+
+

विराटनगर महानगरले प्रदेश सरकारलाई दियो ५ विघा जग्गा

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष १९ गते २०:३१

१९ पुस, विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी संरचना निर्माणका लागि पाँच विघा जग्गा दिने भएको छ । ल्याण्डफिल साइट निर्माणका लागि बुढीगंगा गाउँपालिका– ६ डंग्राहामा किनेको २७ विघामध्ये पाँच विघा जग्गा दिन महानगरपालिकाले प्रदेश १ सरकारलाई प्रस्ताव गरेको छ ।

महानगरपालिकाले एक दशकअघि ल्याण्डफिल साइट निर्माण गर्न जग्गा खरिद गरेको थियो । तर स्थानीय वासिन्दाले विरोध गरेपछि महानगरले त्यहाँ ल्याण्डफिल साइट बनाउन सकेन र हाल केसलिया खोला किनारमा फोहोर फालिरहेको छ ।

निवर्तमान मेयर भीम पराजुलीले प्रदेश संरचना विराटनगरमै निर्माण गर्न जग्गा दिने बताएका थिए । ३० वैशाखको चुनावबाट नागेश कोइराला नेतृत्वमा आएपछि ५ विघा जग्गा दिने प्रस्ताव गरेको हो ।

उक्त जग्गामा प्रदेशका मन्त्रीहरुको आवास गृह बनाउने प्रदेश सरकारको तयारी छ ।

महानगरको १२ असोजको कार्यपालिका बैठकमा, ‘प्रदेश मन्त्री क्वार्टर निर्माणका लागि जग्गा व्यवस्थापन सम्बन्धमा’ भन्ने प्रस्तावको निर्णयमा लेखिएको छ, ‘बृहत् विराट क्षेत्रभित्र प्रदेशको कार्यपालिका र व्यवस्थापिका, प्रदेश प्रमुखको कार्यालय, तथा निवास, सभामुख तथा उपसभामुखको निवास, मन्त्री निवास लगायतका संरचनाहरु एकीकृत रुपमा निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धी प्रदेश नं. १ सरकारबाट सार्वजनिक सूचना प्रकाशित भएकाले सोका लागि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको डंग्राहा स्थित जग्गामध्येबाट ५–०–० (बिघा) जग्गा उपलब्ध गराउनेगरी प्रदेश नं. १ सरकारलाई प्रस्ताव गर्ने निर्णय गरियो ।’

प्रदेशसभाले २०७६ को २३ वैशाखमा बृहत विराट क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । राजधानी तोकेपनि स्थायी संरचना निर्माणको प्रक्रिया अगाडि बढेको छैन ।

चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले स्थायी संरचना निर्माण सुरु गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?