+

आयुर्वेदिक विधिले पायल्स च्वाट्टै निको हुन्छ ?

२०७९ असोज  ४ गते १६:४४ २०७९ असोज ४ गते १६:४४
आयुर्वेदिक विधिले पायल्स च्वाट्टै निको हुन्छ ?

काठमाडौं । पछिल्लो समय पायल्सको समस्याले धेरैलाई हैरान बनाएको छ । दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मासु बाहिर निस्कने भएमा त्यो पायल्सको लक्षण हुन सक्छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर पायल्सबाट छुटकारा पाउन सकिन्छ, तर ढिलो भएर जटिल अवस्थामा पुग्यो भने उपचार गर्न गाह्रो छ ।

पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् । तर यी उपचार पद्धतिमध्ये कुन बढी प्रभावकारी हुन्छ भन्ने प्रश्न भने धेरैको मनमा उब्जिरहेको हुन्छ ।

प्राकृतिक र एलोपेथिक दुवै तरिकाले पायल्सको उपचार प्रभावकारी हुन्छ । तर पछिल्लो समय भने आयुर्वेदिक उपचारले पायल्स निको हुने प्रचारप्रसार निकै भइरहेको देखिन्छ । आयुर्वेदमा समस्याको कारण पत्ता लगाएर त्यसलाई जरैदेखि निर्मूल पारिने आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारी दाबी गर्छन् ।

‘आयुर्वेदिक विधिबाट राम्ररी उपचार हुन्छ, तर उपचार गर्दा मान्यता प्राप्त चिकित्सक तथा अस्पतालबाट गराउनुपर्छ । आयुर्वेदिक औषधि पसलमा गएर पायल्सको औषधि दिनु न भनेर मागेर आफूखुसी औषधि सेवन गर्दा भने राम्ररी उपचार नहुन सक्छ,’ उनी भन्छन् ।

आयुर्वेदिक विधिबाट पायल्सको उपचार

आयुर्वेदिक विधिमा दुई तरिकाबाट पायल्सको उपचार हुन्छ । पायल्सको चारवटा चरण हुने डा. भण्डारी बताउँछन् । दिसामा रगत आयो भने त्यो पायल्सको सुरुवाती चरण हो । दोस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैंभित्र पस्दैन थिचेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो चरणमा भने मलद्वारबाट पायल्स भित्र नै नपस्ने बाहिर नै निस्किरहने हुन्छ ।

पहिलो र दोस्रो चरण छ भने आयुर्वेदिक औषधि सेवनबाट नै यसको उपचार हुन्छ । तर तेस्रो र चौथो चरण छ भने शल्यक्रिया नै गर्नुपर्ने डा. भण्डारी बताउँछन् । ‘धेरैले आयुर्वेदमा बिना शल्यक्रिया पायल्सको उपचार भनिरहेका हुन्छन् । तर त्यो गलत हो यसमा क्षार सूत्र विधिबाट उपचार हुन्छ र क्षार सूत्र विधि पनि एउटा शल्यक्रिया नै हो ।’

पायल्सको पहिलो तथा दोस्रो चरण हो भने आयुर्वेदिक औषधिबाट नै पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने शल्यक्रिया नै गर्नुपर्ने उनले बताए । तर सबै अवस्थामा आयुर्वेदिक पद्धतिबाट निको पार्न सकिने डा. भण्डारीको दाबी छ । आयुर्वेदिक विधिबाट उपचार गर्दा औषधि सेवन गरेकालाई निको हुन एक महिनासम्म लाग्छ भने शल्यक्रिया गर्दा १५ दिनभित्रमा नै पूर्ण रूपमा निको हुने उनी बताउँछन् ।

‘क्षार सूत्र’ शब्द ‘क्षार’ र ‘सूत्र’ मिलेर बनेको छ, जसमा क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षार सूत्र भनिने भण्डारी बताउँछन् । ‘यसले नरम किसिमको मासुलाई काट्ने गर्छ । यही धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षार सूत्र विधि भनिन्छ ।’

‘जुनसुकै विधिबाट उपचार गर्दा पनि केही साइड इफेक्ट त देखिन सक्छ । त्यो कुरालाई नकार्न सकिंदैन । तर अहिलेसम्म क्षार सूत्र विधिबाट उपचार गराइरहँदा त्यसको साइड इफेक्ट देखिएको भने छैन,’ उनी भन्छन्, ‘पछिल्लो समय त झन् विश्व स्वास्थ्य संगठनले पनि पायल्सको लागि क्षार सूत्र विधि प्रभावकारी छ भनेको छ ।’

पायल्स निको भइसकेकाले ध्यान दिनुपर्ने कुरा

लामो समयको कब्जियतले पायल्स बढाउँछ । तसर्थ कब्जियत हुन नदिनु, पेट सधैं सफा राख्नु नै पायल्स हुन नदिने उपाय हो । त्यसैले पायल्स निको भइसकेपछि पनि नदोहोरियोस् भनेर कब्जियत हुन नदिन विशेष ध्यान दिनुपर्छ ।

हाम्रो खाना त्यस्तो हुनुपर्छ जसले पेट सफा राखोस्, कब्जियत नरहोस् र दिसा गर्दा बल गर्नु नपरोस् । त्यसका लागि कब्जियत गराउने खाना बन्द गरी कब्जियत नहुने रेसा, छोक्रा बोक्रा प्रशस्त भएका चोकरसहितका प्राकृतिक रूपमै उच्च फाइबरयुक्त सुपाच्य खाना खानुपर्ने उनी सुझाउँछन् । ‘पायल्सको समस्या भएका व्यक्तिले दैनिक शरीरका जोर्नी सञ्चालन हुने व्यायाम गर्नुपर्छ । दैनिक हिंडडुल गर्ने तथा योग व्यायाम पनि गर्नुपर्छ ।’

भण्डारी भन्छन्, ‘पायल्सको बिरामीले मैदाले बनेका खानेकुरा, चिल्लो, पिरो, गरम मसला, माछा मासु, अदुवा, पुरानो अचार, रेडिमेड खानेकुरा, अनार, अम्बा जस्ता कब्जियत गराउने खानेकुरा र चुरोट, रक्सी खानै हुँदैन ।’

पायल्स हुनै नदिन के गर्ने ?

-बढी मात्रामा फाइबरयुक्त खानेकुरा खाने

-पानी प्रशस्त मात्रामा पिउने

-गाँजर, मूलाजस्ता सलाद प्रशस्त खाने

-माछा मासु कम खाने

-मद्यपान र धुम्रपान नगर्ने

-मैदाजन्य खानेकुरा कम खाने

-अदुवा, लसुन, मरिच लगायत मसला कम खाने

-दैनिक शारीरिक व्यायाम, योग गर्ने ।

आयुर्वेदिक उपचार पायल्स
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय