+
+

नृप वड पराजयका केही सामाजिक कारण

यो चुनावले वड लगायत अन्य दलित नेताहरूलाई केही शिक्षा दिएको छ– आफ्ना आधारभूत मतदातालाई नरिझाइकन राजनीति सफल हुँदैन ।

हीरा विश्वकर्मा हीरा विश्वकर्मा
२०७९ जेठ १२ गते १७:०१
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएपछि बधाई दिँदै निवर्तमान मेयर नृप वड ।

धर्मेन्द्र र उनका दुई छोराहरू सनी र बबी देओलको मुख्य अभिनय रहेको ‘अपने’ हिन्दी फिल्मको एउटा गीत छ– अपने तो अपने होते है । अर्थात् आफ्नो भनेको आफ्नै हुन्छ । अत्यन्त पारिवारिक पृष्ठभूमिको फिल्म र उक्त फिल्मको शीर्ष–गीतको अर्थ पारिवारिक सन्दर्भमै लाग्ने हुँदाहुँदै पनि यो गीतको भाव त्यो राजनैतिक क्षेत्रमा पनि त्यत्तिकै लागु हुन्छ । किनभने खासगरी विकासशील तथा दक्षिणएशियाको राजनीतिमा आफन्तवाद अत्यन्त हावी छ ।

२०७४ को धनगढी उपमहानगरपालिकाको मेयरमा नृप वडले विजय हासिल गरे । कांग्रेसको देशभरकै चुनावी हालत खस्किइरहेको बेला पनि उनले चुनाव जितेका थिए । तर, सोही ठाउँमा अहिले गठबन्धनको माहोल बनेको बेलामा पनि उनी पराजित भए । त्यो पनि विजयी उम्मेदवारभन्दा झण्डै आधा मात्रै मत प्राप्त गरेर । यसलाई एउटा समीक्षकको दृष्टिकोणबाट लज्जाजनक हार भन्नुपर्छ ।

केपी ओलीले जतिसुकै उत्साहजनक कुरा गरे पनि मतदाताले उनी र उनले नेतृत्व गरेको पार्टी एमालेलाई पत्याउन छाडेका थिए । अतः एमाले मुख्य प्रतिस्पर्धी भएतापनि धनगढीको सन्दर्भमा त्यसले जितिहाल्ने अवस्था थिएन । त्यसमाथि योभन्दा अघिल्लो चुनावमा सम्मानजनक मत ल्याएको माओवादी पनि उनको साथमा थियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि एमालेको भोट काट्नुका साथै उनको पक्षमा भोट हाल्नुपर्ने थियो ।

देउवाका अत्यन्त निकट तथा कांग्रेसको केन्द्रीय सदस्य हुन् वड । उनको पक्षमा पहिले पनि र अहिले पनि देउवा स्वयंले चुनावी प्रचार गरे । यो पृष्ठभूमिमा उनको किन लज्जाजनक हार भयो ? यो एउटा गम्भीर समीक्षाको विषय भएको छ ।

अघिल्लो कार्यकालमा तुलनात्मक रूपमा राम्रो काम गर्ने पालिकाका मेयर वा अध्यक्षहरू यसपटक दोहोरिएका छन् । त्यसको उदाहरणको रूपमा भरतपुरमा रेनु दाहाल तथा ललितपुरमा चिरिबाबु महर्जनलाई लिन सकिन्छ । यी दुवै मेयरहरूले कुनै मूल्यांकनमा पुरस्कार पाएका थिएनन् । तर, राम्रो कामको मूल्यांकन गर्दै वडले उत्कृष्ट मेयरको पुरस्कार समेत पाएका थिए ।

अतः उनले गरेको काम र उनको राजनैतिक पृष्ठभूमि तथा अहिलेको गठबन्धनको समेत शक्तिलाई जोड्दा उनले पराजय व्यहोर्नुपर्ने कुनै कारण देखिंदैन । तर चुनावी नतिजामा उनले लज्जाजनक हार व्यहोर्नु पर्‍यो । यसका पछाडि विद्यमान कारण खोज्नै पर्ने अवस्था सिर्जना भएको छ ।

धनगढीको सामाजिक बनोटलाई एकपटक नियालौं । खासगरी नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका रैथाने बासिन्दा भनेको राना थारू हुन् । धनगढीको जनसंख्यामा १५ प्रतिशत जति उनीहरूको भाग पर्दो रहेछ । अरू बाँकी जनसंख्या सुदूरपश्चिमकै विभिन्न पहाडी जिल्ला तथा केही पूर्वी भेगबाट समेत गएर बसोबास गरेका हुन् । सुदूरपश्चिमको पहाडलाई पनि डोटेली र अछामी भागमा छुट्याइँदो रहेछ ।

