+
+
फोटोकथा :

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७९ साउन २८ गते २०:०५

‘यतिबेला खप्तडका फाँटहरु वनफूलले ढकमक्क छ’ दीपक खड्काले फोनमा सुनाए ।

त्यसबखत हामी अर्थात संचारकर्मी राजेन्द्र बानियाँ, टाइम पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम, नरेन्द्र सिजापती ‘चिया गफ’मा मस्त थियौं । दीपक खड्काको फोनले हाम्रो कुराकानी सिलसिला मोडिदियो ।

उनी खप्तड होम स्टेका सञ्चालक हुन् । फोनमा उनी हामीलाई खप्तड भ्रमणको निम्तो दिइरहेका थिए, साथसाथै त्यहाँको सौन्दर्यप्रति पनि मोह जगाइरहेका थिए ।

खप्तड मेरो लागि नयाँ गन्तव्य होइन । त्यो मनोरम भूगोल पटक-पटक टेकिसकेको छु । तर, खप्तडको सौन्दर्यले मेरो मन कहिल्यै अघाएन । जति पटक गए पनि धित मर्दैन।

‘म त खप्तड जाने भएँ’ चिया गफमा अनायसै मैले सुनाएँ, ‘तपाईंहरू पनि जाने कि ?’

नरेन्द्र सिजापती तम्सिहाले । उनले पनि हत्तपत्त भने, ‘म पनि जान्छु, कहिले जाने ?’ उनको उत्साह देखेपछि राजेन्द्र बानियाँ चुप बस्न सकेनन् । हाम्रो यात्राको टोलीमा उनी पनि सम्मिलित हुने भए । हुन त उनी यसअघि नै खप्तड पुगिसकेका रहेछन् । तैपनि खप्तडका फाँटहरु सुशोभित गरिरहेका वनफूलहरुलाई स्पर्श गर्ने रहर जागेको हुँदो हो उनलाई पनि सायद ।

पुरुषोत्तम दाहाल देशबाहिर जाने तयारीमा रहेछन्, हाम्रो टोलीमा मिसिएनन् ।

साउनको दोस्रो हप्ता । हामीले यात्राका लागि सम्पूर्ण तयारी गर्‍यौं । तर, अचानक कुनै काम विशेषले राजेन्द्र बानियाँलाई अल्झाइदियो । उनी खप्तड जान असमर्थ भए । त्यसपछि हामी दुई भाइ नरेन्द्र सिजापती र मैले साउन १३ गते शुक्रबार काठमाडौं छाड्यौं ।

डोटीको बग्लेक बजार ।

काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्रा थियो । धनगढीमा सामान्य किनमेलपछि हामी लाग्यौं, भिग्रानातर्फ । यात्राका क्रममा भेटिने डोटीको सिलगढीस्थित शैलेश्वरी मन्दिरको दर्शन गरियो, केही थान फोटो खिचियो । अनि फेरि दुई भाइ झिग्रनातर्फ लाग्यौं । सिलगढीदेखि झिग्रना पुग्न एक घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ, गाडीमा । त्यस रात हाम्रो वास त्यही झिग्रनामा भयो ।

भोलिपल्टदेखि हाम्रो पैदल यात्रा सुरु हुँदै थियो । त्यो पनि उकालै उकालो । पाँच घण्टा हिँड्नुपर्ने । पहाडी उकालो छिचोल्दै हामी वीचपानी पुग्यौं । त्यहाँ खाना खाएर केही क्षण आरम गरियो ।

अब हाम्रा पाइलाहरु खप्तडतर्फ बढ्यो ।

साउनको महिना । पानी परिरहेको थियो । घना जंगल । त्यसमाथि निरन्तरको झरी । अहो ! कुनै थ्रिलर फिल्मको दृश्य झै लागिरहेको थियो, आफ्नै यात्रा । त्यसमाथि रुखका पातहरुमा तप्किने पानीको थोपाले बेग्लै झंकार पैदा गरेको थियो ।

वीचपानीदेखि कस्सिएर पाँच घण्टा हिँडेपछि हाम्रा पाइलाहरु खप्तडका फाँटहरु परिसकेको थियो । अनन्तसम्म देखिने लेकाली फाँट, ढकमक्क वनफूल । प्रकृतिको यो मोहनी रुपलाई कसरी बयान गरौं ? जति हेरेपनि आँखा लोभ्याइरहने । मन बहलाइरहने । न तनाव, न थकान, न भय, न दिक्दारी । प्रकृति आफैमा एक महान वरदान !

