+

खानै हुन्न र आलु ?

२०७९ कात्तिक  १७ गते १४:४३ २०७९ कात्तिक १७ गते १४:४३
खानै हुन्न र आलु ?

‘आलु खाएपछि मोटोपन बढ्छ ।’

‘मधुमेहमा आलु खानै हुन्न ।’

‘म त खानपानप्रति एकदम सजग छु, आलु र चामल खाँदिनँ ।’

आलु खान हुन्छ कि हुँदैन ? आलु स्वास्थ्यका लागि लाभदायक छैन ? मान्छेमा द्विविधा छ । जबकि हाम्रो तरकारीमा आलुको हिस्सा अधिक छ । खाजा-नास्ताको रुपमा होस् वा तरकारीमा, आलु सर्वप्रिय मानिन्छ ।

विश्वकै खाद्य भण्डारमा आलुले खास योगदान दिइरहेको छ । गहुँ, धान र मकैपछि आलु विश्वको चौथो सबैभन्दा महत्वपूर्ण उत्पादन मानिन्छ । आलु सर्वप्रिय हुनुमा यसको स्वाद, पौष्टिकता, सहज खेतीपाती एवं भण्डारण नै हो । सबै भूगोलमा, सबै वर्गमा र सबै भान्सामा आलु उपलब्ध छ ।

त्यसो त आलु नै यस्तो उत्पादन हो, जो सबैभन्दा बढी परिकार बनाउन सकिन्छ । आलुको गुण के पनि हो भने यो अरु थुप्रै परिकारमा मिश्रण गर्न सकिन्छ ।

आलुका अनेक फाइदा

आलुमा कम्प्लेक्स कार्बोहाइड्रेट पाइन्छ, जसमा सूक्ष्म पोषक तत्व र वृहत पोषक तत्व पाइन्छ । वृहतमा कार्बोहाइड्रेट र सूक्ष्ममा भिटामिन सी, प्रोटिन, एन्टिअक्सिडेन्ट, फ्याट, मिनिरल्स र पोटासियम समावेश हुन्छ ।

हाम्रो मुटुको चाललाई सही राख्न पोटासियम चाहिन्छ, जुन आलुमा बढी पाइन्छ । चिकित्सकहरुले मुटुको बिरामीलाई केरा खानु भन्छन् । किनभने केरा पोटासियमको भण्डार हो । तर केरामा भन्दा बढी पोटासियम आलुमा पाइन्छ । त्यसैले मुटुको समस्या भएकालाई आलुले फाइदा गर्छ ।

आलुमा स्टार्च पाइन्छ । यसले खासगरी पाचनयन्त्रलाई स्वस्थ बनाउन सहयोग गर्छ । जब प्रतिरोधी स्टार्च ठूलो आन्द्रामा पुग्छ, यो लाभकारी ब्याक्टेरियाको लागि खाना बन्छ । यी ब्याक्टेरियाले पचाउने काममा सहयोग गर्छ । साथै, छोटो चेन फ्याटी एसिटमा परिणत गर्छ ।

शरीरका लागि आवश्यक मानिने भिटामिन बी पनि आलुबाट प्राप्त हुन्छ ।

आलुमा उपलब्ध सूक्ष्म कार्बोहाइड्रेटमा भिटामिन सी हुन्छ, जसले रातो रक्तकोषको कार्य सम्पादनमा सहयोग गर्छ ।

आलु विष होइन

कतिपयले आलुलाई यसरी प्रचार गरिरहेका छन् कि मानौं यो खानयोग्य छैन । तर आलु कुनै विष होइन । आलु एकदमै पोषकयुक्त खानेकुरा हो । सजिलो, सहज र सस्तो पनि । यद्यपि कतिपय खानेकुरा कतिपय अवस्थामा उचित न सक्छ । त्यसैले कुनै स्वास्थ्य समस्यामा चिकित्सकले आलु नखान सल्लाह दिन्छन् ।

सबैभन्दा मुख्य कुरा त आलु कति मात्रामा खाने, कसरी खाने भन्ने हो । सही ढंगले, सही मात्रामा आलु खाने हो भने यो स्वास्थ्यका लागि एकदमै लाभदायक छ ।

पकाउने तरिकाले फरक पर्छ

धर्तीमा भएका धेरैजसो खानेकुराका आ-आफ्नै गुण छन् । यद्यपि त्यसलाई पकाउने र खाने क्रममा हामीले गर्ने गल्तीले ती खानेकुराको गुण हराउन सक्छ । जस्तो आलु पकाउने कुरामा पनि यो लागु हुन्छ ।

हिमाली भेगमा त आलु नै मुख्य खान्की हुन्छ । उनीहरु आलु खाएरै तन्दुरुस्त, निरोगी र सधैं ऊर्जावान हुन्छन् । किनभने आलु खाएर उनीहरु धेरै शारीरिक काम गर्छन् । हरक्षण सक्रिय रहन्छन् । सहरिया भने आलु खाएर निष्क्रिय बस्ने गर्छन्, जसले गर्दा मोटोपन बढ्न सक्छ । शारीरिक गतिविधि कम गर्नेहरुले आलु कम खानु भन्नुको कारण पनि यही हो ।

आलुमा उपलब्ध पोषक तत्व नष्ट नगरी खानका लागि उसिनेको आलु एकदमै उचित हुन्छ । आलु उसिनेर खाँदा यसमा भएको पोषक तत्व नष्ट हुँदैन । त्यसैगरी माइक्रोवेभमा वा बेकिङ गरी पकाइयो भने आलुको गुण नष्ट हुँदैन । साथै क्यालोरी पनि कम हुन्छ ।

तर धेरै समयसम्म पकाइयो, तारेर, भुटेर खाइयो भने यसमा क्यालोरी बढी हुन्छ । स्वादिलो बनाउने चक्करमा तेलमा तार्ने, भुट्ने गर्दा यसको पोषक तत्व पनि नष्ट हुन्छ । त्यसैले आलुलाई तरकारीकै रुपमा खाँदा पनि ठिक्क पकाएर खानु उचित हुन्छ ।

अझ आलुको बोक्रासँगै खानु बढी लाभदायक हुन्छ । आलुको बोक्रामा पर्याप्त फाइबर पाइन्छ । फाइबर पाचनयन्त्रका लागि अत्यन्तै जरुरी हुन्छ ।

मोटोपन र मधुमेहमा 

आलुले मोटोपन बढाउँछ भन्ने सरासर भ्रम हो । आलुमा उच्च कार्बोहाइड्रेट भएको कारण पच्नका लागि समय लाग्छ । यसले गर्दा छिटो छिटो भोक लाग्दैन ।

मधुमेहको बिरामीलाई पनि चिकित्सकले आलु खाँदै नखानु भन्दैनन् । मधुमेहको समस्या भएकालाई उनीहरुको शरीरको मागअनुरुप नै डाइट प्लान गरिएको हुन्छ । यसअनुरुप उनीहरुले आलु खान मिल्छ वा मिल्दैन भन्ने निक्र्यौल गरिन्छ ।

(पोषणविद् देवजुसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

आलु पोषण
लेखक
सुनैना देवजु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय