+
+
स्थलगत – ललितपुर–१ :

पञ्चायतदेखि अहिलेसम्म एउटै चुनावी मुद्दा

राजधानी आडैको दुर्गम क्षेत्र दक्षिणी ललितपुरका जनताले पञ्चायतकालदेखि उठाएका बाटो, खानेपानी, बिजुली जस्ता आधारभूत पूर्वाधारको विषयलाई यस पटक पनि उम्मेदवारहरूले चुनावी एजेण्डा बनाएका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ कात्तिक १६ गते १९:३६

१६ कात्तिक, चापागाउँ (ललितपुर) । ललितपुर सातदोबाटो चक्रपथबाट सार्वजनिक बस चढेर करिब एक घण्टामा चापागाउँ पुगिन्छ । दक्षिण ललितपुरको नाका यो बजारबाट मकवानपुरसँग जोडिएको गिम्दी पुग्न थप ७ घण्टा लाग्छ । चापागाउँबाट गिम्दी पुग्न मात्रै करिब ५०० रुपैयाँ बसभाडा तिर्नुपर्छ ।

गत सोमबार (१४ कात्तिक) बिहान ६ बजे चापागाउँ पुग्दा बजार खुलिसकेको थिएन । बसपार्क नजिकै नेकपा एमाले र नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा कार्यकर्ताको फाट्टफुट्ट चहलपहल सुरु भइसकेको थियो । नजिकैको चेतप्रसाद दाहालको चियापसलमा गोविन्द खनाल (शिक्षक) र मुरारी न्यौपाने (अवकाश प्राप्त कर्मचारी) चियागफमा व्यस्त थिए ।

खनाल बुद्ध मावि टीकाभैरवका शिक्षक हुन् । ‘अघिल्लो निर्वाचनमा जस्तो यो पटक उम्मेदवारहरूको तामझाम, र्‍याली, कोणसभा र होहल्ला छैन’ उनी भन्छन्, ‘सुरुवाती समय भएर पनि होला, सबैले चुपचाप घरदैलो गरिरहेका छन् ।’

चापागाँउको चिया पसलमा भेटिएका मुरारी न्यौपाने(क्याप लगाएका), चिया पसल गर्ने चेतप्रसाद दाहाल र शिक्षक गोविन्द खनाल(गाढा रातो ज्याकेटमा)

आफूले बनाउने चियामा चिनीको मात्रा बाहेक अरू थाहा नहुने बताउने चेतप्रसाद दाहाल विस्तारै खुल्दै गए । उनका अनुसार, अहिले प्रमुख दलका उम्मेदवारहरू दक्षिणी ललितपुरका गाउँहरूमा घरदैलो गर्न गएका छन् ।

उनीहरू सुरुमा गाउँ घुम्छन्, अनि शहरी भेगमा घरदैलो गर्छन् र अन्तिममा कोणसभा गरेर चुनावी अभियान टुंग्याउँछन् । उनी भन्छन्, ‘भर्खरै चाडबाड सकिएकाले होला, चुनाव अझै तातेको छैन ।’

चापागाउँ बसपार्क नजिकैको टिकट काउन्टरमा टाँसिएको भाडादरले यो क्षेत्र राजधानीसँग जोडिएर पनि कति टाढा छ भन्ने देखाउँछ । गत असारमा यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडादर अनुसार काठमाडौंदेखि गोरखा पुग्न ४५६ रुपैयाँ तिर्नुपर्छ । तर ललितपुरकै चापागाउँबाट गिम्दी गाउँमा जान ५०० रुपैयाँ भाडा तिर्नुपर्छ ।

चापागाउँबाट बिहान ७ बजे हिंडेको बस दक्षिण ललितपुरको गिम्दी गाउँ पुग्दा दिउँसो २/३ बज्छ । यसबाट थाहा हुन्छ मानिसहरू किन सजिलैसँग दक्षिणी ललितपुरलाई कुनै दुर्गम जिल्ला जनाउने विम्ब प्रयोग गर्छन् ।

ललितपुरको चापागाँउ बसपार्कको टिकट काउन्टरमा राखिएको भाडादर । दुर्गम ललितपुरका गाँउ जाने भाडा अन्य प्रदेशका जिल्ला सदरमुकाम जाने भाडाभन्दा महंगो छ ।

दुर्गम गाउँतिर चापागाउँबाट दिनको दुईवटा बस मात्रै चल्छन् । काठमाडौंबाट नजिकैको अर्को प्रदेशको कुनै जिल्लाको सदरमुकाम जानुभन्दा महँगो गाडीभाडा तिरेर ललितपुरको गाउँबाट अर्को गाउँमा पुग्नुपर्छ ।

करिब ७५ किलोमिटर दुरी भए पनि अप्ठेरो पहाडी बाटो, कच्ची सडक, सीमित यातायातका साधनका कारण यस क्षेत्रका जनताले भोगेका दुःख कुनै दुर्गम भनिने जिल्लाका जनताले भोगेसरहका छन् ।

‘दख्खिन ललितपुर’का दुःख

यहाँका तीन गाउँपालिका (बागमती, कोञ्ज्योसोम र महांकाल) लाई दक्षिण ललितपुर भनेर चिनिन्छ । स्थानीय बासिन्दाहरू बोलीचालीको भाषामा यो भेगलाई ‘दख्खिन ललितपुर’ भन्ने गर्छन् ।

‘मोबाइल फोन पटक्कै लाग्दैन, नेटवर्क टिपाउन घुम्दै हिंड्नुपर्छ । बत्ती जाँदा नेटवर्क ठप्प हुन्छ’ बागमती गाउँपालिका–७ (गिम्दी) का वडाअध्यक्ष होमप्रसाद बजगाईं भन्छन्, ‘यहाँका जनतालाई असाध्यै दुःख छ । चापागाउँ जान दिनमा दुई वटा बस मात्रै लाग्छन् । कोही बिरामी भए एम्बुलेन्स खोजेर पाटन पुर्‍याउनुपर्छ ।’

वडाध्यक्ष होमप्रसाद बजगाईं

नजिकैको प्यूटार गाउँको अस्पतालमा एक जना एमबीबीएस डाक्टर जसोतसो बसेका छन्, गाउँपालिकाको अध्यक्षकै छोरा भएकाले उनी टिकेको वडाअध्यक्ष बजगाईं बताउँछन् । उनी भन्छन्, ‘बर्खामा पानीले बिगारेको बाटो बनाउने क्रममा डोजर चलिरहेको छ, त्यसैको निरीक्षणका लागि फिल्डमा छु ।’

गत सोमबार चापागाउँ पुग्दा महांकाल गाउँपालिका–६ (ठूलादुर्लुङ) का वडाअध्यक्ष विनोद चौरेल एउटा चियापसलमा भेटिए । तिहारपछि कार्यालय खुल्ने भएकाले उनी गाउँ जान हतारिएका थिए । ‘ठूलादुर्लुङको एउटा बस्ती बागमती किनारमा पर्छ । अहिले पनि गाडी जान गाह्रो छ, हिंडेर जाँदा दुई घण्टा लाग्छ’ उनी भन्छन्, ‘मोबाइल छ, टावर लाग्दैन । वडा कार्यालय र विद्यालयमा जसोतसो इन्टरनेट छ, अन्यत्र त्यो सुविधा छैन ।’

वडाध्यक्ष विनोद चौरेल

पञ्चायतकाल सुरु नहुँदै २०१६ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको कान्ति राजपथ केही वर्षअघि मात्रै कालोपत्रे भएको छ । ठाउँठाउँमा पहिरो र लेदो गेग्रान बगेर वर्षायाममा सधैं सडक अवरुद्ध हुन्छ । २०५२ सालसम्म दूधको क्यान (भाँडा) बोकेर टीकाभैरवसम्म पुग्ने गाउँले अहिले गाउँबाटै ट्याङ्करमा दूध खन्याउँछन् । उनीहरूका लागि परिवर्तन भनेको यस्तै स–साना खुसी हुन् ।

ठूलादुर्लुङ र गिम्दी गाउँ दक्षिण ललितपुरको अति विकट क्षेत्रमा पर्छन् । दुई फरक गाउँपालिकामा पर्ने यी दुई गाउँ जोडिएका छन् । गत जेठमा निर्वाचित यी दुई वडाअध्यक्षहरूले फरक दलको प्रतिनिधित्व गर्छन् । चौरेल नेपाली कांग्रेसमा आवद्ध छन् भने बजगाईं एमाले हुन् ।

तर उनीहरूलाई दलीय आस्था र विचार भन्दा पनि गाउँका साझा समस्यासँग जुध्नु छ ।

ललितपुरको टीकाभैरवदेखि हेटौंडा जोड्ने कान्ति लोकपथको भट्टेडाँडाखण्ड । अप्ठेरो ठाउँमा कालोपत्रे हुन बाँकी यो सडकले ललितपुरका दुर्गम गाउँहरू भट्टेडाँडा, प्यूटार, आश्राङ, गिम्दीलगायतलाई राजधानीसँग जोड्छ ।

