+
+

आफ्नै पैसा लिन आन्दोलनमा छन् बराहका बचतकर्ता

१३ हजार बढी बचतकर्ता, करिव ७ अर्ब निक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १८:२९

१६ साउन, काठमाडौं । सुनसरी धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले निक्षेप नदिएको भन्दै निक्षेपकर्ता आन्दोलनमा उत्रिएका छन् । आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेका उनीहरुले सोमबार पनि सहकारीको कार्यालयमा धर्ना दिएका छन् ।

आन्दोलनरत बचतकर्ताहरुका अनुसार सहकारीले २०७८ पुसदेखि नै वचतकर्तालाई वचत भुक्तानी दिन छोडेको थियो । कार्यालय पनि बन्द भयो, पछि सूचना जारी गरेर चैत २२ गतेदेखि दिने बतायो । २२ चैतमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने र सहकारीका अध्यक्ष मानबहादुर दियालीले पत्रकार सम्मेलन गर्दै वैशाख १५ गतेदेखि बचतकर्ताको रकम भुक्तानी गर्ने जानकारी दिए ।

धरान उपमहानगरपालिका- ११ का कर्णबहादुर राईको परिवारको मात्रै मुद्दती खातामा ६२ लाख र चल्ती खातामा ४ लाख गरी करिब ६६ लाख रुपैयाँ रकम यो सहकारीमा छ । बराहले मुद्दतीमा १२ देखि १८ प्रतिशतसम्म ब्याज दिने भन्दै वचत संकलन गरेको थियो ।

१५ वैशाखमा कार्यालय पनि खुल्यो । तीन दिन दैनिक २०० जना वचतकर्तालाई १० हजारका दरले रकम पनि दियो । तर त्यसपछि बन्द भएको कार्यालय खुल्दै खुलेन ।

पछिल्लो पटक ७ जेठमा पीडितले संघर्ष समिति गठन गरेका छन्, जसले वडास्तरीय उपसमिति बनाएर तथ्यांक संकलन गर्दा उक्त सहकारीमा शेयर सदस्य पाँच हजार ८८ जना र बचतकर्ता १३ हजार ५५४ रहेको पुष्टि भयो ।

धरान उपमहानगरपालिका- ११ का कर्णबहादुर राईको परिवारको मात्रै मुद्दती खातामा ६२ लाख र चल्ती खातामा ४ लाख गरी करिब ६६ लाख रुपैयाँ रकम यो सहकारीमा छ । बराहले मुद्दतीमा १२ देखि १८ प्रतिशतसम्म ब्याज दिने भन्दै वचत संकलन गरेको थियो ।

‘थोरै बढी ब्याज आउँदा एउटा गर्जो टर्छ भनेर राखियो । अहिले यस्तो भयो,’ राई भन्छन्, ‘पसिना बगाएर जम्मा गरेको पैसा हो । त्यत्तिकै हिनामिना गर्न कहाँ पाउँछ ?’

संघर्ष समितिले जिल्ला सहकारी संघ, प्रदेश रजिष्ट्रार कार्यालय, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, धरान उपमहानगरपालिकामा निवेदन दिएको प्रवक्ता प्रदीप बास्तोला बताउँछन् ।

पीडितको निवेदनको आधारमा धरान उपमहानगरपालिकाले संघर्ष समितिका दुई जना प्रतिनिधि समेत राखेर अध्ययन समिति बनायो । समितिले सहकारी ऐन–२०७५ को धारा ६५ अनुसाार अघि बढ्नुपर्ने रायसहित प्रतिवेदन बुझायो । तर बराहले पाँच हजार ८८ जना बचतकर्ताको मात्रै तथ्यांक पेश गरेपछि संघर्ष समितिले आन्दोलन चर्काएको छ ।

बचतकर्ताको करिब ७ अर्ब रकम बराह सहकारीमा रहेको संघर्ष समितिको दाबी छ । प्रवक्ता बास्तोलाका अनुसार संघर्ष समितिले सबै पीडितले न्याय पाउनुपर्ने र अध्ययन समितिको प्रतिवेदनको निष्कर्ष अनुसार बराह ग्रुप अफ कम्पनी, सहकारीको चल अचल सम्पत्ति रोक्का, बैंक खाता रोक्का गर्ने र सञ्चालक समिति, पूर्व सञ्चालक, उपसमिति, व्यवस्थापक, कर्मचारी र उनीहरुको नातागोताको चलअचल सम्पत्ति रोक्का गरी छानबिन गर्नुपर्ने माग राखेको राखेको छ ।

पीडितहरुको दबावपछि धरान उपमहानगरपालिकाले आर्थिक विकास महाशाखाका वरिष्ठ अधिकृत भक्तिराज शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । तर थप प्रक्रिया अगाडि नबढाएकाले भन्दै संघर्ष समितिले उपमहानगरपालिका परिसरमा धर्ना दिन थालेको छ ।

त्यसक्रममा आइतबार मेयर हर्क साम्पाङको कार्यकक्षको झ्यालको सीसा फुटाएका छन् । संघर्ष समितिका प्रवक्ता बास्तोला भन्छन्, ‘हामी न्याय माग्न जाँदा वार्ता टोलीलाई तपाईंहरुले पैसा राख्ने बेला मलाई सोधेर राख्नुभएको थियो भनेर गैर जिम्मेवारपूर्ण जवाफ दिएपछि हामी पीडितहरु आक्रोशित भएका हौं ।’

आर्थिक प्रशासन महाशाखाका प्रमुख भक्तराज शर्माले भने आइतबार सहकारीको नाममा भएको चल अलच सम्पत्ति रोक्काका लागि पत्राचार गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?