+
+
बालकोट ब्रिफिङ : :

एकपटक हार्न परे पनि एमाले तयार हुनुपर्छ

सइन्द्र राई सइन्द्र राई
२०७९ असार १० गते २१:०६

१० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ५ असारमा डा. सुरेन्द्र मानन्धर बालकोट पुगे । १०बुँदे सहमतिपछि माधव नेपाल छोडेर एमालेमै बसेका मानन्धरलाई काठमाडौं केन्द्रित कुरा गर्न ओलीले आफ्नै निवास बालकोट बोलाएका थिए । ‘सञ्चो बिसञ्जोदेखि राजनीतिसम्म पुग्यौं । काठमाडौंमा एमालेले कसरी जित्ने भन्नेमा धेरै कुरा भयो’, मानन्धर भन्छन् ।

खुलेरै कुराकानी भएपछि मानन्धरले अध्यक्ष ओलीसँग पार्टीको अवस्थासहित व्यक्तिगत गुनासा पनि राखे । ‘०७० सालको चुनावमा मैले प्रचण्डको भन्दा धेरै भोट ल्याएँ । त्यसपछि त पार्टीबाटै किनारामा धकेलिएँ’, ०७४ को चुनावमा काठमाडौं–१० माओवादी केन्द्रको भागमा पारिनु गलत भएको डा. मानन्धरले तर्क गरेका थिए ।

उनको अर्को प्रश्न थियो, ‘पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य म, दशौंमा किन हटाइएँ ?’ नवौं महाधिवेशनमा केन्द्रीय सदस्य चयन हुन नसकेकाहरू समेटिँदा आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारी समेत फिर्ता लिन लगाइएको डा. मानन्धरले बताए । चितवन महाधिवेशनमा ओलीको सूचीमा पर्दै काठमाडौंकै कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, अजय क्रान्ति र केशव स्थापित केन्द्रीय सदस्य बने । तर १० प्रतिशत मनोनयनबाट केन्द्रीय सदस्य बनाउने सहमतिमा डा. मानन्धरले उम्मेदवारी फिर्ता लिएका थिए ।

बालकोटमा केपी ओली र सुरेन्द्र मानन्धर ।

डा. मानन्धरले चित्त बुझाउने गरी जवाफ नदिएका ओली ‘त्यो राजनीतिक कुरा हो’ भनेर पञ्छिए । किनकि मानन्धरलाई बालकोट बोलाउनुको प्रयोजन नै अर्कै थियो । ‘काठमाडौंमा जित्ने गरी लाग्नुस् भन्नुभयो, यति हो’, मानन्धर भन्छन् ।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगर, कीर्तिपुर नगरपालिकासहित एमालेले काठमाडौंका १० मध्ये ८ स्थानीय तहको नेतृत्व गुमाएको छ । ०७४ को चुनावमा भने एमालेले काठमाडौं महानगरसहित ६ मेयर र ७ उपमेयर जितेको थियो । यसपटक टोखा र बुढानिलकण्ठ नगरपालिका मात्रै जित्यो ।

गठबन्धनविरुद्ध चमत्कार गर्ने एमालेको दाबी बिपरीत गैरदलीय उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरको मेयर जिते । बाँकी स्थानीय तहमा पनि एमाले उम्मेदवार पराजित भएपछि अध्यक्ष ओलीले काठमाडौंका नेताहरुसँग अनौपचारिक सम्वाद बढाएका छन् । त्यसैक्रममा मानन्धरलाई पनि बोलकोट बोलाइएको ओली निकट एक नेता बताउँछन् । ‘संघ र प्रदेशको चुनाव आउँदैछ । तयारी त बढाउनु पर्‍यो’, ती नेता भन्छन् ।

नेतृत्वसँग असन्तुष्ट मानन्धरजस्तै अरु नेतासँग पनि सम्वाद बढेको ती नेता बताउँछन् । ‘गठबन्धनले हामीविरुद्ध निर्मम प्रहार गरिरहेको छ । यस्तो बेला पार्टीभित्रै तिक्तता राखेर सधैं रहने अवस्था त हुन दिनु भएन’, उनी भन्छन् ।

सम्भावित राजनीतिक समीकरण र नतिजाको विश्लेषण गरेरै अध्यक्ष ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । स्थानीय चुनावको नतिजा सार्वजनिक भएको लामो समय मौन रहेका ओली त्यस्तो निष्कर्षमा पुग्नुमा भने कांग्रेस नेतृत्वको गठबन्धन तोड्न नसक्नु मूख्य कारण हो ।

पार्टीभित्र इतर समूहमा रहेकै कारण लामो समय किनारामा पारिएका, राजकीय अवसरबाट बञ्चित गरिएका र पार्टी भूमिकाविहीन बनाइएका नेताहरुसँग समेत सम्वाद हुनुको कारण भने ओलीले आगामी चुनावबारे निकालेको निष्कर्ष हो । ‘आउने चुनाव पनि एक्लै लड्नुपर्छ भन्ने नै अहिलेसम्मको अवस्था हो । त्यसो हुँदा पार्टीभित्रको एकता थप सुदृढ बनाउन पनि अध्यक्ष कमरेडको प्रयत्न होला’, एमालेका एक पदाधिकारी भन्छन् ।

