+
+
कथा :

श्यामकलाको छटपटी

म फेरि तन्द्राबाट एक्कासि ब्युँझन्छु । पुनः सोच्छु- अहिलेको यो स्वार्थी समाज र मानिस… अहो ! के श्यामकलामा मायाको भोक छैन र ? उसँग पनि चाहनाका चाङ छन् । ती स्वाभाविक होइनन् र ?

गीतु गैरे गीतु गैरे
२०७९ जेठ २१ गते २०:१०

ऊ मलाई किन यति माया गर्छे ? म बुझ्दिनँ । हुन त प्रेम एकोहोरो मात्रै भएको भए मलाई देख्ने बित्तिकै उसको मुहारको भङ्गीमा बदलिन्थ्यो होला । भाव फेरिन्थ्यो होला ।

मैले उसलाई सायदै माया गर्छु । हालखबर सोधिरहन्छु । बोलिरहन्छु । बोलाइरहन्छु । उसलाई लाग्दो हो कोही त मसँग बोल्न हिच्किचाउँदैन । मलाई हाँसोको पात्र बनाउँदैन । मेरो कुरा धीरतापूर्वक सुनिदिन्छ ।

ऊ अर्थात् श्यामकला । श्यामकला बिहानै सखारै उठ्छे । प्रथम भालेको डाँकसँगै । आँखा मिच्दै गोठमा जान्छे । गाईबस्तुका लागि कुँडो-पानी गर्छे । दुहनबाहन, गोबरसोत्तर सकेपछि ऊ चिया बनाउने तरखरमा भान्छामा छिर्छे ।

दिउरीमा चिया बसालेर आमा-बा, दाइ र बैनीलाई उठाउन जान्छे । चिया भकभकी उम्लन्छ । सबैजना बसेर चुस्की लिन्छन् । चियाको चुस्कीले ओठ सेलाउँदा नसेलाउँदै आमा-बा घाँस काट्न जंगलतिर लाग्छन् ।

गीतु गैरे

बैनी होमवर्क गर्छे र दाइ मोबाइलमा गेम खेल्दै बस्छ । श्यामकला हतारहतार खाना बनाउन लाग्छे । घाम नछिप्पिंदै खाना तयार गर्छे । बिहानको खानपान सकेपछि जुठो सफा गर्ने अभिभारा उसकै थाप्लामा आउँछ । उसो त भात-भान्छापछि पनि उसको ढाड सीधा कहाँ हुन्छ र ? सुसेधन्दाले पछ्याइरहन्छ । दिउँसोपख कहिले कसको, कहिले कसको लुगा धुनु परिरहन्छ । मैलाधैला लुगाको खातले उसलाई पर्खिरहेकै हुन्छन् ।

दिउँसो खाजा-नास्ता पनि उसको भागबाट विमुख हुँदैनन् । रात्रिकालीन चूले धन्दा सक्दा शरीरका कुनै तन्तु थाक्न बाँकी हुँदैनन् । अबेर राति ओछ्याउनमा फुक्दा उसका खुट्टाहरू थकानले शिथिल भइसकेका हुन्छन् ।

परिवारका सदस्यहरूको रेखदेख, स्याहारसम्हारमै उसका जीवनका सुईहरू गतिमान भइरहेका छन् ।

उसको कपालका रङ, हिंड्न ढङ्ग नहेरी, कम्मरको गोलाइ, छातीको चौडाइ ननापी, स्थूल आँखामा सौन्दर्यको लेप नलगाई, छालाको रङमा दृष्टि नलगाई, दिमागको तेजको नापो नलिई कसैले भनोस्, श्यामकला तिम्रो इमानको आभाबाट म पुलकित भएँ, प्रभावित भएँ

गुनासो, थकाइ उसको शब्दकोशमा छैन । कसैले नयाँ लुगा किनिदिए लगाउँछे । नत्र जडाउरी नै उसका लागि काफी छन् । मीठो-मसिनोसँग पनि उसको खास चिनजान छैन । उसका इच्छा, आकांक्षाहरू खुम्चिंदै गइसकेका छन् । यसो भनौं न, जीवनको भाग-दौड र पारिवारिक रेखदेखमा उसका चाहना कतै छुटे ।

त्यसो त, ऊ आफ्ना आकांक्षा बुझ्न पनि असमर्थ छे । परिवार सबैको सहयोगी बनेकी छे । वल्तिरपल्तिरबाट छिमेकी आउँदा होस् वा घरमा पाहुना आउँदा होस् उसलाई विचरीको दृष्टि फ्याँक्छन् । क्वारक्वार्ती हेर्छन् । अरूले किन हेर्छन्, त्यसको तात्पर्य उसको मनभित्र खुल्दैन । ऊ रहस्यमयी आँखाले सबैलाई हेर्छे र आफ्नै लयमा फर्कन्छे ।

