+
+
कभर स्टोरी :

गुल्जार जिरीको अस्तित्व जोगाउने छटपटी

शहरलाई सधैं एउटै पहिचानले कहाँ जीवन्त बनाइराख्थ्यो र ! सगरमाथा आरोही सीधै लुक्ला विमानस्थल पुग्न थाले । स्थलमार्गबाट पनि काठमाडौंदेखि सोलुखुम्बुसम्म पुग्न सहज भयो । त्यसैले अब जिरी ‘सगरमाथाको प्रवेशद्वार’ रहेन ।

गौरव पोखरेल सागर चन्द गौरव पोखरेल, सागर चन्द
२०७९ पुष १ गते १९:४६

१ पुस, दोलखा । यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो ।

जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’

तर, कहाँ शहरलाई सधैं एउटै पहिचानले जीवन्त बनाइराख्थ्यो र !

सगरमाथा आरोहीले सीधै लुक्ला विमानस्थलसम्म हवाई यात्रा गर्न थालिसके । स्थलमार्गबाट पनि काठमाडौंदेखि सोलुखुम्बुसम्म सहज पहुँच छ । त्यसैले अब जिरी सगरमाथाको प्रवेशद्वार रहेन ।

स्वीट्जरल्याण्डसँग तुलना गर्नलायक स्वीस शैलीका घरहरू पनि भूकम्पले ध्वस्त पारिदिए । ‘अहिले पनि अलिअलि पर्यटकहरू जिरीलाई नेपालको स्वीट्जरल्याण्ड भनेर घुम्न त आउँछन्’ जिरीका पर्यटन अभियन्ता लीलाराम खड्का भन्छन्, ‘तर आइपुगेपछि स्वीस शैली झल्काउने कुनै संरचना नदेख्दा खिन्न बनेर फर्किन्छन् ।’

शहरी विकासका जानकारहरू पूर्वाधारलाई शहरको एउटा महत्वपूर्ण पक्ष मान्छन् । तर, मध्य पहाडी शहर जिरी पूर्वाधार भएर पनि अस्तित्वको संकटमा छ ।

केशव, टंक र लीलासहित जिरीवासीसँग विगतको गुल्जार शहरका अनगिन्ती स्मृति ताजै छन् । हरेक व्यवसायी, बुढापाका घण्टौंसम्म विगतको चलायमान जिरीका सम्झना उधिन्न सक्छन् । तर, सबैले अन्तिममा भन्छन्, ‘त्यो सबै अब सम्झना मात्रै भयो !’

किनकि, जिरी स्वयम् अहिले सुस्ताएको छ । व्यवसायी केशव जिरेल भन्छन्, ‘विगतमा दैनिक ९ वटा सार्वजनिक बस खचाखच हुने ठाउँमा अहिले मुश्किलले दुईवटा गाडी कुद्छन् । त्यही पनि कति दिन खाली नै हिंडिरहेका हुन्छन् ।’

गर्विलो इतिहासको भारी

शहरको पहिचान जीवन र गतिशीलतासँग जोडिइरहेन भने कसरी अस्तित्व नामेट हुन्छ भन्ने अहिले उदाहरण बनेको छ जिरी ।

शहरी विकासका जानकारहरू पूर्वाधारलाई शहरको एउटा महत्वपूर्ण पक्ष मान्छन् । तर, मध्य पहाडी शहर जिरी पूर्वाधार भएर पनि अस्तित्वको संकटमा छ ।

राजधानीको कुनै ठूलै निजी अस्पताल झैं लाग्ने सुविधासम्पन्न अस्पताल भवन छ । तर, उपचार गराउने विशेषज्ञ चिकित्सक छैनन् । डाक्टर खोज्दाखोज्दै मेयर हैरान छन् ।

पुस्तकालय छ, पढ्नलाई नयाँ पुस्तकहरू छैनन् । पुरानो इतिहास बोकेको विमानस्थलको चौर छ । तर, विमान अवतरण गर्ने अवस्था छैन ।

