+
+

किन बन्न सकेन डेङ्गुविरुद्धको खोप ?

सामान्यतः एकपटक सङ्क्रमण भएपछि उही प्रकारले सङ्क्रमण गर्ने सम्भावना कम हुन्छ। तर एक प्रकारको डेङ्गु भाइरसले संक्रमित व्यक्ति अर्को प्रकारको डेङ्गु भाइरसले पुनः संक्रमित हुन सक्छ। हालसम्मको अनुसन्धानले के देखाएको छ भने एकप्रकारको डेङ्गु विरुद्ध मात्रै काम गर्ने खोपले अर्को प्रकार विरुद्ध काम गर्दैन।

डा. सुदीप खड्का डा. सुदीप खड्का
२०७९ कात्तिक ६ गते १५:५२

सबै भाइरस उही हुँदैनन्। डेङ्गु भाइरस नियन्त्रण विधि वा उपचार विधिका आफ्नै जटिलता छन्। यसका चार फरक प्रकार (सेरोटाइप) छन्। यो भाइरस सोझै मान्छेबाट मान्छेमा सर्दैन। एइडिस प्रजातिको लामखुट्टेको टोकाइबाट यो सर्ने गर्दछ। संक्रमित व्यक्तिलाई टोकेपछि सो लामखुट्टे आफैं संक्रमित हुन्छ। त्यसरी संक्रमित लामखुट्टेको टोकाइबाट फेरि नयाँ मान्छेमा सर्ने हुँदा यसको नियन्त्रण दुवै पक्षबाट गर्न जरुरी हुन्छ। यसरी मान्छे वा लामखुट्टे दुवैमा रहिरहन सक्ने हुँदा कुनै पनि क्षेत्रमा यो भाइरस तुलनात्मक रूपमा लामो समयसम्म रहिरहन सक्छ। त्यसैले डेङ्गु नियन्त्रणमा संक्रमित व्यक्तिको उपचार र लामखुट्टे नियन्त्रण दुवै पक्षलाई सम्बोधन गर्नुपर्ने हुन्छ।

नेपालमा विगत एक दशकदेखि मात्र देखिन र हालैका वर्षमा मात्र महामारीको रूपमा फैलिन थालेको भए पनि यो भाइरस नयाँ भने होइन। थुप्रै राष्ट्रहरूमा यसअघि नै डेङ्गुले आफ्नो उपस्थिति देखाइसकेको छ। यसको भौगोलिक विस्तार पनि बर्सेनि बढ्दो छ। त्यसैले पनि डेङ्गु विरुद्ध खोप र औषधिको विकासमा थुप्रै कार्य भएका छन्।

सामान्यतः एकपटक सङ्क्रमण भएपछि उही प्रकारले सङ्क्रमण गर्ने सम्भावना कम हुन्छ। तर एक प्रकारको डेङ्गु भाइरसले संक्रमित व्यक्ति अर्को प्रकारको डेङ्गु भाइरसले पुनः संक्रमित हुन सक्छ। हालसम्मको अनुसन्धानले के देखाएको छ भने एकप्रकारको डेङ्गु विरुद्ध मात्रै काम गर्ने खोपले अर्को प्रकार विरुद्ध काम गर्दैन। तसर्थ कुनै पनि खोप चारै प्रकारका सेरोटाइप विरुद्ध काम गर्ने बनाउन अपरिहार्य छ।

एक प्रकारको डेङ्गु विरुद्ध खोप लगाएका व्यक्ति सो प्रकारको डेङ्गुबाट त सुरक्षित हुन्छन् तर अन्य प्रकारको डेङ्गु संक्रमणमा झन् जोखिममा हुन्छन्। त्यसैले कुनै पनि डेङ्गु विरुद्धको खोप एकैपटक चारै प्रकार विरुद्ध किफायती हुन जरुरी छ।