तथ्यांकहरूले भन्छ– धनगढीका बासिन्दामध्ये ६० प्रतिशत डोटेली छन् । यसको मतलब यहाँको आर्थिक, राजनैतिक तथा सामाजिक क्षेत्रमा डोटेलीहरूकै प्रभाव बढी हुनु स्वाभाविक हो । २०७४ को चुनावमा पनि यो सवाल प्रमुख रूपमा आएको रहेछ । नृप डोटेली नभई अछामी रहेछन् ।

अतः भेगीय हिसाबले उनलाई डोटेलीहरूले भोट हाल्ने सम्भावना कम रहेछ । उनी अछामी हुँदाहुँदै पनि गत निर्वाचनमा उनलाई गज्जबको संयोग जुट्यो । डोटीदेखि पश्चिमका सबै भाग डोटेली र स्वयं देउवा पनि डोटेली । नेपाली कांगे्रससँग जोडिएका धेरै व्यक्तिहरू डोटेली नै थिए । तैपनि देउवाकै कारणले अघिल्लो चुनावमा डोटेली कांगे्रसले उनलाई भोट हालेका रहेछन् । यसरी उनी अछामी भए पनि त्यसले चुनावी परिणाममा फरक पारेन ।

हाम्रो समाजमा गैरदलित मतदाताले दलितलाई सम्मानजनक तरिकाले स्वीकार्न गाह्रै मान्छन् । सुदूरपश्चिममा यो समस्या अझ बढी छ । गत निर्वाचनमा देउवाकै अगाडि कसैले भनेछन्, ‘एउटा दलितलाई हामीले कसरी नमस्कार गर्ने ?’ देउवाले ठट्यौली पारामा नै सही, भनेछन्, ‘नृपलाई नमस्कार गर्नुपर्दैन, उसैले नमस्कार गर्छ ।’

हुन पनि कुनै पनि चुनावका प्रत्यासीले मतदातालाई रिझाउन त उसैले पहिले नमस्कार गर्नुपर्छ । अतः देउवाको यो जवाफलाई पनि उनीहरूले स्वीकार गरेको देखिन्छ । धनगढीमा ९३ हजार मतदाता रहेका छन् । त्यसको १८ प्रतिशत मतदाता दलित समुदायबाट छन् । यो भनेको १७ हजार मतदाता हो । यसको ६० प्रतिशतले मतदान गरे भन्ने अनुमान लगाउँदा पनि १० हजार भन्दा बढी मत हुन्छ ।

योभन्दा अघिको चुनावमा मेयर जस्तो सम्मानित पदमा एकजना दलित उठ्दा यो आम दलितमाझ गर्वको विषय भएको थियो । खासगरी एमाले र माओवादीका समेत दलित भोटरहरूले नृपलाई भोट हालेका थिए तर यसपालि त्यस्तो भएन ।

नृपले मेयरको रूपमा आम धनगढीवासीको हितमा थुप्रै काम गरेका थिए । कोरोनाको बेलामा राहत वितरणमा पनि राम्रै काम गरेका थिए । तर एउटा ठेकेदारले कुहिएको चामल वितरण गर्दा त्यसको केही असर उनलाई पनि परेको हुनसक्छ । उनको पहिलो वर्षको कार्यकालमा दलितको हितमा केही काम गरेको देखिन्छ । तर उनको दोस्रो वर्षको कार्यकालदेखि दलित मतदातालाई रिझाउने कुनै उल्लेखनीय काम गरेको देखिंदैन ।

कैलाली, कञ्चनपुर लगायत जिल्लामा रहेका अधिकांश दलितहरू या त सुकुम्बासी छन् या घरबार भए पनि अधिकांशको रोजगारीको स्रोत स्थानीय श्रम बजार तथा भारत हो । यसको मतलब उनीहरूको आर्थिक र सामाजिक उत्थानमा नगरपालिकाले उल्लेखनीय काम गर्न सक्थ्यो र यो एउटा दलित समुदायको मेयरको नैतिक कर्तव्य पनि हुन्थ्यो ।

