+

दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

२०७९ असोज  ६ गते १४:५३ २०७९ असोज ६ गते १४:५३
दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

काठमाडौं । जब दुई फरक पृष्ठभूमिमा, फरक परिवार र परिवेशमा जन्मे-हुर्केका महिला पुरुष विवाह बन्धनमा बाँधिन्छन्, उनीहरू दम्पतीमा रूपान्तरण हुन्छन् । महिला र पुरुष जब एक हुन्छन्, उनीहरू दम्पतीको रूपमा रहन्छन् । र, यी दुईले आफ्नो बेग्लै पारिवारिक संसारको रचना गर्छन् ।

भनिन्छ, दम्पती भनेका एउटै रथका दुई पाङ्ग्रा हुन् । अर्थात् एकअर्काको परिपूरक । यस्तो अवस्थामा दुवैलाई अलग-अलग रूपमा हेरिंदैन, एकै स्वरूपमा हेरिन्छ । अतः श्रीमान् र श्रीमतीबीच कुनै दूरी हुँदैन भनिन्छ । उनीहरू एकै हुन्, उनीहरूबीच कुनै पर्खाल छैन । यसर्थ एकअर्कासँग जति धेरै पारदर्शी भयो, उत्ति नै उनीहरूको सम्बन्ध बलियो र प्रेम प्रगाढ हुन्छ भनिन्छ । त्यसैले दम्पतीले एकअर्कासँग सबै कुरा साझेदार गर्छन्, ताकि उनीहरूबीच कुनै गोपनीयता नहोस् ।

तर यसलाई अर्को पाटोबाट हेर्नेहरू पनि छन् । श्रीमान् र श्रीमतीले सबै कुरा एकअर्कामा खुलस्त गर्नुपर्छ भन्ने छैन । दुवै अलग अस्तित्व हुन् र दुवैले एकअर्कालाई त्यही रूपमा स्वीकार्नुपर्छ । अतः हरेक मान्छेसँग आफ्नो नितान्त व्यक्तिगत कुरा हुन्छ, जो अरूलाई भनिरहनु पर्दैन । चाहे त्यो बालबच्चा होस् वा आमाबुवा वा त श्रीमान् वा श्रीमती नै ।

के भन्छन् पारिवारिक परामर्शदाता ?

एकअर्काका परिपूरक भए पनि दम्पतीबीच आ–आफ्नो अलग जीवन हुन्छ । उनीहरुले एकअर्काको अलग अस्तित्वलाई स्वीकार्नुपर्छ । किनभने जीवन बाँच्ने भनेको आफ्नो मर्जीको कुरा हो । यस्तो अवस्थामा उनीहरुसँग कतिपय नितान्त व्यक्तिगत कुरा हुन्छन्, जो दोस्रो व्यक्तिलाई खुलाइरहन जरुरी हुँदैन । क्लिकिल मनोविद् तथा पारिवारिक परामर्शदाता तृष्णा विष्ट यसै भन्छिन् ।

जस्तो श्रीमतीलाई आफ्ना माइतीको आर्थिक, पारिवारिक सबै कुरा थाहा हुनसक्छ । तर यस्तो कुरा श्रीमानको सामुन्ने खुलाउन जरुरी नहुने मात्र होइन, उचित पनि छैन । श्रीमानले पनि यस्ता कतिपय कुराहरु श्रीमतीलाई सुनाइरहन आवश्यक हुन्न ।

‘कुनै महिलाले विवाहपछि पनि माइतीमा आर्थिक सहयोग गरिरहेकी छन् । तर उनको श्रीमान् तथा परिवारका सदस्यलाई त्यो कुरा मन पर्दैन भने त्यो कुरालाई गोप्य राख्नु नै उचित हुन्छ,’ विष्ट बताउँछिन् ।

यसैगरी श्रीमानले  व्यापार, उद्यम, रोजगारका कतिपय योजना बनाइरहेका हुन्छन् । यस्तो कुरा श्रीमतीलाई सुनाइरहनुपर्छ भन्ने छैन । यसैगरी कार्यालयका कुरा साथीहरुसँग भएका कुराहरु पनि श्रीमतीसँग साझेदार गर्नैपर्छ भन्ने छैन । विष्ट भन्छिन्, ‘साझेदार गर्नु आवश्यक कुरा के हुन् र के होइनन् भनेर छुट्याउन सक्नुपर्छ । त्यही अनुसार कति कुरामा गोपनीयता अपनाउन जरुरी हुन्छ भने कतिपय कुरामा खुलस्त हुनुपर्छ । यसले उनीहरुको सम्बन्धलाई थप परिपक्व बनाउँछ ।’