जिरीमा पहिले विमानस्थल रहेको स्थान अहिले गौचरणमा परिणत भएको छ ।

‘स्वीस योजनाले भौतिक पूर्वाधारहरू बनाइदियो, केही समय रोजगारी पनि दियो’ पूर्वसांसद इन्द्रबहादुर खड्का भन्छन्, ‘तर, आत्मनिर्भर बनाउन सिकाएन, फलतः परियोजना उठेपछि त्यसको निरन्तरता जिरीले दिन सकेन ।’

अहिले जिरीमा रोजगारीको समस्या छ । उच्च शिक्षाका लागि सहज वातावरण छैन । त्यसैले गर्विलो इतिहासको भारीमुनि थिचिएको जिरी अहिले आफूलाई आत्मनिर्भर बनाउने कोसिसमा छ । जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेल भन्छन्, ‘नयाँ पहिचानसहित जिरीलाई ‘रि–ब्रान्डिङ’ गर्ने योजना अघि सारेका छौं ।’

जिरी कुनै बेला सरकारी खर्क थियो । तर, पञ्चायतसँगै जिरी नयाँ पहिचानका साथ मौलाउन थाल्यो । २०१४ सालबाट स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा पशु विकास कार्यक्रम थालेपछि जिरीको विकास यात्रा सुरु भयो ।

‘सरकारी गोठको सुधार, चरन विकासका साथै उन्नत जातका गाई भैंसी पालन सुरु भयो’ पूर्वसांसद खड्का भन्छन्, ‘मुर्रा जातको भैंसी, ब्राउन स्वीस एवं होलेस्टेन जातका गाई ल्याइएको थियो ।’

यो कार्यक्रमपछि जिरीमा स्वीसहरूको आउजाउ बाक्लियो । स्वीसहरूले जिरीमा अस्पताल बनाए, चिज उद्योग चलाए । जिरी प्राविधिक विद्यालय बनाए । स्वीसहरूले सुरु गरेका यी सबै परियोजना अहिले पनि चलिरहेका छन् ।

‘स्वीसले सुरु गरेर असफल भएको भनेको विमानस्थल मात्र हो’ जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेल भन्छन्, ‘उनीहरूले सुरु गरेका सबै योजना कुनै न कुनै रूपमा अहिलेसम्म चलिरहेका छन् ।’

स्वीस परियोजना आएपछि थुप्रै जिरीवासीले रोजगारी पनि पाए । अन्य जिल्लाका पनि जागिर खोज्दै जिरीतिर सर्न थाले ।

‘स्वीसहरूले साना चिटिक्क परेका घर बनाए । गाई फार्म बनाए, विस्तारै एउटा पालमा अस्पताल पनि सुरु गरे’ जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टेकबहादुर जिरेल भन्छन्, ‘डाक्टर, नर्स र कर्मचारी सबै स्वीसहरू नै थिए ।’

टेकबहादुर जिरेल, उनी जिरी माविका पूर्वप्रधानाध्यापक हुन् ।

जिरीमा विदेशीको आउजाउ बाक्लिएपछि जिरीको व्यापार पनि बढ्दै गयो । पूर्वमेयर टंक जिरेल भन्छन्, ‘यहींका स्थानीयभन्दा बढी काठमाडौं, बनेपा, धुलिखेल, सोलु (खुम्बु) का व्यापारी आए ।’

स्वीसको प्रभाव र बाहिरिया व्यापारीको प्रभाव कतिसम्म थियो भने थाहा पाउन जिरी बजारको नाम ‘लिंकन बजार’ रहेबाटै थाहा हुन्छ ।

पूर्वमेयर टंक जिरेलका अनुसार स्वीसले खोलेको अस्पतालमा क्षयरोगको उपचार गर्न शिवबहादुर कार्की नाम गरेका व्यक्ति आएका थिए । त्यतिञ्जेलसम्म जिरी बजार बनिसकेको थिएन । कार्कीले उपचारपछि सानो कटेरो बनाए ।

चिया, नास्तासँगै शुक्रबार, शनिबार तास खेलाउने र मदिरा बिक्री गर्न थाले । ‘त्यसबेलासम्म स्वीसहरू एकै ठाउँमा भेला हुने निश्चित ठाउँ थिएन, पछि सबै त्यहीं भेला हुनथाले’ जिरेल भन्छन्, ‘त्यही कटेरोलाई पछि स्वीसहरूले लिंकन भन्न थाले ।’ अनि, जिरीको ढुंगेबगर लिंकन बजार भयो ।

जिरीको मुख्य बजार बन्यो लिंकन बजार । अहिले पनि मुख्य बजार यही नामले चिनिन्छ ।

पडकास्ट

जिरीका ती सुनौला दिन

एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गरेपछि सगरमाथा जाने होड चल्यो । काठमाडौंबाट सगरमाथासम्म पुग्ने छोटो बाटोको खोजीमा रोजिएको थियो, जिरी ।

नेपालमा खोज गर्ने भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक ‘नेपाल मेरो खोजयात्रा’मा लेखे अनुसार काठमाडौं–जिरी ६ दिनको पैदल यात्रा हो । उनका अनुसार करिब ३२ सय मिटर उचाइमा रहेको चेर्दुङ डाँडाको फेदमा लमतन्न परेको फाँट हो, जिरी ।

सगरमाथा क्षेत्र जाने पर्यटक बढ्न थालेपछि जिरीमा हवाई अड्डा तयार भयो ।

पूर्व सांसद् खड्काका अनुसार २०१६ सालतिर मानेडाँडाको तल्लो भागमा हवाई मैदान बनाउन सुरु भएको थियो । २०१८ सालमा त्यहाँ ‘पिलाटस पोर्टर’ जहाज चलेको थियो ।

पुस २०१७ मा टोनी हागन चढेको जहाज त्यहाँ दुर्घटना भएपछि जिरीको फाँटमा नयाँ हवाई अड्डा तयार गरियो । आफ्नो जहाज दुर्घटना भए पनि सगरमाथा क्षेत्रबाट फर्किंदै गरेका एडमण्ड हिलारी चढेको हेलिकप्टर सहायताका लागि जिरीमा अवतरण गरेको उनले किताबमा लेखेका छन् ।

स्थानीय ७० वर्षे केशव जिरेलका अनुसार फाँटमा विमानस्थल बनाउँदा जिरीका हरेक घरबाट ७ जनालाई श्रमदान गर्न भनिएको थियो । भन्छन्, ‘त्यसबेला मैले पनि श्रमदान गरेको थिएँ ।’

२०२७/२८ देखि २०३१/३२ सालसम्मकोे चौथो योजना अवधिको विकास–निर्माणको मुख्य विकास योजनाका रूपमा पञ्चायत सरकारले जिरी विमानस्थललाई पनि समेटेको पाइन्छ ।

स्थानीय केशवकुमार कार्कीका अनुसार २०५० सम्म जिरीमा साप्ताहिक उडान हुन्थ्यो । २०४२ सालमा लामोसाँघु–जिरी सडक तयार भयो । यो सडक पनि स्वीस सरकारकै सहयोगमा सुरु भएको थियो ।

केशव जिरेल, व्यवसायी ।

सडक र हवाई दुवै मार्गसँग जोडिएपछि जिरीका सुनौला दिन सुरु भएको ठान्छन् केशव जिरेल । ‘दिनकै ९/१० गाडी मान्छे आउँथे । गाडीका सिट मात्र होइन छत पनि विदेशीले भरिएका हुन्थे’ २०५० को दशकदेखि नै होटल व्यवसाय गरिरहेका उनी सुनाउँछन्, ‘जहाजमा आउँथे, हिंडेर पनि आउँथे । लिंकन बजार विदेशीले भरिभराउ हुन्थ्यो । ती जिरीका गोल्डेन दिन थिए ।’

सगरमाथा क्षेत्र पुग्ने सडक र हवाई मार्ग अरू नभएपछि जिरी हुँदै जानुको विकल्प भएन । ‘विदेशीको ओइरो लाग्न थालेपछि यहाँ सोलु, रामेछापतिरका मान्छे पनि सामान किन्न आउन थाले, यहाँ हाट लाग्न थाल्यो; यो त ठूलो बजार नै बन्यो’, जिरी बजार क्षेत्र पनि पर्ने वडा नं ६ का अध्यक्ष मरिज जिरेल भन्छन् ।

संकटमा ‘नेपालको स्वीट्जरल्याण्ड’

जिरी भन्ने बित्तिकै धेरैले ‘नेपालको स्वीट्जरल्याण्ड’ भन्ने गर्छन् ।

किन ?

