+

जब श्रीमती गर्भवती हुन्छिन्…

२०७९ भदौ  २१ गते १६:३५ २०७९ भदौ २१ गते १६:३५
जब श्रीमती गर्भवती हुन्छिन्…

काठमाडौं । गर्भावस्थामा एउटी महिला के-कस्ता शारीरिक, मानसिक वा भावनात्मक स्थितिबाट गुज्रिन्छिन् ?

गर्भमा भ्रूण हुर्कंदै गर्दा शरीरमा अनेक उथलपुथल आउन थाल्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झा भन्छिन्, ‘हर्मोनको घटबढसँगै वाकवाकी लाग्ने, हातखुट्टा सुन्निने, कब्जियत हुने, चक्कर लाग्ने, अरुचि, झर्को लाग्ने, कमजोरी हुने, अनिद्रा जस्ता समस्या सुरु हुन्छ ।’

त्यसमाथि मधुमेह, उच्च रक्तचाप, थाइराइडको जोखिम बढ्छ । ‘गर्भावस्थामा हुने शारीरिक परिवर्तनले गर्दा महिलालाई भावनात्मक रुपमा निकै कमजोर बनाउँछ,’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘गर्भ रहँदाको कुराले जति खुसी हुन्छन्, उत्ति नै डर पनि हुन्छ ।’

अर्थात् महिलाको गर्भमा भ्रूण विकास हुन थालेपछि नै उनीहरुमा अनेक उतारचढाव सुरु हुन्छ । ‘तर महिलाहरु सहनशील र धैर्य हुने भएकाले यी सबैकुरा चुपचाप सहेर बस्छन्,’ मनोविद् कुँवर भन्छिन्, ‘कुनै कुरामा चित्त दुख्यो भने रुन्छिन्, तर आफूभित्रको जटिलता व्यक्त गर्दैनन् ।’

गर्भ रहेपछि हरेक महिलाले केही असुरक्षा र कमजोरी महसुस गर्छन् । यस क्षण उनीहरुका लागि सबैभन्दा नजिकको साथी हुन्छन्, श्रीमान् । ‘श्रीमानको साथ र सामीप्य खोजिरहेका हुन्छन्,’ मनोविद् कुँवर भन्छिन्, ‘त्यस्तो स्थितिमा श्रीमानले वास्तै नगर्ने, घरमै नबस्ने, कुराकानी नै नगर्ने भएपछि उनीहरुको भावनामा नराम्ररी चोट पुग्छ ।’

गर्भावस्था दाम्पत्य जीवनको यस्तो मोड हो जतिबेला श्रीमतीलाई श्रीमानको साथको जरुरी हुन्छ । त्यसैले यसबेला श्रीमान् टाढा हुने वा श्रीमतीलाई बेवास्ता गर्ने हो भने त्यसले उनीहरुको सम्बन्धलाई दीर्घकालसम्म असर पार्छ ।

श्रीमती जब भावनात्मक रुपले नै टुट्न पुग्छिन्, त्यसले उनलाई मात्र दुःखी तुल्याउँदैन । गर्भमा हुर्कंदै गएको बच्चालाई समेत असर गर्छ । ‘आमाको भावनात्मक स्थिति कस्तो भन्ने कुराले गर्भको बच्चामा पनि ठूलो अर्थ राख्छ,’ डा. झा भन्छिन् ।

त्यसैले त गर्भावस्थामा उनीहरु खुसी, उत्साहित हुनुपर्ने विभिन्न अध्ययनको निचोड छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मेडिकल युनिभर्सिटीले २३६ गर्भवतीबीच गरिएको एक अध्ययन अनुसार गर्भावस्तामा तनावरहित एवं खुसी हुँदा त्यसको प्रत्यक्ष प्रभाव भ्रूणमा पर्छ । त्यसैले यसबेला संगीत सुन्दा पनि उनीहरुले आनन्दित महसुस गर्ने र तनावरहित हुने उक्त अध्ययनमा उल्लेख छ ।

गर्भावस्थामा भावनात्मक रुपले बलियो हुनका लागि मधुर संगीत, चराचुरुंगीको आवाज सुन्न सुझाव दिइएको छ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह भन्छन्, ‘विकसित मुलुकमा गर्भवतीलाई सुन्नका लागि छुटै संगीत संयोजन गरिएको छ । यसलाई ओम्ब म्युजिक भनिन्छ ।’ उनका अनुसार गर्भको बच्चा पाँच महिनाको भइसकेपछि उनीहरुको सुन्ने शक्ति विकास भइसकेको हुन्छ । आमाको मनस्थितिले गर्भको बच्चाको मानसिक विकासमा खास प्रभाव पार्ने डा. शाहको भनाइ छ ।

महिला गर्भवती भएपछि उनलाई खुसी र उत्साहित राख्नका लागि घरको वातावरण राम्रो हुनुपर्ने मनोविद् कुँवर बताउँछिन् । ‘यदि बच्चा नराम्रो भएमा हामी सबै दोष आमा र बच्चालाई दिने गर्छौं,’ कुँवर भन्छिन्, ‘तर यसमा घरपरिवार र खासगरी श्रीमानले कस्तो वातावरण बनाएको छ भन्ने कुराले यसमा ठूलो अर्थ राख्छ ।’

के हुन्छ श्रीमानको भूमिका ?

