+
+
विमर्श :

वैदेशिक अध्ययन परामर्श क्षेत्र : पैसा कमाइरह्यो, प्रतिष्ठा कमाएन

राजन गोदार राजन गोदार
२०७९ भदौ २७ गते १३:२२

वैदेशिक अध्ययन परामर्श व्यवसायले शैशवकालदेखि प्रतिष्ठाको प्रश्न झेल्दै आइरहेको छ । यस क्षेत्रले व्यवसायमा कैयन् आरोह-अवरोह खेपिसकेको भएतापनि उहिल्यैदेखि ओरालो लागेको प्रतिष्ठाको ग्राफ आजकाल झन् तीव्र गतिमा ओरालो ओर्लिरहेकै छ ।

यो व्यवसायलाई मर्यादित एवम् प्रतिष्ठित बनाउने उद्देश्य बोकेर यस क्षेत्रका अग्रजहरूको उत्साहजनक हातेमालोमा नेपाल शैक्षिक परामर्श संघ स्थापना भयो । आवेग, अहम् र आरिसमा अग्रजजन एउटै संघभित्र आवद्ध एवम् कटिबद्ध भैरहन सकेनन् । त्यही आवेग, अहम् र आरिसको उपज त हो एक व्यवसाय अनेक संघ–संस्था ।

यस व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू एउटै कामका लागि अनेक संघसंस्थासम्म पुग्नुपर्ने, सबै संघ–संस्थालाई समय छुट्याउनुपर्ने बाध्यात्मक अप्ठेरो आइलाग्यो । आजकाल विदेशी विद्यालय तथा विश्वविद्यालय, अध्यागमन विभाग, स्वदेशी केन्द्रीय तथा स्थानीय निकायहरू एउटै व्यवसायका लागि कम्तीमा एउटै साझा संस्था बनाइदिन प्रत्यक्ष–परोक्ष दबाव दिन थालेका छन् ।

सायद त्यसकै परिणाम हुनुपर्छ इक्यान, फेकोन, आइरिन, नायर, नेका जस्ता संस्थाको भर्खरै बनेको अलायन्स । हालसालै नेपाली विद्यार्थी भिसा आवेदकहरूले बुझाएका कागजातमाथि अष्ट्रेलियाली अध्यागमन विभागले निष्ठा र इमानदारीको प्रश्न उठाएको छ । त्यसकै तरंग पनि हुनसक्छ यो अलायन्स– अष्ट्रेलियन एजुकेसन एसोसिएसन अलायन्स, नेपाल ।

यस घडी अष्ट्रेलियाली अध्यागमन विभाग, अष्ट्रेलियन हाइ कमिसन नयाँदिल्लीले नेपाली वैदेशिक अध्ययन परामर्श बजारमाथि निर्मम कोर्रा बर्साएको छ । हाइ कमिसनले उठाएका प्रश्नहरूमा यहाँको वैदेशिक अध्ययन परामर्श क्षेत्र मात्रै होइन स्थानीय निकाय, वित्तीय संस्था, निजी संस्था तथा संस्थान, विद्यालय तथा विश्वविद्यालय, नेपाल सरकारअन्तर्गतका विभिन्न निकाय तथा तहका परीक्षा बोर्डहरू सबका सब बिटुलिएका छन् ।

जबसम्म नेपाली नागरिकको सम्पूर्ण अभिलेख सजिलै प्रमाणीकरण गर्न सकिने गरी डिजिटल्ली उपलब्ध हुँदैन तबसम्म हामी नेपालीका एक से एक महत्वपूर्ण कागजात विभिन्न मुलुकका अध्यागमन अधिकारीहरूका लागि कागजभन्दा बढ्ता केही हुने छैनन् ।

भिसा आवेदन बुझाएर निर्णय पर्खिरहेका विद्यार्थी आवेदकलाई अष्ट्रेलियन हाइ कमिसन नयाँदिल्लीले निष्ठा र इमानदारीको प्रश्नसहित जुन प्रेमपत्र पठायो त्यसले नेपाली वैदेशिक अध्ययन परामर्श बजारमा लगभग आतंक मच्चायो भन्दा अत्युक्ति हुँदैन । त्यो आतंकले सिर्जना गरेको आपतकालीन अवस्थाको सम्बोधन गर्न वैदेशिक अध्ययन परामर्श व्यवसायीका विभिन्न छाता संगठनहरू एउटा गठबन्धनमा बाँधिएका छन् ।

