+

डाक्टरको सुझाव : आफैं सतर्क बन्नु नै डेंगुबाट बच्ने उपाय हो

२०७९ भदौ  ३१ गते १७:४६ २०७९ भदौ ३१ गते १७:४६
डाक्टरको सुझाव : आफैं सतर्क बन्नु नै डेंगुबाट बच्ने उपाय हो

काठमाडौं । डेंगु संक्रमणका कारण अस्पतालमा सर्वसाधारणको लामो लाइन छ । संक्रमणबाट बच्नका लागि अस्पताल पुग्नेहरु बढेका छन् । अस्पतालका बेड भरिंदै गएका छन् ।

डेंगुको संक्रमण भइसकेपछि अस्पताल जानुको विकल्प छैन । कारण यसको कुनै औषधि बनिसकेको छैन । तर संक्रमित भएर अस्पताल जानुभन्दा संक्रमण हुनै नदिन सर्वसाधारण सतर्क बन्नुपर्ने संक्रमण रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा. लुना भट्ट बताउँछिन् ।

‘डेंगुको कुनै औषधि नभएकाले अस्पताल गए पनि लक्षण हेरेर औषधि दिने हो । दिएका औषधिले लक्षण कम गर्ने भए पनि भाइरस नै भने मार्दैन,’ उनी भन्छिन्, ‘अस्पताल गए पनि भाइरसको कुनै उपचार हुँदैन ।  डेंगु भएर अस्पताल जानुभन्दा आफ्नो स्वास्थ्यलाई लिएर सर्वसाधारण सचेत हुन जरुरी छ ।’

के हो डेंगु ?

एडिस जातिका (एजिप्टाई र अल्बोपिक्टस) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये डेंगु एक हो । डेंगु संक्रमण भएको सुरुवाती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, मांसपेशी दुख्ने र आलस्यता आउने हुन्छ । डा. भुट्टका अनुसार यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारको हुन्छ ।

डेंगु सार्ने लामखुट्टे रातिभन्दा दिनमा बढी सक्रिय हुन्छ । डा. भट्टका अनुसार सामान्यतया डेंगु सार्ने लामखुट्टे एक सय मिटर वरपरसम्म उड्न सक्छ । जसले संक्रमण फैलाउने खतरा रहन्छ । डेंगु एक मान्छेबाट अर्को मान्छेमा सिधै सर्नै नभई लामखुट्टेका माध्यमबाट सर्छ । संक्रमण सार्ने माध्यम भनेको लामखुट्टे हो ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा यो घातक हुन्छ । संक्रमण जटिल बन्दै गएपछि यसले शरीरको रगत जम्ने (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । जसले गर्दा शरीरबाट रक्तश्राव हुन जान्छ ।

डेंगु सार्ने लामखुट्टे रातिभन्दा दिनमा बढी सक्रिय हुन्छ । डा. भट्टका अनुसार सामान्यतया डेंगु सार्ने लामखुट्टे एक सय मिटर वरपरसम्म उड्न सक्छ । जसले संक्रमण फैलाउने खतरा रहन्छ । डेंगु एक मान्छेबाट अर्को मान्छेमा सिधै सर्नै नभई लामखुट्टेका माध्यमबाट सर्छ । संक्रमण सार्ने माध्यम भनेको लामखुट्टे हो ।

सरुवारोग विशेषज्ञ डा. लुना भट्ट

‘डेंगु विरुद्धको खास उपचार र खोप नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यसबाट पार पाउनु हो । डेंगुबाट बच्न आफैं सतर्क हुन आवश्यक छ । आफू सतर्क भए न दुःख पाइन्छ, न त अस्पताल नै बस्नुपर्छ,’ डा. भट्ट भन्छिन् ।

डेंगु संक्रमण भएमा सामान्य ज्वरो, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारको लक्षण देखिन्छ । सामान्य ज्वरो आएमा यो आफैं निको हुन्छ । यसमा जोखिम कम हुन्छ । तर हेमोरेजिक र साक सिन्ड्रोम भएको छ भने जोखिम निकै बढी हुन्छ । यस्तो बेला समयमा उपचार र स्वास्थ्यको हेरचाह नभए ज्यान समेत जान सक्ने सम्भावना रहन्छ । डेंगुको ज्वरो सामान्यतया ४ देखि ७ दिनसम्म आउँछ ।