****

अब थोरै कुरा गरौं, खप्तडकै । यो बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल हो । धार्मिक आस्थाको धरोहर र प्राकृतिक सौन्दर्यको खानी । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्का छन्, जसले यहाँको भूगोललाई अदभूत बनाइदिएको छ ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत प्रख्यात रहकेा छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको पाइन्छ । खप्तड राष्ट्रिय निकुन्जभित्र पर्ने खप्तड क्षेत्र समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

खप्तडका पाटनमा फूलेका वनफूल

खप्तड क्षेत्र भम्रण गर्नका लागि यो नै उपयुक्त मौसम भन्ने हुँदैन । जेठ, असार, साउन, भदौ र असोजसम्म महिना हरियाली विशाल फाटहरमा रङ्गीबीरङ्गी फूलहरु फुलेका हुन्छन भने कात्तिक-मंसिर, पुस, माघ र फागुनको अन्त्यसम्म सेताम्मे हिउँले ढाकिन्छ । त्यसै गरी चैत र वैशाख महिना फाँटहरु सुनौलो रंगहरुमा देखिन्छन् ।

पाटनमा फूलेका वनफूलहरू ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहर्ष लिङ्ग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् भने खप्तडमा जेठ महिनाको पूर्णिमाको दिन त्रिवेणीमा मनाइने गंगादशहरा मेलासमते हुने गर्दछ । मेलामा देशभर बाट भक्तजनहरू आउने गर्दछन् । खप्तड पुग्नका लागि डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट खप्तड पुग्न सकिन्छ । तर चलन चल्तीमा भने सहज डोटी जिल्लाबाट रहेको छ । यात्रामा परिचित रुट गाइडको आवश्यकता भने अनिवार्य हुन्छ ।

खप्तड बाबा र आश्रम

खप्तड बाबाको आश्रमअघि ध्यान गर्दै एक पर्यटक ।

सन १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मिएका खप्तड बाबा विक्रम संवत १९८६ मा नेपाल आएका थिए । उनले ५० वर्ष खप्तडमै बिताए, तप, ध्यान र अनेक खोज गर्दै । यस क्रममा उनले जीवन र जगतका धेरै कुरा सुने, बुझे, मनन् गरे र पुस्तकको रुपमा उतारे । उनको पुस्तक जीवन दर्शन, प्राकृतिक उपचार आदिसँग सम्बन्धित छन् ।

उनी आध्यात्मिक गुरु र विचारक हुन् । सन्यास लिनुअघि उनी चिकित्सक थिए । कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट शल्यचिकित्सा अध्ययन गरेका थिए । काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन गरेका थिए । उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।

खप्तडबाबाको विक्रम संवत २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो । खप्तड बाबाको निधन पश्चात खप्तड बाबा बसेको घरलाई संग्राहालय बनाइएको छ । संग्राहालय खप्तड बाबाले प्रयोग दैनिक जीवनमा प्रयोग गर्ने कपडा, लत्ता, जुत्ता, पादुका, ओछ्यानलगायत का सामग्रीहरू सहित संगीतका साधनहरु पनि अवलोकन गर्न पाइन्छ ।

शैलेश्वरी मन्दिर

शैलेश्वरी मन्दिर ।

धनगढीदेखि खप्तड जाँदा बाटोमा पर्छ शैलेश्वरी मन्दिर । डोटीको सिलगढी नगरमा रहेको शैलेश्वरी मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र मानिन्छ । मन्दिरको वर्तमान स्वरुप वि सं २०२८ मा योगी नरहरिनाका सक्रियतामा निर्माण भएको हो । यहाँ देवीको नित्य पूजा सिलगाउँ निवासी भट्ट ब्राहृमणद्धारा गरिन्छ । प्रत्येक वर्ष जेष्ठ र कात्तिक पूर्णिमाका दिन विशेष पूजा र प्रत्येक १२ वर्षमा लक्षहवन महायज्ञ परम्परागत रुपमा प्राचीनकालदेखि हुँदै आएको छ ।

त्रिवेणी

त्रिवेणिधाम ।

खप्तड क्षेत्रको प्रमुख केन्द्र हो त्रिवेणी । डोटीको सिलगढी बाट खप्तड क्षेत्र पुग्नु अगावै पर्दैछ त्रिवेणी । तीनवटा खोलको सगम स्थल भएकाले यसलार्य त्रिवेणी भनिएको हो । यो मन्दिरमा आफूले मनमा चिताएको पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । मन्दिर भित्र शिव, गणेशको मूर्ति छ ।

सहर्ष लिङ्ग

सहर्ष लिङ्गमा पूजा गर्दै एक पर्यटक ।

खप्तड क्षेत्रको सबैभन्दा उच्च स्थानमा रहेको क्षेत्र हो सहर्ष लिङ्ग । यो क्षेत्र पुुग्नका लागि खप्तडबाट दुई घण्टा लाग्दछ । घना जंगलको उकालोबाट भएकाले यो क्षेत्र कमै मानिसहरु पुग्ने गर्दछन् । ढुगै ढुंगाको माथि शिवको मूर्तिलगायत शिव लिग रहेको छ । मौसम सफा भयो भने यो क्षेत्रबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडीमालिकालगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ ।

खाप्पर दह

खाप्पर दह ।

खप्तड क्षेत्रमा रहेका बास बस्ने स्थान खप्तडबाट एक घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ खाप्पर दह । जगलको बीचमा रहेको खाप्पर दह धार्मिक हिसबले पनी महत्तवपूर्ण रहेको छ । खप्तड क्षेत्रमा लाग्ने मेलाहरुमा यहाँ स्नान गरेर मात्र पूजा गर्ने परमपरा रहेको छ । तालको छेउमा मस्टको थान समेत रहेको छ । मस्टको दर्शन गर्न आउँदा पनि यहा नुहाउने प्रचलन रहेको छ ।

पाटनहरू

पाटनमा चर्न आएका घोडाहरु

खप्तड क्षेत्रमा बिशेष गरी ठुला साना गरी २२ वटा पाटनहरु रहेका छन् । घोडादाउन फाँट यस क्षेत्रको प्रख्यात पाटन हो । मौसम सफा भएको अपी हिमालको काखमै जस्तो देखिन गर्दछ घोडादाउन फाँट ।

कसरी पुग्ने ?

