+
+

तरलता संकटको असर : घट्यो मोटरसाइकलको आयात र बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १९:२५

१४ असार, काठमाडौं । वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण मोटरसाइकल/स्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकल/स्कुटरको आयात घटेको हो ।

चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल/स्कुटरको आयात २०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म) २५ अर्ब ५९ करोड ८१ लाख मूल्यको मोटरसाइकल आयात भएको छ । सरकारले सवारीको आयातलाई निरुत्साहन गर्ने गरी नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात कम भएको अटोमोबिल व्यवसायीहरु बताउँछन् ।

यो अवधिमा कुल २ लाख ५७ हजार ६३६ हजार वटा मोटरसाइकल आयात भएको छ । यस्तो आयातबाट सरकारले २५ अर्ब ३२ करोड ८४ लाख भन्सार राजस्व संकलन गरेको छ ।

गत वर्ष यसै अवधिमा ३ लाख २३ हजार ४६० मोटरसाइल आयात भएका थिए । गत वर्ष ११ महिनामा ३० अर्ब ३ करोड ३४ लाख मूल्यका मोटरसाइकल आयात हुँदासरकारले ३० अर्ब ५० करोड १ लाख भन्सार राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा १२५ सीसीसम्मका १ लाख ६३ हजार ९२४ मोटरसाइकल आयात भएको छ । त्यसैगरी १२५ देखि २०० सीसीसम्मका ६७ हजार ७०८ वटा मोटरसाइकल आयात भएको तथ्यांकमा देखिन्छ । २०० देखि २५० सीसीम्मका १९ हजार २९२ वटा मोटरसाइकल आयात भएको विभागको तथ्यांकमा देखिन्छ ।

२५० देखि ४०० सीसीसम्मका ६ हजार ७०७ वटा मोटरसाइकल नेपाल भित्रिएका छन् । ४०० देखि ८०० सीसीसम्मका ४ र ८०० सीसीभन्दा बढीको एउटा बाइक नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यो वर्ष अधिकांश वर्गमा मोटरसाइकलको आयात दर घटेको छ । नेपालमा टीभीएस बाइक बिक्री गरिरहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल मुख्य रुपमा बजारमा तरलताको अभावले बिक्री प्रभावित भएको बताउँछन् । ‘बजारको मनोविज्ञान पनि अहिले सकेसम्म नकिनौं भन्ने खालको बनेको छ,’ उनी भन्छन्, ‘फाइनान्सिङ सजिलो छैन, ब्याजदर पनि बढेको छ, अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको असर हाम्रो बजारसम्म नै छ ।’

उनका अनुसार ५० प्रतिशत नगद मार्जिन राखेर आयात गर्नुपर्दा लागत बढ्न पुगेको छ । जसको अप्रत्यक्ष मार उपभोक्तामाथि नै परिरहेको छ । बजारको अवस्थाका कारण कम्पनीहरुले पनि आक्रामक ढंगले मार्केटिङ गर्न सकेका छैनन् ।

एक मोटरसाइकल बिक्रेता कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार दुई पांग्रे सवारी किन्न पर्याप्त र सहज फाइनान्स सुविधा उपलब्ध छैन । ‘बजार संकटोन्मुख छ, आयातका लागि पनि सहज र सस्तो बैंकिङ भएको छैन,’ उनले भने, ‘मौज्दातमा रहेका बाइकहरु नै बिक्न नसकेपछि धेरै आयात गर्नु नपरेको पनि हो ।’

बजारमा महँगी चर्किएकाले उपभोक्तमा पनि सवारी फेर्ने मनोबल घटेको बिक्रेताहरुको अनुभव छ । धेरैले अहिले रिकन्डिसनिङ बाइकहरु किन्न थालेको भन्दै ती सीईओले आगामी एक वर्ष अझै अवस्था सरल नबन्ने बताए ।

‘देशको अर्थतन्त्रको जुन बाह्य अवस्था छ, त्यो हेर्दा अझै केही महिना यस्तो संकट अझै गहिरिने देखिन्छ,’ उनले भने, ‘मौद्रिक नीतिले अटो कर्जा अझै कस्यो भने अवस्था झन बिग्रने जोखिम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?