‘हामी त जहिले जो आए पनि तपार्इंहरूले के गर्नुभयो खै भनेर कराउने हो !’ बागमती–७ का वडाअध्यक्ष बजगाईं भन्छन्, ‘जुनसुकै दलका उम्मेदवारहरूले सधैं एजेण्डा मात्रै लिएर आउँछन् । चुनाव जितेपछि विकास लिएर आउन गाह्रो छ । हाम्रा गाउँ अलि बढी नै दुर्गम भए, जनतालाई असाध्यै दुःख छ, यो कुरा बुझिदिए हुनेथियो ।’

पुरानै रटान : ‘बाटो, खानेपानी, बिजुली…’

स्थानीय परिवेशका कारण होला, राजधानीका अरू १५ निर्वाचन क्षेत्रभन्दा ललितपुर–१ का चुनावी एजेण्डा अलि फरक सुनिन्छन् । दक्षिण ललितपुर पुग्दा उम्मेदवारले सधैं झैं उही बाटो, खानेपानी र बिजुलीको कुरा गरिरहेका हुन्छन् र मतदाता पनि त्यसमै रुचि राख्छन् । उनीहरू चापागाउँ वरपर (अहिलेको गोदावरी नगरपालिका) का मतदातालाई मात्रै अर्धशहरी र काँठ क्षेत्रको परिवेशसँग मिल्ने चुनावी एजेण्डा भन्छन् ।

ललितपुर–१ का निवर्तमान सांसद एवं एमाले उम्मेदवार नवराज सिलवाल २०७४ सालको परिणाम दोहोर्‍याएर आफू विजयी हुन चाहन्छन् । उनी ओली सरकारका पालामा ललितपुरमा भएका विकास निर्माणका काम अनि केही क्षेत्रगत सुधारलाई आफ्नो उपलब्धिको रूपमा प्रचारप्रसार गरिरहेका छन् ।

‘मैले पाँच वर्ष जनप्रतिनिधि भएर काम गर्दा पूर्वाधारको क्षेत्रमा जग बनाउने काम गरें । भूकम्पले भत्केका संरचना पुनर्निर्माण भए, स्वास्थ्य संरचना निर्माण भए’ उनी भन्छन्, ‘अब हाम्रो उद्देश्य आर्थिक क्रान्ति गर्ने र घरघरमा रोजगारी सिर्जना गर्नेछ । सडकलाई पनि उद्यमशीलतासँग जोड्नेछौं ।’

तर नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा २०७४ को चुनावी नतिजा उल्ट्याएर परिणाम आफ्नो पक्षमा पार्न चाहन्छन् । पछिल्लो पाँच वर्षमा गाउँमा विकास निर्माण नै भएन भन्दै उनले ‘बाटो हैन, राम्रो बाटो’ भनेर एमाले प्रतिस्पर्धी नवराज सिलवालको कामकारबाहीमाथि व्यंग्य गर्ने गरेका छन् ।

‘मतदाताले बाटो मात्रै भएर काम छैन, राम्रो बाटो भन्न थालेका छन् । उनीहरूले पाँच वर्षमा बाटोको अवस्था खराब भयो भनेर ‘राम्रो बाटो’ चाहिन्छ भनेका हुन्’ उनी भन्छन्, ‘ललितपुरका शहर र नजिकको गाउँको सहायक सडक सुधारका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएको छु ।’

अघिल्लो कार्यकालमा संविधान निर्माता, कानुन निर्माता र जनप्रतिनिधिविहीन स्थानीय तहका प्रतिनिधिको समेत भूमिका निभाउनुपरेको भन्दै कांग्रेस उम्मेदवार राणा अब भने कानुन निर्माता र ललितपुर–१ को विकास एजेण्डा बोक्ने प्रतिनिधि बन्ने बताउँछन् ।

राजधानीवासीको मत आकर्षित गर्ने प्रतिस्पर्धामा रहे पनि दुवै उम्मेदवारहरू प्रसंग नकोट्याई राष्ट्रिय राजनीति र परिवेशबारे टीकाटिप्पणी गर्दैनन् । प्रतिनिधिसभा विघटन, न्यायपालिकाको विवाद र भागबण्डा जस्ता विषयमा उनीहरू मौन रहन नै रुचाउँछन् । कानुन निर्माताको भूमिकाबारे प्रश्न गरेपछि मात्रै उनीहरू थप जवाफ दिन्छन् ।

