+
+

माओवादीसँग मिलेका बाबुरामको दावी कति क्षेत्रमा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:५७

३१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेपछि सिट बाँडफाँटको विषयमा पनि चर्चा सुरु भएको छ ।

एउटै चुनाव चिह्नमा लड्ने सहमतिबारे निर्वाचन आयोगलाई जानकारी गराएपछि मंगलबार दिउँसो पुष्पकमल दाहाल प्रचण्ड, भट्टराईं, माओवादी नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माओवादी पार्टी कार्यालय पेसिसडाँडामा छलफलसमेत गरे ।

बाबुरामको दाबी कति सिटमा ?

पेरिसडाँडाको भेटपछि निस्किएका प्रचण्ड र बाबुरामलाई सञ्चारकर्मीको जिज्ञासा थियो बाबुरामको दावी कहाँ कहाँ छ । दुवै जनाले यसको ठोस जवाफ दिएका छैनन् । प्रचण्डले ‘हामी सल्लाहले नै गर्छौं भन्ने जवाफ दिए भने बाबुरामले पनि छलफल गरेरै टुंगोमा पुग्ने भन्दै मुख्य कुरा राजनीतिक समझदारी बताए ।

गठबन्धनबाटै दाबी

प्रचण्ड–बाबुराम दुवैले नेपाल समाजवादी पार्टीका लागि सिटको दाबी सत्तारुढ गठबन्धनबाटै गर्ने प्रष्टीकरण दिएका छन् । प्रचण्डले नेपाल समाजवादी पार्टी सत्तारुढ गठबन्धनमै रहेकाले उसले पाउने सिट पनि गठबन्धनबाटै टुंग्याउने बताए । ‘जसपामा हुँदा उहाँहरु गठबन्धनमा हुनुहुन्थ्यो र गठबन्धन छोड्ने कुरा पनि उहाँहरुले गर्नु भएको छैन,’ प्रचण्डले भने, ‘गठबन्धनले पनि उहाँहरुलाई निकाल्ने कुरा गरेको छैन ।’

भट्टराईंले पनि प्रष्ट शब्दमा आफ्नो पार्टी गठबन्धनमै रहेको र गठबन्धनले बनाउने मापदण्ड अनुसार नै सिट पाउने बताए । ‘हामी गठबन्धनमै छौं, नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो,’ उनले भने, ‘जुन मापदण्ड बन्छ, त्यही मापदण्डमा रहेर नै हामीले तालमेल गर्छौं ।’

माओवादीसँग छुट्टै दाबी राख्ने

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ आफ्नो पार्टीले लिने सिट संख्या अहिले यकिन भइनसेको बताउँछन् । उनले पहिले गठबन्धनमा टुंग्याउने र त्यसपछि माओवादीसँग अलग छलफल हुने बताए । ‘पहिले गठबन्धनमा छलफल भएर टुंग्याउँछौं’, उनले अनलाइनखबरसँग भने, ‘गठबन्धनले बनाउने मापदण्डका आधारमा हामी पाइहाल्छौं, त्यसपछि माओवादीको चिह्न लिएकाले माओवादीसँग अलग कुरा हुन्छ ।’

माओवादीको चुनाव चिह्न लिएकाले नेपाल समाजवादीको समानुपातिक मत पनि माओदीले नै पाउने छ । नेपाल समाजवादी पार्टीले आफ्नो अनुमानित समानुपातिक पद्धतिको मत हिसाब गरेर माओवादीसँग समानुपातिक सांसद संख्या दाबी गर्ने छ ।

दावेदार कति ?

भट्टराईले प्रचण्डसँग अहिलेसम्म ठ्याक्कै आफूलाई यत्ति नै सिट चाहिन्छ भनेर दाबी गरिसकेका छैनन् । स्रोतका अनुसार उनले टिकट दिनैपर्ने केहीका नाम भने लिएका छन् ।

उनले आफूलाई नभए पनि हुने तर अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गोविन्द चौधरी र आफ्नी छोरी मानुषी यमी भट्टराईलाई भने टिकट चाहिने बताएका छन् ।

नेपाल समाजवादी पार्टीमा ती तीन जना अलवा अन्य आकांक्षीहरु पनि छन् । सहअध्यक्ष गंगानारायण श्रेष्ठ, कार्यकारिणी सदस्य भक्तबहादुर शाह र प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले पनि आकांक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?