+
+

तपाईंलाई आंशिक रूपमा मात्र मुख खुल्ने समस्या छ ?

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७९ असार २३ गते १६:२४

करिब २२ वर्षकी नानी हाम्रो अगाडि आएर कुर्सीमा बसिन् । उनको छेउमा उनका बाबा र आमा बस्नुभयो । बाबा मुस्कान लिएर धाराप्रवाह आफ्नो कथा सुनाउँदै हुनुहुन्थ्यो ।

कुरा आज भन्दा करिब १९ वर्ष अघिको थियो । सानी नानीलाई थाहा थिएन उनको जीवनमा के हुनेवाला थियो । उनी उसबेला आफू भएको नभएको थाहा पाउन सक्ने उमेरमा थिइनन् । चेतना विकसित भएको उमेर भइसकेको थिएन । उनलाई भगवानको उमेरमा दुर्भाग्यले समातेको थियो । ठूलो दुर्घटनासँग जम्काभेट भएको थियो । लडेका कारणले उनको चिउँडोमा चोट लाग्न पुगेको थियो ।

त्यसबेला बाबा–आमाले नानीलाई लिएर हरेक उपचार गर्ने प्रयास गरे । नानीको कानमा र नाकमा रगत आएको थियो । केही समयको उपचारले तत्कालका लागि राहत मिलेको थियो । तर समयको गतिले जब उनको शारीरिक विकासलाई बढाउँदै लग्यो उति विकासका शिराहरू उनको चिउँडोले पाउन छोडे । उनको बङ्गारा र कञ्चट जोर्ने जोर्नीमा रगत जमेको थियो । चिउँडोको हड्डी आफ्नो गतिमा बढ्न सकेको थिएन । बालिकाको अनुहार मिलेको देखिन छाड्यो । चिउँडो अनुहारको पंक्ति भन्दा पछि थियो । चिउँडो नभएको जस्तो देखिन्थ्यो । दुर्घटनाले उनलाई दीर्घकालीन समस्या देखाउँदै थियो ।

डा. विनोद ढकाल

एक सानो दुर्भाग्यले निरन्तर प्रवाहमा एकपछि अर्को समस्या निम्त्याउन सक्छ । अनुहार बिग्रने त पछिको कुरा यहाँ खाना खान पनि समस्या बन्दै थियो । उनी पूर्ण रूपले मुख खोलेर ठूलो गाँसको खाना खान सक्दिनथिन् । मुख अलिकति मात्र खोलिन्थ्यो । खुलेर हाँस्न पनि सक्दिनथिन् । त्यो खुलाइले जीवन निर्वाह गर्न मात्र पुग्ने थियो । जीवन जिउनीको स्तर निकै कमजोर थियो ।

‘हामी हाम्रो छोरीलाई अघि सार्दै यो भन्न चाहन्छौं,’ उहाँ बोल्दै हुनुहुन्थ्यो– ‘कसैको मुख नखोलिने समस्या छ भने त्यो समस्याको उपचार हुनसक्छ । हामी समाजलाई यो सन्देश दिन चाहन्छौं ।’

उनी कक्षामा, विद्यालयमा, समाजमा भिन्न नजरले हेरिने गर्थिइन् । तर उनलाई समाज विरुद्धको लडाइँमा बाबा–आमाको पूर्ण साथ थियो । आफ्नो घरको भरोसा थियो । उनको हर उपचारमा बाबा–आमाको निस्वार्थ प्रयास थियो । सबै त्यति भाग्यमानी हुँदैनन् ।

उनी ११ वर्षको हुँदा बी एण्ड बी अस्पतालमा अपरेशन गरिएको थियो । तर समस्यामा ठोस समाधान निक्लन सकिरहेको थिएन । नजिकैको विदेश भारतमा लगेर पनि उपचार गराउने प्रयास भएको थियो तर सफलता २० को १९ मात्र भएको थियो ।

कुनै दिन यस्तै चिन्ता लिएर आमा घर जाँदै थिइन् । घर पुग्दा उनी धुरुधुरु आँशु झारेरै रुन लागिन् । दिउँसो उनले एक महिला भेटेकी रहिछन् । ती महिलासँग उनी आफ्नो सन्तानको तुलना गर्दै थिइन् । महिला पछ्यौराले छोपेर खाना खाँदै थिइन् ।

महिला समाजसँग आफ्नो समस्या लुकाउँदै थिइन् । पूरै आँ गरेर खाना खान नसकेको समाजले थाहा नपाओस् भनेर उनी लुकाउँदै थिइन् । खाना मुखको छेउमा लगेर कोच्नुपर्छ । खाएको हाउभाउ समाजलाई मन पर्दैन । समाजले जिस्काउँछ । खिसी गरेर गिज्याउँछ ।

ती महिलाले यो समस्याको उपचार कतै भएको सुनेकी थिइनन् । उनले पनि त छोरीलाई अनेक शहरमा लगेर देखाएकी छन् । खै त ठिक भएको ? साँच्चै मेरी छोरीको उपचार कहिल्यै हँुदैन त ?

