+
+

म्यानचेस्टर सिटीको समर्थन– मुटुको लागि हानिकारक छ !

सिटी सजिलो तरिकाले कहिल्यै खेल खेल्दैन । आफ्नो लागि कहिल्यै सजिलो बनाउँदैन । आफ्ना समर्थकहरूलाई मुटुको रोगी बनाउने गरेर खेल खेलेको सिटीको यो पहिलो खेल भने होइन ।

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७९ जेठ १२ गते १४:२७

आइतबार इंग्लिस प्रिमियर लिग २०२१/२२ सिजनको अन्तिम दिन । एकै समयमा १० खेल भइरहेको थियो । प्रतिस्पर्धा र सहभागिताको हिसाबमा यो संसारकै सबैभन्दा ठूलो लिग हो ।

विश्वकै शीर्षस्तरको लिगमा शीर्ष र अन्तिम स्थानमा रहेका टोलीबीच समानस्तरको प्रतिस्पर्धात्मक फुटबलले समर्थक कायल हुन्छन् । यो लिगमा सबै क्लबको आर्थिक हैसियतमा पनि धेरै अन्तर रहँदैन । हरेक खेलमा करोडौं डलरको कारोबार हुने गर्छ ।

सिजनभर ३८ मध्ये २८ जित निकालेको सिटी अन्तिम खेलमा आफूभन्दा १३ स्थान तल रहेको एस्टन भिल्लासँग खेल्दै थियो । सिटीभन्दा एक अंक पछाडि रहेको लिभरपुल नवौं स्थानमा रहेको उल्भससँग खेल्दै थियो । दुवै टोलीलाई घरेलु मैदानको साथ थियो । र, वर्षभरको मिहिनेतलाई सार्थकता दिन दुवैलाई जित जरूरी थियो । सिटीले जिते उपाधि निश्चित थियो । लिभरपुलका लागि भने आफ्नो जित मात्र पर्याप्त थिएन, सिटी कम्तीमा बराबरीमा रोकिनुपर्थ्यो  ।

लिभरपुलका महान् खेलाडी स्टेफल जेरार्ड अहिले एस्टन भिल्लाको प्रशिक्षक छन् । यहाँनेर लिभरपुलका समर्थकहरू कामना गरिरहेका थिए– जेरार्डले केही चमत्कार गरेर सिटीलाई हराइदिउन्, नभए कम्तीमा बराबरीमा रोकिदिउन् ।

बेलायती मिडियाहरू साताभरि नै यही कथन बनाएर आइतबार हुने खेलको चर्चा गरिरहेका थिए । एस्टन भिल्लामा फिलिप कोउटिन्हो र ड्यानी इग्स जस्ता लिभरपुलका पूर्व स्टारहरू पनि छन् । उनीहरूलाई लिभरपुलका समर्थकहरूले हौस्याइरहेका थिए ।

स्वाभाविक रूपमा इंग्लिस टोलीमध्ये सिटीको तुलनामा लिभरपुल ठूलो फ्यान बेस भएको क्लब हो । त्यसैले चर्चा उनीहरूकै बढी थियो ।

संसारभरका फुटबल समर्थकहरू अन्तिम दिन केही न केही नाटकीय हुन्छ र २०१२ को जस्तो अनिश्चितता हुन्छ भन्ने आशामा थिए । अन्तिम दिनले त्यो आशालाई निराशामा परिणत गरेन । सस्पेन्स थ्रिलर हलिउड सिनेमाको कथाभन्दा नाटकीय मोड आइतबार सिटी र लिभरपुलका समर्थकले व्यहोरे ।

प्रिमियर लिग उपाधि उचाल्दै म्यानचेष्टर सिटीका खेलाडी ।

सुरुको २०/२५ मिनेटमै २/३ गोल गरेर आफूहरूमा उत्साह भरिदिउन् भन्ने सिटीका समर्थकको चाहना थियो । तर, त्यसो हुन सकेन ।

खेल सुरु भएको ३ मिनेटमै इथिहाड रंगशालामा हल्ला चल्न थाल्यो– लिभरपुलले एनफिल्डमा गोल खायो ।

यता सिटी घरेलु मैदानमा समर्थकको आशाअनुसार खेलिरहेको थिएन । लाग्थ्यो, खेलाडीहरू जितको दबावमा छन् । सामान्यतया पासहरू खेर नफाल्ने डी ब्रुयेना पनि आफ्नो प्रभाव देखाउन सकिरहेका थिएनन् । केही प्रयासहरू भएका थिए तर, विपक्षी गोलरक्षकलाई असफल बनाउन सिटी लगातार असमर्थ भइरहेको थियो ।

२३औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्काइसकेको थियो । यता, इथिहाड रंगशालामा तनाव बढिरहेको थियो ।

सिटीलाई थाहा थियो लिभरपुलले आफ्नो खेल जित्छ । उसले चाहेको बेला गोल गर्ने सामर्थ्य राख्छ । लिभरपुलबारे एउटा भनाइ छ– उनीहरू कहिले खेल हारिन्छ भन्ने थाहा पाउँदैनन् । सिजनभर उनीहरूले जम्मा दुईवटा खेल हारेका छन् । ती खेलमा लिभरपुल अभागी देखिएको थियो ।

उनीहरू हारिसकेको खेल अन्तिमसम्म बराबरी गर्न सक्छन् । बराबरी भएको खेल अन्तिमसम्म जित्न सक्छन् । यो खेल पनि त्यस्तै हुने वाला थियो । त्यसमाथि उनीहरू आफ्नो घरमा खेल्दै थिए ।

खेलको ३७औं मिनेटमा सिटीले गोल खायो । यो खबर ५६ किलोमिटर टाढा एनफिल्डमा हावासरी फैलियो । इथिहाड रंगशालामा एस्टन भिल्लाका सीमित समर्थकहरू उफ्रिरहेका थिए । जेरार्ड खुसी थिए ।

सिटीका लागि यो दाँतमा ढुंगा लागे बराबर थियो । सिटीका खेलाडीहरू मैदानमा केही हतारो गर्दै थिए तर सफलता शून्य थियो । व्यग्रता आकासिंदै थियो । एनफिल्डमा लिभरपुलका समर्थकहरू आफ्नो टिमलाई हौस्याउँदै थिए । गोल हान्नु बाहेक उनीहरूको लागि पनि अर्को उपाय थिएन । बराबरी खेलेर पुग्दैनथ्यो । जित्नै पर्ने थियो । हेड टु हेडमा दुवै समान थिए । दुवैको रंगशालामा भएको खेलमा दुवै चोटि दुई दुई गोल भएको थियो । तर सिटी भन्दा उनीहरू गोलअन्तरमा पछि थिए ।

दुवैतिर व्यग्रता बढ्दै थियो । समर्थक र उपलब्धि संख्याका आधारमा लिभरपुल इंग्ल्याण्डमा म्यानचेस्टर युनाइटेडसँगै शीर्ष दुईभित्र पर्छ । उनीहरूको विरासतमा धावा बोल्न युएईका धनाढ्य शासकहरूको पैसामा सिटी अगाडि आएको थियो । सन् २००७ यता उसले आफ्नो इतिहास बनाउँदैछ ।

सर एलेक्स फर्गुसनको जस्तै आफ्नो साम्राज्य बनाउने नवीनतम योजना सिटीका स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाको छ । यो जित भयो भने पाँच वर्षमा उनको चौथो लिग उपाधि हुनेथियो । यस्तो सफलता जो–कोही शीर्ष म्यानेजरले पाउन सक्दैनन् । पेप ग्वार्डिओला धेरैका लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक हुन् । तर, आजको दिनमा उनलाई चुनौती दिन लिभरपुलका म्यानेजर जर्गेन क्लप उभिएका छन् ।

जर्गेन क्लप ।

यो खेल हारुन् या जितुन् लिभरपुल टिमले इतिहास रचिसकेको थियो । इंग्ल्यान्डमा भएका सबै कप प्रतियोगिता (एफ ए कप र काराकाओ कप) जितिसकेको थियो भने च्याम्पियन्स लिगको फाइनल खेल खेल्दै थियो । यस्तो उपलब्धि आजसम्म कुनै इंग्ल्यान्डमा भएको टोलीले गर्न सकेको थिएन । सर एलेक्स फर्गुसनको उत्कृष्ट टोलीले पनि यस्तो उपलब्धि हासिल गर्न सकेको थिएन ।

लिभरपुलको यो टोली वर्षभरि खेल्न सकिने सबै खेल खेल्ने पहिलो टोली हुँदै थियो । उसको आशा र प्रयास सकेसम्म चारै उपाधि जित्ने थियो । उसको बाटोमा पेप ग्वार्डिओला उभिएका थिए ।

सिटी र लिभरपुल समर्थकका लागि तनावपूर्ण खेलको पहिलो हाफ सकियो ।

१५ मिनेटको समय नसकिंदै सिटीका खेलाडीहरू मैदानमा उत्रिसकेका थिए । लाग्थ्यो, उनीहरू व्यग्र छन् । दुई गोल फर्काउनु थियो ।

दुवै रंगशालामा फेरि खेल सुरु भयो । दुवैतिरका समर्थकहरूमा थोरै आशा थोरै निराशा, थोरै भवितव्यको डर लिएर खेलको रोमाञ्चकतामा थिए ।

सबैका लागि खुसी त कहाँ मिल्छ र ! उता लिभरपुलले अर्को गोल हान्न सकिरहेको थिएन । यता सिटी एक गोल पछाडि थियो । ६९ मिनेट भएको थियो सिटीले अर्को गोल खायो ।

रंगशाला सुनसान थियो । सिटी समर्थकहरू वर्षभरिको मिहिनेत खेर जाँदै गरेकोमा दुःखी थिए । केही रुँदै थिए । आशाहरू निराशामा परिणत हुँदै थिए । ग्वार्डिओलाले हरेस खाएका थिएनन् । खेलाडी परिवर्तन गर्दै थिए । ६८ मिनेटमा उनले बर्नार्डो सिल्भालाई निकालेर गुन्डोगान ल्याइसकेका थिए ।

सिटीलाई अब तीन गोल गर्नु थियो । उता लिभरपुल भने एक पछि अर्को आक्रमण गर्दै थियो । अर्को गोलको नजिक थियो ।

खेलको ७५ मिनेट कट्यो । अब समय आएको थियो । नाटकीय मोड सुरु हुनेवाला थियो । कसलाई के थाहा के लेखिएको छ ?

