+
+
मन्थन :

दुई कार्यकाल सांसद भइसकेका सबैलाई बिदा गरौं

नेतृत्व चयनको प्रक्रियालाई निश्चित नियम र मापदण्डद्वारा परिभाषित गरिएन भने दलभित्र काम, क्रोध, लोभ, मोह र अहंकार हावी हुन्छ । नेतृत्वमा रहेका पात्रहरूले विभिन्न तर्क–वितर्क झिकेर दललाई आफ्नो मोह र अहंकारको दास बनाउन सक्छन् ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७९ साउन ३० गते १३:२९

फेरि चुनाव आयो । संघीय संसद र प्रदेश संसदको चुनाव आगामी मंसिर ४ गते सम्पन्न हुनेछ । नेपाली समाजको विरोधाभास के हो भने यसले पूरै पाँच वर्ष नेतालाई गाली गर्दछ । चुनावको दिन फेरि गाली गरेका तिनै नेतालाई जिताउँछ । अनि फेरि आफैंले जिताएर पठाएका नेतालाई गाली गर्ने उपक्रम सुरु हुन्छ । यो गोलचक्कर विगत तीन दशकदेखि चलिरहेको छ ।

यद्यपि, यसपालिको चुनाव रोचक हुनेवाला छ । खाईपाई आएका नेता विरुद्ध स्वतन्त्र उम्मेदवारीको ठूलै लहर आउने संकेत देखिंदैछ । धरान र काठमाडौंको स्थानीय चुनाव परिणामले सबैलाई हौस्याएको छ । यसैको प्रभावमा स्वतन्त्रको नाममा पार्टी नै खुल्न थालेका छन् । देशैभर स्वतन्त्र उम्मेदवारीको लहर देखा पर्न थालेको छ ।

तर यो लहरबाट सन्तुष्ट भइहाल्ने ठाउँ भने छैन । स्वतन्त्र अभियानले खाईपाई आएका नेतालाई चुनौतीसम्म दिन सक्छ, जतिसुकै ठूलो लहर आए पनि यसले देशका समस्या समाधान गर्न सक्दैन । कारण, बहुदलीय व्यवस्थामा दलविहीन उम्मेदवारको खासै महत्व हुँदैन ।

अर्कोतिर, स्वतन्त्र पार्टीका नाममा विचारविहीन आला–काँचा पात्रहरूको बिगबिगी देखिंदैछ । यस्ता पात्र अधिकांश प्रायोजित हुन सक्छन् । जसलाई मुलुकको उन्नति, प्रगतिका लागि होइन, ‘धमिलो पानीमा माछा मार्ने’ प्रयोजनका लागि उपयोग गरिएको हुनसक्छ । यस्ता पात्रको प्रवेशले राजनीतिक अराजकता मात्र पैदा हुन्छ ।

चुनावी परिणामले खाईपाई आएका एकाध पात्रलाई ठेगान लगाउन सक्ला । केही स्वतन्त्र उम्मेदवारलाई सांसद पनि बनाउला । स्वतन्त्र पार्टी नामका केही नयाँ पार्टी संसदमा थपिएलान् । तैपनि तीन दशकदेखिको राजनीतिको गोलचक्कर तोडिने छाँट देखिंदैन ।

राजनीतिक सुधारका लागि यहाँ गर्नुपर्ने थुप्रै काम छन् । एउटै चुनावले यो सबै गरिहाल्छ भन्ने होइन । वैकल्पिक राजनीतिको संगठित प्रयत्नले मात्र मुलुकमा परिवर्तन सुनिश्चित गर्न सकिन्छ । हाललाई वयोवृद्ध पात्रहरूको तीसवर्षे कुशासनको गोलचक्कर तोडियो भने त्यही ठूलो कुरा हुनेछ ।

दुई कार्यकालको मापदण्ड

बहुदलीय व्यवस्थामा शासन गर्ने भनेको दलको नेताले नै हो । दल निर्माणमा असंख्य मानिसले मिहिनेत गरेका हुन्छन् । तर शासन गर्ने बेलामा भने व्यक्ति चुन्नुपर्ने हुन्छ । यो विरोधाभास राजनीतिकर्मीका लागि अवसर र चुनौती दुवै बन्दछ ।

अवसर यो हो कि यदि नेतृत्व चयनको निश्चित न्यायपूर्ण मापदण्ड भयो भने यसले दलभित्रका सबै सदस्यलाई वैयक्तिक विकासको अवसर सिर्जना गर्दछ । चुनौती यो हो कि नेतृत्वमा पुगेको पात्रले मौका छोपेर शक्तिको दुरुपयोग गर्न सक्छ ।

दल र नेता भनेका कुनै ‘पवित्र’ चिज होइनन् । दल र नेता भनेको काम, क्रोध, लोभ, मोह र अहंकार भएका मानिसको जमात हो । नेतृत्व चयनको प्रक्रियालाई निश्चित नियम र मापदण्डद्वारा परिभाषित गरिएन भने दलभित्र काम, क्रोध, लोभ, मोह र अहंकार हावी हुन्छ । नेतृत्वमा रहेका पात्रहरूले विभिन्न तर्क–वितर्क झिकेर दललाई आफ्नो मोह र अहंकारको दास बनाउन सक्छन् ।