बाहिरबाट आउनेलाई लाग्दो हो, घरमा कति काम हुँदोरहेछ । कामको चाप त श्यामकलालाई मात्र हो । अरू सदस्यलाई केही काम छैन ।

ऐनमौकामा उसलाई घरका सदस्यले तेरो के काम छ र ? घरमै बस्ने त हो नि भनेर भनेनि बिझाउने होइन । यति भन्दा उसलाई ननिको नलाग्ने होइन । तर, झगडा गर्नु, दन्तबझानमा उत्रनु उसलाई स्वाभाविक लाग्दैन ।

आफ्नो जिम्मेवारीमा कमजोरी, कञ्जुस्याइँ गर्दिनँ । बडो इमानदारी र मिहिनेतका साथ सम्पादन गर्छे ।

ऊ मानसिक रूपमा अलि कमजोर थिई । पढ्न सकिनँ । जति कोशिश गरे पनि पढाइलाई गति दिन सकिनँ । धेरै वर्षसम्म एउटै कक्षामा दोहोरिइरही । उसलाई धीमा नै पढाइलाई गति दिन मन नभएको होइन । आफूभन्दा कम उमेरकासँग पढ्नुपरेकाले अनुहारमा लज्जाका धर्साहरू पनि बसे ।

उमेरले अंक थप्दै गयो । शरीरका अंग हुर्कन थाले । बोलीमा यौवनता मिसिन थाल्यो ।

आफ्नै अंगमा आएको फेरबदल देखेर ऊ चित् पनि खान्थी । तर, सरस्वतीले सदैव उपेक्षा गरिरहिन् ।

उसको पढाइको घिसिपिटीले चार कक्षाको सिंढी उक्लन मानेन । अन्ततः उसले त्यहीं बिट मारी ।

हरेकपटक, हरेकजनाले बिचरी के गरेर खाली भनेर हियाउँदा उसको मन चसक्क हुन्छ । मुटुमा शूल उठ्छ । घरकालाई थाहै नदिई मामाघर हान्निन्छे ।

उसकी आमाले पनि बारबार दोहोर्‍याउँछिन्- श्यामकला नहुने हो भने मेरो मन आत्तिन्छ । हातगोडा बाउँडिन थाल्छन् । कति धैर्यवान् छे । घरको सबै कामधाम सक्छे ।

आमालाई पनि सान्त्वना मिल्छ- मामाघर आउने कारण पनि मसँग भेटिनु हो । म उसलाई कहिल्यै तिमी कमजोर छौ भन्दिनँ । अनेक कुरा गरेर उसको अनुहारमा खुसीको जुनेली फिंजाइरहन्छु ।

श्यामकला सानै कुराले खुसी हुन्छे । आनन्दित महसुस गर्छे । सानै खुसीले उसको अनुहारबाट पीडाको बादल उतार्छ । श्यामकला तिमी राम्री छ्यौ भनिदिंदा उसको अनुहारको बादल एक्कासि फाट्छ ।

यही कुरा कुनै पुरुषले भनिदिए !

उसको कपालका रङ, हिंड्न ढङ्ग नहेरी, कम्मरको गोलाइ, छातीको चौडाइ ननापी, स्थूल आँखामा सौन्दर्यको लेप नलगाई, छालाको रङमा दृष्टि नलगाई, दिमागको तेजको नापो नलिई कसैले भनोस्, श्यामकला तिम्रो इमानको आभाबाट म पुलकित भएँ, प्रभावित भएँ ।

आऊ मेरो अँगालोमा..! सँगसँगै जीवन बिताऔं ।

शायद उसको र मेरो कल्पनाको रङ र आकार एकै छ । एउटै छ ।

म फेरि तन्द्राबाट एक्कासि ब्युँझन्छु । पुनः सोच्छु- अहिलेको यो स्वार्थी समाज र मानिस… अहो ! के श्यामकलामा मायाको भोक छैन र ? उसँग पनि चाहनाका चाङ छन् । ती स्वाभाविक होइनन् र ?

के उसका जीवनमा दुःखले हाँगा हालेका छैनन् र ?

न परिवार, न साथी, न कोही खास मान्छे ? कसको काँधमा राख्ने उसले शिर ? कहाँ बिसाउने आफ्नो गुनासोका पोका-पन्तुरा ?

लेखकको बारेमा
गीतु गैरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?