बिहानै छिमेकको चियापसलमा आइपुग्ने राष्ट्र बैंकका अवकाशप्राप्त अधिकृत मुरारी न्यौपानेका अनुसार, अघिल्लो पटक जस्तो यसपटक विकास निर्माणका नारा दिएर मतदाता आकर्षिक गर्न सम्भव छैन । गाउँघरतिर केही विकास निर्माणका काम भएका छन्, तर उम्मेदवारले ‘मैले यति गरेको हुँ’ भनेका भरमा मतदाताले विश्वास गरिहाल्दैनन् । त्यसमाथि शहरी भूभागको जनमत स्थिर प्रकृतिको छैन पनि ।’

‘यहाँका उम्मेदवारलाई गाउँको भोट पनि गुमाउन नहुने छ, शहरी भोटले नै सबै टुंग्याउने भएकाले त्यसलाई पनि आफ्नै पोल्टामा पार्नुपर्ने छ’ उम्मेदवारको समस्या बताउँदै उनी भन्छन्, ‘पोल्टाको पनि जोगाउने अनि भुईंको पनि टिप्नुपर्ने बाध्यता छ ।’

उनका अनुसार, जुनसुकै नारा र सिद्धान्त अघि सारे पनि जनताबाट विमुख भएर आफ्नै ध्यानमा मग्न हुने राजनीतिज्ञहरूको चरित्रका कारण शहर छेउछाउका मतदातालाई समेत राष्ट्रिय राजनीतिमा खासै रुची छैन ।

‘गाउँका मतदाताको आफ्नै दुःख छ’ उनी भन्छन्, ‘उम्मेदवारले यो गर्छु, त्यो गर्छुभन्दा कसले पत्याउने ? त्यही दिन जता मन लाग्छ उतै भोट हाल्ने हो ।’

यस्तो छ समीकरण

लामो समय वामपन्थी जनप्रतिनिधि निर्वाचित गर्दै आएको दक्षिण ललितपुरले २०६४ यताका तीन निर्वाचनमा दुईपटक वामपन्थी उम्मेदवार निर्वाचित गर्‍यो भने एकपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा माओवादी केन्द्र निर्वाचित भयो, ललितपुर–१ मा वर्षमान पुन निर्वाचित भए ।

२०७० सालमा कांग्रेस उम्मेदवार उदयशमशेर राणा निर्वाचित भए । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको समर्थनमा एमाले उम्मेदवार नवराज सिलवाल निर्वाचित भए । अहिले वामपन्थी खेमाका एमाले र माओवादी केन्द्र दुईतिर छन् । माओवादी केन्द्रले कांग्रेस उम्मेदवार राणालाई साथ दिएको छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा ललितपुर–१ मा रहेका स्थानीय तहका वडाअध्यक्षले पाएको मत हेर्ने हो भने नेपाली कांग्रेस सुविधाजनक रूपमा अगाडि देखिन्छ । उसले करिब २४ हजार मत पाउँदा एमालेले १९ हजार मत ल्याएको छ । माओवादी केन्द्रको करिब ६ हजार मत छ । यही अनुपातमा प्रतिनिधिसभा निर्वाचनमा मत व्यक्त हुन्छ भनेर अनुमान गर्ने हो भने कांग्रेस उम्मेदवार तुलनात्मक रूपमा सुविधाजनक अवस्थामा छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा करिब २७ हजार मत ल्याएको एमालेले यसपटक स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा करिब १९ हजार मत मात्रै ल्यायो । उसको ७ हजार मत अहिले घटेको देखिन्छ । संयोग नै मान्नुपर्छ, त्यतिबेला करिब ६ हजार मत ल्याएको र एमालेसँग समीकरण गरेको माओवादी केन्द्र अहिले अलग रहँदा समेत त्यति नै मत पाएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेसलाई करिब ७ हजार मतले पछि पारेको एमाले २०७९ को स्थानीय तह निर्वाचनमा आइपुग्दा कांग्रेसभन्दा ५ हजार मतले पछाडि छ । यसमा माओवादी केन्द्रको मत समेत जोडिंदा यो मतान्तर १० हजार नाघ्छ । एमालेलाई २०७४ सालमा प्राप्त मतलाई जोगाएर राख्न र कांग्रेसको मत बढ्न नदिन कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

दल २०७९ (स्थानीय तह) २०७४ प्रतिनिधिसभा २०७० (संविधान सभा)
कांग्रेस २३८५४ २०७२९ (उदयशमशेर राणा) १८५६० (उदयशमशेर राणा)
एमाले १८९९३ २६९५१ (नवराज सिलवाल ) १०६५२(मधुसुदन पौडेल)
माओवादी केन्द्र ६१३३ नवराज सिलवाललाई समर्थन ६१९६ (हरि दाहाल)
राप्रपा १७५७  राणालाई समर्थन   ६३५(नीलबहादुर देशार)
राप्रपा नेपाल ….. ….. ६००७ (केशरबहादुर विष्ट)