यस क्षेत्रका केही अग्रजहरूलाई यो आपतपूर्व नै महासंघको खाँचो खट्किसकेको थियो । अग्रजजन महासंघको स्थापना प्रयासमै थिए । हाम्रा अग्रजहरूले आ–आफ्नो स्पेस र स्वार्थ बिर्सेर महासंघको स्थापना गर्न खोजेको भए शैक्षिक परामर्श महासंघ उहिल्यै स्थापित भइसक्दो हो । र, यस व्यवसायले एक तहको प्रतिष्ठा आर्जन गरिसक्दो हो । खैर, त्यो नभइसकेको भए पनि एउटा गठबन्धनमा एकताबद्ध हुनु पक्कै सकारात्मक कदम हो । तर यो खबर यस क्षेत्रले प्रतिष्ठा आर्जन गर्ने सवालमा उत्साहित भइहाल्नुपर्ने होइन ।

बजारमा इक्यान, आइरिन, नेका, फेकोन, नायर, एरी नेपाल र अनेकन् औपचारिक–अनौपचारिक समूहको उपस्थिति बाक्लै छ । अनेक समूह बनेका छन्, बन्दैछन्, कोही बनेर भत्किए, कोही भत्किंदै पनि होलान् । फरक–फरक प्रतिनिधि संस्था (छाता संगठन) मार्फत जति व्यवसायी संगठित छन् त्यो संख्याभन्दा कुनै पनि संघ–संगठनमा आबद्ध नभएका व्यवसायीको संख्या धेरै छ । अनेक नाम बोके पनि सबै छाता संगठनहरूको काम एउटै हो– वैदेशिक अध्ययन परामर्श क्षेत्रलाई संगठित, मर्यादित र व्यवस्थित बनाउने ।

यो याम वैदेशिक परामर्श व्यवसायीका छाता संगठनहरू एउटा गठबन्धनमा बाँधिएका छन् अथवा एकताबद्ध भएका छन्– अष्ट्रेलियन एजुकेसन एसोसिएसन अलायन्स, नेपाल । नामले नै बताउँछ कि यो गठबन्धन अष्ट्रेलियन अध्यागमन विभागका लागि मात्रै समर्पित गठबन्धन हो ।

शंकै छैन, भविष्यमा अनेक देशका लागि अनेक प्रसंगमा अनेकन् गठबन्धन बन्दै जानेछन् । तर एउटै महासंघ विना भावी गठबन्धनहरूको औचित्य र पहुँच सधैं प्रश्नको घेराभित्रै हुनेछ । यस्ता गठबन्धनको आयु कति हुन्छ ?

हुन त यहाँ राजनीतिको घिनलाग्दो खेलले बिगार्न भत्काउन नसक्ने केही छैन । महासंघ पनि टुटेफुटेर एकदर्जन हुन पटक्कै बेर लाग्दैन । आरिसे र आवेगीहरूले झगडा गर्न थाले भने टुक्राटुक्रा पारेरै छाड्नेछन् । तैपनि सम्पूर्ण व्यवसायीलाई एउटै छाताभित्र ओगट्ने शैक्षिक परामर्श महासंघ हामी सबैको आवश्यकता हो ।

प्रतिष्ठाको प्रश्नसँग नै सान्दर्भिक भएकाले अष्ट्रेलियन अध्यागमनका लागि बनेको गठबन्धनमै फर्किऊँ । यो गठबन्धनमार्फत जे–जस्ता विषयको सम्बोधन गरिने भनिएको छ के ती विषय विल्कुलै नयाँ हुन् ? होइनन् ।

व्यवसायीले व्यवहारतः पालना गर्नुपर्ने निर्देशक नीति तथा सिद्धान्तहरू नजानेर वा नबुझेर पालना नगरेको होला ? होइन । कुरूप प्रतिस्पर्धामा त्यस्ता निर्देशक नीति तथा सिद्धान्तहरू कोमामा पुग्छन् ।

