+
+

सन्दीपविरुद्ध जुटाइएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म

सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख भएको बयानमा सन्दीप लामिछानेले पीडितको भनाइसँग परस्पर बाझिने दाबी गरेका छन् । सरकारी वकिलले पाँच प्रमाण पेश गर्दै उनको जिकिरलाई विश्वास गर्न सक्ने आधार नरहेको निष्कर्षसहित १० देखि १२ वर्षसम्म जेल सजाय गर्न माग गरेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक १४ गते २२:३१

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानोको प्रक्रियामा प्रवेश गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा प्राप्त रायसहितको प्रतिवेदनलाई टेकेर अभियोग पत्र दर्ता गराइएको छ ।

‘अनुसन्धानका क्रममा देखिएका विषय र प्रमाणहरुलाई समावेश गरेर अदालतमा मुद्दा दर्ता गराएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘अब यो विषयको छिनोफानो अदालतबाट हुनेछ ।’ सरकारी वकिलले पेश गरेको अभियोग पत्रको आधारमा अदालतले मंगलबारबाट प्रारम्भिक सुनुवाइ सुरु थाल्नेछ ।

लामिछानेविरुद्धको अभियोगलाई पुष्टि गर्न सरकारी वकिलले पीडितको बयानबाहेक ५ वटा प्रमाणलाई मुख्य आधार बनाएको छ ।

होटल काठमाडौं इनबाट संकलित १२ सीसी टीभी फुटेज, होटलमा रहेको गेष्ट रजिष्टर, सन्दीपले पठाएको स्न्यापच्याट म्यासेजको तस्वीर, बोजिनी रिसोर्टबाट संकलित बिल भरपाइ र प्रसुति गृहमा गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको छ ।

यी प्रमाणका आधारमा जिल्ला अदालत, काठमाडौंले प्रारम्भिक सुनुवाइ गरेर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी तोक्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने सक्नेछ ।

अभियोग पत्रमा सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ उपदफा (३ घ) मा भएको व्यवस्था अनुसार १० देखि १२ वर्षसम्म जेल सजाय गर्न मागदाबी गरिएको छ ।

लामिछानेको इन्कारी बयान

लामिछानेले ५ भदौमा काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । पीडितको बयान अनुसार स्न्यापच्याटमार्फत लामिछानेसँग उनको चिनजान भएको थियो । छोटो समयमै नजिकिएर लामिछानेले भेट्न बोलाएको पीडितको भनाइ छ ।

‘अगाडि पनि उनले भेट्नका लागि प्रस्ताव गर्ने गरेका थिए, पछिल्लो पटक भ्याउँदिन भनेपछि पनि निकै जोडबल गरेका थिए । केन्या गएपछि दुई महिनासम्म नफर्किने बताउँदै भेट्न कर गरेका थिए’, पीडितले बयानमा भनेकी छन्, ‘मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनेर उनले प्रस्ताव गरेकामा मैले उनलाई हेरौं के हुन्छ भनेको थिएँ ।’

अर्को दिन लामिछाने केन्यासँग क्रिकेट खेल्न राष्ट्रिय टोलीको नेतृत्व गरेर जाने तयारीमा थिए । ‘म क्लासमा थिएँ, दिउँसैबाट फोन आइरहेको थियो’, उनले भनेकी छन्, ‘करिब ३ः५७ तिर कलब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाए ।’ पछि कलब्याक गरेपछि लामिछाने आफैं लिन बानेश्वर आएको उनको बयान छ ।

उनको बयान अनुसार लामिछाने पीडित नाबालिकालाई लिन ०२६ च ४४४४ नम्बरको निजी कारमा पुगेका थिए ।

‘कारमा बसेलगत्तै लाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखेर केही नभनिकन गाडी चलाउन थालेका थिए’, उनले भनेकी छन्, ‘मैले कहाँ जाने भनेर सोध्दा पनि उनले लेट्स सी मात्र भनेका थिए । सिनामंगलतर्फ मेडिएर कोटेश्वरतिर लगेका थिए ।’ त्यसपछि मञ्जुरीविना भक्तपुर दरबार स्क्वायर हुँदै नगरकोटतिर लगेको उनको भनाइ छ ।

