+
+

लाल मोहम्मद प्रकरणले देखाएको सुरक्षा कमजोरी

पूर्वजानकारी हुँदाहुँदै पनि प्रहरीले किन बचाउन सकेन मोहम्मदलाई ?

विवादित पृष्ठभूमिका कारण लाल मोहम्मद विशेष ब्यूरोको नियमित निगरानीमा हुनुपर्ने व्यक्ति हुन् । तर उनी स्वयम्ले आफूलाई कसैले पछ्याइरहेको भन्दै काठमाडौं प्रहरीमा लिखित निवेदन दिँदा पनि मोहम्मद जोगिएनन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज ११ गते २१:२६
लाल मोहम्मदको हत्या पछि अनुसन्धान गर्दै प्रहरी ।

११ असोज, काठमाडौं । सर्लाहीका लाल मोहम्मदले २५ भदौमा गोठाटारस्थित डेरा नजिकै रहेको जम्बुडाँडा प्रहरी बिटमा आफू असुरक्षित भएको बताउँदै लिखित निवेदन दिए । जम्बुडाँडा बिटका एक प्रहरीका अनुसार निवेदनमा मोहम्मदले ‘आफूलाई कसैले निरन्तर पछ्याउने’ गरेको उल्लेख गरेका थिए ।

जम्मुडाँडा बिटले त्यही दिन मोहम्मदको निवेदनबारे प्रहरी वृत्त, बौद्धलाई जानकारी गरायो । अर्को दिन बौद्ध प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतसहित सादा पोशाकमा खटिने टोलीले उनीसँग सोधपुछ गर्‍यो । सोधपुछमा संलग्न एक प्रहरीको दाबी अनुसार उनले कोबाट सुरक्षा चुनौती छ भनेर किटान गरेनन् । गार्मेन्टको काम गर्दा समस्या भएको मात्र बताए ।

यसको १० दिनपछि मोहम्मदमाथि पेशेवर अपराधीले त्यही घर अगाडि गोली दागे, जहाँ बौद्ध प्रहरीका अधिकृतहरुले उनीसँग सोधपुछ गरेका थिए । कारबाट ओर्लिने वित्तिकै दुईजनले उनलाई लखेटीलखेटी चार गोली हानेर हत्या गरे ।

अनुसन्धान अधिकृतहरुका अनुसार कम्तिमा १५ दिनको निगरानी पश्चात् ३ असोजको साँझ साढे ६ बजे उनीमाथि सुटरले गोली हानेको हुन् । घटनास्थलबाट सय मिटरको दूरिमा रहेको प्रहरी बिटले त्यतिञ्जेल यसबारे चालै पाएन । स्थानीयले प्रहरी कन्ट्रोल १०० मा फोन गरेपछि मात्रै प्रहरी घटनास्थलमा पुग्यो ।

अनुसन्धानका क्रममा मोहम्मदमाथि गोली प्रहार गर्ने समूहका नाइके नितिन मदन पनि दुई सय मिटरको दूरिमा रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा तीन दिनदेखि बसिरहेको पाइएको छ । उनीहरु नियमितजसो रेकी गर्न मोहम्मदको गार्मेन्टमा गएको पनि देखिएको छ ।

विशेष ब्यूरो पनि चुक्यो

लाल मोहम्मद प्रहरीसमक्ष सुरक्षा माग्दै जानुको पृष्ठभूमिमा एकदिन अघि उनीमाथि भएको आक्रमण प्रयासले भूमिका खेलेको थियो । मोहम्मदको पारिवारिक स्रोतका अनुसार उनलाई गोठाटार क्षेत्रमा दुईजनाले आक्रमणको प्रयास गरेका थिए । परिवारको भनाइमा यसबारे प्रहरीलाई पनि भनिएको थियो ।

पल्सर बाइकमा आएका व्यक्तिले उनलाई आक्रमण गर्ने प्रयास गरेपनि झरि र हिलोका कारण उनी पछारिएका थिए, आक्रमणकारी भागेर गए । नजिकै रहेको शंकरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार त्यसदिन मोहम्मद अस्पतालको आउट प्यासेन्ट वार्ड (ओपीडी) भर्ना भएका थिए ।

‘त्यसबेला उनको ढाडमा खोस्रिएको जस्तो चोट मात्र देखिएको थियो, दुर्घटना भएजस्तो देखिन्थ्यो’, उपचारमा संलग्न ड्यूटी डाक्टरले अनलाइनखबरसँग भनेका छन् । जानकारहरुका अनुसार यदी प्रहरी त्यसबेलै गम्भिर भएको भए आक्रमणबारे गहन अनुसन्धान गरेर संदिग्ध व्यक्ति फेला पार्नसक्थ्यो ।

तर मोहम्मद मारिएपछि मात्रै प्रहरीले बल्ल पुरानो आक्रमणबारे खोजी थालेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा बनाएको छानबिन समितिले त्यसबेला आक्रमण भएको भनिएको स्थान वरपरका पनि सोधपुछ गरेको छ । परिवारका सदस्यले त्यसबेला पनि मोहम्मदमाथि गोली हान्ने प्रयास भएको, तर जोगिएको बताएका छन् ।

छानविन समितिका एक सदस्य भन्छन्, ‘परिवारको भनाइप्रति पनि अनुसन्धान गर्‍यौं, गोली प्रहार भएको संकेत देखिएन यद्यपि आक्रमण चाहिँ भएको हुनसक्ने देखियो ।’ उनका अनुसार तत्कालै घाउ हेर्न पाएको भए गोलीको छर्राका कारण चोट लागेको हो कि भन्ने संकेत मिल्न सक्थ्यो । ढिला भएकाले त्यो पनि थाहा हुन सकेन । ‘आसपासका मान्छेले त्यो अवधिमा गोलीको आवाज पनि सुनेका छैनन्’, उनी थप्छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोरा नियमित पुलिसिङ गर्ने युनिटलाई कहिलेकाहीँ सुरक्षा माग्ने व्यक्तिको पृष्ठभूमि थाहा नहुने बताउँछन् । ‘मोहम्मदको पृष्ठभूमि थाहा थिएन, उनले पनि भनेनन्,’ बोहोरा भन्छन्, ‘विगतबारे थाहा भएको भए छुट्टै व्यवहार हुनसक्थ्यो ।’

पूर्वजानकारी हुँदा पनि मोहम्मदलाई बचाउन नसक्दा काठमाडौं प्रहरी त चुकेको छ नै, प्रतिआतंकवाद र अन्देशीय अपराध मामला हेर्ने विशेष ब्यूरो समेत यो प्रकरणमा असफल देखिएको छ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीको बुझाइमा नियमित पुलिसिङ गर्ने युनिटलाई व्यक्तिको पृष्ठभूमि थाहा नहुनु स्वभाविक हो ।

‘क्रिमिनल इन्टलिजेन्समा काम गर्ने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जस्ता युनिटले यस्ता व्यक्तिलाई निरन्तर आफ्नो नोटिसमा ल्याइराख्नुपर्ने हो,’ पूर्व डीआईजी अधिकारीले अनलाइनखबरसँग भने, ‘कुनै समस्या देखिए जो फिल्डमा छ, तत्काल सुरक्षा दिन भन्नुपर्ने हो ।’

मोहम्मद विगतमा नक्कली नोट कारोबारी बलराम पटुवार हत्याका मुख्य आरोपी थिए । जेलबाट छुटेको पनि धेरै भएको थिएन । उनको कनेक्सनमा इल्ताफ हुसेन अन्सारी जस्ता भारतीय जाली नोट कारोबारका नाइके थिए ।

अझ भारतीय खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र भारतको प्रतिआतंकवाद सेल (एटीएस) का अधिकारीहरुले प्रहरी अधिकारीहरुसँग मोहम्मदबारे निरन्तर चासो राखिरहेका थिए । यसबारे विशेष ब्यूरो जानकार भएर पनि मोहम्मद गम्भिर सुरक्षा चुनौतिमा रहेको चाल पाउन सकेन ।

नाम उल्लेख गर्न नचाहने विशेष ब्यूरोका एकजना पूर्वप्रमुख भन्छन्, ‘विशेष ब्यूरोमा पहिले यस्ता कुरा फलोअपका लागि टिम नै हुन्थ्यो, त्यसले निश्चित व्यक्तिका गतिविधिमाथि निरन्तर निगरानी र विश्लेषण गथ्र्यो ।’ तर लाल मोहम्मदको हकमा विशेष ब्यूरो चुकेको जस्तो देखिएको उनी बताउँछन् ।