अन्तर्घातकै कारण ८८ स्थानीय तह गुमाउनु परेको एमाले अध्यक्ष ओलीले सार्वजनिक मतन्व्यमै भनेका छन् । थोरै मतान्तरले पराजित भएको स्थानीय तहमा अन्तर्घातको असर परेको निष्कर्ष उनी निकट नेताहरुले निकालेका छन् । तर सचिवालय बाहेक अन्य बैठक नबसेकाले एमालेको थप निर्णय भने हुन सकेको छैन । स्थानीय चुनाव सकिएको एक महिनापछि ३० जेठमा सचिवालयको बैठक बसेको थियो । त्यसबाहेक स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको छैन । ‘तत्काल कुनै पनि बैठक बस्दैन होला, केपी कमरेडको संकेत त्यस्तै छ’, ती पदाधिकारी भन्छन् ।

ओली भने आगामी चुनावको मोडालिटीबारे प्रष्ट देखिन्छन् । ‘एमाले कसैलाई बोकेर वा कसैको साहरा लिएर चुनावमा जाँदैन भन्नेमा केपी ओली प्रष्ट हुनुहुन्छ, हामी एक्लै चुनावमा जान्छौं’, एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । स्थानीय चुनाव पराजयको निष्कर्ष, बालकोटमा बाक्लिएको भेटवार्ता र नेताहरुको अभिव्यक्तिले पनि गठबन्धनविरुद्ध एमाले एक्लै चुनावमा जाने तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।

वाम गठबन्धनको दबाव

अध्यक्ष ओली कसैसँग गठबन्धन नहुने अडानमा देखिदा एमालेको ठूलो पंक्ति भने वाम गठबन्धनको पक्षमा छन् । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने काम प्रतिपक्षमा बसेर हुँदैन । चुनाव जित्नेगरी तयारी हुनु राम्रो हो’, केन्द्रीय सदस्य गणेश पहाडी भन्छन् । उनीजस्तै प्रत्यक्ष निर्वाचित सांसदहरू अहिलेको गठबन्धन तोडेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । ‘वाम गठबन्धन हुँदा चुनौती कम हुन्छ, त्यसो हुँदा अहिलेकै गठबन्धन भत्काउनुपर्छ’, पहाडी भन्छन् ।

०७४ को चुनावबाट एमाले एक्लैले झण्डै बहुमत ल्याउनुमा पनि वाम गठबन्धनको सहजताले काम गरेको उनी बताउँछन् । समानुपातिक तर्फ नेपाली कांग्रेस भन्दा एक सिट मात्रै बढी (एमाले ४१, कांग्रेस ४० सिट) जितेको एमालेले प्रत्यक्षतर्फ ८० सिट जित्नुमा माओवादी केन्द्रसँगको गठबन्धनले बल पुगेको थियो । माओवादीले पनि एमालेसँगको गठबन्धनकै कारण समानुपातिक तर्फ १७ सिट मात्रै जितेपनि प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । त्यसैले पनि सकेसम्म वाम गठबन्धनमा जोड दिनुपर्नेमा ठूलो संख्याका सांसदहरुबीच मतैक्य छ ।

ओली निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठक । फाइल तस्वीर

प्रतिनिधिसभाका मात्रै नभएर राष्ट्रियसभाका अधिकांश सांसदहरू पनि वाम गठबन्धनको पहलकदमी लिनुपर्ने पक्षमै छन् । बिहीबार प्रमुख सचेतक खिमलाल भट्टराईको अग्रसरतामा एमाले सांसदहरु अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका राष्ट्रियसभा सांसदहरूले पनि चुनावी गठबन्धनबारे चासो राखेका थिए । तर अध्यक्ष ओलीले भने एक्लैले जित्नेगरी तयारी गर्न निर्देशन दिए ।

यसपटकको स्थानीय चुनावमा एमाले दोस्रो शक्तिमा खुम्चिएकाले पनि नयाँ गठबन्धनको पहल लिन आवश्यक रहेकोमा एमाले नेताहरुको जोड देखिन्छ । ०७४ को चुनावमा ७५३ मध्ये २९४ स्थानीय तह जितेर पहिलो बनेको एमालेले यसपटक २०५ स्थानीय तह मात्रै जितेको छ । शहरी क्षेत्रमा धेरै ठाउँ हारेको छ । गठबन्धनले साझा उम्मेदवारी दिएको ६ महानगर मध्ये एमालेले एउटै पनि जित्न सकेन । एघारमध्ये तीन उपमहानगर मात्रै एमालेले जितेको छ । अघिल्लो पटक सात उपमहानगर जितेकोमा यसपटक तुलसीपुर, घोराही र कलैया मात्रै जितेको छ ।