पीडितको भनाइमा नगरकोटको बोजिनी रिसोर्टमा पुग्दा अन्धकार भइसकेको थियो । ‘उनले ड्रिंक खाने प्रस्ताव पनि गरे, मैले कहिल्यै नखाएकीले इन्कार गरेँ’, उनले भनेकी छन्, ‘लामिछानेले त्यहीँ भीआईपी रुम बुक गर्न प्रस्ताव गरेका थिए । मैले मानिनँ ।’

फर्किएर आउँदा बाटोमा भिडियो बनाउन खोज्दा लामिछानेले मोबाइल खोसिदिएको उनको भनाइ छ । ‘होटल पुगेपछि दिउँला भन्दै फोन नियन्त्रणमा लिएका थिए’, उनले भनेकी छन् । फर्किएर आउँदा ११ बजिसकेकाले होस्टल बन्द हुने हुँदा होटलमा बस्नुपरेको उनको भनाइ छ ।

उनले दुईवटा कोठा बुक गर्न भनेपनि नियतवश एउटा मात्र कोठा लिएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘मोबाइलबाट कल गरेर अनिश भाइ, त्यहीँ रुकम बुक गरिदिनु भनेर भनेको थियो र मलाई होटलमा एउटा मात्र रुम छ भनेको थियो’, पीडितले पनि भनेकी छन् ।

तर त्यही राखिएको कोठा नम्बर ४०७ मा एसी नचलेपछि उनीहरु ३०५ नम्बर कोठामा सरेको होटलका कर्मचारी अनिश श्रेष्ठको बयान छ । ‘ल्याण्डलाइनमा फोन गरेर उहाँले एउटा कोठा चाहिएको बताउनु भएको थियो’, श्रेष्ठले भनेका छन् ।

पीडितको बयानमा उल्लेख भएअनुसार लामिछानेले उनलाई ‘लुगा फुकालेर सुत्न’ भनेका थिए । तर उनी त्यत्तिकै निदाएकी थिइन् । राति १२ः२५ तिर ब्यूँझिदा ‘आफूले लगाएको पाइन्ट खोलिदिएर जबरजस्ती करणी गरेको’ उनले भनेकी छन् ।

बलात्कृत भएको करिब एक घन्टापछि शरीरको विभिन्न भागमा लामिछानेले चलाउन थाल्दा प्रतिरोध गरेको उनले भनेकी छन् । ‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेको थियो’, उनले भनेकी छन्, ‘त्यसक्रममा मलाई ढाडमा जोडले होनेको पनि थियो ।’

लामिछानेले चाहिँ पीडितको बयानसँग परस्पर बाझिने बयान दिएका छन् । उनले पीडित भनिएकी किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको दाबी गरेका छन् । आफूले दरबारमार्ग गएर कफी खान भने पनि पीडितले नगरकोट जान प्रस्ताव गरेको उनको दाबी छ ।

‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु भनेकामा मैले सम्भव छैन भनेको थिएँ’, लामिछानेले भनेका छन्, ‘एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा उनको चित्त नदुखोस् भनेर नगरकोट जान सहमत भएको थिएँ ।’

नगरकोटमा खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले काँधमा टाउको अड्याएर उभिएको भन्दै उनले भनेका छन्, ‘असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो भनेको थिएँ ।’ फर्किएर आउँदा राति ११ः१५ बजेतिर ‘होस्टल बन्द भइसकेको’ बताएपछि होटलमा बस्नु परेको उनले भनेका छन् ।

घटना भएको भनिएको कोठामा बसेको चाहिँ लामिछानेले स्वीकारेका छन् । ‘उनले आफ्नो व्यक्तिगत कुराकानी सुनाउँदा उदास देखिएपछि मैले डन्ट वरी सबै ठीक हुन्छ भनेको थिएँ, केही गीत पनि सुनाएँ’, सन्दीपले भनेका छन्, ‘कुराकानी गर्दा गर्दै ३ः४५/४ः०० बजिसकेको थियो ।’

