+
+

उडान सुरक्षामा नयाँ नियम : पूर्वाधार नहुँदा कार्यान्वयन चुनौतीपूर्ण

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ १८ गते १९:२३
लुक्ला विमानस्थल/फाइल तस्वीर

१८ जेठ, काठमाडौं । तारा एयरको ट्वीनअटर जहाज गत आइतबार मुस्ताङमा दुर्घटनामा परेसँगै मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासँग सम्बन्धित केही नियमहरु सार्वजनिक गर्‍यो ।

प्राधिकरणले भनेको छ, ‘जल तथा मौसम विज्ञान विभागबाट जारी भएका मौसम सम्बन्धी भविष्यवाणीले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म उडानका लागि प्रतिकूल मौसमको विवरण दिएको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक र विमानस्थलहरुलाई उडानहरुमा रोक लगाउन परिपत्र जारी गर्न सक्नेछ ।’ मंगलबार आएको प्राधिकरणको यो निर्णयको प्रभाव बिहानै हवाई सेवामा देखियो ।

बुधबार बिहान यति एयरलाइन्सले एक सूचना जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको मंगलबारको नयाँ नियमका कारण दुर्गम भेगका विमानस्थलको उडानहरु प्रभावित भएको जानकारी यात्रुलाई गरायो । त्यसलगत्तै बुधबार नै वायुसेवा सञ्चालकहरुको बैठक बस्यो । बैठकले प्राधिकरणको हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्ने गरी आएको पछिल्लो निर्णयप्रति सकारात्मक रहेको सन्देश दिँदै पूर्वाधारमा ध्यान दिन प्राधिकरणको ध्यानाकर्षण गरायो ।

मंगलबार निर्णय गरी बुधबारबाटै कार्यान्वयनमा ल्याइएको इनरुटको ‘वेदर रिपोर्ट’का आधारमा मात्र हवाई उडानको अनुमति दिने निर्णयले विमानस्थल र वायुसेवा सञ्चालकबीच अन्योल भएको थियो । किनकी नेपालमा काठमाडौं र भैरहवा विमानस्थलमा मात्र प्रत्येक आधा/आधा घण्टामा मौसम विज्ञान विभागबाट मौसमको अपडेट आउने गर्छ । यी दुई विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । काठमाडौं र भैरहवामा प्रत्येक ६/६ घण्टामा ‘टर्मिनल एरिया फोरकास्ट’ समेत जारी हुने गर्छ । अन्तर्राष्ट्रिय विमानस्थलहरुमा प्रस्थान विमानस्थल, गन्तव्य विमानस्थल र इनरुटको समेत मौसमी प्रतिवेदन लिएर मात्र उडान निश्चित गर्ने अन्तर्राष्ट्रिय प्रचलन हो । नेपालमा अन्तर्राष्ट्रिय उडानका जहाजहरु १८ हजार मिटरको मौसमी सूचना रिर्पोट लिएर उड्ने गर्छन् ।

काठमाडौं र भैरहवाबाहेक नेपालका अन्य ८ वटा विमानस्थलमा उपकरणमा आधारित उडान प्रणाली (आईएफआर) जडान भएको छ । यस्तो सुविधा रहेका विमानस्थल तराई भेगका ठूला विमानस्थल हुन् । यी विमानस्थलमा तोकिएको भिजिविलिटी भएमा जहाजलाई उपकरणका माध्यमबाट उडान/अवतरण गराउन सकिन्छ । यी विमानस्थलमा हरेक १/१ घण्टामा विभागबाट मौमसी सूचना प्राप्त हुन्छ । तर, दुर्गम भेगका विमानस्थलहरु पहाडका खोँच हुँदै उड्नु पर्ने भएकाले पाइलटको आँखाले आकाश देखिने अवस्थामा मात्र उडान–अवतरण गर्नुपर्छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यी साना विमानस्थलहरुमा नियमित मौमसी सूचना प्राप्त गर्ने संयन्त्र नहुँदा मौसम सफा भएको अवस्थामा समेत उडान रोकिने अवस्था आएको थियो ।

तर, प्राधिकरणको निर्णय हवाई सुरक्षा अभिवृद्धिका लागि भने सकारात्मक रहेको उनले बताए । ‘हवाई सुरक्षाका लागि भने यो नियम सकारात्मक र अनिवार्य छ’ बर्तौलाले भने ।

सो समस्या शीघ्र समाधान गर्न वायुसेवा सञ्चालक संघले प्राधिकरणसँग आग्रह गरेको छ । संघका प्रवक्ता योगराज कँडेलका अनुसार संघले यथाशक्य सबै विमानस्थलको ‘इनरुट वेदर’ समयमा उपलब्ध गराउने व्यवस्था प्राधिकरणले मिलाउनु पर्ने निर्णय गरेको छ । उनले भने, ‘इनरुट वेदर दिने पूर्वाधारको विकासमा सरकार र प्राधिकरणसँग सहकार्य गर्न संघ तयार छ, दुर्गम क्षेत्रका उडान अझ सुरक्षित र भरपर्दो तुल्याउन संघ दृढ संकल्पित पनि छ ।’

कँडेलका अनुसार नेपालको जटिल भू–बनोट तथा खासगरी हिमाल भेगमा छिटोछिटो मौसममा परिवर्तन रहँदा पूर्वानुमान गरिए भन्दा मौसम अकस्मात परिवर्तन हुने र यसले हवाई दुर्घटनाको जोखिम निम्त्याएको हो । नेपालमा मौसमको जानकारी दिने आधिकारिक निकाय भने जल तथा मौसम विज्ञान विभाग हो । उता, प्राधिकरणले समेत हवाई सुरक्षा अभिवृद्धि गर्न मौसमी सूचनाविना उडान अनुमति नदिने निर्णय भएको बताएको छ ।

हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नियममा असहमति

प्राधिकरणले सिंगल इन्जिन भएका हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य राख्नु पर्ने गरी नियम बनाउन लागेको छ । यस्तो नियम आगामी महिनाबाट अनिवार्य गर्ने तयारीमा प्राधिकरण छ ।

बुधबार बसेको वायुसेवा सञ्चालक संघको बैठकले प्राधिकरणको यो नियमलाई समेत अव्यवहारिक भएको निष्कर्ष निकालेको छ । उत्पादनकर्ताको डिजाइनको उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलन प्रतिकूलको व्यवस्थालाई समेत ध्यानमा राखेर यो निर्णय पुनर्विचार गर्नुपर्ने संघको माग छ ।

संघले भनेको छ, ‘नेपालमा सञ्चालनमा रहेका एक इन्जिन हेलिकप्टर उत्पादक कम्पनी र सम्बन्धित देशका नियामक निकायबाट एकल चालक संचालकका लागि स्वीकृत प्राप्त वायुयान रहेको व्यहोरा जानकारी गराउँछौं ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?