नोट : गत वैशाखको स्थानीय निर्वाचनमा वडाअध्यक्षले पाएको मतका आधारमा दलगत मत निकालिएको ।

सिंगो ललितपुरको दुईतिहाइ भूभाग भौगोलिक रूपमा काठमाडौं उपत्यका बाहिर छ । कोञ्ज्योसोम, महांकाल र बागमती गाउँपालिका दक्षिणी ललितपुरमा पर्छन् । उपत्यकाभित्रको गोदावरी नगरपालिकासहित अरू गाउँपालिका ललितपुर–१ मा पर्छन् ।

ललितपुर–१ का दुई तिहाइ मतदाता उपत्यकाभित्र छन् भने करिब एक तिहाइ हिस्सा मात्रै गाउँमा छन् । ठिक उल्टो दुई तिहाइभन्दा धेरै भूभाग उपत्यका बाहिर र एक तिहाइभन्दा कम हिस्सा मात्रै उपत्यकाभित्र पर्छ । ललितपुर–१ का उम्मेदवारले एक तिहाइ मतका लागि कुल प्रचारप्रसार अवधिको आधाजसो समय छुट्याउनुपर्छ । ललितपुर–१ मा करिब ७४ हजार मतदाता छन्, जसको ७० प्रतिशत हिस्सा गोदावरी नगरपालिकाले ओगट्छ ।

अनुकूल वा प्रतिकूल जे परिस्थिति भए पनि उम्मेदवारहरू मतदाता आकर्षित गर्न कस्सिएका छन् । एमाले उम्मेदवार सिलवाल पछिल्लो पाँच वर्षमा भएका विकास निर्माणका काम र पूर्वाधार देखाएर मत मागिरहेका छन् । कांग्रेस उम्मेदवार राणाले २०७० र २०७४ सालपछिको अवधि तुलना गर्नु र जसलाई मन लाग्छ, उसैलाई मत दिनु भनिरहेका छन् ।

ललितपुर–१ मा विभिन्न दलका ११ सहित २१ जना उम्मेदवार छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. सचिन घिमिरे यी दुवै उम्मेदवारप्रति असन्तुष्ट मत तान्न खोजिरहेका छन् । घिमिरे परम्परागत प्रचारप्रसार शैलीले विकृति बढेको र त्यसले मुलुकमा भ्रष्टाचार बढाएको भन्दै एक्लै प्रचारप्रसार अभियानमा जुटेका छन् ।

‘यान्त्रिक किसिमको संवादमा रमाउने शैली व्याप्त रह्यो । मान्छे, गाडी, मोटरसाइकल नदौडाइकन चुनाव प्रचार नै हुँदैन भनेर प्रचार शैलीलाई भ्रष्टाचारमुखी बनाए’ उनी भन्छन्, ‘त्यही शैलीबाट नै भ्रष्टाचारको मनोविज्ञान सुरु भयो । त्यसैले मैले एक रुपैयाँ पनि पैसा खर्च गर्दिनँ र निर्वाचन लड्छु भनेको छु ।’

उनले दक्षिण ललितपुरको जनस्वास्थ्यको क्षेत्रमा सुधारको योजना अघि सारेका छन् । उनका अनुसार, अहिले जनस्वास्थ्यको दृष्टिकोणले उपत्यकाकै नाजुक अवस्थामा रहेको दक्षिण ललितपुरमा पूर्वाधार, सचेतना र स्वास्थ्य क्षेत्रमा लगानीमार्फत कायापलट गर्न सकिन्छ । उनी भन्छन्, ‘ललितपुर–१ मा त्यो मोडल प्रयोग गर्न म पहल गर्छु ।’

चापागाउँ निवासी राष्ट्र बैंकका पूर्व कर्मचारी न्यौपानेका अनुसार, यसपटक मतदाताहरू खासै उत्साहित देखिंदैनन् । उनीहरूलाई दलका एजेण्डा र विकासे नाराले छुन छाडेको छ । ‘नेताहरूको भाषण, चुनावी नारा र योजनाहरूले मतदाताहरूको मन फेरिएला जस्तो देखिंदैन, जो जस्तो मनस्थितिमा छन्, उस्तै हुन्’ उनी भन्छन्, ‘बरु कताकता नयाँ दल र उम्मेदवारहरूको कुरामा मान्छेले चाख दिन थालेका छन्, त्यसले पुराना उम्मेदवारहरूलाई झस्काएको छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?