+
+

उद्योगमा सम्पत्ति कर नलिन वीरगञ्जका उद्योगीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते २०:०९

२ असार, वीरगञ्ज । वीरगञ्जका उद्योगीहरुले उद्योगसँग सम्पत्ति कर नलिन वीरगञ्ज महानगरपालिकासँग आग्रह गरेका छन् । महानगरपालिकालाई आगामी आर्थिक वर्ष ०७९/८० को बजेट तथा कर सम्बन्धमा सुझाव दिँदै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट तयार गरिरहेको छ । त्यसका लागि असार १० गते नगरसभा बैठक बोलाइएको छ ।

महानगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार १० लाखसम्मको मूल्यांकनमा २००, १० लाखदेखि २० लाखसम्मको मूल्यांकनमा ५०० रुपैयाँ, २० लाखदेखि ५० लाखसम्म मुल्यांकनमा सम्पत्तिको ०.५ प्रतिशत, ५० लाखदेखि १ करोडसम्म मुल्यांकनमा ०.१० प्रतिशत, १ करोडदेखि २ करोडसम्म मुल्यांकनमा ०.२५ प्रतिशत कर लिने गरेको छ ।

त्यस्तै २ करोड १ देखि ५ करोडसम्मको मुल्यांकनमा ०.५० प्रतिशत र ५ करोड १ देखि माथिको मूल्यांकनमा ०.७५ प्रतिशत सम्पत्ति कर लिने गरेको छ । साथै सम्पत्ति करको मुल्यांकनमा ०.०२ प्रतिशत सेवा शुल्क पनि लाग्ने ऐनमा उल्लेख छ ।

तर ०७८ पुस मसान्तसम्म बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट, ०७८ माघ देखि चैत मसान्तसम्म बुझाएमा चालु आवकको कर रकममा ५ प्रतिशत छुट र उद्योग कलकारखानाको हकमा लाग्ने सम्पत्ति करमा अन्य छुटहरुको समेत गणना गरी ५० प्रतिशत छुट दिएको थियो ।

उद्योगका लागि खरिद गरेको जग्गा, घर, मेशिनरी सामान आदिको पनि महानगरले सम्पत्ति कर लिने गरेको छ । सम्पत्ति खरिद गर्दा आयकर ऐन अनुसार कर तिरिसक्ने, उद्योगमा बैंकबाट ऋण लिएर समेत लगानी गर्ने गरिएको र उद्योगहरुले कर, भ्याट तिर्नुको साथै रोजगारी श्रृजना समेत गर्ने भएकोले उद्योगका नाममा भएको घर, जग्गामा स्थानीय सम्पत्ति कर नलिन उनीहरुको आग्रह छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महानगरलाई उद्योगीसँग सम्पत्ति कर नलिन आग्रह गरिएको बताए । ‘उद्योगको सम्पत्ति बैंकबाट ऋण लिएर जोडिएको हुन्छ, त्यसमाथि खरिद गर्दा नै सरकारलाई कर तिरिसकेका हुन्छौं’ उनले भने ‘त्यसबाहेक उद्योगले विभिन्न कर राज्यलाई तिरिरहेको हुन्छ । त्यसैले उद्योगीसँग सम्पत्तिकर नलिईदिन महानगरसँग आग्रह गरेका हौं ।’

संघका अर्का उपाध्यक्ष हरि गौतमले उद्योगको विकासका लागि पनि सम्पत्ति कर खारेज गर्नुपर्ने बताए । ‘उद्योगका संरचना, मेसिन वा जग्गा सम्पत्ति होइन, पुँजी हो । त्यसैले महानगरले सम्पती कर लिनु हुँदैन’ उनले भने ।

महानगरपालिकाको मुख्य आम्दानीको स्रोत नै सम्पत्ति कर रहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा महानगरले १५ करोड ५१ लाख ३ हजार २ सय १ रुपैयाँ ७८ पैसा संकलन गरेको छ ।

त्यसैगरी संघले सवारी व्यवस्थापन कर पनि वीरगञ्ज महानगरपालिकाले लगाउन नपाउने भन्दै खारेज गर्न माग गरेको छ ।

आर्थिक ऐनमा भएको व्यवस्था अनुसार महानगरले सवारी व्यवस्थापन सेवा शुल्क लिने गरेको छ । बसको तीन हजार, मिनी बसको दुई हजार, माइक्रो बसको १५ सय, निजी जीप र कारको ८००, भाडाको जीप र कारको एक हजार, रुपैयाँ सवारी कर लिने गरेको छ । त्यस्तै ट्याक्टर, टेम्पो, ई– रिक्साको ५००, मोटरसाइकलको ३००, रिक्सा तथा ठेलाको दस्तुर १००, ट्रक तथा अन्य हेभी सवारी ६ चक्कासम्म तीन हजार, १० चक्कासम्म ४५ सय र १० चक्का भन्दा माथि पाँच हजार रुपैयाँ लिने गरेको छ ।

उद्योगी व्यवसायीहरुले कर उठाउने जिम्मा वडालाई दिनुपर्ने सुझाव दिएका छन् । जुन वडाले बढी कर दिन्छ, त्यही वडालाई बढी विकास खर्च दिने नीति लिँदा कर संकलन बढ्ने दावी उनीहरुको छ ।

उद्योगी सुरेश रुंगटाले जिल्लाभित्रको उत्पादनलाई जिल्लाभित्रै ओसारपसार गर्दा पनि पटके कर लगायत विभिन्न शीर्षकमा लिने गरिएका कर हटाउनुपर्ने बताए ।

उद्योगी अशोक वैद्यले भित्तामा पर्चा, पम्पलेट पोस्टर टाँस्नेहरुले शहरलाई कुरुप बनाएकोले प्रचारको नाममा हुने त्यस्ता कार्यलाई रोक्न आग्रह गरे ।

घरबहाल कर बुझाए सबै कर खारेज गर्छु : नगर प्रमुख सिंह

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले घरबहाल बुझाए अन्य सबै कर खारेज गर्ने बताएका छन् ।

‘महानगरपालिका लथालिंग छ । कर उठाउनुपर्ने ठाउँ टन्नै छ, धेरै ठाउँमा कर चोरी पनि हुने गरेको छ । घरबहाल कर ५० हजार हुने ठाउँमा ५ हजार दिनेहरु पनि यहीँ छन् । त्यसैले वीरगञ्जका घरधनीहरुले इमान्दारिताका साथ घरबहाल कर दिए अरु सबै कर खारेज गर्छु’ उनले भने ।

महानगरले कर संकलनलाई व्यवस्थित बनाउने मेयर सिंहको भनाइ छ । ‘नगरबासी सबैलाई राम्रो पनि हुने र महनगरपनि चल्ने हिसाबले करका दर निर्धारण गर्छौं’ उनले भने, ‘त्यसका लागि जनप्रतिनीधि, कर्मचारी र बाहिरका विज्ञ समेत लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?