काठमाण्डौदेखि धनगढीसम्म हवाई जहाजमा १ घण्टा दश मिनेट । धनगढीदेखि झिग्रनासम्म ९ घण्टा गाडीमा यात्रा । झिग्रनासम्म कालोपत्रे सडक भएका कारण अधिकांश यात्रीहरु यही बाटो भएर जान्छन् ।

छेडा पाटन ।

झिग्रानामा खप्तड होम स्टे रहेको छ बास बस्नका लागि । झिग्रानादेखि निकुन्जको क्षेत्र सुरु हुन्छ । झिग्रनादेखी खप्तड पुग्न ८ घण्टा । झिग्रनादेखि यात्रा गर्दा सिधै उकालो ५ घणटा यात्रा पश्चात पुग्न सकिन्छ बिचपानी । बिचपानीदेखि खप्तड नपुग्दासम्म पनी होटलहरु छैन । बझाङ छान्ना दारु गाउँदेखि खप्तडसम्म ८ घण्टा पैदल यात्रा तय गर्नु पर्दछ ।

कुन समय जाँदा उपयुक्त ?

खप्तडमा वर्षैभरि घुम्न सकिन्छ । हिउँदको समय अलि असहज भए पनि बन्दोबस्तीका साथ समूहमा जादाँ राम्रो । जेठ, असार साउन र भदौको पहिलो हप्ता सम्ममा खप्तडका पाटनहरु रंगीवीरंगी भुईंफूललहरुले ढक्कमक्क हुन्छ ।

पाटन क्षेत्रमा रहेको ताल ।

असोज, कात्तिक, मंसिर, पुष, माघ, फागुनसम्म हिउँले ढपक्क छोपेको हुन्छ । चैत्र, वैशाखमा रंगीविरंगी फूलेका लालीगुराँसले खप्तड क्षेत्र ढाकिएको हुन्छ । खप्तडमा सात प्रकारका लालीगुराँस फूल्छन् । मौसम सफा रहयो भने खप्तड क्षेत्रबाट आँखै अगाडि भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडीमालिकालगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।

आगन्तुकलाई बत्ती र संचारको व्यवस्था गर्नुपर्छ

दिपक खड्का

संचालक, खप्तड होम स्टे, झिग्राना, डोटी

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको क्षेत्र हो खप्तड । तर, खप्तड क्षेत्रमा जाँदा अन्य क्षेत्रको जस्तो सुविधा छैन । यही कारणले गर्दा खप्तड आउदा पुरा जानकारी लिएर आएको राम्रो । झिग्रनामा पर्यटकलाई सुहाउने खालको एक मात्र होटल हाम्रो रहेको छ । त्योभन्दा माथि होटलहरुको व्यवस्थापन छैन । तर बास बस्न र खानका लागि समस्या भने छैन तर पूर्वसूचना गर्नु जरुरी रहेको छ ।

सरकारले विगतमा देशभरबाट एक सयवटा गन्तव्य स्थल छानेको छ । त्यसभित्र खप्तड पनि पर्दछ । तर, त्यहाँ पुग्दा पर्यटकलाई के-कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन ।

आन्तरिक पर्यटकको रोजाईमा रहेको खप्तड क्षेत्रमा आउने पर्यटकलाई सहजका लागि बत्ती र संचारको व्यवस्थापन गरिदिएको भए हुने । जति पनि पर्यटक खप्तड क्षेत्र आउनु भएको छ सबैको गुनासो मोवाईल, क्यामरा चार्ज गर्न पाएन र फोन पनि लाग्दैन भनेर गुनासो गर्नु हुन्छ । म आफै पनी सुदूरपश्चिम होटल ब्यबसायी संघको अध्यक्ष हुँ । यो कुरा मैले सम्बन्धित निकायमा जानकारी गराएको छु । सबैले हुन्छ भन्नु हुन्छ तर आज सम्म केही सुनुवाई भएको छैन । निकुञ्जमा घुम्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको छ । सरकाले निश्चित मापदण्ड बनाएर निश्चित व्यवस्था गरे राम्रो हुने थियो ।

के आई सिंह मार्ग अन्तरगर्त डडेलधुराको सडकखण्ड ।
पाटनमा चरिरहेका घोडाहरू ।
वनफूल फूलेका पाटनमा पर्यटकहरू ।
केदारढुंगा ।

सहर्ष लिङ्ग जाँदै गर्दा बाटोमा पर्ने तालकोअघि रमाउँदै पर्यटक ।
लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?