के मेरी छोरीको भविष्य पनि यस्तै हो ? पछ्यौराले मुख छोपेर खाना खानुपर्ने ।

आमा धुरुधुरु रुन लागिन् । बाबा एकनासले टोलाइरहे ।

नियतिले समस्या दिएको थियो । आफ्नो प्यारो मान्छेलाई समस्या भएपछि उस्तै खाले समस्या भएका क्रमशः भेटिंदै जाने रहेछन् । हाम्री छोरी मात्र यस्तो समस्यामा परेकी रहिनछिन् । समाजमा यस्ता समस्या भएका यथेष्ट मानिस हुँदा रहेछन् । कोही पूर्वजन्मको पाप भनेर सहेर बसेका छन् ? कोही उपचार हुँदैन भनेर नियतिलाई दोष दिएर बसेका छन् ।

खानाको समस्याका कारण पौष्टिक आहारमा कमी हुन्छ । यस कारणले कसैमा शारीरिक समस्या देखिने गर्छ । आत्मविश्वासको कमी र हीनताबोध पनि यस्ता मानिसमा देखिने सम्भावना बढी हुन्छ । मानसिक पीडा बाबा आमालाई पनि थियो । आमा बढी चिन्तित हुने भइन् ।

नानी ब्याचलर पढ्ने भइसकेकी थिइन् । समस्या भएको दशक कट्न लागेको थियो । परिवारले कतै समाचारमा पढेका रहेछन् । डा. चन्दनले यस्तै खाले अपरेशन गरेर एक बिरामीको उपचार गरिदिनुभएको रहेछ । यसै समाचारलाई पछ्याउँदै नानीको परिवार काठमाडौंबाट धुलिखेल आइपुगेको थियो ।

उनको बङ्गारा र कञ्चटबीचको जोर्नी बीच अर्को कृत्रिम जोर्नी प्रतिस्थापन गर्नुपर्ने थियो । कृत्रिम जोर्नी नेपालमा पाइने थिएन । बाहिर अष्ट्रेलियाबाट मगाउनुपर्ने थियो । अष्ट्रेलियाका डाक्टरहरूसँग कुरा हुँदै थियो । उताका डाक्टरहरू नेपाल आएर उक्त अपरेशनमा सहयोग गर्ने कार्यक्रम थियो । ठिक त्यसै बेलामा कोरोनाको महामारी चल्न लाग्यो । लकडाउन सुरु भयो । उनको उपचार हुन केही समय अझ पर्खनुपर्ने भयो ।

जोर्नीको नापो लिइसकिएको थियो । थ्रीडीमा स्क्यान गरेर जार्नीको नापो अष्ट्रेलिया पठाइएको थियो । जोर्नीको नापो उतै लिइँदै थियो । हरेक यस्ता बिरामीका लागि एक जोर्नी तयार पार्नुपर्ने हुन्छ । जोर्नीको खर्च करिब २५ लाखको थियो । २५ लाख खर्च गर्न सक्ने हैसियत उनको परिवारको थिएन ।

तर अस्ट्रेलियाका सहयोगी हातहरूको सहयोग पाएपछि परिवार उपचार गर्न हौसिएको थियो ।

‘वर्षौंदेखिको पीडा र समस्याको समाधानका लागि हामी आशा र भरोसा लिएर अस्पतालसँग निर्भर बन्यौं ।’ हाम्रो अघि बसेर बाबा धाराप्रवाह आफ्नो कथा सुनाउँदै थिए ।

सामान्य अवस्थामा नानीलाई पुर्‍याउन नसकिए पनि सामान्यको नजिक (नियर नर्मल)सम्म बनाउने प्रतिबद्धता डाक्टर चन्दनले व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्नु भयो ।

नानीका बाबाले अझ श्वर सशक्त बनाउनुभयो । धेरै वर्षको हन्डरपछि बाबाको अनुहारमा यो मुस्कान आएको अनुभव हामीले बुझ्दै थियौं ।

‘हामी हाम्रो छोरीलाई अघि सार्दै यो भन्न चाहन्छौं,’ उहाँ बोल्दै हुनुहुन्थ्यो– ‘कसैको मुख नखोलिने समस्या छ भने त्यो समस्याको उपचार हुनसक्छ । हामी समाजलाई यो सन्देश दिन चाहन्छौं ।’

तिमी पूर्ण रूपमा मुख आँ गर्न सक्ने भयौ भने के गर्छौ ? डाक्टरले सोध्नुभएको थियो ।

‘म मम खान्छु । छोरी आशा लिएर मुस्काउने प्रयास गर्थिन् । आज उनले आफ्नो सपना पूरा गरेकी छिन्’, बाबा गदगद् थिए ।

जीवनमा साना–साना कुराहरूले खुसी दिने रहेछन् ।

अविवाहित छोरीलाई भोलि समस्या आउन सक्ने सम्भावना थियो । बाबा–आमा केही सचेत हुनुहुन्थ्यो तर यो त रोग होइन, समस्या मात्र हो । बाबा फेरि हैसिनुभयो । मेरी छोरी समाजमा एक उदाहरण बन्न सक्छे ।

‘खर्च के त ? धेरै मानिसलाई यस्तो उपचार गर्न कठिन देखिन्छ’, हामीले प्रश्न गर्‍यौं ।

‘पैसाको जसोतसो जोहो हुन्छ । हामी हाम्रोमा आउने बिरामीहरूलाई विना उपचार घर पठाउँदैनौं । हाम्रा दाताहरूले लाखौं पर्ने जोर्नीहरू फेरि पनि सहयोग गर्ने आश्वासन दिनुभएको छ । हामी गर्न सक्छौं । सबैले आफ्नोतर्फबाट साथ र  सहयोग दिनुभयो भने समस्या साना हुन्छन्’, डा. चन्दनले भन्नुभयो ।

डा. चन्दनको छेउमा उहाँलाई साथ दिने पूरै टिम उभिनुभएको थियो । सामान्य अपरेसनको खर्च मात्र लिएर नानीको अपरेसन गरिएको थियो । नानीको बाबाको अनुहारको चमक पूरा डाक्टरी टोलीमा सरिसकेको थियो । समाचार संकलन गर्न गएका हामीहरू पनि सन्तुष्ट अनुहार लिएर अस्पतालबाट फर्किएका थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?