अनुसन्धान प्रतिवेदन भन्छ – लामिछानेको बयान विश्वसनीय देखिएन

प्रहरीले अनुसन्धानबाट लामिछानेको बयान विश्वसनीय नदेखिएको निष्कर्ष निकालेको छ ।

होटल काठमाडौं इनको एउटै कोठामा पीडितसँग लामिछाने रातभर बस्नु र कोठामा एउटा मात्र बेड रहेको देखिएको उल्लेख गर्दै अभियोग पत्रमा दाबी गरिएको छ, ‘लामिछानेले आफू कुर्सीमा बसेर रात विताएको भनेपनि अपरिचितलाई होटलमा लिएर जानु, स्न्यापच्याटमा गरिएका कुराहरु, भोलिपल्ट विदेश जानुपर्ने अवस्था, पीडितको कागज र स्वास्थ्य परीक्षण प्रतिवेदनको व्यहोराबाट प्रतिवादीको बयान विश्वसनीय देखिँदैन ।’

अभियोग पत्रमा लामिछानेले पीडितलाई नगरकोट र काठमाडौंको होटलमा लगेको पुष्टि गर्न काठमाडौं इनको गेस्ट रजिष्टर, बोजिनी रिसोर्ट नगरकोटको बिल भरपाइ र होटलका कर्मचारीको बयानलाई आधार बनाएको छ ।

थापाथलीस्थित प्रसुति गृहमा गरिएको विस्तृत स्वास्थ्य परीक्षणलाई पनि सन्दीपविरुद्धको अर्को प्रमाणका रुपमा प्रस्तुत गरिएको छ । स्वास्थ्य परीक्षणमा ‘कन्याजाली च्यातिएको’ भनिएको छ ।

‘होटलबाट संकलित सीसी टीभी फुटेज, प्रतिवादीले गरेको सनखात, स्वास्थ्य परीक्षण प्रतिवदेन लगायतका प्रमाणबाट लामिछानेको बयान स्वतः खण्डित भएको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ ।
पीडितले लामिछानेलाई जबरजस्ती करणी गर्‍यो भनेर विना आधार भन्न वा फसाउनुपर्ने पनि अन्य कुनै कारण नदेखिएको भनिएको छ ।

‘जुन दिन जुन समय जहाँ र जसले जबरजस्ती करणी गर्‍यो भन्ने पीडितको भनाइ छ, त्यही दिन, त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी साथमा छन्’, अभियोग पत्रमा भनिएको छ, ‘पीडितलाई लिएर उनी माफू मात्र गएका छन् र ५ भदौमा बेलुका भेट भएपछि पीडितसँग लामिछानेबाहेक अरु कुनै व्यक्ति रहेको कुनै प्रमाणबाट देखिँदैन ।’

स्न्यापच्याटमा लामिछानेले पीडित किशोरीलाई ‘मायाको पहिलो सौगात सुरु’ भन्दै ‘मायासम्बन्धी इमोजी’ राखेर तस्वीर पठाएको पनि भेटिएको छ । त्यसलाई पनि अभियोग दाबीमा प्रमाण स्वरुप राखिएको छ ।

‘स्न्यापच्याटमार्फत चिनजान भएको नाबालिकालाई रातको समयमा पीडितको मञ्जुरीविना होटल फेरि फेरि आफू अनुकूल परिस्थिति बनाएर रातभर एउटै कोठामा एउटै बेडमा राख्नुले पनि जबरजस्ती करणी गरेको पुष्टि हुन आउँछ’, अभियोग पत्रमा भनिएको छ ।

यो पनि पढ्नुस् 

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

होस्टल सञ्चालकको बयान : त्यो दिनपछि उनले अब साथीसँग बस्छु भनिन्

त्यसदिन उनले सन्दीपको गाडीको पछाडिको फोटो पठाएकी थिइन्

होटल कर्मचारीको बयान : सन्दीपले एउटा कोठा चाहिन्छ भन्दै फोन गरेका थिए

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?