गर्भ रहेपछि श्रीमतीलाई भौतिक सेवा सुविधा मात्र दिएर पुग्दैन । भावनात्मक सहयोग पनि उत्तिकै जरुरी हुन्छ ।

श्रीमतीको नजिक हुने, माया दर्शाउने, मीठामीठा कुराकानी गर्ने, मीठोमसिनो बनाएर खुवाउने, घुमफिरमा लैजाने, मनोरञ्जन गराउने जस्ता काममा श्रीमानले खास भूमिका खेल्नुपर्ने मनोविद् कुँवर बताउँछिन् ।

गर्भ रहेपछि विभिन्न स्वास्थ्य जाँच गरिरहनुपर्ने, अस्पताल धाइरहनुपर्ने, चिकित्सकको परामर्श लिइरहनुपर्ने भएकाले यस्तो बेला श्रीमानले नै सम्पूर्ण जिम्मेवारी लिइदिनुपर्छ । ‘अस्पताल जाँदा होस् वा चिकित्सकसँग कुराकानी गर्दा श्रीमान् नै अग्रसर हुनुपर्छ,’ कुँवर भन्छिन्, ‘अरुको साथमा छाड्ने वा एक्लै पठाउने गर्नु ठीक होइन ।’

गर्भावस्था दाम्पत्य जीवनको यस्तो मोड हो जतिबेला श्रीमतीलाई श्रीमानको साथको जरुरी हुन्छ । त्यसैले यसबेला श्रीमान् टाढा हुने वा श्रीमतीलाई बेवास्ता गर्ने हो भने त्यसले उनीहरुको सम्बन्धलाई दीर्घकालसम्म असर पार्छ ।

गर्भावस्थाको ९ महिना : के हुन्छ शरीरमा ?

पहिलो महिना

गर्भवती भएको पहिलो महिना महिलाका लागि नयाँ र अनौठो अनुभव हुन्छ । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा कमजोर महसुस गर्न थाल्छन् ।

दोस्रो महिना

दोस्रो महिनामा गर्भवती महिलालाई वाकवाकी लाग्ने, बान्ता हुने र थकान लाग्ने जस्ता समस्या देखा पर्छन् । शरीरमा हुने परिवर्तनका कारण यस्तो हुनु स्वभाविक हो । समयसँगै यो समस्या समाधान हुँदै जान्छ ।

तेस्रो महिना

गर्भावस्थाको तेस्रो महिनामा स्तनको आकार बढ्न थाल्छ । स्तनको वरिपरि गाढा हुन्छ । जसकारण महिलाहरु चिन्तित हुन सक्छन् । तर चिकित्सकका अनुसार प्रसूतिपछि यो समस्या स्वतः हटेर जान्छ ।

चौथो महिना

गर्भवतीको चौथो महिनामा हर्मोन उत्पादन हुने भएकाले महिलाको मुटुको धड्कन तीव्र हुन्छ । कहिलेकाहीं रगतको कमीले पनि यस्तो हुन सक्छ । यस्तो अवस्थामा रगत बढाउने फलफूल र चीज बढी सेवन गर्नुपर्छ ।

पाँचौं महिना

पाँचौं महिनामा गर्भमा बच्चाले हलचल गर्न थाल्छन् । यससँगै पेटको आकार पनि बढ्न थाल्छ । यो महिनादेखि महिलाले बढी आराम गर्नुपर्छ । यही कारणले गर्दा मृगौलाले अलि ढिलो काम गर्न थाल्छ, जसकारण पिसाब बढी आउँछ ।

छैठौं र सातौं महिना

गर्भावस्थाको छैठौं र सातौं महिनाका लक्षण सामान्य हुन्छन् । यस अवधिमा पेट दुख्ने, खानामा अरुचि हुने, अनिद्रा, ढाड दुख्ने र पेट छिटो बढ्ने जस्ता परिवर्तन हुन्छन् ।

आठौं महिना

आठौं महिनामा गर्भवती महिलालाई थकान बढ्छ । यतिबेला उनीहरुलाई प्रसूति हुन लागेको हो कि जस्तो पनि हुन्छ । असहज महसुस हुने, निद्रा नलाग्ने, थकान महसुस हुने, धेरै पिसाब लाग्ने जस्ता समस्या पनि यसबेला देखिन्छन् ।

नवौं महिना

नवौं महिना प्रसूतिको समय पनि हो । यसबेला पेटको आकार सम्पूर्ण रुपमा बढ्छ । स्तनबाट दूध चुहिन थाल्छ । यो परिवर्तन महिलाको शरीर अब स्तनपान गराउन तयार छ भन्ने हो ।

गर्भवती गर्भावस्था
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय