+

बर्खायाममा कस्तो खानेकुरा खाने ?

२०७९ असार  २८ गते १४:२१ २०७९ असार २८ गते १४:२१
बर्खायाममा कस्तो खानेकुरा खाने ?

काठमाडौं । अहिले बर्खायाम चलिरहेको छ । यो बेला छिनछिनमा मौसम बदलिरहन्छ । जसकारण एकछिन अगाडि गर्मी हुँदा लगाएको लुगा पानी परेर मौसम चिसो भएसँगै अनुकूल नहुन सक्छ । पहिरनमा जस्तै बर्खायाममा खानामा पनि सचेत हुनुपर्ने अवस्था आउँछ ।

घाम लाग्ने, पानी पर्ने जस्तो मौसम भइरहँदा खानेकुरा खाँदा सर्तकता अपनाउनुपर्छ । यस्तो बेलामा खानपानमा सतर्कता नअपनाउँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन् । पोषण्विद् मनसा थापा ठकुराठी भन्छिन्, ‘यो बेलामा छिटो संक्रमण फैलिने भएकाले बासी खानालाई परहेज गर्नुपर्छ ।’

पानी धेरै पर्ने भएकाले यो बेला मौसम ओसिलो भइरहन्छ । जसकारण तिर्खा पनि कम लाग्छ र आवश्यक पानीको परिपूर्ति शरीरमा हुन पाउँदैन । त्यसैले बर्खायाममा प्रशस्त मात्रामा पानी पिउन पोषणविद् ठकुराठी सुझाउँछिन् ।

यो बेला ढिलो पच्ने, तेलमा तारेका खानेकुरा, बढी मसलाजन्य, चिल्लो पदार्थ बढी भएको खाना, मिठाइ लगायत एकदमै कम खानुपर्छ । यो मौसममा आर्द्रता बढी हुने कारण यी खानेकुराले शरीरमा पसिना धेरै आउने हुन्छ । यो बेला पाचनप्रणाली पनि तुलनात्मक रुपमा कम हुन्छ । त्यसैले शरीर अनुकूल खानेकुरा खानु राम्रो हुने ठकुराठी बताउँछिन् ।

‘गर्मी मौसमको खानेकुरा हलुका हुनुपर्छ, यो समयमा शरीरलाई खाना पचाउन गाह्रो हुन्छ । शरीरको तापक्रम बढाउने खानेकुरा बन्द गर्नुपर्छ,’ उनी भन्छिन्, ‘फोहोर वातारवरण तथा फोहोर पानी र खानाले हैजा, आउँ, झाडापखाला जस्ता रोगले सताउन सक्छन् । यो बेलामा सर्तकता अपनाएर खाना खाइएन भने अरु संक्रमण बढाउँछ ।’

पोषणविद् ठकुराठीले बर्खायाममा कस्तो खानेकुरा खानुपर्छ भनेर यसरी सुझाव दिएकी छन् :

दूधजन्य खानेकुरामा जोड

बर्खायाममा दही सबैभन्दा राम्रो दूधजन्य पदार्थ हो । दहीले पाचनशक्ति पनि बढाउँछ भने स्वास्थ्यमा अन्य हिसाबले पनि राम्रो गर्छ । तर दही सेवन बिहान र दिउँसो मात्रै गर्नुपर्छ । बेलुकी दही खाँदा चिसो लाग्न सक्छ ।

दहीसँगै मोही पनि स्वास्थ्यका लागि उत्तिकै राम्रो हुन्छ । यसमा भरपुर प्रोटिन र पानीको   समिश्रणले शरीरलाई फूर्तिलो बनाउँछ ।

गर्मी गराउने खानेकुराबाट टाढा

बर्खायाममा मांसाहारी भन्दा शाकाहारी खानाले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्छ । शरीरलाई शीतलता प्रदान गर्ने सागसब्जी, सलाद खाँदा लाभदायक हुन्छ । धार्मिक परम्परा अनुसार कतिपय व्यक्तिले असार चर्तुमास सुरु भएदेखि साउन महिनाभरि माछामासु खाँदैनन् । यो स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । यो मौसममा माछा, मासु, अण्डा र अन्य मासुजन्य खानेकुरालाई कम गरेकै राम्रो हुन्छ । कुखुराको मासु, उसिनेको वा पोज बनाएको अण्डा, माछा यो मौसममा खान मिल्ने मांसाहारी खानेकुरा हुन् । खसी, बंगुर र बँदेलको मासुले शरीरको तापक्रम बढाउने भएकाले यसलाई कम गर्नु राम्रो हुन्छ ।

मौसमी फल खाने

मानव शरीरलाई अन्य खाना जस्तै फलफूल पनि अति आवश्यक तत्व हो । फलफूलमा प्रशस्त पानी र फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई फाइदा गर्छ ।

बर्खायाम आँपको सिजन पनि भएकाले यो बेला अत्यधिक मात्रामा आँप खाने गरिन्छ । तर आँप गर्मी गराउने फल हो । त्यसैले आँप खाँदा सिधै खानु भन्दा आपँको मुखलाई काटेर एकदेखि दुई घण्टा आधा डुब्ने गरेर पानीमा घोप्टो पारेर राखेर खानुपर्छ । यसरी खाएको आँपले शरीरलाई शीतल दिन्छ ।

जमुना, आलुबखडा, चेरी, नास्पाती लगायतका फलफूल तथा हरियो मकै खानु फाइदाजनक हुन्छ ।

कोल्ड ड्रिंक्सबाट टाढा

पहिला गाउँघर होस् वा सहरमा गर्मी मौसममा कागतीको सर्बत, दही, मोही खाने चलन थियो । तर आजभोलि यी कुरालाई बेवास्ता गर्दै शरीरलाई शीतल दिने निहुँमा कोल्ड ड्रिंक्स पिउने संस्कार बसेको छ । कोल्ड ड्रिंक्समा प्रशस्त मात्रामा चिनी र अत्यधिक केमिकलको प्रयोग हुन्छ । यसले शरीरलाई बेफाइदा गर्छ ।

त्यसैले गर्मी छल्नका लागि बोत्तलमा बन्द गरिएका पेय पदार्थ खान सकेसम्म बन्द गर्नुपर्छ । दूधजन्य पेय पदार्थ पहुँचमा नभए पानीमा मिश्री र कागती घोलेर खानु हितकारी हुन्छ ।

गर्मीमा मःम राम्रो हुँदैन 

खाजामा मःम नखाने नेपाली सायदै होलान् । तर मःम गर्मी तथा बर्खायाममा त्यति फाइदाजनक हुँदैन, यसले गर्मी बढाउँछ । जाडो मौसमका लागि मःम एकदमै राम्रो हुन्छ । तर गर्मीमा नियमित मःम खाँदा पाचन प्रणालीमा समस्या आउन सक्छ ।

खानेकुरा बर्खायाम
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय