+
+

पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक निकालिए, परीक्षा प्रभावित

सुरेश बिडारी सुरेश बिडारी
२०७९ पुष १ गते १३:३५

१ पुस, वीरगञ्ज । पटेर्वासुगौली गाउँपालिकाले वैकल्पिक व्‍यवस्था नगरीकनै अनुदानमा कार्यरत २९ जना शिक्षकलाई निष्कासन गरेको छ ।

गाउँपालिका कार्यालयको मंसिर २३ गते बसेको बैठकबाट विभिन्न विद्यालयमा गरी अनुदानको रकमबाट फरक-फरक विषयका २९ जना शिक्षक निस्काशन गरेको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।

यसअघिका जनप्रतिनिधि र कर्मचारीले आवश्यक प्रक्रिया नै पुरा नगरी हचुवाको भरमा शिक्षक नियुक्त गरेको भेटिएपछि हटाउने निर्णयमा पुगेको उनले बताए ।

‘शिक्षक नियुक्ति गर्दाका कागजपत्र पालिकामा छैन । शीषर्क नखुलाई विद्यालयमा अनुदान गइरहेको छ ।’ उनले भने, ‘पालिकाले किन त्यो अनुदान पठाएको हो ? त्यो पैसा लगेर शिक्षकलाई दिए की ? डेक्स बेन्च किने ? अडिट गर्ने आधार पनि चाहियो नि ?’

पालिकाको शिक्षामा सुधार ल्यानका लागि आफू लागि परिरहेको बताउँदै कुनै पनि काम गर्दा धेरथोर समस्या आउनु स्वभाविक भएको बताए । ‘शिक्षामा कसरी सुधार गर्न सकिन्छ भनेर नै हामी लागेका छौं, केही निर्णयहरु कार्यान्वयन गर्दा तत्काल समस्या आउन सक्छ, तर दीर्घकालीन रुपमा त्यसको पनि समाधान गर्दै जान्छौं ।’

पालिकाले शिक्षा ऐन पारित गरिसकेको बताउँदै उनले प्रमाणित गरेर राजपत्रमा प्रकाशित गर्न मात्रै बाँकी रहेको जानकारी दिए । तर गाउँपालिकाले पनि अनुदानका शिक्षकको कात्तिक र मंसिर महिनाको तलब भने विद्यालयलाई पठाएको छैन ।

पालिकाले दिने विद्यालय सञ्चालन अनुदानबाट सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरिएको थियो । प्रति शिक्षक मासिक १० हजारका दरले यस्तो अनुदान पालिकाले विद्यालयलाई पठाउँदै आएको थियो ।

पालिकामा ३ माध्यमिक र २१ आधारभूत गरी कूल २४ वटा विद्यालय छन् । जसमध्ये एउटा मदरसा पनि छ । यी विद्यालयमा ८ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

पटेर्वासुगौली गाउँपालिकाका सामुदायिक विद्यालयमा मंसिर २९ गतेदेखि अर्धवार्षिक परीक्षा चलिरहेको छ । वैकल्पिक व्यवस्था नगरी २९ जना शिक्षकलाई एकै पटक हटाउँदा परीक्षा नै प्रभावित भएको छ ।

पालिकाका शिक्षा शाखा प्रमुख शम्भु साहले पालिकाको निर्णय कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए । तर यो निर्णयले गर्दा आजदेखि नै समस्या सुरु भइसकेको उनले सुनाए ।

‘अध्यक्ष ज्यू स्वयम, दुई चारवटा विद्यालयको अनुगमनमा जानुभयो, गुणस्तर राम्रो देखिएन भन्नुभयो ।’ उनले भने ‘न्युन दरबन्दी छ, विद्यार्थी अनुपातमा शिक्षक छैनन् । भएका पनि हटाइएको छ । शिक्षकहरुको फोन आउन थालिसक्यो, देवकुली त बन्द नै हुन्छ, एक हप्ता जति हेरिदिनुस भनेको छु ।’

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले नियुक्ति प्रक्रियाको कागजात माग्दा विद्यालयले नदिएपछि हटाउने निर्णयमा पुगेको बताए ।

‘कुन प्रक्रियाले नियुक्ति गरेको हो ? के के कागजपत्र छ पालिकामा बुझाउनुस् भन्दा कुनै पनि विद्यालयले कागजत्रप बुझाएनन् ।’ उनले भने ‘शिक्षक अध्यापन अनुमतिपत्र समेत नभएको गुनासो आयो, त्यसपछि हटाउने निर्णयमा पुगेका हौं ।’

तर विद्यालयका प्रधानाध्यापकहरुले पालिकाले शिक्षक हटाउने पत्र पठाए जसरी नियुक्ति प्रक्रियाको कागजात नमागेको प्रतिक्रिया दिएका छन् । ‘पालिकाले नै नियुक्ति गरेको हो, सार्वजनिक रुपमा आवेदन माग गरिएको छ ।’ निचुटाका प्रधानाध्याक घिमिरेले भने‘ पालिकाले माग्दा कागजपत्र नदिने त कारण नै छैन ।’

पूर्वदेवकुली प्राविमा प्रधानाध्यापकसहित ३ जना शिक्षक अनुदानबाटै आएका हुन् भने निमावि बेल्वामा अनुदानका ४ जना शिक्षक छन् । यस्तै अन्य विद्यालयमा पनि परीक्षा र पठनपाठनमा असर पर्ने देखिएको छ ।

पालिकाले हचुवामा निर्णय गर्दा विद्यार्थीको पठन पाठनमा प्रत्यक्ष रुपमा प्रभावित भएको प्रधानाध्यापकले आरोप लगाए । ‘विद्यालयलाई राम्रो गर्ने भाषण गर्छन, विद्यालयमा दरबन्दी नै कम छ, विद्यार्थीको अनुपातमा शिक्षक छैन ।’ ती प्रअले भने ‘ हचुवाको तालमा शिक्षक निकाल्छन् । कसरी विद्यालयको गुणस्तरमा सुधार हुन्छ ?’

यस्तै निचुटा माविमा पनि पालिकाको अनुदानका दुई जना शिक्षक छन् । निचुटा माविका प्रधानाध्यापक श्याम घिमिरेले एकैपटक ठूलो संख्यामा शिक्षक हटाउँदा समस्या हुने बताए । ‘विद्यालयले अनुदान नदिए पनि मैले शिक्षक राख्नैपर्ने हुन्छ, मसँग स्रोत पनि छ ।’ उनले भने ‘ परीक्षा चलिरहेको समयमा, शैक्षिक सत्रको अन्त्यतिर शिक्षक हटाउँदा विभिन्न समस्या आउँछ ।’

यसो गर्दा अनुदानको शिक्षकको भरमा चलेका र कम शिक्षक भएका विद्यालय नराम्ररी प्रभावित हुने उनको भनाइ छ । तर पालिकाले भने अनुदानका शिक्षक हटाएर गुणस्तर सुधारका लागि नयाँ शिक्षक नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?