हुन त विशेष ब्यूरो जस्तो विशिष्टकृत इकाइ हिजोआज कसरी भूमिकाभन्दा बाहिरको काममा सक्रिय भइरहेको छ भन्ने १९ साउन २०७९ मा भएको घटना देखाउँछ । ब्यूरोका अधिकृतहरुको जत्था नै पुगेर त्यसदिन नेपाल एयरलाइन्सको न्यारोबडी विमानमा ‘आतंकवादी’ रहेको भन्दै बोर्डिङ भइसकेको जहाज रोकिदिए ।

पछि पक्राउ परेका व्यक्ति धनगढीका सामान्य सुनचाँदी व्यवसायी मात्र भएको खुल्यो । कसूरमा चोरीको सुन खरिद गरेको भन्नुबाहेक अरु थिएन । विमानस्थल कार्यालयका अधिकारीहरुले पनि यसबारे सुरक्षा समिति बैठकमा असन्तुष्टि जनाएका छन् । उड्न लागेको विमान रोकेर पक्राउ गरिएका सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछाने अभद्र व्यवहारको कसूरमा १० हजार रुपैयाँ धरौटी बुझाएर एक सातामै छुटे ।

अर्को निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि बल्ल मोहम्मद हत्याको अनुसन्धानमा जुटेको छ । सीआईबीबाट एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) छानबिन समितिमा सदस्य छन् ।

श्रृंखलाबद्ध हत्याको अनुसन्धानमा सधैँ पछाडि

भारतविरुद्ध गतिविधि गरेको अभियोगमा लागेका नेपाली नागरिकको हत्या भएको यो पहिलो पटक होइन । काठमाडौंको सिफलमा ११ असार २०५५ मा सांसद् मिर्जा दिलसाद बेगको गोली हानी हत्या भएपछि १० जना नेपाली मारिएका छन् ।

२०६८ सालमा फैजान अहमद मारिँदा बनेको जाँचबुझ आयोगले योजना बनाउने निकाय, संस्था वा समूहले चाहे नेपालका कुनै पनि स्थानमा यस्ता घटना गराउन सक्ने परिस्थिति रहेको निष्कर्ष निकालेको थियो, अहिले नेपालको अवस्था उही हो

‘राज्य प्रायोजित’ यस्ता हत्या श्रृंखला लामो योजना, पूर्ण तयारी र अत्यन्त सावधानीका साथ अभ्यस्त र पेशेवर अपराधीमार्फत हुने गरेका देखिने जानकारहरु बताउँछन् । पटकपटक एउटै प्रवत्ति दोहोरिरहेकाले प्रहरी पनि यसप्रति अनविज्ञ नरहेको होइन ।

तर मिर्जादेखि लाल मोहम्मद प्रकरणसम्म आइपुग्दा पनि नेपाली अनुसन्धान अधिकृतहरु चाहिँ सधैँ पछाडि पर्ने गरेका छन् । एकाध घटनाबाहेक आरोपितहरु समातिएका छैनन् । मोहम्मद प्रकरणमा संसाँझै चोकमा क्लोज सर्किट (सीसी) क्यामराको आडमा भएको थियो । प्रहरीले तत्कालै फटेज पनि हात पारेको थियो ।

प्रहरीले सुटर फेला पार्न सकेन । प्रहरीले त्यसबेला सीमा नाकामा कडाइ गरेको बताएपनि आरोपी सहजै फुत्किए । छानबिन समितिका अधिकृतहरु नै आरोपी स्थलमार्गबाट वीरगञ्ज हुँदै भारत पुगिसकेको दाबी गर्छन् ।

जतिबेला हत्या भयो, त्यो दिन राति उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सीसी टिभी फुटेज देखिएको हुलिया अनुसार ‘रातो सर्ट’ र ‘निलो जिन्स’ लगाएको व्यक्ति खोज्न भन्दै निर्देशन जारी ग¥यो । अन्तरदेशीय अपराध मामलाका जानकारहरुका अनुसार पेशेवर अपराधीमार्फत हुने अपराधका आरोपी ‘काम सकिएपछि’ उही हुलियामा हिँड्दैनन् ।

विगतका कतिपय घटना हेर्ने हो भने यस्ता खाले अपराधमा संलग्नहरु हत्यालगत्तै यहीँको सेल्टरमा बस्ने गरेको देखिन्छ । माहोल मत्थर भएपछि मात्रै भारततिर जाने गरेको केही घटनाहरुमा देखिएका छन् ।