डेंगुका लक्षण

डेंगुको प्रमुख लक्षण भनेको अचानक उच्च ज्वरो आउनु हो । डेंगु संक्रमितलाई १०४ डिग्रीसम्म ज्वरो आउनसक्छ ।

अन्य लक्षण :

-असाध्यै टाउको दुख्ने

-आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने

-ढाड, जोर्नी तथा मांसपेशी दुख्ने

-वाकवाकी लाग्ने

-पेट दुख्ने

-शरीरमा बिमिरा आउने

-नाक, गिजाबाट रगत बग्ने

-रक्तश्राव हुने वा रगत जमेका दाग देखिने

-बेहोस हुने

-खोकी लाग्ने

-पखाला लाग्ने

कसरी थाहा पाउने ?

तीन दिनदेखि लगातार १० दिनसम्म ज्वरो आए डेंगु भएको बुझ्नुपर्छ । तर कहिलेकाहीं एकै दिन देखिएको ज्वरोका कारण पनि डेंगु भएको हुनसक्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०४ डिग्रीसम्म हुन्छ ।

असाध्यै ज्वरो आउने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, शरीरका जोर्नी दुख्ने जस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

डेंगुबाट कसरी बच्ने ?

डा. लुनाका अनुसार डेंगुको संक्रमणबाट बच्ने एक मात्रै उपाय भनेको आफ्नो घर वरिपरि सफासुग्घर राखेर लामखुट्टेको टोकाइबाट बच्नु हो ।

-लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घर बाहिर जाँदा मास्कको प्रयोग गर्ने

-घर वरपर भएका प्लास्टिक, सिसा, खपटा टायर, गमला तथा कुनाकाप्चा र झाडी भए सरसफाइ गर्ने

-घर आँगनमा भएका खाल्डाखुल्डी पुर्ने

-भाँडाकुँडा राम्ररी धुने र घोप्ट्याएर राख्ने

-खानेपानीका भाँडाकुँडा तथा ट्याङ्की बेलाबेलामा सफा गरिरहने

-सुत्दा झुलको प्रयोग गर्ने

-घरको झ्याल ढोकामा जाली लगाउने

-लामखुट्टे भगाउने मल्हम दल्ने

पहिला तराई तथा गर्मी हुने स्थानमा डेंगुको संक्रमण बढी देखिने गरेको भए पनि अहिले काठमाडौं जस्ता चिसो स्थानमा पनि डेंगु संक्रमण बढ्दै जानुमा जलवायु परिवर्तन,  अव्यवस्थित फोहोरमैला र बढ्दो सहरीकरण रहेको भाइरोलोजिस्ट डा. भट्ट बताउँछिन् ।

‘डेंगु हरेक वर्ष महामारीका रुपमा देखिंदै आएको छ । तर सरकार र सम्बन्धित निकायले यसको नियन्त्रण तथा रोकथामका लागि कुनै ठोस पहल गर्न सकेको देखिंदैन । डेंगु सार्ने लामखुट्टे मार्ने र त्यसबाट बच्ने निकै सामान्य कुरा हो । तर राज्य संयन्त्र यसैमा चुकिरहेको छ’ उनी भन्छिन् ।

सरकार तथा सम्बन्धित निकायले बेलाबेला लामखुट्टेको बासस्थान, लार्भा र अण्डा भएको स्थानमा केमिकल लिक्विड छर्किने, सर्वसाधारणमा डेंगुबारे जनचेतना जगाउने तथा फोहोर व्यवस्थापन गरे डेंगुबाट बच्न सकिने उनको सुझाव छ ।

लगातारको वर्षा पनि डेंगु फैलिनुको एक कारण भएको डा. भट्ट बताउँछिन् । लगातार परिरहेको वर्षाले पानी जम्मा हुँदा लामखुट्टेलाई अण्डा पार्न र लार्भा हुर्काउन सहज हुन्छ र लामखुट्टेको संख्या बढ्दै जाँदा संक्रमित बनाउने सम्भावना अधिक रहन्छ ।

डा. भट्ट भन्छिन्, ‘आफ्नो स्वास्थ्यलाई लिएर न सर्वसाधारण सचेत छन्, न त सरकारले नै ध्यान दिन सकेको छ । सबै मिलेर डेंगु संक्रमणलाई नियन्त्रण गर्नुको विकल्प छैन ।’

जनस्वास्थ्य डेंगु
लेखक
अंगद सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?