२ साउन, काठमाडौं । नेपालमा हुने तय भएको छैठौं दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपको मिति एक साता पछि सारिएको छ ।
अल इण्डिया फुटबल फेडेरेसनको प्रस्तावमा आयोजक देश नेपालसँग सल्लाह गरी दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।
यसअघि भदौ १३ देखि २५ सम्मका लागि तय भएको प्रतियोगिता अब भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुनेछ । यसबारे साफका सबै सदस्य राष्ट्रलाई जानकारी गराइसकिएको छ ।
बंगलादेशको ढाकामा बसेको साफ कार्यकारी समितिको बैठकबाट प्रतियोगिता आयोजनाको जिम्मेबारी नेपालले पाए पनि कहाँ गर्ने भन्नेबारे टुंगो लागेको छैन ।
यसअघि नेपालमै भएको पाँचौं संस्करण विराटनगरमा आयोजना गरिएको थियो ।
आयोजनाका लागि आवश्यक निर्णय गर्न सोमबार बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको छ ।
प्रतिक्रिया 4