+
+

पाल्पामा सिँचाइले फेरिएको जीवनशैली

सिँचाइ व्यवस्थित नहुँदा एक मुरीमा राम्रै उत्पादन भएका बखत दुईदेखि तीन मुरीसम्म धान स्याहारेका किसान अहिले सोही जग्गामा सात–आठ मुरी उत्पादन गर्न सफल भएका छन् । कुल खेतीयोग्य जमिनमध्ये करिब ७० रोपनी क्षेत्रफलमा घर भवन निर्माण, प्लटिङ गरिएको छ । बाँकी जमिन भने अन्नबालीले भरिएका छन्

रासस रासस
२०७९ असार १७ गते १३:३३

१७ असार, पाल्पा । सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।

बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई रमाइलो लागेको छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेकेका छन् ।

रानाको दैनिकी लठ्ठीको साहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज देख्दा खुसी मुद्रामा बितिरहेको छ । आफूले भेटेका जो–कोहीलाई पनि खेतमा लगाइएको बालीनाली देखाउँदै हिजोका सङ्घर्षका कथा सुनाउँछन् ।

उनी भन्छन्, ‘परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगायो बालीनालीलाई आवश्यकताअनुसार सिँचाइ दिन पाइँदैनथ्यो, आकाशको पानी नपरेका वर्ष उत्पादन स्याहार्नै परेन, अहिले झैँ बजारमा किनेर खान पाउने अवस्था पनि थिएन, सामान किन्न सदरमुकाम तानसेन, बुटवल बजार नै जानुपर्थ्यो, हिजोका ती जग्गामा अहिले हराभरा बाह्रै महिना अन्नबाली फलेको देख्दा जमानाले ठूलै कोल्टे फेर्‍यो जस्तो लाग्छ ।’

बहखोला खजनीखोला बेझाड खेत सिँचाइ आयोजनाको कुलो मर्मत गरी पक्की बनेपछि उनका बाँझिएका र खेती गरेर उत्पादन लिन नसकिएका जमिन हराभरा बनेका छन् । उमेरले बुढ्यौली टेके पनि खेतबारीमा हरियाली कृषि बालीले ढाकेको देख्दा उनमा हिजोका सङ्घर्षका दिन सम्झँदा कथाजस्तो लाग्दछ ।

खेतमा बाली लगाएपछि पानी पटाउन बिहान उठेर कुलोमा पात पतिङ्गर, ढुङ्गामाटो सफा गर्दै मुहानमा पानी लगाएर घर फर्कँदा कहिलेकाहीँ दिन बितेको पत्तो नै नभएको उनले अनुभव सुनाए ।

२००५ सालमा हरिबहादुरका हजुरबुवा कर्णबहादुरले किनेको जग्गा अहिले पनि भोगचलन गरिरहेका छन् । बाउबाजेको पालादेखि नै भोगचलन गर्दै आएको पुख्र्यौली जग्गा हिजो सिँचाइ दिन नसक्दा बाँझिए ।

उत्पादनशील पानी नलाग्ने भनिएको जग्गा अर्थात् बारीमा पनि सिँचाइ सुविधा पुगेपछि खेतको रूपमा परिणत भई धान फल्न थालेको उनी बताउँछन् । ‘बारी भनेर केही नलगाउने जग्गामा अहिले मज्जाले धान फल्ने भयो, सिँचाइ सुविधा भयो भने कृषि बाली लगाएर परिवार धान्न समस्या छैन, कुलो पक्की भएपछि पहिलोजसो महिनौँ सफा गर्न जानुपर्ने झन्झटबाट हामी उपभोक्तामुक्त भइयो, किसानलाई सिँचाइ सुविधाले धेरै आनन्द बनाएको छ, उत्पादन पनि बढिरहेको छ’, उनले भने ।

खेतमा सिँचाइ गर्न कुलोको मुहानमा सालका हाँगा, स्याउलाले बाँध बाँधेर पानी ल्याइन्थ्यो। अस्थायी संरचना हुँदा वर्षायाममा बाढीले बगाएर लैजाने समस्या किसानले झेल्नुपर्‍यो । यसरी ल्याइएको पानी कच्ची कुलोका कारण ठाउँ–ठाउँमा चुहिने र सोसिएर हिउँदयाममा त खेतमा पुर्‍याउनै सकिँदैनथ्यो ।

गहुँ, मकैबाली छर्ने समय रातदिन उपभोक्ताबीच पालो विभाजन गरेर पानी लगाउने चलन थियो । रातको समयमा बस्तीदेखि टाढा रहेको मुहानमा पुगेर कुरेरै पानी लगाउन किसानले धेरै सास्ती भोग्नुपरेको थियो । तर अहिले भने यो समस्या किसानलाई छैन । मूल कुलोबाट आएको पानी बेझाड खेतको मुहानमा शाखा कुलो निर्माण गरेर सबैका खेतमा पानी वितरण भइरहेको छ ।

आकाशे पानी नपरेका बेला मुहानका खेतमा लगाइएका धानबाली जसोतसो उत्पादन लिएपनि पुछार खेतमा लगाइएका धानबालीको बीउ स्याहार्नै नपाएको हिजोको अवस्था अझै पनि मनमा ताजै रहेको बताउनुहुन्छ ६७ वर्षीय सूर्यबहादुर राना ।

‘आकाशे पानी गरेका समय वर्षायामको भलपानी छोपेर धान लगाइन्थ्यो, खडेरी परेका बेला खेतमा पानी नै पुग्दैनथ्यो, कहिलेकाँही दुःखसँग गरेको खेती सिँचाइ अभावमा सप्रन नपाएर बीउ नै स्याहार्नै पाइएन, सिँचाइ आएपछि भने किसानले सबै बाली लगाएर राम्रो उत्पादन लिन थालेका छन्, कृषिमा जोश जाँगर बढेर आउँछ”, उहाँले भन्नुभयो ।

उनी खेतमा सिँचाइ गर्न कुलोको मुहानमा धाउन छाडेको करिब सात वर्ष भयो । व्यवस्थित र पक्की कुलोको संरचना बनेपछि बेझाड खेतका सबैजसो जमिन हराभरा बनेका छन् । धान, गहुँ, मकै, तरकारी, सूर्यमुखीलगायतका विभिन्न बाली लगाएर राम्रो उत्पादन किसानले लिदै आएका छन् ।

वर्षायाममा धान बाली मात्रै लगाउने अन्य समय बाँझै राख्ने खेत अहिले देख्न पाइँदैन । वर्षमा एक बाली त्यो पनि धान लगाएर राम्रोसँग स्याहार्न नपाउने समस्या भोगेका यहाँका किसानलाई कुलो पक्की बनेपछि ठूलो राहत पुगेको छ ।

करिब २०० वर्षअघि हालको रामपुर नगरपालिका-५ स्थित बेझाड खेतका खाली जमिन सिँचाइ गर्न कुलो बनाएर बहखोलाको पानी ल्याइएको बुढापाका बताउँछन् । दुई दशकअघि पक्की कुलोको अवधारणा ल्याएर उपभोक्ताले कुलो व्यवस्थापन गर्दै जाँदा अहिले सिँचाइको राम्रो उपयोग गर्न पाएका छन् । समथर भूमि रहेको बेझाड खेत कृषि उत्पादनका हिसाबले उपयुक्त छ ।

यस कुलोबाट बेझाड खेतमा रहेको करिब ५६० रोपनी खेतमा सिँचाइको सुविधा पुगेको छ । सिँचाइ सुविधाले आफ्नै खेतमा उब्जेको अनाजले किसानलाई बिहान साँझको जोहो कसरी गर्ने भन्ने चिन्ता छैन । बेझाड खेतको मुहानदेखि करिब दुई किलोमिटर पर बहखोलामा बाँध बाँधेर पानी ल्याइएको छ ।

बर्सेनि विभिन्न सङ्घसंस्थाको सहयोगमा बजेट परेपछि संरचना बलियो बन्दै गएको छ । मूल कुलोको संरचना तयार भएपछि अहिले उपभोक्ताले शाखा कुलो व्यवस्थापन कार्यलाई अगाडि बढाएका छन् ।

कुलो पक्की नहुँदा रातदिन मुहानमा पुगेर पानी कुर्नुपर्ने अवस्था थियो । पानी लगाउने झन्झटले खेती गरिरहेको जमिन बाँझै पनि राखे । अहिले कुलो पक्की बनेपछि नियमितरूपमा पानी आउँदा धान, गहुँ, मकै, तरकारीलगायतका विभिन्न बालीनाली किसानले लगाउने गरेको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर राना बताउँछन् ।

सिँचाइ सुविधा पाएपछि आधुनिक प्रविधिबाट किसानले खेती गर्न थालेका छन् । हिजो त्यही जग्गामा लगाएको अन्नबालीले खान पुग्दैनथ्यो भने अहिले घरायसी प्रयोजन मात्र नभई बिक्री समेत गर्ने गरेको किसान बताउँछन् । कुलो व्यवस्थित बनेपछि गत वर्षदेखि बेझाड खेतमा सूर्यमुखी पकेट कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष रानाले बताए ।

कृषि ज्ञान केन्द्र पाल्पा र स्थानीय उपभोक्ताको सहयोगमा यसवर्ष ६४० मिटर विभिन्न शाखाका कुलोहरु पक्की बनाइएको छ । मूल कुलोको सबै भागमा पक्की संरचना बनेको छ भने शाखा कुलोहरु पक्की गर्ने कार्य भइरहेको छ । हालसम्म ३० प्रतिशत शाखा कुलो पक्की बनाइएको छ भने आगामी दिनमा विस्तार गर्दै जाने र सबै शाखा कुलो पक्की बनाउने उपभोक्ता समितिको योजना छ ।

धान रोपाइँ सुरु समय अगावै एकदेखि डेढ महिना उपभोक्ताले कुलो मर्मत तथा सरसफाइमा समय खर्चिनुपथ्यो । अहिले भने यो समस्या सधाका लागि टरेको छ । कच्ची कुलो ठाउँ ठाउँमा पहिरो खसेर खेतमा लगाएको बाली किसानलाई पाकेर स्याहार्न पाइन्छ या पाइँदैन दोधारमै खेती गर्नुपर्ने अवस्था रहेको उपभोक्ता विष्णुप्रसाद बस्याल स्मरण गर्नुहुन्छ । स्थानीय किसान कृष्णकान्त पौडेलले पानीको सुविधा हुन थालेपछि चार रोपनी जग्गामा सबैजसो खेती लगाउने गरेको बताए ।

उनी भन्छन्, ‘पहिला त बाली लगायो स्याहार्न पाइन्छ कि पाइँदैन भन्ने लाग्थ्यो, मुहानमा ठूलै पानी भएपनि कच्ची कुलोमा खेतमा पुग्नै मुस्किल पर्थ्यो, अहिले कुलो सबै पक्की बनेपछि सजिलैसंग खेतमा पानी पुगेको छ ।’

पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुँदा खेतीबाली लगाउन समस्या थियो । पुछारतिरका खेतमा पानी पुग्नै धौधौ भएपछि खेती गरिरहेको जमिनमा कतिपयले भट्टमास, गहत, बोडी जस्ता बाली लगाउने गरेको स्थानीय बताउँछन् ।

सिँचाइ व्यवस्थित नहुँदा एक मुरीमा राम्रै उत्पादन भएका बखत दुईदेखि तीन मुरीसम्म धान स्याहारेका किसान अहिले सोही जग्गामा सात–आठ मुरी उत्पादन गर्न सफल भएका छन् । कुल खेतीयोग्य जमिनमध्ये करिब ७० रोपनी क्षेत्रफलमा घर भवन निर्माण, प्लटिङ गरिएको छ । बाँकी जमिन भने अन्नबालीले भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?