श्रीमान र श्रीमतीको सम्बन्ध पारदर्शी हुनुपर्छ, काम–व्यवहार सबै पारदर्शी हुनुपर्छ । तर यसो भन्दैमा उनीहरुले आफूसँग भएका यस्ता कुराहरु साझेदार गरिरहनु आवश्यक हुँदैन, जसले दाम्पत्य सम्बन्धलाई प्रगाढ बनाउने होइन, बरु फाटो ल्याउने काम गर्छ ।

जस्तो कि, श्रीमान् वा श्रीमतीसँग आफ्नो विगतका फरक कथा हुन सक्छन् । उनीहरुका सम्बन्धका कुराहरु फरक हुन सक्छन् । प्रेम सम्बन्धका कुरा होस् वा अन्य व्यावहारिक जीवनका कुरा । यस्ता कुराहरु आपसमा साझेदार गर्दा त्यसले दुवैबीच मनमुटावको स्थिति ल्याउन सक्छ ।

क्लिनिकल मनोविद् तथा पारिवारिक परामर्शदाता तृष्णा बिष्ट भन्छिन्, ‘मैले धेरै दम्पतीलाई परामर्श गर्ने क्रममा के पाएकी छु भने कतिपय यस्ता कुरा हुन्छन्, जसमा गोपनीयता अपनाइएन भने त्यसले पारिवारिक सम्बन्धलाई बिथोल्छ ।’

के कुरा पारदर्शी हुनुपर्छ ?

दाम्पत्य जीवनका बाँधिएपछि उनीहरुलाई आफ्नो सम्बन्ध कति सहज लागिरहेको छ ? श्रीमान वा श्रीमतीको के कस्ता व्यवहार उचित लागेको छैन ? घरपरिवारका के कस्ता कुरामा चित्त बुझाउन गाह्रो भइरहेको छ ? यी विषयमा दम्पतीले खुलेरै संवाद गर्नुपर्छ । आफूलाई असहज बनाएर सबै कुरा मिलाउन सकिन्छ भन्ने हुँदैन ।

पारिवारिक जीवनमा झन्झट र समस्या आउनु स्वभाविक हो । यद्यपि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । यसका लागि दुवैले एकअर्काको कुरा लुकाउने भन्दा पनि एकअर्काको कुरा साझेदार गरेर त्यसको समाधान खोज्नु राम्रो हुने बताइन्छ ।

आफ्नो रुचिको कुरा, सपनाको कुरा, आकांक्षाको कुरा, खानपान वा लुगाफाटोको कुरा, पारिवारिक सम्बन्धका कुरा, यौन सुखको कुरामा दम्पतीले कुनै कुरा गोप्य राख्नु हुँदैन । यी कुराहरु एकअर्कालाई थाहा हुनुपर्छ ।

यस्ता कुरामा गोपनीयता अपनाउँदा आपसमा भ्रम, द्विविधा, असमझदारी बढ्ने जोखिम हुन्छ । त्यसैले दम्पतीबीच यस्ता थुप्रै कुरामा पारदर्शिता अपनाउनु जरुरी छ, जसले उनीहरुमा विश्वास र भरोसा बढ्न सक्छ ।

जीवन जिउने क्रममा सधैं होसियारी अपनाइन्छ, सधैं राम्रो मात्र हुन्छ भन्ने हुन्न । कहिलेकाहीं जानेर वा नजानेर गल्ती भएको हुनसक्छ । आफूले गरेको गल्ती ढाकछोप गर्ने भन्दा पनि त्यसलाई स्वीकारेको र खुलाएकै जाति हुन्छ ।

‘पार्टनर रिसाउलान्, चित्त दुखाउलान् भनेर कुरा लुकाउँदा त्यसले आफ्नो आत्मविश्वास कमजोर बनाइदिन्छ,’ पारिवारिक परामर्शदाता विष्ट भन्छिन्, ‘यसले शंका र अविश्वासको ठाउँ बनाइदिन्छ ।’

गोपनीयता दम्पती
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?