यदाकदा झुल्किने सरकारी निगरानी जब उच्च नरमपन्थी हुन्छ व्यवसायीको कम्फर्ट जोन निर्माण हुन्छ । सबै छाता संगठनमा निगरानी एवम् नीति कार्यान्वयन विभाग छन् तर यी विभागले सदस्य संस्थाको नियमित निगरानी गर्दैनन् । यस क्षेत्रलाई कुरूप प्रतिस्पर्धाबाट अलग राख्न गैरसंवेदनशील निगरानी, नियन्त्रण र कारबाहीको जरूरी छ ।

जसका लागि यस्ता गठबन्धनहरूको खासै पहुँच पुग्दैन तसर्थ औचित्य पनि छैन । होइन भने कतिपय छाता संगठनका निगरानी एवं कारबाही विभाग किन यति धेरै सुस्त र शक्तिविहीन छन् ? यस्तो नहुँदो हो त छाता संगठन नै पर्याप्त हुँदैनथ्यो ? त्यसैले यस क्षेत्रको प्रतिष्ठाका लागि कम्तीमा शक्तिशाली महासंघको अर्को विकल्प छैन ।

सरसर्ती सोचौं, यो गठबन्धनले विभिन्न सदस्य छाता संगठनहरूको सामूहिक स्वार्थ प्रतिनिधित्व पक्कै गर्ला । तर बजारमा हुँदै नभएको गुड प्राक्टिस अब कहाँबाट खोजेर ल्याउला ? यो गठबन्धन बृहत्तर राष्ट्रव्यापी गठबन्धन बन्ला, सदस्य छाता संगठनहरूको एकल आवाज बन्ला र बन्ला सरकारी निकाय, विदेशी विद्यालय तथा विश्वविद्यालय र विद्यार्थीका लागि एउटै सम्पर्क सूत्र पनि ।

यो स्थितिमा व्यवसायीको मात्रै दोष छैन, सकेसम्म सजिलै र तुरुन्तातुरुन्तै विदेश जान पाइयोस् भन्ने मान्यता राखेर परामर्श संस्थाहरूमा धाउने, सकेसम्म आफैंले केही गर्न नपरोस् भन्ने चाहना राख्ने, आफूले ताकेको शैक्षिक उद्देश्यका बारेमा सुकाआना बराबरको अध्ययन अनुसन्धान नगर्ने र परामर्शदाताका कुरामा आफ्नो करिअर ब्लाइन्ड दाउमा लगाउने विद्यार्थी पनि बराबर दोषी छन् ।

साझा आचारसंहिता पनि बन्ला, निगरानी पनि होला, कारबाही पनि होला तर प्रश्न उठ्छ कि कस्तो मार्काको कारबाही गर्ला ? व्यवसायको अनुमति नै खारेज हुने कारबाही गर्न सक्ला ? सदस्यता खारेज गर्न सक्ला, विभिन्न निकायलाई सूचना दिन सक्ला, अरू के गर्न सक्ला ? अन्य जालझेल, लेनदेन, बचाउ पैरवी त छँदैछन् । त्यसैले त शक्तिशाली महासंघ चाहियो । यी र यस्ता गठबन्धनले व्यावहारिक रूपमा बजार सच्चिने सम्भावना छैन । किनकि नैतिक, इमानदार, सुस्पष्ट हुनु वा नहुनु व्यवसायीको व्यक्तिगत स्वभाव हो । र, स्वभाव कहिल्यै साझा हुँदैन ।

अष्ट्रेलियन एजुकेसन एसोसिएसन अलायन्स, नेपालले अष्ट्रेलियाली शिक्षा प्रवद्र्धन गरिरहेका नेपाली एजुकेसन एजेन्टहरूसँग गुड प्राक्टिस को सामूहिक प्रतिबद्धता उठाएर अष्ट्रेलियाली अध्यागमनलाई उक्त कुरा बुझाउने विषय जानकारीमा आएको छ । के यो आफैंमा गुड प्राक्टिस हो ? छाता संगठनभन्दा बाहिर रहेका व्यवसायी पनि यही बजारका अंग होइनन् ? अर्को कुरा, एउटा वैदेशिक अध्ययन परामर्श व्यवसायीको पहुँच कति हुन्छ ?

विद्यार्थीले दिएका हरेक कागजातको जाँच र प्रमाणीकरण गर्ने प्रयास गर्न सक्ला तर उसले सोधेकै भरमा सम्बन्धित निकायले उसलाई सजिलै बताइदेला कि के झुट के सही ? त्यो पनि नेपालमा ? एउटा निर्धो एजेन्टलाई कोही किन जवाफ दिन चाहोस् ? इज्जत–प्रतिष्ठा कमाउन सकेको भए सायद यो काम सजिलै थियो ।

आफ्नै भाँडो चुहिने भएपछि अरूलाई दोष दिन मिल्दैन । अहिले त्यही गठबन्धनले तयार पारेको सामूहिक प्रतिबद्धता अष्ट्रेलियन हाइ कमिसन नयाँदिल्लीले उठाएका निष्ठा र इमानदारीका प्रश्नहरूको जवाफ होइन, नितान्त आत्मसमर्पण हो ।

देशकै प्रतिष्ठा गुम्ने गरी ‘हो, गलत गर्‍यौं अब गर्दैनौं’ भनेर सामूहिक प्रतिबद्धता बुझाउनु सरासर आत्मसमर्पण नभए के हो ? व्यवसायी व्यवसायी र छाता संगठनहरूबीच साँचो एकता हुन्थ्यो भने ती प्रश्नको जवाफ अर्कै हुँदो हो । हामी भिसा माग्ने मगन्ते जो हौं । हामीले मागेकै भरमा अष्ट्रेलिया वा अन्य कुनै पनि देशले भिसा दिनैपर्छ भन्ने छैन । मगन्तेहरूले जे माग्यो त्यही पाउनु, जति माग्यो त्यति पाउनु कुनै लोकमा सम्भव छैन ।

अष्ट्रेलियाली अध्यागमनलाई बुझाउन लागेको सामूहिक प्रतिबद्धताले नेपाली वैदेशिक अध्ययन परामर्श क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाउँदैन । बरु गुमाउने सम्भावना बलियो छ । संकटले जुराएको यो गठबन्धनको आत्मा कमजोर छ । तपाईंलाई थाहा छ, छैन कतिपय छाता संगठनका नेताहरूबीच पानी बाराबार र वैरभावको स्थिति थियो, छ । यो एकता त्यसबेला सत्य लाग्दो हो जब यो एकता ढुक्कले बोल्दो हो– ‘यो आरोप–प्रत्यारोपको अवस्थामा अष्ट्रेलियाली शिक्षाको प्रवद्र्धन गर्न सक्दैनौं, धन्यवाद !’

मगन्ते भए पनि एउटा गर्वानुभूति हुँदो हो, अस्तित्वमै भएको महसुस हुँदो हो । केही समय व्यवसाय घाटामा चलेर के फरक पथ्र्यो र ? देशकै उच्च शिक्षालयहरू भरिन्थे, केही समयकै लागि भए पनि देशमा युवात्मा बाँच्थ्यो । यो क्षेत्रले प्रतिष्ठा कमाएर व्यवसाय गर्ने दिन सायदै आउला ।

खासै प्रतीक्षा पनि छैन । खैर, यस्तै अलायन्सहरू बनिरहुन्, टिकिरहुन् र यस क्षेत्रको भलोका निम्ति बलियो पैरवी गर्न सकिरहुन् । प्रतिष्ठा घटाउने होइन बढाउने काम गर्न सकुन् । कुनै दिन त्यो महासंघ पनि स्थापित होस् । अग्रजजनले आफ्नै स्पेस र स्वार्थका लागि जालझेल, बार्गेनिङ नगरुन् ।

