+
+

देउवाको ‘दम्भ’ले गुम्यो सत्ताको बागडोर

गौरव पोखरेल लिलु डुम्रे गौरव पोखरेल, लिलु डुम्रे
२०७९ पुष १० गते २१:१४

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने समय केही घण्टा मात्र बाँकी थियो । निर्णायक भनिएको वार्तामा प्रधानमन्त्री पद छाड्न कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बालकोटतिर हुइँकिए ।

माओवादी र एमाले नेताहरुबीच सम्वाद चलिरहेकै थियो । आइतबार विहान मात्र पदाधिकारी बैठकमा प्रचण्डले प्रधानमन्त्री पद छाड्न देउवा तयार नभए एमालेसँग सहमति गर्ने वा प्रतिपक्षमा बस्ने बताइसकेका थिए । एमाले नेताहरु, प्रचण्ड कतिबेला बालुवाटार छाडेर बालकोटतिर आउँछन् भनेर पर्खिरहेका थिए ।

तर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने प्रचण्डले बालुवाटार छाडेको बारेमा पत्रकारहरुलाई भन्दै थिए, ‘प्रचण्ड खाना खान जानुभएको हो, फेरि आउँदै हुनुहुन्छ ।’

खड्का जस्तै प्रचण्डसँग निरन्तर सम्वादमा रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि ढुक्क सुनिए । गठबन्धन मुलुकको आवश्यकता भएको भन्दै उनले भने, ‘केही समयपछि फेरि बैठक सुचारु हुन्छ र एउटा निर्णयमा पुग्छौं ।’

प्रचण्ड भने वार्ताका लागि होइन, प्रधानमन्त्री बनेर मात्र बालुवाटार जाने तयारीमा जुटिसकेका थिए । गठबन्धन तोडिने भएपनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले नेतृत्व तयार थियो । कतिसम्म भने प्रचण्डले बालुवाटार छाड्दा नछाड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि बहुमत पुर्‍याउन साना दलहरुसँग सम्वाद थालिसकेका थिए ।

सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पुगे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुगे । सरकार गठनका लागि आवश्यक गणित बालकोटमा देखेपछि प्रचण्ड पार्टीका नेताहरुलाई लिएर बालकोट पुगे ।

जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि बालकोटमै पुगे । संसदको दोस्रो, तेस्रो, चौथो हुँदै स्वतन्त्र सांसदहरु पनि समर्थनमा लामबद्ध भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुट्यो । साँझ ५ बजे अगावै प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगे र १६९ सांसदको समर्थन आफूलाई रहेको प्रमाणसहित प्रधानमन्त्रीका लागि दाबी पेश गरे ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । अब सोमबार अपराह्न ४ बजे प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिनेछन् ।

चुनावका बेला बनेको गठबन्धनको बलमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नछाड्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस कम्तीमा २ वर्षका लागि प्रतिपक्षी बनेको छ । एमाले–माओवादी गठबन्धन बनेसँगै कांग्रेसले प्रधानमन्त्री पद मात्र गुमाएको छैन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहित सातै प्रदेशको मुख्यमन्त्री गुमाउने देखिएको छ ।

कांग्रेस नेताहरु सभापति देउवा संसदीय गणित र राजनीतिको साटो ज्योतिषीको भर पर्दा सबै पद गुमेको बताउँछन् । पाँच पटकसम्म प्रधानमन्त्री बनिसकेका ज्योतिषशास्त्रमा विश्वास गर्ने देउवाको बुझाइ र यथार्थमा पर्खाल रहँदा कांग्रेसले ठूलो पार्टी भएर पनि सबै पद गुमाउनु परेको नेताहरुको विश्लेषण छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रचण्ड बालकोट पुग्दा सबैथोक कांग्रेसको हातबाट जाने परिस्थिति देखिएको बताएका थिए ।
पार्टी सभापति देउवा र उनको टिमकै कारण गठबन्धन भत्किएको कांग्रेसकै नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार पछिल्लो समय देउवाले फरक विचार राख्ने पार्टीका नेताहरुलाई सुन्न छाडेका थिए, आफूसम्म पुग्ने बाटोहरु बन्द गरेका थिए । कतिसम्म भने १४औं महाधिवेशनबाट आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत उनले स्पेस दिएका थिएनन् ।

