+
+

झरीमा रुझ्दै न्यायको माग : सेन्ट लरेन्स रक्षक कि राक्षस ?

विद्यार्थी र कलेज प्रशासनबीच गौशाला प्रहरी वृत्तमा ७ बुँदे सहमति

बुधबार सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन भइरहँदा गौशालामा ठूलो पानी पर्‍यो । तर न्याय माग्दै आएका विद्यार्थीलाई पानी-झरीको कुनै परवाह थिएन, बिहान ७ बजेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु चाउचाउको भरमा दिनभर नारा लगाइरहेका थिए, ‘वी वान्ट जस्टिस ।’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ जेठ ११ गते २१:०२

११ जेठ, काठमाडौं । सिन्धुपाल्चोककी मुस्कान तामाङ बुधबार बिहान कलेजको कक्षा कोठामा प्रवेश गरिनन् । आफ्नै कक्षाका तीनजना साथीलाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई कलेज जानै मन लागेको थिएन । तर विद्यार्थीले साथीहरुको न्यायका लागि भन्दै विरोध प्रदर्शन गर्ने बताएपछि उनी कलेज गएकी थिइन् ।

‘बिहान ७ बजे कलेजमा जम्मा भएका थियौं, त्यहाँबाट र्‍याली निकालेर गौशालासम्म आएका हौं’ उनले अनलाइनखबरसँग भनिन्, ‘कलप्रिट (आरोपी) लाई कडा कारबाही हुने ग्यारेन्टी नभएसम्म आन्दोलन गरिराख्छौं ।’ कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै तीनजना विद्यार्थीले किटानी जाहेरी दिएका छन् ।

विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु पक्राउ परिसकेपछि पनि विद्यार्थी किन आन्दोलन गरिरहेका छन् ? तामाङ भन्छिन्, ‘पहिले पनि कलेजले दुर्व्यवहारको घटनालाई दबाएर राखेको थियो, प्रहरीले पनि मिलेर छाड्छ कि भन्ने डर हो ।’

विद्यार्थी सहदेव गजमेरका अनुसार कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार भएको यो पहिलो पटक होइन । विद्यार्थी आन्दोलित भएको पनि यो घटनामा मात्र होइन । दुई महिनाअघि नै एकजना विद्यार्थीलाई कोअर्डिनेटर अधिकारीले ‘काम पर्‍यो’ भन्दै बोलाएका थिए ।

‘त्यतिबेला कोठामा चुकुल लगाएर उहाँले आफू श्रीमतीबाट सन्तुष्ट नभएको बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव राख्नुभएछ’ प्रदर्शनमा सहभागी अर्का विद्यार्थी भन्छन्, ‘कलेजमा क्लास रिप्रिजेन्टेटिभ (सीआर) भन्ने हुन्छ, उनीहरुलाई सरले बोलाएर यस्तो प्रस्ताव राख्नुहुन्थ्यो ।’ उनका अनुसार त्यसदिन ती विद्यार्थीले अधिकारीको प्रस्ताव अस्वीकार गरेपछि ‘मेरो पर्मिसन विना निस्किन मिल्दैन भनेर स्वीटर तान्नुभएको’ थियो ।

बुधबार प्रदर्शनमा सहभागी एक पीडित विद्यार्थीका अनुसार उनलाई शिक्षक अधिकारीले खुट्टामा छोएर ‘कस्तो सेक्सी देखिएकी’ भन्ने गरेका थिए । ‘मेरो मुखमा घाउ भएको थियो, त्यतिबेला ब्वाई फ्रेण्डले किस खाएको हो कि क्या हो भन्नुहुन्थ्यो’ उनले भनिन्, ‘शिक्षक भएर कसरी त्यस्तो भन्न सकेको, म छेऊ नै पर्दिनथेँ  तर उनी झन रिसाउँथे ।’

अर्की पीडितका अनुसार उनलाई शिक्षकले यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । सम्बन्ध राखे कलेजको शुल्क मिनाहा गरिदिने प्रलोभन उनले दिएका थिए । अस्वीकार गर्दा उल्टै गालीगलौज गर्दै कलेजबाट निकालिदिने धम्की दिएको उनी बताउँछिन् ।

पानीमा रुझ्दै न्यायको माग

बुधबार प्रदर्शन चर्किरहँदा दिउँसो गौशालामा ठूलो पानी पर्‍यो । तर न्याय माग्दै आएका विद्यार्थीलाई पानी-झरीको कुनै परवाह थिएन, बिहान ७ बजेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु चाउचाउको भरमा दिनभर नारा लगाइरहेका थिए, ‘वी वान्ट जस्टिस ।’ दर्के झरीले पनि उनीहरुको नारालाई रोकेको थिएन ।

जोरपाटी घर भएका विद्यार्थी रोहन दुलालका अनुसार कलेज प्रशासनले पहिल्यै विद्यार्थीको उजुरीलाई गम्भिरतापूर्वक लिइदिएको थियो भने अहिले विद्यार्थीहरुले पानीमा झिज्दै प्रहरी कार्यालय अगाडिसम्म आउनु पर्ने नै थिएन । कक्षा ११ मा पढ्ने दुलालसहित आन्दोलनमा सहभागी अधिकांश विद्यार्थी अहिलेसम्म प्रहरी कार्यालयभित्र कहिल्यै नछिरेकाहरु थिए ।

‘प्रहरीले पनि न्याय दिने गरी कहिल्यै काम गरेको छैन’ दुलालले अनलाइनखबरसँग भने, ‘फेरि सरको पोलिटिकल ब्याकग्राउण्ड पनि छ, त्यसैले छाड्न कि भन्ने डर हो ।’