विगतका उस्तै खाले घटनामा आरोपीले प्रहरी अधिकृतहरुकै घरसमेत भाडामा लिएका पाइन्छ । सुरक्षा अधिकारीहरुकै घरमा शंका नहुने कुराको फाइदा उठाएर अपराधीहरुले प्रहरीको ‘नाकैमुनि’ गम्भिर अपराधलाई फत्ते गराएका उदाहरणहरु पनि छन् ।

सुरक्षा प्रणालीलाई चुनौती

मुलुकको राजधानी जस्तो संवेदनशील स्थानमा उज्यालैमा भारतीय मुलका पेशेवर अपराधीले व्यक्ति हत्या गरेर सजिलै उम्किन सक्नु उपत्यकाको सुरक्षामा देखिएको त्रुटि हो ।

विगतमा यस्ता घटनामा हुने वित्तिकै सुरक्षा व्यवस्थापनमाथि प्रश्न गर्दै काठमाडौं प्रहरीका प्रमुखहरुलाई जिम्मेवारीबाट हटाइएको इतिहास छ । अर्थात्, हरेक पटक प्रहरी नेतृत्वले सुरक्षा व्यवस्थापनमा कमजोरी भएको स्वीकार्ने गरेको छ । तर सुधार्न कहिल्यै चासो दिएको देखिँदैन ।

केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वनिर्देशक पुष्कर कार्की भन्छन्, ‘सधैँ सुरक्षा कमजोरी मात्र देखाइयो, तर यस्ताखाले अपराधलाई सामना गर्न आवश्यक जनशक्ति विकास र स्रोतसाधनले सम्पन्न बनाउने कुरामा कहिल्यै सरकारको ध्यान गएन ।’

मिर्जादेखि केन्द्रीय कारागारमा गोली हानिएका युनुस अन्सारीको प्रतिवेदनसम्ममा यस्ता हत्या श्रृंखलाको पृष्ठभूमि भारतीय गुप्तचरी निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र पाकिस्तानी गुप्तचरी निकाय इन्टरसर्भिस इन्टलिजेन्स (आईएसआई) सँग जोडिएको विश्लेषण गरिएको छ ।

हरेक पटक भारतविरोधी गतिविधि गरेको अभियोग लागेका व्यक्तिहरु मारिने वित्तिकै दिल्लीका सञ्चारमाध्यमले मृतकलाई आईएसआई र अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडेर प्रस्तुत गर्नुले पनि यसको धेरथोर संकेत दिन्छ ।

अन्तरदेशीय अपराध अनुसन्धानमा लामो समय काम गरेका पूर्वप्रहरी निरीक्षक दीपेन्द्र अधिकारी भन्छन्, ‘यो सिंगो राज्य संयन्त्रको असफलता हो, निरन्तर एउटै प्रवृत्ति दोहोरिरहेको छ भने उच्चस्तरमा कुरा गरेर समाधान निकाल्ने प्रयास गर्नुपर्ने हो ।’

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको बुझाइमा पनि मिर्जादेखि मोहम्मद हत्या प्रकरण दोहोरिन नदिन राजनीतिक र प्रहरी दुवैको उच्च तहमा छलफल गरेर उनीहरुको मुलुकविरुद्ध गतिविधि हुन नदिनेमा विश्वस्त तुल्याउनुपर्ने हो ।

तर सरकारी अधिकारीहरु घटनालगत्तै छानबिन समिति बनाउने र प्रतिवेदन बुझेपछि दराजमा थन्क्याएर बस्ने गरेका छन् । जसका कारण यस्ता खाले अपराध भविष्यका दिनमा पनि नदोहोरिएलान् भन्न सकिन्न ।

परिस्थिति कस्तो छ भन्ने त इस्लामिक संघ नेपालका महासचिव फैजान अहमद हत्या सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोग, २०६८ को प्रतिवेदनमा नै उल्लेख छ, ‘… योजना बनाउने निकाय, संस्था वा समूहले चाहे नेपालका कुनै पनि स्थानमा यस्ता घटना घटाउन सक्ने देखिन्छ, यो मुलुकको सुरक्षा प्रणालीलाई गम्भीर चुनौतीसमेत दिइएको अवस्था हो ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?