अवस्थामा पायल्सको उपचार जटिल हुनसक्छ ?

पायल्सको पहिलो दोस्रो, डिग्रीमा उपचार सहज नै हुन्छ । तर, तेस्रो चौथो डिग्रीमा बाहिर निस्किएको पायल्स भित्र पसेन भने उपचार जटिल हुनसक्छ ।

पायल्स भएमा के कस्ता सावधानी अपनाउनुपर्छ ?

पायल्सका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको कब्जियत हुन दिनु हुँदैन । त्यसको लागि हरियो सागपात, फलफूल र झोेलीलो खानेकुरा बढी मात्रामा खानुपर्छ । माछा, मासु, चिल्लो,पिरो र बढी मसला प्रयोग भएको खानेकुरा कम गर्नु पर्छ ।

कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

पायल्स भएका व्यक्तिहरूले आफ्नो दिनचर्यामा सुधार गर्नु पर्छ । पेटको सरसफाइमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वास्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्तो जीवनशैली अपनाउनुपर्छ ।

पायल्स हुनै नदिने कुनै उपाय छ ?

पायल्स हुनै नदिने उपाय भनेको पायल्स हुन सक्ने कारण पत्ता लगाएर त्यसको उपचार गर्नु हो । कब्जियत हुन दिइएन भने पायल्स हुने सम्भावना पनि कम हुन्छ । जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिइयो भने पायल्स हुने सम्भावना कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?