+
+
Shares
कविता :

मेरी आमा

अनिष मंग्राती अनिष मंग्राती
२०७९ असार १६ गते १२:००
फाइल तस्वीर

असारको दिन

लछारपछार गर्दै

झमझम झरीमा पनि

माली भोकाउँछे कि भन्ने पिरले

राते रिसाउँछ कि भन्ने चिन्ताले

बिहान सबेरै मेरी आमा

बराउली र करूवा खोला तरी

खेतका कान्लाहरूमा

खेल्दाखेल्दै

एक डोको घाँसका भारीसँगै घर पुग्छिन् ।

 

घरको काम भ्याएर

खाली खुट्टामा

कति संयमित भई

उनी भुलभुले पुग्छिन्

अनि

पुन बराउली र करूवालाई

पछाडि छोड्दै

हातमा सानो घुम

पोहोर साल मात्रै

तिनै,

सीताराम हजुरबाले बुनेको हुनुपर्छ

अनि उस्तै

टाउकामा त्यही पुरानो रूमाल

कत्ति सुहाएको छ ।

 

खेतका गराहरूले उनीलाई नै

पर्खिरहेझैं लाग्छ

चिप्ला आलीहरूले

उनकै स्पर्श खोजिरहेको भान गराउँछ

मसिना, हरिया

तिनै धानमा बीउहरूले

उनी आउने बाटो हेरिरहेझैं लाग्छ

तर उनी

सुस्त सुस्त

पछ्याउदै आफ्नै गन्तव्यहरूलाई

अगाडि बढ्दैछिन्

नयाँ उमंगको साथमा ।

 

लाठेहरूको हँ हँ र

रोपारहरूको ठट्टाले

फाँटका गराहरू

पूरापूरा जागेको छ

कैयौं महिना

हप्ता

अनि

दिन

सायद यसैको प्रतीक्षामा हुनुपर्छ

यही दिनको

तर मेरी आमा मौन छिन्

एउटा गराबाट अर्को गरामा छिर्दा

केहीबेर सुस्ताउँछिन्

त्यही चिप्लो आलीको डिलमा उभिएर

एकतमाससँग

आफ्नै टाउँको नजिकमा उभिएको

लमतन्न महाभारत पर्वततिर आँखा नचाउँछिन्

अनि आकाशका कालो मडारिएको

बादलतिर एक चक्कर लगाउँदै

भन्छिन्

आज पनि पानीले रूझाउला जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?