सुन्नमा आए अनुसार उनलाई साथ र सहयोग दिने दलित अगुवाहरूलाई पनि उनले आफ्नो कार्यकालभरि साथ–सहयोग र सम्मान दिने त परको कुरा वास्ता समेत गरेनन् ।

उपमहानगरपालिका अन्तर्गत भएका विभिन्न संरचनाहरूमा दलितलाई खासै सम्झिएनन् भन्ने पनि सुनियो । उनका सहपाठी तथा घनिष्ठ दलित मित्रहरू जसले उनलाई निर्वाचनको बेला दिलो ज्यानले सहयोग गरेका थिए, उनीहरूलाई समेत कहिल्यै आफ्नो कार्यकक्षमा चिया खान पनि बोलाएनन् भन्ने सुनियो ।

सचेत दलित अगुवाहरूले उनको बारेमा टिप्पणी हुँदा— हिजो विष्ट बराजुहरूले पनि हामीलाई केही दिएका थिएनन्, अहिले हाम्रै मान्छेले पनि दिएनन् । पहिले अरूले खाएका थिए, अहिले हाम्रो मान्छेले अवसर पायो त के भयो— भन्नेसम्मको कुरा गरेको सुनियो । यसपालिको चुनावमा मेयरको रूपमा राम्रो काम गरेको, कांग्रेसको ठूलो शक्ति र गठबन्धनको समेत आड पाएको हुँदा दलित मतदाताहरूलाई सम्झिने उनले जरुरत देखेनन् ।

अहिले नृप चुनाव हार्नुमा पहिलेको चुनावमा गौण बनेको दलित विषय यसपालि प्रधान रूपमा आएको कुरा कांगे्रसका समकक्षीहरूले बताएका छन् । घात, अन्तर्घात गर्ने रोग अन्य पार्टीहरूमा भएतापनि क्याडरमा आधारित कम्युनिस्ट पार्टीहरूमा यो अलि कम हुने तर मास बेस कांग्रेस पार्टीमा त यो धेरै नै हुने गरेको थियो ।

यसपालि नृपको सन्दर्भमा कांगे्रसभित्रै धेरै भएको टिप्पणी गरिएको छ । गएको स्थानीय तहको निर्वाचन १८ वर्षपछि भएको हुँदा धेरैले यसको महत्व बुझेका थिएनन् । अतः त्यस्तो पदमा जो भए पनि फरक नपर्ने बुझिएको थियो, तर गत पाँच वर्षको अवधिमा यो पद त सांसद भन्दा पनि महत्वपूर्ण रहेको कुरा गैरदलित मतदाता तथा राजनैतिक कार्यकर्ताहरूले बुझे र एउटा दलितलाई सो पदमा दोहोर्‍याउन नहुने कुरामा एकमत भए ।

सुन्नमा आए अनुसार उनको विरुद्धमा कांगे्रस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले पनि मोर्चाबन्दी गरेर गोपाल हमालको पक्षमा भित्रभित्रै अभियान चलाएको हुँदा उनी हारेका हुन् भन्न धेरै अध्ययन गर्नु जरूरी नहोला । त्यसलाई पुष्टि गर्ने एउटै आधार भनेको मेयर र उपमेयरको पदमा गठबन्धन भएतापनि वडा तहमा कहीं पनि गठबन्धन नभएको र वडाकै अभियानले मेयरलाई समेत भोट खसाउने हुँदा त्यहाँ त्यस्तो नहुँदा उनले हार्नुपर्ने अवस्था आएको देखियो ।

नृपको सबैभन्दा बलियो र आधारभूत मताधार भनेको दलितहरूको कम्तिको पनि ९ हजारको मत थियो, तर पदमा रहेको बेला उनमा आएका केही उन्मादका कारणले त्यो गुमेको र अन्य ठाउँमा जहाँ गैरदलित उम्मेदवारहरू छन् त्यहाँ गठबन्धन सफल हुँदा पनि जातीय कारणले गर्दा सो गठबन्धनको विपरित गठबन्धन हुँदा उनले हारेका हुन् ।

नृपको राजनीति यत्तिकैमा त सकिएको छैन । अझ पनि प्रदेश र संघीय चुनाव बाँकी नै छ । एउटा माघले जाडो जान्न भने जस्तै अर्को चुनाव पनि आउने नै छ । यद्यपि, यो चुनावले वड लगायत अन्य दलित नेताहरूलाई केही शिक्षा दिएको छ– आफ्ना आधारभूत मतदातालाई नरिझाइकन राजनीति सफल हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?