नेपालमा ठ्याक्कै यस्तै भइरहेको छ । यहाँ नेतृत्वका सम्बन्धमा उपयुक्त मापदण्ड नै बनेको छैन । यही कारण यहाँ तीसौं वर्षदेखि दलको नेतृत्वमा एकै खालका अनुहार दोहोरिरहेका छन् । उमेरले डाँडा काटिसक्यो । शरीर जीर्ण भइसक्यो । होश, शुद्धि हराइसक्यो । तैपनि यस्ता पात्रहरू नेतृत्वबाट बिदा लिन तयार छैनन् ।

प्रायः सबै दलमा नेतृत्व–सदस्य सम्बन्ध ‘साहु–आसामी सम्बन्ध’ मा फेरिएको छ । सीमित व्यक्तिहरू साहु जस्ता भएका छन् । यिनीहरूले पार्टीमा एकलौटी गरेका छन् । विगत तीस वर्षदेखि यिनीहरू सुविधै सुविधामा छन् । तर कुनै रचनात्मक काम गरेका छैनन् । केवल ‘ब्याज खाँदै बस्दै’ गरिरहेका छन् । दल निर्माणमा उत्तिकै मिहिनेत गरेका बहुसंख्यक पार्टी सदस्यहरू आसामी जस्ता भएका छन् । सीमित नेताका अगाडि यिनीहरू लाचार र निरीह छन् ।

प्रायः सबै दलभित्र नेतृत्व विकासको प्रक्रिया ठप्प छ । ‘साहु’ पात्रहरूले अनेक तर्क गरेर नेतृत्वको पुस्तान्तरण हुन दिएका छैनन् । जसका कारण सिंगो राज्य सीमित व्यक्तिका मोह र अहंकारको दास भएको छ । जबसम्म यो अवस्थाको अन्त्य हुँदैन, तबसम्म जतिवटा चुनाव गरे पनि मुलुकको उन्नति–प्रगति सम्भव हुँदैन ।

एउटा व्यक्तिले एक पदमा बढीमा दुई कार्यकालसम्म मौका पाउनु ठिकै हो । त्योभन्दा बेसी यस्तो मौका दिनु भनेको नेतृत्व विकासको प्रक्रियामा बाधा पैदा गर्नु हो । पार्टीका अन्य सदस्यप्रति अन्याय गर्नु हो । अन्ततः यसले मुलुकलाई नै यथास्थितिको सिकार बनाउँछ ।

यो यसपालिको चुनावमा ध्यान दिनुपर्ने विषय हो, दुई कार्यकाल सांसद भइसकेका जुनसुकै पात्रलाई यसपालिबाट बिदा गर्नै पर्दछ । यसो गरियो भने मात्र मुलुकमा नेतृत्व विकासको नयाँ संभावना पैदा हुन्छ ।

अहंकारको जालो तोडौं

म केही हुँ । यो मुलुकको राजनीतिक परिवर्तनमा मेरो ठूलो योगदान छ । मेरो जीउ छउञ्जेल राजनीतिमा मेरै वर्चस्व कायम रहनुपर्दछ । एउटा दलभित्रका दुई–चार पात्रले यसरी सोच्ने बित्तिकै दलभित्र गुट पैदा हुन्छ । यसैले राजनीति र सारा मुलुकलाई चौपट बनाउँछ ।

गुट पाल्न धन चाहिन्छ । तर वैधानिक ढंगले धन आर्जनको मिहिनेत गरिंदैन । बरु चोर बाटो खोजिन्छ । गुटवादी नेताले कर्मचारी, ठेकेदार, तस्कर, व्यापारीसँग साँठगाँठ गरेर धन संग्रह गर्दछ । एउटा नेताले यसो गरेको देखेपछि समकक्षी अर्को नेताले पनि यसै गर्न थाल्छ । नेतापिच्छेका गुट बन्दछन् । फरक–फरक नेताको फरक–फरक ठेकेदार, कर्मचारी, तस्करहरूसँग सम्बन्ध बन्दछ ।

माथिका नेताले यस्तो गरेको देखेपछि तलकाले पनि यसको सिको गर्न थाल्छन् । तब पूरै दल गिरोहमा रूपान्तरण हुन्छ । एउटा दलमा यस्तो देखिएपछि अर्को दलले पनि यसै गर्न थाल्दछ । पार्टीहरू तब नेताले होइन, तस्कर, व्यापारी, ठेकेदार र भ्रष्ट कर्मचारीले चलाउन थाल्छन् ।

पार्टीमा चुनावी टिकट किनबेच हुन थाल्छ । गुण्डा, ठेकेदार, तस्कर र स्वार्थी व्यापारी नै सांसद बनेर आउँछन् । स्वार्थ समूहको हितलाई महत्व दिएर राज्यको नीतिनिर्माण गरिन्छ । यसबाट राजनीतिक प्रतिस्पर्धा पनि अस्वस्थ हुन थाल्छ । चुनाव महँगो हुन्छ । चुनाव कम, पैसाको खेल बढी हुन्छ । गरिबले चुनाव लड्नै नसक्ने अवस्था सिर्जना हुन्छ ।