निर्वाचन परिणाम आएसँगै देउवा आफैं प्रचण्डसँग निरन्तर सम्वादमा थिए । वरिष्ठ रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण पनि प्रचण्डसँग निरन्तर सम्वादमा थिए ।

सुरुमा प्रचण्डले प्रधानमन्त्री पदमा दाबी गरिरहँदा उनी आफ्नो संसदीय दलको नेताको निर्वाचन देखाउँथे । ६ पुसमा देउवा संसदीय दलको नेता चुनिए । त्यसपछि आफैं र आफ्नो वरिपरि रहेका नेताहरुलाई वार्तामा खटाए । तर उनीहरु न प्रचण्डलाई दोस्रो कार्यकाल प्रधानमन्त्री बन्न सहमत गराउन सफल भए, न सरकारको नेतृत्व नपाउँदा प्रचण्ड एमालेतिर जानसक्छन् भनेर बुझ्न/बुझाउन सके ।

बरु प्रधानमत्री र राष्ट्रपति दुबै पद कांग्रेसले पाउनुपर्ने अडान लिए, लिन लगाए । त्यसमा उनीहरुको आ–आफ्नै स्वार्थ थियो । ‘कसैले पार्टीका लागि वार्ता गरेन, सबैले आ–आफ्ना लागि वार्ता गरे,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवालाई प्रधानमन्त्री हुनु थियो । रामचन्द्रलाई राष्ट्रपति हुनु थियो । अरु नेतालाई उपप्रधानमन्त्री/मन्त्री हुनु थियो ।’

देउवा हरहालतमा प्रधानमन्त्री बन्न चाहन्थे । पौडेलको दौडधुप चाहिँ राष्ट्रपतिका लागि थियो । उपसभापति खड्का, जो प्रधानमन्त्री भएपनि मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित उपप्रधानमन्त्री बन्ने तयारीमा थिए । पूर्वउपसभापति निधि, खड्कालाई रोकेर सरकारमा जान चाहन्थे ।

जबकी देउवा समूहकै कतिपय नेता राष्ट्रपति र सभामुख लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने बताउँथे । संस्थापन इतरका पदाधिकारी राष्ट्रपति र प्रधानमन्त्री दुबै नदिने अडानले गठबन्धन जोगाउन नसक्ने धारणा राख्थे ।

उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरुसँग सम्वाद गर्नुपर्ने बताउँथे । डेढ वर्ष देउवाले सरकारको नेतृत्व गर्दा नागरिकमा असन्तुष्टि बढेको भन्दै उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा जनअपेक्षा केही हदमा पुरा हुने विश्वास पनि राख्थे ।

तर कांग्रेस सभापति देउवाले फरक मत राख्ने नेताहरुलाई सुनेनन्, सुन्न चाहेनन् । किनकी प्रचण्ड कुनै हालतमा गठबन्धन छाडेर जान सक्दैनन् भन्ने उनीहरुको बुझाइ थियो । संस्थापन इतर समूहका एक नेता भन्छन्, ‘अर्को विचार नसुनिँदा हिजो ओली जानुभयो, आज देउवा जानुभयो ।’

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल सभापति देउवा निश्चित घेराबाट निस्किन नसक्दा मुखमा आएका सबै पदहरु गुमेको बताउँछन् । ‘मुख्य कुरा देउवाजीका तीन/चार जना सल्लाहकारहरु हुनुहुन्छ, उहाँहरु सबै अत्यन्त निकट क्षत्रीय वंशका आफैं राजवंशका मान्छेहरु ठान्नुहुन्छ’, दाहालले भने, ‘उहाँहरु आफूलाई भगवान ठान्नुहुन्थ्यो । अनि, भगवानको पूजा गर्न आउन् भन्नुहुन्थ्यो । त्यही भ्रमले यो स्थिति आएको हो ।’

कांग्रेसका एक नेताका भनाइमा सभापति देउवाले सरकारको नेतृत्वबारे पार्टीभित्र पनि छलफल गरेका थिएनन् । ‘सभापतिज्यू हामीसँग सहकार्य गरिरहेको दलको वा दलका नेताको मनोवैज्ञानिक विश्लेषण गर्न नसक्दा चुक्नुभयो’, ती नेता भन्छन्, ‘०६४ सालमा झण्डै झण्डै बहुमत नजिक पुगेको दल खुम्चिएर १७ सिटमा झरेका बेला प्रचण्डको हतास मनस्थिति बुझ्न नसक्नु नै कमजोरी भयो ।’

उनका अनुसार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विगतमा अनौपचारिक संवादमा प्रचण्डको प्रस्ताव पहिलो चोटी प्रधानमन्त्री हुनुपर्ने भएको भन्दै राष्ट्रपति लगायतका पद लिएर गठबन्धन कायम राख्नुपर्ने बताएका थिए ।

तर, पछिल्लो समय उनीहरुसँग पनि देउवाले समन्वय गरेका थिएनन् । बरु बालुवाटार र बालकोटमा प्रधानमन्त्रीमा दाबीका लागि रस्साकस्सी चलिरहेका बेला महामन्त्रीद्वय पोखरामा लिटरेचर फेस्टिबलमा सहभागी बनिरहेका थिए ।

कांग्रेस नेता एवं विश्लेषक लोकेश ढकाल यो परिस्थिति निर्माण हुनु पछाडि निर्वाचन अघिदेखिकै विषयले भूमिका खेलेको बताउँछन् ।

‘यो आजको मात्र होइन, निर्वाचन अगावैबाट देखिएको परिस्थितिको उपज हो, जस्तो रोप्यो त्यस्तै फलेको छ’, उनी भन्छन्, ‘चुनावमा आफ्नो हैसियतामा लडेर परिणामपछि मात्रै गठबन्धन गरेको भए यो अवस्था आउने नै थिएन ।’ त्यतिबेलै अवसरका लागि गठबन्धन भएको बताउँदै पहिल्यै अवसर नपाए प्रचण्ड अन्त जानसक्छन् भन्ने पनि बुझ्न नसक्नु कमजोरी भएको उनी बताउँछन् ।

गठबन्धन गरिसकेको अवस्थामा पनि देउवाले सरकार गठन गर्ने बेलासम्म त्यसलाई टिकाउन नसकेको बताउँदै ढकालले भने, ‘खासमा यसपटक सभापति इतिहासकै असफल दरिनु भएको छ ।’

कांग्रेसका अर्का एकजना नेता पनि २०१५, ०४८ र ०५६ मा कांग्रेस एक्लैले बहुमत ल्याएको सन्दर्भ उल्लेख गर्दै भन्छन्, ‘अहिले पाँच दल मिल्दा पनि ५७ सिट ल्याएर कांग्रेस कुन हालतमा छ भन्ने बुझ्न नसक्नु सभापतिको एकदमै कमजोरी हो ।’

उनको भनाइमा देउवा एकजनाको आकांक्षाले पार्टीले पाउने पनि सबै गुमाएको छ । उनी भन्छन्, ‘यसमा देउवा मुख्य दोषी हुन्, उनका आसपासमा हुनेहरु पनि यसका भागिदार हुन् ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चाहिँ कांग्रेसले आफूलाई निर्मम समीक्षा गर्न जरुरी रहेको बताउँछन् ।

देउवा निकटका कांग्रेस नेता एनपी साउद भने राजनीतिक संस्कृति अनुरूप माओवादीले भूमिका नदेखाएको बताउँछन् । ‘माओवादीको निर्णय गठबन्धनको संस्कृति अनुरूप भएन । राजनीतिक घटनाक्रम नयाँ ढंगले अघि बढ्छ,’ साउदले भने ।

संस्थापन समूहका अर्का सांसद रामहरि खतिवडा भने माओवादी केन्द्रले प्रधानमन्त्री आफूले लिने र एकीकृत समाजवादीलाई राष्ट्रपति दिनुपर्ने माग राखेपछि नयाँ परिस्थिति निर्माण भएको बताउँछन् । भन्छन्, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएर गठबन्धन टुटेको होइन ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?