वैदेशिक अध्ययन परामर्श क्षेत्रसँग बाँधिएको २० वर्ष पुगेछ । मैले थाहा पाएदेखि आजसम्म यस क्षेत्रले पैसा कमाइरह्यो तर प्रतिष्ठा कहिल्यै कमाएन । कहिल्यै कमाउन नसकेको प्रतिष्ठा गुम्ने वा गुमाउने कुरै भएन । वैदेशिक अध्ययन परामर्श सम्पूर्ण रूपमा नाफाले निर्देशित कर्म हो र अक्सर नाफाबाट अभिप्रेरित व्यवसायले नाफाबाहेक अर्को मन्त्र जप्दैन । त्यस्तो व्यवसायको नाफाबाहेक अर्को मूल बिजनेस इथिक्स हुँदैन ।

यहाँ एउटा ठट्टा जिब्रोमै झुण्डिन्छ, पैसा कमाउने होइन, छाप्ने हो । यो पेशा अत्यन्तै संवेदनशील हो जसले एउटा युवाको जीवन र वृत्ति–विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो, सक्छ र सक्नेछ । र यसले एउटा युवाको जीवनबाट अनेकन् सम्भावना खरानी बनाइदिन पनि सक्थ्यो, सक्छ र सक्नेछ । यस्तो संवेदनशील क्षेत्रको ध्यान नाफामा सीमित हुनुको पछाडि कुनै एउटा मात्रै कारण वा कारक तत्व छैन ।

विद्यमान राजनीति, यसले डोर्‍याएको देशको अवस्था, राजनीतिक स्वभाव र चरित्रले देखाएको भविष्य, अनिश्चितताको डर, आर्थिक, शैक्षिक, सामाजिक असुरक्षा जस्ता कारणले हरकोही आफ्नो भविष्य यहाँ कल्पना गर्न सक्दैन । नेपाली युवाको आश जाग्दो छैन, मर्दो छ । स्वाभाविक हो, यसले विदेशिन चाहनेहरूको सङ्ख्या बढेको बढ्यै छ ।

विदेशप्रतिको मोहले सगरमाथा छोइसकेको छ । हुँदाहुँदा कस्तोसम्म भएको छ भने, कोही पनि विदेशमा नभए घरको सामाजिक इज्जत प्रतिष्ठा बाँकी नरहने भयो । जति धेरै सजिलोसँग सम्भव छ त्यसरी विदेशिन अभिप्रेरित समाजको निर्माण भयो । शनैशनै वैदेशिक रोजगार र शिक्षाको माग चुलियो ।

यसैबीच सुयोग्य, योग्य, अयोग्य सबै वैदेशिक रोजगार तथा वैदेशिक अध्ययन परामर्शमा प्रवेश गरे । वा भनुँ द्रुत आर्थिक प्रगतिको मोहले यी क्षेत्रमा होमिए । एउटाले हुँदैन भने अर्कोले हुन्छ भनेर लोटरी खेल्ने दुष्कर्म सुरु भयो । त्यसपछि आचारसंहिता÷गुड प्राक्टिस÷उत्तरदायी परामर्श आफसेआफ अचार भएको कुरा सत्य हो ।

हाम्रो समाजमा रहरले होस् वा बाध्यताले हरकोही हरकेही उपाय अपनाएर हरबखत नेपाल छोड्न तम्तयार छ । हरकोही नेपाल छोड्ने तीव्र चाहना बोकेर बसेको समाजमा शतप्रतिशत व्यावसायिक इमानदारी निर्वाह गरेर कोही किन कोहीभन्दा कम नाफा कमाओस् ? वैदेशिक अध्ययनको प्रक्रिया कोही किन कसैले भन्दा अप्ठेरो बनाओस् र आफ्नो नाफाको सम्भावना गुमाई बसोस् ? परामर्श क्षेत्रले प्रतिष्ठा कमाउन नसक्नुको जड कारण यही हो ।

नपत्याए विद्यमान कुरुप प्रतिस्पर्धाको नमूना खोतलेर हेर्नुस्, मज्जाले देख्न पाइन्छ । त्यसैले त वैदेशिक अध्ययन परामर्श संस्थाका सेवा लिलामी भएको दृश्य कस्तो गज्जब हुन्छ, कहिल्यै हेर्नुभएको छ ? सस्तो बेसाहाले पखाला लाग्दैन ? त्यसैले त यहाँ उहिल्यैदेखि निःशुल्क परामर्श (फ्रि काउन्सिलिङ) बिकेको बिक्यै छ ।