पूरै समाजमा भ्रष्टाचार, महँगी, अपराधीकरण र दण्डहीनताले प्रश्रय पाउँछ । सार्वजनिक संस्थाहरूलाई निकम्मा बनाइन्छ । जताततै निजीकरण र व्यापारीकरणको लहर चल्छ । शिक्षा र स्वास्थ्य जस्ता विषयको निजीकरण/व्यापारीकरण तीव्र हुन्छ । घुस र कमिसन विना कामै हुन छोड्छ । राजनीतिमा सिद्धान्त र आदर्श समाप्त हुन्छ । अन्ततः राज्य नै लथालिंग अवस्थामा पुग्छ । सीमित व्यक्तिको अहंकारले यसरी सिंगो मुलुक नै डामाडोल हुन्छ ।

नेपालको अहिलेको अवस्था यही हो । सीमित व्यक्तिहरूको ‘म केही हुँ’ भन्ने अहंकारग्रस्त सोच नै सारा समस्याको जड हो । राजनीतिमा यसरी सोच्ने बित्तिकै सारा कुरा बिग्रन्छ । यो कुनै व्यक्तिविशेषको कमजोरी होइन । सारा मनुष्य जातिको स्वभाव नै यस्तै हो । मनुष्य जातिको यस खालको स्वभावलाई रोक्ने अन्तिम उपाय नै व्यवस्थित नियम र मापदण्डको निर्माण हो ।

हाम्रा ‘साहु’ नेतालाई यो कुरो राम्रो थाहा छ । तर उनीहरूको जीउ छउञ्जेल यस्ता नियम बन्दैनन् । कारण, यस्तो नियम बनाउने बित्तिकै त्यसले अरूलाई होइन आफैंलाई प्रहार गर्छ भन्ने उनीहरूले राम्रोसँग बुझेका छन् । त्यसैले, उनीहरू यस्तो नियम र मापदण्ड नै बनाउन चाहँदैनन् ।

मुलुकको उन्नति र प्रगति खोज्ने हो भने सर्वप्रथम अहंकारको यो जालो तोड्न जरूरी छ । यसका लागि कमसेकम दुई कार्यकाल सांसद भइसकेका सबै पात्रलाई बिदाइ गर्न जरूरी छ । नेतृत्व चयनका नियम र मापदण्डलाई शिरोपर गर्न तयार, नयाँ पात्रहरूलाई संसदमा पठाउन जरूरी छ ।

सोच बदलौं

राजनीतिमा समय दिएको कुरालाई ‘लगानी गरेको’ मान्ने र त्यसको ब्याज खाने सोच रहेसम्म मुलुक कहिल्यै बन्दैन । हरेक व्यक्ति राजनीतिमा आएको उसको आत्मसन्तुष्टि पूरा गर्न हो । कोही पनि यहाँ समाजसेवी छैन । कोही पनि यहाँ जनताको सेवक छैन । कोही पनि यहाँ विद्वान छैन । कोही पनि यहाँ भविष्य द्रष्टा छैन । नेता–जनता सबै अहंकारका दास हुन् । यिनीहरू दुवै अज्ञान (अहंकार) को बन्धनले बाँधिएका छन् ।

हरेक राजनीतिकर्मीले यो तथ्य स्वीकार गर्नुपर्दछ । यो तथ्य स्वीकार गर्दा मात्र राज्य र दललाई निश्चित नियम र मापदण्डमा चलाउनुपर्दछ भन्ने तथ्य आत्मसात् गर्न सहज हुन्छ । जब मापदण्ड बन्दछ, तब त्यही मापदण्डले उपयुक्त व्यक्तिहरूलाई नेता बन्ने अवसर सिर्जना गरिरहन्छ ।

त्यही मापदण्डले नेतालाई विदा गर्ने प्रावधान पनि सिर्जना गरिरहन्छ । सबैले आफ्नो गुणवत्ता अनुसारको जिम्मेवारी पाउँछन् । मुलुकमा रचनात्मक गतिशीलता पैदा हुन्छ । यही गतिशीलताले मुलुकलाई उन्नति र प्रगतिको बाटोमा लैजान्छ । यस्तो बाटो तय गर्न अब मतदानको सोच बदल्नु जरूरी छ । पुराना नेतालाई बिदा गर्नु जरूरी छ ।

राजनीतिक नेताहरूलाई सम्मान गर्न सकिन्छ । तर उनीहरूको मनपरीतन्त्र प्रति शरण पर्न सकिंदैन । राजनीतिक सुधारका लागि यहाँ गर्नुपर्ने काम धेरै छन् । तत्काल मुलुकमा फैलिएको अहंकारको जालो तोड्न सकियो भने त्यही ठूलो कुरा हुनेछ । यसका लागि सबै मिलेर आगामी चुनावमा ३० वर्षदेखि खाईपाई आएका र दुई कार्यकाल पूरा गरिसकेका ‘साहु’ नेताहरूलाई राजनीतिबाट सदाका लागि बिदा गरौं ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?