डेङ्गुको खोप निर्माणमा सबैभन्दा अप्ठेरो पार्ने मूल कुरा यहाँ छ। सामान्यतः कुनै पनि भाइरसको संक्रमणपश्चात् अथवा कुनै खोप लगाएपछि सो भाइरस विरुद्ध हाम्रो शरीरले एन्टीबडी बनाउँछ। यही एन्टीबडीले भविष्यमा सो भाइरस विरुद्ध लड्ने काम गर्दछ र संक्रमण हुनबाट जोगाउँछ। एक प्रकारको डेङ्गु विरुद्ध बनेका एन्टीबडी त्यही प्रकारको डेङ्गुको संक्रमण रोक्न पर्याप्त हुन्छन्। तर ती एन्टीबडीले अर्को प्रकारको डेङ्गुलाई भने निस्तेज पार्दैनन्। उल्टो एक प्रकारको डेङ्गु विरुद्ध बनेका एन्टीबडीले अर्को प्रकारको डेङ्गु सङ्क्रमण भएमा सो भाइरसलाई फैलिन मद्दत गर्दछन्। यसलाई एन्टीबडी डिपेन्डेन्ट इन्ह्यान्समेन्ट (एडीई) भनिन्छ।

यही कारण पहिले नै डेङ्गु विरुद्ध एन्टीबडी भएका व्यक्तिलाई अन्य प्रकारको डेङ्गु संक्रमण हुँदा संक्रमण तीव्र फैलिने, भाइरस संख्या अधिक हुने, झन् गम्भीर लक्षण देखिने, आन्तरिक रक्तस्राव हुने र मृत्यु हुने जोखिम बढी हुन्छ। खोप लगाएका व्यक्तिमा पनि त्यस्तै हो।

एक प्रकारको डेङ्गु विरुद्ध खोप लगाएका व्यक्ति सो प्रकारको डेङ्गुबाट त सुरक्षित हुन्छन् तर अन्य प्रकारको डेङ्गु संक्रमणमा झन् जोखिममा हुन्छन्। त्यसैले कुनै पनि डेङ्गु विरुद्धको खोप एकैपटक चारै प्रकार विरुद्ध किफायती हुन जरुरी छ।

पहिले विकसित केही डेङ्गुका खोप अन्तिम स्टेजमा असफल भए। ती खोप कि त प्रभावकारी देखिएनन् कि एडीईले गर्दा झन् अर्को सेरोटाइपको जोखिम बढाउने देखिए। हाल एकपटक सङ्क्रमित भइसकेका व्यक्तिले लगाउन मिल्ने डेङ्गु विरुद्धको खोप परीक्षणको अन्तिम चरणमा छ। तर यो खोप पहिले एक पटक संक्रमित भइसकेकाले मात्र लगाउन मिल्छ। असङ्क्रमितले लगाउँदा झन् जोखिम बढ्छ। खोप लगाउनुभन्दा पहिले नै पहिले संक्रमण भएको थियो कि थिएन भनेर प्रयोगशालामा परीक्षण गरी निर्क्योल गरेर मात्र लगाउन मिल्ने हुँदा यो खोप वितरणमा आफ्नै जटिलताहरू छन्।

हल्लाको रूपमा आजकल खोप विकास नभएको ‘डेङ्गु विकसित राष्ट्रमा नहुने त्यही भएर’ भन्ने पनि खुब सुनिन्छ। यो पूर्ण सत्य होइन। आर्थिक रूपमा सबल र राम्रो अर्थतन्त्र भएका थुप्रै मुलुक (दक्षिणपूर्वी एशिया, दक्षिण चीन, ब्राजिल आदि) मा यसको प्रकोप निकै भयावह छ।

हो, कोरोनामा जति लगानी डेङ्गु वा अन्य (सायद एचआईभी बाहेक) भाइरसमा हुन सकेको छैन। तर पूर्णरूपमा ध्यान नै नपुगेको हैन। प्रयास नै नभएको होइन। संसारभर थुप्रै वैज्ञानिकहरू (यो पंक्तिकारसहित) यो भाइरस विरुद्ध खोप वा औषधि विकास गर्न तल्लीन छन्।

अझै पनि सयौं पुराना र विकसित राष्ट्रमा समेत ठूलो प्रभाव पार्दै गरेका कतिपय भाइरस सिर्जित रोगको उपचार वा खोप छैन। उदाहरणकै रूपमा हेर्नु पर्दा डेङ्गु परिवारसँग सम्बन्धित दुई भाइरसलाई हेरौं। विकसित राष्ट्रमा खासै नदेखिएको एल्लो फिभर भाइरसको खोप छ। तर विकसित राष्ट्रमा नै ठूलो प्रकोप रहेको हेपाटाइटिस सी भाइरसको विरुद्ध खोप छैन अनेक प्रयासका बावजूद।