केशव जिरेल अनुमान गर्छन्, ‘स्वीसहरूले ‘दिस इज आवर सेकेण्ड होम, नट जिरी’ भन्थे, त्यसैले यसलाई नेपालको स्वीट्जरल्याण्ड भन्ने गरेका होलान् ।’

यही प्रश्नमा जिरी माविका पूर्व प्रधानाध्यापक टेक जिरेल स्वीस शैलीका घरहरू देखेकाले यसले नेपालको स्वीट्जरल्याण्डको रूपमा परिचय पाएको हुनसक्ने बताउँछन् ।

उनी जिरीलाई नेपालको स्वीट्जरल्याण्ड भन्नु जिरीको अतिरञ्जित प्रचारका रूपमा अर्थ्याउँछन् । ‘नेपालको स्वीट्जरल्याण्ड भनेर यहाँ आउँछन् अनि केही देख्दैनन् र खिन्न हुन्छन् । नेपालको स्वीट्जरल्याण्ड भन्नु अतिरञ्जना हो ।’

पर्यटन अभियन्ता लीलाराम खड्का चाहीँ वातावरण र भौगोलिक वनावट स्वीजरल्याण्डको जुरिच शहरसँग मिल्दो जुल्दो भएकाले जिरीलाई नेपालको स्वीट्जरल्याण्ड भनिएको बताउँछन् ।

२०५० को दशकको अन्त्यसँगै सगरमाथा क्षेत्रसम्म पुग्ने जिरी बाहेक अरू बाटा पनि खुले । खोटाङ, ओखलढुंगाबाट सडक मार्ग नै सोलुखुम्बुसम्म पुग्यो । त्यसबाहेक निजी जहाज कम्पनीको प्रवेशले हवाई मार्गबाट सगरमाथा आधारशिविर जान सजिलो भयो ।

‘अनि विस्तारै जिरी आउने मान्छेको संख्या घट्न थाल्यो’, टंक जिरेलले सुनाए ।

स्वीसहरूले जिरीसम्म मात्र बनाएको सडक पनि जिरीबाट अगाडि पुग्यो । पर्यटक र जिरीभन्दा माथिका बासिन्दाले जिरीमा बास बस्नु नपर्ने भयो ।

‘काठमाडौंबाट एकैदिनमा सोलुखुम्बुको टाकसिन्धु पुगिने भएपछि मान्छेहरूले यो बाटो हिंड्न छाडे’, केशव जिरेल सुनाउँछन् ।

छोटो बाटोको सुविधा भएर पनि विदेशी पर्यटक जिरी आउन छाडे । त्यसपछि जिरीमा रहेका व्यापारीले पनि विस्तारै जिरी छाड्न थाले ।

विदेशी पर्यटकको अभाव कतिसम्म खट्किएको छ भने जिरीमा एकाध विदेशी देखिनु पनि अचम्म हुन थालेको छ । कुनै समय हजारौं विदेशी पर्यटक धान्ने जिरी आजभोलि एक–दुई जना विदेशी देखिए पनि गनेर बस्छ ।

‘मैले अस्तितिर दुईचार जना विदेशी देखेको थिएँ’ विदेशी पर्यटक कति आउँछन् भन्ने प्रश्नको जवाफमा जिरी नगरपालिकाका मेयर मित्र जिरेलले भने ।

सन् १९५० को अन्त्यतिर स्वीस सरकार जिरी छिरेपछि उकालो लागेको जिरीको यात्रा पछिल्ला १० वर्षमा ओरालो लागेको छ । जिरीको पहिचानबाट सगरमाथाको प्रवेशद्वारको परिचय अब मेटिन लागेको छ ।

स्वदेशी पर्यटकको खोजीमा जिरी

लिंकन बजारको चियापसलमा सुस्ताइरहेका वडाअध्यक्ष मरिज जिरेल भन्छन्, ‘सगरमाथाको प्रवेशद्वार भन्ने त अब विगत भइसक्यो, त्यो कुरा त अब सम्झिने मात्रै हो ।’

पर्यटन व्यवसायीहरू जिरीबाट सगरमाथा जाने रुटलाई आजभोलि ‘क्लासिक एभरेष्ट ट्रेक’ भन्छन् । आधुनिक सुविधा भएको युगमा क्लासिकको कसलाई चासो ?

‘सबैतिर सडक पुग्यो, प्लेनबाट सगरमाथा क्षेत्रमा आउजाउ गर्न सजिलो भयो । हामी त यहाँ बसेर आकाशमा उडेका प्लेन गन्ने मात्र अवस्थामा पुग्यौं’, जिरीको आकाशमाथि उडिरहेको जहाजतर्फ संकेत गर्दै टंक जिरेलले दुःखेसो गरे ।

गर्विलो विगत बोकेको यो बजार यतिखेर मूर्झाएको छ । विगतका मीठा सम्झनाको बलमा आफूलाई मृत शहर हुनबाट जोगाइरहेको जिरी अब आफूलाई ‘रि–ब्राण्डिङ’ गर्ने तयारीमा जुटेको छ ।

जिरी माविका पूर्व प्रधानाध्यापक तथा स्थानीय केशवकुमार कार्कीको बुझाइमा अब जिरीले आफ्नो पहिचान बदल्नुपर्छ । स्वीस विकासको मोडल, सगरमाथाको प्रवेशद्वार र नेपालको स्वीट्जरल्याण्डको पहिचानबाट मुक्ति खोज्नुपर्छ जिरीले ।

उनी भन्छन्, ‘हामीसँग सुन्दर विगत थियो । तर, अब हामीले जिरी भनेर यो सानो उपत्यका मात्र होइन, सम्पूर्ण जिरी नगरपालिकालाई चिनाउनुपर्छ । आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्यका रूपमा जिरीलाई विकास गर्नुपर्छ ।’

पर्याप्त पर्यटकीय गन्तव्य नहुँदा जिरीसम्म आइपुगेका आन्तरिक पर्यटकलाई पनि रोक्न नसकिएको गुनासो गर्छन् होटल व्यवसायी केशव जिरेल । व्यवसायीको यही गुनासो सम्बोधन गर्न नगरपालिका आन्तरिक पर्यटकका लागि गन्तव्य तयार पारिरहेको बताउँछ ।

नगरपालिकाका मेयर मित्र जिरेल पनि जिरीले अब विदेशी पर्यटक नभई आन्तरिक पर्यटक ल्याउने योजनामा काम गरिरहेको बताउँछन् । ‘हामीले अब विदेशी पर्यटकको अपेक्षा गरेका छैनौं’ उनी भन्छन्, ‘हामी अब स्वेदशी पर्यटकलाई नै आकर्षित गर्ने योजनामा छौं ।’

यही योजना अनुसार नगरपालिकाले स्टोन पार्क, गुराँस पार्क र बुद्ध पार्क तयार गरिसकेको छ । यस बाहेक गुरु रिम्पोछेको मूर्ति र जिरीको फाँटमा ताल बनाउने काम अगाडि बढाइएको छ ।

कतिसम्म भने बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको तालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मै जिरीलाई मृत शहर घोषित गरिएको छ । नगरपालिकाले जिरीलाई ब्युँताउन साइकल ट्रेल, हाइकिङ ट्रेलदेखि अर्गानिक जिरीसम्मका योजना बनाइरहेको छ ।

‘यहाँ आएका आन्तरिक पर्यटकलाई केही दिन मात्र जिरीमा रोक्न सक्यौं भने यसरी झिंगा धपाएर बस्नुपर्दैनथ्यो’, टंक जिरेल आशावादी सुनिन्छन् ।

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?