+
+

त्रिवेणी स्पिनिङ मिल झडप : म्याद गुज्रिएको अश्रुग्यासका कारण १० प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:३६

४ कात्तिक, वीरगञ्ज । बाराको त्रिवेणी स्पिनिङ मिल्समा बिहीबार प्रहरी र मजदुरबीच झडप हुँदा प्रहरी नायब उपरीक्षकसहित १० जना जना घाइते भए ।

व्यवस्थापनविरुद्ध आन्दोलनमा उत्रिएका मजदुरलाई नियन्त्रण गर्न खटिएको प्रहरी आफैंले ठूलो क्षति भोग्नुपर्‍यो ।

झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइ फायर गर्नुको साथै ३४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । तर अश्रुग्यासले काम नै नगरेका कारण प्रहरीतर्फ धेरैजना घाइते भएका एक प्रहरी अधिकारीले बताए ।

‘बन्धक बनाइएका व्यवस्थापन पक्षका मानिसलाई उद्दार गर्ने क्रममा आन्दोलनरत मजदुरहरु लाठी, भाटा, ढुङ्गामुढा गर्दै प्रहरीमाथि आइलागे । स्थिति तनावग्रस्त बनेपछि माथिबाट अश्रु ग्यास प्रहार गर्ने आदेश भयो’ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘तर टियर ग्यास (अश्रुग्यास) हान्दा पड्किदै पड्किएन, ढुस्स ढुस्स मात्रै भयो । नपड्किएपछि मजदुरलाई खासै असर गरेन ।’

अश्रुग्यास म्याद गुज्रिएको हुनाले काम नगरेको उनको भनाइ छ । ‘टियर ग्याँस २०४२ सालमै बनेको रहेछ, त्यसैले काम नगरेको हुन सक्छ’ उनले भने, ‘टियर ग्यासले काम नगरेकै कारण मजदुर तितरबितर बनाउन सकिएन, १० जना प्रहरीलाई घाइते बनाए ।’

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अश्रुग्यासको म्याद गुज्रिएको जानकारी आफूले पनि पाएको भन्दै नयाँ माग गर्न निर्देशन दिएको बताए ।

‘सन् २०१२/१३ तिरै डेट एक्सपायर भएको रहेछ । ०२२ सम्म प्रयोग गरिरहेका छौं । अनि के काम लाथ्यो र ?’ उनले भने, ‘प्रहरी प्रधान कार्यालयमा जानकारी गराएर नयाँ मगाउन भनेका छौं ।’

दशैं तिहारको बोनस दिनुपर्ने माग राखेर त्रिवेणी स्पिनिङ उद्योगका मजदुर बुधबारदेखि आन्दोलित थिए । बुधबार रातिसम्म व्यवस्थापन पक्षसँग भएको वार्ता निष्कर्षविहीन भएको थियो ।

त्यसपछि मजदुरहरुले महाप्रबन्धकको कोठामा उद्योगका प्रमुख कार्यकारी अधिकृत अशोक शर्मासहित व्यवस्थापनतर्फका ५ जना र ८ जना कर्मचारीसहित १३ जनालाई थुनेर राखेका थिए । उनीहरुलाई उद्दार गर्ने क्रममा प्रहरी र मजदुरबीच झडप भएको थियो ।

मजदुर पक्षले भने उद्योग प्रशासनको बहकाउमा प्रहरीले मजदुरमाथि दमन गरेको बताएका छन् । प्रहरीले बन्धक बनाउने काममा संलग्नको आरोपमा ७ जना मजदुरलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?