सामाजिक विषय पढाउने र अनुशासन सिकाउने शिक्षकले नै विद्यार्थीहरुप्रति कुदृष्टि राखेपछि आफूहरु सडकसम्म आउनु परेको उनले बताए । उनका अनुसार एक महिनाअघि विद्यालयमा छलफल भएका वेला स्नातक तहसम्म छात्रवृत्तिमा पढाइदिने, शुल्क घटाइदिने जस्ता प्रलोभन देखाएर घटना सामसुम पार्न खोजिएको थियो ।

सोमबार विद्यालयमा छलफल हुँदा पनि कलेज प्रशासन जिम्मेवार ढंगले प्रस्तुत नभएको उनीहरुको आरोप छ । ‘उहाँ त्यतिबेला भागेर जानुभएको थियो, कलेज पनि केही गरेन’ विद्यार्थीहरु भन्छन्, ‘न्याय नै नपाउने जस्तो भएपछि आन्दोलन गरिरहेका छौं ।’

विद्यार्थी अमन महर्जनका आफूहरुको उद्देश्य दोषीलाई कडा सजाय होस् र पीडितले न्याय पाउन् भन्ने हो । ‘हाम्रा साथीहरुले त दुःख पाए पाए, अरुलाई यस्तो नहोस् भन्ने हो’ उनले अनलाइनखबरसँग भने ।

उनका अनुसार कलेजमा दुर्व्यवहारको घटना भएको यो पटक सार्वजनिक भएको मात्रै हो । विगतमा पनि पटकपटक विद्यार्थीमाथि दुर्व्यवहार हुने गरेका थिए । ‘सन् २०१९ मा दुर्व्यवहार भएको भनेर एकजना दिदीले अहिले टिकटकमा हाल्नुभएको छ’ उनले भने, ‘कलेजले अरु धेरैलाई पनि दबाएर राखेको रहेछ, यो केश बाहिर आएपछि अरु पनि बोल्न थालेका छन् ।’

प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराई चाहिँ दुईजनालाई जिल्ला अदालत, काठमाडौंबाट बालयौन दुर्व्यवहारसम्बन्धी कसूरमा पाँच दिन म्याद लिएर अनुसन्धान भइरहेको बताउँछन् । ‘कानून अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ, छुट्ने भन्ने हुँदैन’ भट्टराईले भने, ‘प्रहरीले हिंसाको विषयमा संवेदनशील छ, यसमा गम्भीरतापूर्वक अनुसन्धान हुन्छ ।’

सात बुँदे सहमति

शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरुले मंगलबार कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनका क्रममा केही विद्यार्थी घाइते समेत भए । शिक्षक पक्राउ परेपछि पनि आन्दोलन साम्य हुने स्थिति नदेखिएपछि प्रहरीको पहलमा बुधबार आन्दोलन पक्ष, कलेज प्रशासन र प्रहरीबीच वार्ता भएको छ ।

‘दुवै पक्षबीच क्षति हुन जाने सम्भावना भएको’ भन्दै गरिएको वार्ताबाट ७ बुँदे सहमति गरिएको छ । पहिलो बुँदामा दुई शिक्षकविरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धानका लागि पीडित पक्ष, कलेज प्रशासन र सञ्चालकको प्रहरीलाई पूर्ण सहयोग हुने भनिएको छ । दोस्रोमा पीडितको न्यायका लागि भएको आन्दोलनमा घाइते विद्यार्थीलाई उपचारको प्रबन्ध कलेजले गर्ने भनिएको छ ।

कलेजको परीक्षा समेत नजिक आइरहेकाले विद्यार्थीको पठपाठन निरन्तर सञ्चालनका लागि अभिभावक, शिक्षक र प्रशासनले सहज वातावरण बनाउने पनि भनिएको छ । ‘कलेज सञ्चालक समितिका सम्बद्ध व्यक्तिहरुबाट आइन्दा यस्तो यौन दुर्व्यवहार हुने गरीको कार्य हुन नदिन दिलचश्वी दिने’ सहमतिको चौथो बुँदामा भनिएको छ ।

यही बुँदामा अगाडि भएको दुर्व्यवहारको विषयलाई लिएर कानून बमोजिम कडा कारबाहीका लागि दुवै पक्षले सहयोग गर्ने भनिएको छ । साथै, अहिले भइरहेको आन्दोलनलाई रोकेर वार्ताबाट समस्याको समाधान खोज्ने भनिएको छ ।

‘विद्यार्थीको आन्दोलनलाई लिएर कसैले विद्यार्थीप्रति पूर्वाग्रह राख्ने छैनन्, सबैमा समान व्यवहार गरी अध्ययन अध्यापनलाई प्राथमिकता दिनेछन्’ सहमतिमा भनिएको छ, ‘कलेजमा अध्ययनरत छात्रछात्राहरुले स्वेच्छाले उक्त अध्ययन कलेजबाट अर्को कलेजमा जान खोजेमा कलेजबाट विद्यार्थीले पाउनुपर्ने प्रमाणपत्र पाउनेछन् ।’

सातौं बुँदामा यौन दुर्व्यवहारको विषयलाई लिएर विद्यार्थीले कलेजमा लगाएको ताला खोल्ने भनिएको छ । साथै, कलेज सञ्चालनमा सहयोग गर्ने भनिएको छ । यो सहमति पत्रमा कलेजका सञ्चाल, प्राचार्य, विद्यार्थीका अभिभावक, विद्यार्थी नेताहरु लगायतले हस्ताक्षर गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?