दायाँ साइडबाट एक जना डिफेन्डरलाई छक्याएर स्टर्लिङले बल क्रस गरे । बल किपरको हातभन्दा माथि अनि उनी पछाडि रहेका अर्का डिफेन्डरलाई नागेर गुन्डोगनको टाउकोमा पुग्यो । जस्तो सुन्दर ढंगले बल उनको शिरमा पुगेको थियो उस्तै सुन्दर ढंगले बल जाली चुम्न पुग्यो ।

सिटीको रंगशालामा सकारात्मक सोचको संचार सुरु हुन लाग्यो । बल फेरि चलाइयो । ७८औं मिनेटमा अर्को तर्फबाट सिटीका युक्रेनी डिफेन्डर जिन्चेन्कोले एक डिफेन्डरलाई छक्याएर बल मैदानको बीचमा रहेका रोड्रीलाई पास दिए । रोड्रीले एक सुन्दर नियन्त्रित प्रहार गरे । बल उस्तै सुन्दर ढंगले जाली चुम्न पुग्यो ।

रंगशाला अब भावनात्मक नियन्त्रणबाट बाहिर जाँदै थियो । फेरि खेल सुरु भयो । एस्टन भिल्लाका खेलाडीले आफ्नो सबै दिइसकेका थिए । मोमेन्टम अब सिटीसँग थियो । ८१औं मिनेटमा लामो पास यास्टन भिल्लाको डिफेन्डरले फर्काउँदै थिए । बल राम्रोसँग खतरा बाहिर गएको थिएन । संयोगले बल डि ब्रुएनाको खुट्टामा पुग्यो । उनले फेरि केही डिफेन्डरलाई झुक्काएर बल गोलपोस्टको अगाडिबाट क्रस गरे ।

आशा थियो उक्त बल कुनै सिटीको खेलाडीले भेटाओस् । बल गुड्दै गएर उस्तै गतिमा आइरहेका गुन्डोगनको खुट्टामा पुग्यो अनि उस्तै सुन्दर ढंगले नजिकै रहेको पोस्टभित्र छि¥यो ।

एउटाको सुख अर्कोको दुःख हुन सक्छ । जुन कुराले आज खुसी दिन्छ अर्को समय उही कुराले दुःख दिन सक्छ । हामी फुटबल समर्थकको जीवन सधैं यस्तै हुन्छ । सिटीका समर्थकहरू खुसी भएको क्षणमा लिभरपुलका समर्थकहरू निराश थिए । यस्तै निराशा केही हप्ता अघि सिटीले रियल मड्रिडसँग व्यहोरेको थियो । त्यो बेला सिटी अर्कोतर्फको दुःखी प्रहरमा थिए । तर खुसी हुने अवसरहरू पनि प्रशस्त छन् ।

यहाँ जहिले पनि अर्को सिजन हुन्छ ।

सिटी सजिलो तरिकाले कहिल्यै खेल खेल्दैन । आफ्नो लागि कहिल्यै सजिलो बनाउँदैन ।

आफ्ना समर्थकहरूलाई मुटुको रोगी बनाउने गरेर खेल खेलेको सिटीको यो पहिलो खेल भने होइन । केही सिजन अघि पनि सिटीले ब्राइटनलाई अन्तिम खेलमा जित्नु थियो । पहिलो गोल खाएको थियो तर लगत्तै गोलहरू हानेर जित सहज बनाएको थियो ।

यसैगरी अर्को रोमाञ्चक खेल २०१२ को लिगको अन्तिम खेलमा पनि भएको थियो । सर्जियो एग्युरोले अन्तिम दिनको अन्तिम प्रहर, अतिरिक्त समयमा गोल गरेर सिटीलाई इतिहासमै पहिलोपल्ट प्रिमियर लिगको पहिलो उपाधि जिताएका थिए । त्यतिबेलाका कमेन्टेटरले योभन्दा उत्कृष्ट क्षण फुटबल इतिहासमा कहिल्यै नदोहोरिने बताएका थिए ।

सायद उनी गलत भए कि ! छैनन् होला । त्यस बेलाको खेलको महत्व अर्कै थियो । इतिहासमै पहिलोपल्ट जित्नु र पाँच वर्षमा चारवटा उपाधि जित्नु फरक कुरा नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?