+
+

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १८:५४

काठमाडौं । भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार अमेरिकाकको न्युयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिति गम्भीर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटका कारण लेखक रुस्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ ।

आक्रमणको विरोधमा विश्व नेताहरुसँगै बलिउड सेलिब्रिटी पनि उत्रिएका छन् । रुस्दीमाथि भएको हमलाको विरोधमा केही भारतीय सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

अभिनेत्री कंगना रनावतले एक न्युज लिंक सेयर गर्दै लेखेकी छन्, ‘अर्को एक दिन र आतंकवादीको अर्को एक घिनलाग्दो काम । द सैटनिक वर्सेज हाम्रो समयको एक उत्कृष्ट पुस्तक हो । म भित्रैदेखि यति स्तब्ध छु कि भन्नलाई केही शब्द छैनन् । निकै घिनलाग्दो कार्य ।’

बलिउडका प्रसिद्ध गीतकार जावेद अख्तरले पनि आक्रमणलाई बर्बर बताएका छन् । उनी लेख्छन, ‘म केही कट्टरपन्थीले सलमान रुस्दीमाथि गरेको आक्रमणको निन्दा गर्छु । मलाई आशा छ, न्युयोर्क प्रहरी र अदालतले आक्रमणकारीलाई कडा कारवाही गर्नेछ ।’

जावेदकी पत्नी तथा अभिनेत्री शबाना आजमीले पनि हमलाको निन्दा गर्दै लेखेकी छन्, ‘मलाई आशा छ, उनी चाँडै निको हुनेछन् र कट्टरपन्थी आक्रमणकारीलाई कडा कार्वाही हुनेछ ।’ अधिकांश मुद्दामा चासो राख्ने स्वारा भास्करले पनि हमलाको निन्दा गरेकी छन् ।

न्युयोर्क प्रहरीले विज्ञप्ति जारी गर्दै आक्रमणकारीको नाम हादी मतार हो र उमेर २४ वर्ष रहेको जनाएको छ । आक्रमणकारी न्युजर्सीमा बसोबास गर्ने प्रहरीको भनाइ छ । अहिलेसम्म आक्रमणको कारण खुलेको छैन र आक्रमणकारीलाई हिरासतमा लिइएको छ ।

सन् १९८८ मा रिलिज भएको रुस्दी लिखित पुस्तक ‘द सैटनिक भर्सेज’ रिलिज भएलगत्तै इरानी सर्वोच्च धर्मगुरु अयातुल्लाह खुमेनीसहित केही इस्लामिक संगठनले प्रतिबन्धको घोषणा गरेका थिए । केही मुस्लिम संगठनले यो पुस्तकलाई पैगम्बर मोहम्मदको अपमान भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?