तर अध्यक्ष ओलीलाई सहमत गराउन सक्ने सामर्थ्य भने वाम गठबन्धनको चाहना राख्ने नेताहरुमा देखिँदैन । जबकी पदाधिकारी, केन्द्रीय सदस्य, सांसददेखि तल्ला तहका नेताहरु पनि अहिलेकै गठबन्धन कायम रहे आउने चुनाव जित्न कठिन पर्नेमा प्रष्ट रहेको एक नेता बताउँछन् । ‘एमाले एक्लै चुनाव लड्नुपर्छ भन्ने केपी ओलीको मतलाई महासचिव शंकर पोखरेलको बलियो साथ छ’ ती नेता भन्छन्, ‘कतिपय पदाधिकारी त माओवादी र एकीकृत समाजवादीका नेताहरुसँग सम्वादमा पनि हुनुहुन्छ ।’

महासचिव पोखरेल बाहेक उपमहासचिव प्रदीप ज्ञवाली वाम गठबन्धन नगरिने अध्यक्ष ओलीको मतको रक्षार्थ उभिएका छन् । ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेकाहरू भने एमालेले आउने चुनाव पनि जित्ने तथ्य जुटाउनेमा छन् । सिट संख्या कम आए पनि स्थानीय चुनावले एमालेलाई पहिलो शक्तिका रुपमा अनुमोदन गरेको तथ्याङ्क तिनै नेताहरुले संकलन गरेका हुन् । स्थानीय चुनाव अगाडि पनि नयाँ र युवा मतदातामध्ये ७० प्रतिशतमा केपी ओली लोकप्रिय रहेको, विभाजनको क्षति माओवादीबाट आएका नेताहरुबाट पूर्ति भएको, पार्टी प्रवेशको लहर चलेको लगायत तथ्य उनीहरुले नै संकलन गरेका थिए । एमाले अध्यक्ष ओलीले समेत स्थानीय चुनावमा गठबन्धनविरुद्ध ७० प्रतिशत सिट जित्ने दावी सार्वजनिक गरेका थिए ।

बलियो बन्न एक्लै लड्ने !

स्रोतका अनुसार, सम्भावित राजनीतिक समीकरण र नतिजाको विश्लेषण गरेरै अध्यक्ष ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । स्थानीय चुनावको नतिजा सार्वजनिक भएको लामो समय मौन रहेका ओली त्यस्तो निष्कर्षमा पुग्नुमा भने कांग्रेस नेतृत्वको गठबन्धन तोड्न नसक्नु मूख्य कारण हो ।

‘भर्खरै फुटेर गएका प्रचण्ड र माधव नेपालसँग फेरि गठबन्धन गर्न सजिलो छैन । कांग्रेस पनि गठबन्धन जोगाउनेमा प्रतिबद्ध देखियो’, ओली निकट स्रोत भन्छन् । अध्यक्ष ओलीले यो गठबन्धन तोड्ने प्रयत्न भने गरेका थिए । गएको १५ फागुनमा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका निम्ति सहयोग माग्न बालकोट पुगेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुलाई ओलीले गठबन्धन तोड्नुपर्ने सर्त राखेका थिए ।

गठबन्धन कायमै रहेपछि भने स्थानीय चुनावको जनादेशले राजनीतिक समीकरण बदलिने ओलीको भनाइ थियो । उनले ‘असार १७ गते देउवाको कस्तो दिन छ भन्ने भविष्यबाणी ज्योतिषले गर्नुपर्ने’ समेत बताएका थिए । तर स्थानीय चुनावमा गठबन्धन गरेका सबै दललाई राम्रै फाइदा भएकाले अब नयाँ समीकरण सजिलो नहुने बुझाइमा पुगे । यदि वाम गठबन्धन भइहाले पनि ०७४ को जस्तो नतिजा नआउने बुझाइले पनि एक्लै लड्ने मनोविज्ञान ओलीले बनाएका छन् । स्थानीय चुनावमा गैरदलीय र युवा उम्मेदवारतर्फ मतदाताको आकर्षण देखिएकाले पनि त्यस्तो मनोविज्ञान निर्माणमा बल पुगेको बुझ्न सकिन्छ ।

गठबन्धनले पार्टी र सिद्धान्त बन्दैन भन्ने सैद्धान्तिक तर्कको व्याख्या भने महासचिव पोखरेलले गरिरहेको प्रमुख सचेतक भट्टराई बताउँछन् । ०७४ को चुनावमा गठबन्धन बनेर सरकार बनाउँदा पनि पार्टी बलियो नभएको नजीरले पनि एमाले एक्लै प्रतिश्पर्धामा उत्रने तयारीमा जुटेको उनी बताउँछन् । तर एमालेका निम्ति सत्ताको ढोका भने चुनावपछि पनि खुला नै रहने विश्वासमा ओली र उनी निकट नेताहरु छन् । ‘कांग्रेस एक्लैले बहुमत नल्याउना साथ जुनसुकै बेला एमालेका निम्ति सत्ताको ढोका खुल्छ । त्यसैले बरु एउटा चुनाव हार्न तयार हुने, तर वाम गठबन्धनको तनावतिर नलाग्नेमा केपी ओली प्रष्ट हुनुहुन्छ’, ओली निकट एक पदाधिकारी भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?