वास्तवमा अहिलेको अवस्थामा डेङ्गु विश्वका करिब आधा जनसंख्या बसोबास गर्ने उष्ण र समशीतोष्ण क्षेत्रमा देखा परेको/फैलिएको छ। बर्सेनि डेङ्गुले करिब ४० करोड व्यक्तिलाई संक्रमण गर्दछ भने तीमध्ये १० करोड व्यक्तिलाई सिकिस्त बनाउँछ। यसका कारण बिरामीको हेरचाह र औषधोपचारमा हुने खर्च ठूलो छ। उपचारमा हुने खर्च, जनशक्तिको आवश्यकता र स्रोतको विनियोजनको तुलनामा खोपको मूल्य गौण हुन आउँछ। त्यसैले थुप्रै राष्ट्रको यसमा चासो छ।

औषधि र खोप व्यापारको दृष्टिकोणबाट हेर्दा पनि डेङ्गुका विरुद्ध खोप वा औषधिको विकास आकर्षक छ। बर्सेनि करोडौंको संख्यामा वितरण गर्नुपर्ने गरी उत्पादन/वितरण गर्नुपर्ने खोप/औषधि निर्माण गर्न सकेमा कुनै पनि कम्पनीलाई ठूलो आर्थिक उपलब्धि हुने नै थियो। त्यसैले ठूला औषधि निर्माता कम्पनीहरूमा पनि खोप/औषधिको विकासमा ठूलो आकर्षण छ। ठूला औषधि निर्माता/अनुसन्धानकर्ता कम्पनीहरूले पनि डेङ्गु विरुद्ध चाख लिएर काम गर्दै छन्।

अहिलेसम्म खोप वा औषधि नहुनु आर्थिक आकर्षण नभएर वा इच्छा नभएर होइन। चार फरक सेरोटाइप र एन्टीबडी डिपेन्डेन्ट इन्ह्यान्समेन्टले गर्दा दुर्भाग्यवश संक्रमण नै हुन नदिने खोप बनाउन अति नै जटिल छ। अहिले पनि डेङ्गु लक्षित विभिन्न खोप र औषधि विकास र परीक्षणको क्रममा छन्। प्रयास जारी छ।

खोपको सुनिश्चितता नहुन्जेल वा उपचारको पद्धति नहुन्जेल सबैभन्दा उत्तम भनेको डेङ्गु संक्रमण हुन नै नदिनु हो। संक्रमण भइहालेको खण्डमा गम्भीर लक्षण एक चौथाइलाई मात्र देखिन्छ भने मृत्युदर १ प्रतिशतभन्दा पनि कम छ। यही आँकडा हेर्दा यो संक्रमण सामान्य लाग्न सक्छ। तर एक सेरोटाइपले संक्रमण गरेपश्चात जिन्दगीभर अर्को सेरोटाइपको संक्रमण भएमा गम्भीर लक्षण देखिने र मृत्यु हुने सम्भावना ह्वात्तै बढेर जान्छ।

हालैमात्र नेपालमा एक भन्दा बढी सेरोटाइप रहेको पुष्टि भइसकेको छ। बर्सेनि वा केही समयको अन्तरालमा फरक फरक सेरोटाइपको महामारी फैलिन गएमा स्थिति भयावह हुनेछ। त्यसैले अहिलेलाई भने लामखुट्टे नियन्त्रण गरौं। डेङ्गुबाट बचौं।

(डेंगु भाइरसमा विद्यावारिधि गरेका लेखक हाल स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत वैज्ञानिक हुन्। उनको अनुसन्धान डेङ्गु, एचआईभी लगायत भाइरस विरुद्ध औषधि निर्माणमा केन्द्रित छ।)

लेखकको बारेमा
डा. सुदीप खड्का

(डेंगु भाइरसमा विद्यावारिधि गरेका लेखक हाल स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत वैज्ञानिक हुन्। उनको अनुसन्धान डेङ्गु, एचआईभी लगायत भाइरस विरुद्ध औषधि निर्माणमा केन्द्रित छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?