वर्षौंदेखि साना, मझौला र ठूला लगानीसहित व्यवसायी यस क्षेत्रमा पस्ने र निस्कने क्रम अविराम चल्दै आइरहेको छ, चलिरहन्छ । दुईचार वर्षको बर्खे भेल छोपेर हराउनेहरूको संख्या त कति छ कति । यो पेशाको धर्म र मर्म दुवै बुझेर यस क्षेत्रमा प्रवेश गरेका अनेकन् भूतपूर्व वैदेशिक अध्ययन व्यवसायीहरूको कहानी बेग्लै छ । जो यस व्यवसायले अभ्यास गरिरहेको कुरूप एवम् अनैतिक प्रतिस्पर्धासँग जुध्न नसकेर छोडी गए ।

सरकारी वा गैरसरकारी कुनै पनि निकायसँग वैदेशिक अध्ययन परामर्श क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष कति संलग्न छन् भन्ने तथ्यांकको कुनै हेक्का छैन । गाउँगाउँ, टोलटोलमा छरिएका एजेन्टहरूका तल–माथि अनेकन् एजेन्ट छन् । सबैको एउटै स्वार्थ छ– पैसा । सामान्य कुरा हो, पैसाबाहेक अर्को चिज केही छैन जसले नाफाको मूल्य बताउन सकोस् । पैसाबाहेकको नाफामा मान्छेको चासो पनि छैन ।

भिसा परामर्शले शैक्षिक एवम् वृत्ति–परामर्शका कुरा, उत्तरदायी परामर्शको विषय घाममा सुकाइदिएको वर्षौं भयो । एकाध व्यवसायीको सत्प्रयासले यो भीडभाडमा कुनै तात्विक अर्थ राख्दैन । एकाध मान्छेका असल प्रयासले यस क्षेत्रले प्रतिष्ठा आर्जन गर्ने कुरा कोरा कल्पना मात्रै हो, असम्भव ।

तैबिसेक ती एकाधहरू भीडमा हराएर बाँच्छन् । यो व्यवसाय पैसाको भोक मेटाउने उपाय हो कि कसैको भविष्य सुन्दर बनाउने सेवा पनि हो भन्ने सवालमा आजसम्म न यो व्यवसाय स्पष्ट छ न व्यवसायी नै । कृपया द्वैधचरित्र बोकेर नैतिक कुरा नभट्याउनुहोस् । त्यो जस्तो बेइमानी अर्को हुँदैन । लाजसरमले पनि लाज मान्न नपारोस् ।

यो स्थितिमा व्यवसायीको मात्रै दोष छैन, सकेसम्म सजिलै र तुरुन्तातुरुन्तै विदेश जान पाइयोस् भन्ने मान्यता राखेर परामर्श संस्थाहरूमा धाउने, सकेसम्म आफैंले केही गर्न नपरोस् भन्ने चाहना राख्ने, आफूले ताकेको शैक्षिक उद्देश्यका बारेमा सुकाआना बराबरको अध्ययन अनुसन्धान नगर्ने र परामर्शदाताका कुरामा आफ्नो करिअर ब्लाइन्ड दाउमा लगाउने विद्यार्थी पनि बराबर दोषी छन् ।

अन्त्यमा, सरकारी एवं गैरसरकारी निकाय, संघ–संगठन, निजी संघ–संस्था सबका सब मिलेर गुड प्राक्टिस को होर्डिङ बोर्डले देश नै ढाके पनि यथार्थ बदलिने सम्भावना न्यून छ । जबसम्म देश आशलाग्दो हुँदैन, समाज बदलिंदैन, छाता संगठनहरू सदस्य संख्या बढाएर राजनीति गर्न, निजी स्वार्थ पूरा गर्न मात्रै लालायित हुँदैनन्, निगरानी निकायहरू आक्कलझुक्कल झुल्किने मात्रै काम गर्दैनन् न यो व्यवसायले मर्यादित अभ्यास गर्छ, न प्रतिष्ठा कमाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?