+

खानै हुन्न र आलु ?

२०७९ कात्तिक  १७ गते १४:४३ २०७९ कात्तिक १७ गते १४:४३
खानै हुन्न र आलु ?

‘आलु खाएपछि मोटोपन बढ्छ ।’

‘मधुमेहमा आलु खानै हुन्न ।’

‘म त खानपानप्रति एकदम सजग छु, आलु र चामल खाँदिनँ ।’

आलु खान हुन्छ कि हुँदैन ? आलु स्वास्थ्यका लागि लाभदायक छैन ? मान्छेमा द्विविधा छ । जबकि हाम्रो तरकारीमा आलुको हिस्सा अधिक छ । खाजा-नास्ताको रुपमा होस् वा तरकारीमा, आलु सर्वप्रिय मानिन्छ ।

विश्वकै खाद्य भण्डारमा आलुले खास योगदान दिइरहेको छ । गहुँ, धान र मकैपछि आलु विश्वको चौथो सबैभन्दा महत्वपूर्ण उत्पादन मानिन्छ । आलु सर्वप्रिय हुनुमा यसको स्वाद, पौष्टिकता, सहज खेतीपाती एवं भण्डारण नै हो । सबै भूगोलमा, सबै वर्गमा र सबै भान्सामा आलु उपलब्ध छ ।

त्यसो त आलु नै यस्तो उत्पादन हो, जो सबैभन्दा बढी परिकार बनाउन सकिन्छ । आलुको गुण के पनि हो भने यो अरु थुप्रै परिकारमा मिश्रण गर्न सकिन्छ ।

आलुका अनेक फाइदा

आलुमा कम्प्लेक्स कार्बोहाइड्रेट पाइन्छ, जसमा सूक्ष्म पोषक तत्व र वृहत पोषक तत्व पाइन्छ । वृहतमा कार्बोहाइड्रेट र सूक्ष्ममा भिटामिन सी, प्रोटिन, एन्टिअक्सिडेन्ट, फ्याट, मिनिरल्स र पोटासियम समावेश हुन्छ ।

हाम्रो मुटुको चाललाई सही राख्न पोटासियम चाहिन्छ, जुन आलुमा बढी पाइन्छ । चिकित्सकहरुले मुटुको बिरामीलाई केरा खानु भन्छन् । किनभने केरा पोटासियमको भण्डार हो । तर केरामा भन्दा बढी पोटासियम आलुमा पाइन्छ । त्यसैले मुटुको समस्या भएकालाई आलुले फाइदा गर्छ ।

आलुमा स्टार्च पाइन्छ । यसले खासगरी पाचनयन्त्रलाई स्वस्थ बनाउन सहयोग गर्छ । जब प्रतिरोधी स्टार्च ठूलो आन्द्रामा पुग्छ, यो लाभकारी ब्याक्टेरियाको लागि खाना बन्छ । यी ब्याक्टेरियाले पचाउने काममा सहयोग गर्छ । साथै, छोटो चेन फ्याटी एसिटमा परिणत गर्छ ।

शरीरका लागि आवश्यक मानिने भिटामिन बी पनि आलुबाट प्राप्त हुन्छ ।

आलुमा उपलब्ध सूक्ष्म कार्बोहाइड्रेटमा भिटामिन सी हुन्छ, जसले रातो रक्तकोषको कार्य सम्पादनमा सहयोग गर्छ ।

आलु विष होइन

कतिपयले आलुलाई यसरी प्रचार गरिरहेका छन् कि मानौं यो खानयोग्य छैन । तर आलु कुनै विष होइन । आलु एकदमै पोषकयुक्त खानेकुरा हो । सजिलो, सहज र सस्तो पनि । यद्यपि कतिपय खानेकुरा कतिपय अवस्थामा उचित न सक्छ । त्यसैले कुनै स्वास्थ्य समस्यामा चिकित्सकले आलु नखान सल्लाह दिन्छन् ।

सबैभन्दा मुख्य कुरा त आलु कति मात्रामा खाने, कसरी खाने भन्ने हो । सही ढंगले, सही मात्रामा आलु खाने हो भने यो स्वास्थ्यका लागि एकदमै लाभदायक छ ।

पकाउने तरिकाले फरक पर्छ

धर्तीमा भएका धेरैजसो खानेकुराका आ-आफ्नै गुण छन् । यद्यपि त्यसलाई पकाउने र खाने क्रममा हामीले गर्ने गल्तीले ती खानेकुराको गुण हराउन सक्छ । जस्तो आलु पकाउने कुरामा पनि यो लागु हुन्छ ।

हिमाली भेगमा त आलु नै मुख्य खान्की हुन्छ । उनीहरु आलु खाएरै तन्दुरुस्त, निरोगी र सधैं ऊर्जावान हुन्छन् । किनभने आलु खाएर उनीहरु धेरै शारीरिक काम गर्छन् । हरक्षण सक्रिय रहन्छन् । सहरिया भने आलु खाएर निष्क्रिय बस्ने गर्छन्, जसले गर्दा मोटोपन बढ्न सक्छ । शारीरिक गतिविधि कम गर्नेहरुले आलु कम खानु भन्नुको कारण पनि यही हो ।

आलुमा उपलब्ध पोषक तत्व नष्ट नगरी खानका लागि उसिनेको आलु एकदमै उचित हुन्छ । आलु उसिनेर खाँदा यसमा भएको पोषक तत्व नष्ट हुँदैन । त्यसैगरी माइक्रोवेभमा वा बेकिङ गरी पकाइयो भने आलुको गुण नष्ट हुँदैन । साथै क्यालोरी पनि कम हुन्छ ।

तर धेरै समयसम्म पकाइयो, तारेर, भुटेर खाइयो भने यसमा क्यालोरी बढी हुन्छ । स्वादिलो बनाउने चक्करमा तेलमा तार्ने, भुट्ने गर्दा यसको पोषक तत्व पनि नष्ट हुन्छ । त्यसैले आलुलाई तरकारीकै रुपमा खाँदा पनि ठिक्क पकाएर खानु उचित हुन्छ ।

अझ आलुको बोक्रासँगै खानु बढी लाभदायक हुन्छ । आलुको बोक्रामा पर्याप्त फाइबर पाइन्छ । फाइबर पाचनयन्त्रका लागि अत्यन्तै जरुरी हुन्छ ।

मोटोपन र मधुमेहमा 

आलुले मोटोपन बढाउँछ भन्ने सरासर भ्रम हो । आलुमा उच्च कार्बोहाइड्रेट भएको कारण पच्नका लागि समय लाग्छ । यसले गर्दा छिटो छिटो भोक लाग्दैन ।

मधुमेहको बिरामीलाई पनि चिकित्सकले आलु खाँदै नखानु भन्दैनन् । मधुमेहको समस्या भएकालाई उनीहरुको शरीरको मागअनुरुप नै डाइट प्लान गरिएको हुन्छ । यसअनुरुप उनीहरुले आलु खान मिल्छ वा मिल्दैन भन्ने निक्र्यौल गरिन्छ ।

(पोषणविद् देवजुसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

आलु पोषण
लेखक
सुनैना देवजु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?